हाम्रो मुक्ति सुनिश्‍चित र सुरक्षित छ

हाम्रो मुक्ति सुनिश्‍चित र सुरक्षित छ

मुक्ति हराउने-नहराउने सम्बन्धमा इसाईहरूको बीचमा दुई मत छन्। कतिको विचारमा मुक्ति हराउन सक्छ भने, कतिको विचारमा, हामीले एक समयमा पाएको मुक्ति अनन्तसम्म सुरक्षित रहन्छ। यी दुई विचारमा कुनचाहिँ सत्य हो, सो कुरा हामीले परमेश्वरको वचन हेरेर पत्ता लगाउनुपर्छ; किनभने यस विषयमा पवित्र बाइबलमा दुई मत छैन। पवित्र बाइबलभरि जहाँतत्तै मुक्तिको विषयमा अनेक पदहरू छन्, तर के कुनै यस्तो एउटा सिङ्गै खण्ड छैन, जुन खण्डमा यसको विषयमा खाँटी शिक्षा पाउन सकिन्छ? निम्न खण्ड लिएर म मुक्तिको सम्बन्धमा तपाईंको सामु प्रेरित पत्रुसको प्रेरितिक शिक्षा पेश गर्न चाहन्छु। 

'हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिता धन्य हुनुहुन्छ, जसले आफ्नो ठूलो दयाअनुसार येशू ख्रीष्टको मरेकाहरूबाटको बौरिउठाइद्वारा हामीलाई एउटा जीवित आशाको निम्ति नयाँ गरी जन्माउनुभएको छ: एउटा अविनाशी, निष्कलङ्क र कहिल्यै ओलिएर नजाने अधिकारको भागको निम्ति, जुनचाहिँ तिमीहरूको निम्ति स्वर्गमा सुरक्षित राखिएको छ तिमीहरूको निम्ति, जो अन्तिम समयमा प्रकट हुन तयार भएको मुक्तिको निम्ति परमेश्वरको शक्तिले विश्वासद्वारा सुरक्षित छौ।' १ पत्रुस १:३-५ 

क) परमेश्वरले ख्रीष्ट येशूमा मुक्तिको प्रबन्ध गर्नुभएको छ 

मुक्तिचाहिँ पापी मानिसहरूको निम्ति ख्रीष्ट येशूमा तयार गरिएको परमेश्वरको प्रबन्ध हो। प्रभु येशू पापीहरूलाई खोज्न र बचाउन आउनुभयो। उहाँ हाम्रा पापहरूको निम्ति क्रसमा मर्नुभयो। उहाँको नाममा पापको क्षमा र अनन्त जीवन छ। अनि यो सुसामाचार हामीलाई प्रचार गरिएको छ। 

ख) सुसमाचारद्वारा हामीलाई यो मुक्ति उपलब्ध गरिएको छ 

‘प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस्, र तपाईंले मुक्ति पाउनुहुनेछ' (प्रेरित १६:३१)। यो शुभ सन्देश हामीलाई सुनाइएको छ। सारा संसारमा सबै मानिसहरूलाई के सुनाइन्छ? हामी पापी छौं। हामी दण्डको योग्य, नरकको योग्य छौं; किनभने हामी सबैजनाले पाप गरेका छौं, हामीले परमेश्वरका आज्ञाहरू उल्लङ्घन गरेका छौं। धर्मी कोही पनि छैन। किनकि हामीमध्ये कोही पनि परमेश्वरको धार्मिक स्तरमा पुगेको छैन, र पुग्नै सक्दैन। तर ख्रीष्ट येशूमा सित्तैंमा हामी पापको क्षमा पाउँछौं र परमेश्वरसँग मेलमिलाप राख्न पाउँछौं। येशूको नाममा र उहाँको खातिर परमेश्वरले हामीलाई ग्रहण गर्नुहुन्छ। 

ग) विश्वासद्वारा हामीले यो मुक्ति ग्रहण गरेका छौं 

अनि विश्वासद्वारा हामीले प्रभु येशूलाई आफ्नो प्रभु र मुक्तिदाताको रूपमा ग्रहण गस्यौं र उहाँको नाममा पानीको बप्तिस्मा लियौं। हामी परमेश्वरको निम्तो स्वीकार गरेर येशूमाथि विश्वास राख्ने र उहाँलाई पछ्याइराख्ने चेला-चेली भयौं। यसरी हामीले विश्वासको बाटो शुरु गयौं। अनि शुरुमा, हामीले विश्वास गरेको दिनमै मुक्तिको निश्चयता पायौं। हाम्रो मनमा शान्ति आयो, र पवित्र आत्माले हाम्रो हृदयमा हामी परमेश्वरको सन्तान भएको साक्षी र निश्चयता दिनुभयो। 

घ) सुसमाचारको वचन ग्रहण गर्नाले परमेश्वरको दयामा हाम्रो नयाँ जन्म भएको छ 

जसले सुसमाचारको वचन ग्रहण गर्छ, उसको जीवनमा एउटा अलौकिक काम हुन्छ। परमेश्वरले नयाँ जन्मद्वारा उसमा एउटा नयाँ जीवन हाल्नुहुन्छ र उसलाई आफ्नो छोरा, आफ्नी छोरी तुल्याउनुहुन्छ। 

‘किनकि नाश हुने बीउबाट होइन, तर कहिल्यै नाश नहुने बीउबाट अर्थात् परमेश्वरको जिउँदो र सधैंभरि रहिरहने वचनद्वारा तिमीहरूले नयाँ जन्म पाएका छौ; किनकि “सबै प्राणी घाँसजस्तै हुन्, र मानिसको सारा महिमा घाँसको फूलजस्तै छ। त्यो घाँस आइलिजान्छ, र त्यसको फूल झरिहाल्छ, तर प्रभुको वचन सदा-सर्वदा रहिरहन्छ।” अनि त्यो वचन यही हो, जुनचाहिँ सुसमाचारद्वारा तिमीहरूलाई प्रचार गरिएको छ।' १ पत्रुस १:२३-२५ 

यसकारण प्रिय भाइबहिनी, बुझ्नुहोस्, जुन सुसमाचार परमेश्वरले तपाईंलाई प्रचार गर्नुभयो, त्यो सुसमाचार एउटा अविनाशी बीउ हो, अनि यही बीउद्वारा परमेश्वरले हामीमा एउटा नयाँ अविनाशी जीवन पैदा गरिदिनुभयो। यो हाम्रो योग्यताको फल, हाम्रो पुण्यको फल होइन, तर परमेश्वरको ठूलो दयाको काम हो। उहाँले हामीलाई मुक्ति दिन चाहनुहुन्छ। उहाँले हामीलाई अनन्त जीवन दिन चाहनुहुन्छ। उहाँले हामीलाई आफ्ना छोराछोरीहरू तुल्याउन चाहनुहुन्छ। यो सबको सब उहाँको शुभेच्छा र अभिप्राय हो। अनि जुन कुरा उहाँले ख्रीष्ट येशूमा तयार गर्नुभयो र जुन कुरा उहाँले सुसमाचारद्वारा हाम्रो निम्ति उपलब्ध गर्नुभयो, त्यही कुरा हामीले विश्वासद्वारा ग्रहण गरेका छौं। हाम्रा प्रभु येशूका परमेश्वर र पिता धन्य, परमधन्य हुनुहुन्छ, किनभने उहाँले आफ्नो ठूलो दयामा हामीलाई नयाँ गरी जन्माउनुभयो। 

ङ) नयाँ जन्म पाएकाहरूको जीवित आशा छ 

अनि जसले नयाँ जन्म पाएको छ, उससँग एउटा जीवित आशा छ। हाम्रो आशा जीवित छ, किनभने हाम्रो आशा प्रभु येशू हुनुहुन्छ। उहाँ हाम्रा पापहरूको निम्ति क्रूसमा मर्नुभयो र हाम्रो पापबलि हुनुभयो। उहाँ मरेको तेस्रो दिनमा फेरि जीवित हुनुभयो र मरेकाहरूको बीचबाट बौरिउठ्नुभयो। अनि उहाँको बौरिउठाइले हामीलाई स्वर्गको आशा दिलाएको छ। किनभने प्रभु येशूले भन्नुभयोः 'म जीवित छु; यसैकारण तिमीहरू जीवित हुनेछौ' (यूहन्ना १४:१९)। जबसम्म प्रभु येशू जीवित रहनुहुन्छ, तबसम्म हामी पनि जीवित रहनेछौं। यसो हो भने, अनन्त - अनन्त हाम्रो जीवन रहिरहनेछ। 

च) यो जीवित आशा हाम्रो अधिकारको भाग भएको छ 

अनि यो हाम्रो आशा हाम्रो अधिकारको भाग हो। के तपाईं परमेश्वरको छोरा वा उहाँकी छोरी हुनुहुन्छ? तब उहाँले तपाईंलाई एउटा अधिकारको भाग, एउटा हकको सम्पत्ति दिन चाहनुहुन्छ। परमेश्वरलाई धन्यवाद होस्, हामी परमेश्वरका हकवाला र ख्रीष्ट येशूका सँगी - हकवाला भयौं ( रोमी ८:१७)। 

यस हकको विषयमा परमेश्वरको वचनले के भन्दछ? यो हकको सम्पत्ति अविनाशी हो अर्थात् यो हाम्रो अंश नाश हुनै सक्दैन। यो अधिकारको भाग निष्कलङ्क छ, यसलाई कुनै कुराले कुनै हालतमा पनि अशुद्ध पार्न सक्दैन। अनि यो हाम्रो अंश कस्तो छ? यो कहिल्यै ओइलिजानेछैन। यो हकको सम्पत्ति यस संसारमा भएको भए त्यो नाश हुनेथियो, त्यो कलङ्कित हुनेथियो, अँ, ओलिनेथियो। तर हाम्रो अधिकारको भाग स्वर्गमा छ, स्वर्गमा सुरक्षित रहेको छ। यसकारण हाम्रो पैतृक सम्पत्ति अविनाशी, निष्कलङ्क र कहिल्यै नओलिने हुनेछ। 

प्रभु येशूले प्रेरित पावललाई यसको विषयमा यसो भन्नभयोः 'म अब तिमीलाई अन्यजातिहरूकहाँ पठाउँछु, तिनीहरूका आँखाहरू खोल्न, तिनीहरूलाई अन्धकारबाट ज्योतिमा ल्याउन र शैतानको शक्तिबाट परमेश्वरकहाँ फर्काउन, यस हेतुले कि तिनीहरूले पापहरूको क्षमा र ममाथि राखिएको विश्वासद्वारा पवित्र पारिएकाहरूको बीचमा पैतृक सम्पत्ति पाऊन्' (प्रेरित २६:१८ )। प्रेरित पावलको सेवकाइको संक्षिप्त सार यो थियो। तिनले ख्रीष्ट येशूको सुसमाचार प्रचार गरे; यसरी तिनले अन्यजातिका मानिसहरूलाई ख्रीष्ट येशूकहाँ फर्काए। तिनीहरूले प्रभु येशूमाथि विश्वास गरे। तिनीहरूले पापको क्षमा अर्थात् मुक्ति पाए। तिनीहरूले परमेश्वरका जनहरूको बीचमा अधिकारको भाग पनि पाए। पापको क्षमा पाउनेहरू सबैले पैतृक सम्पत्ति पनि पाउनेछन्। यो परमेश्वरको शुभ अभिप्राय र उहाँको इच्छा हो। अनि प्रभु येशूमाथिको विश्वास छोड़ेर हामीलाई अरू कुनै कुराको आवश्यकता छैन। यसमा अर्को शर्त राखिएको छैन।  

छ) नयाँ जन्म पाएकाहरू परमेश्वरको शक्तिद्वारा सुरक्षित छन् 

अनि हामीले आफ्नो शक्तिले मुक्ति पाएनौं; हामीले आफ्ना धर्मकर्महरूले मुक्ति पाएनौं। मुक्ति हाम्रा कामहरूको फल होइन, तर यो परमेश्वरको अनुग्रहको वरदान हो। तब हामीले आफ्नो मुक्ति कायम राख्नु कसरी? कर्मले? अहँ, परमेश्वरको शक्तिले हामी सुरक्षित रहन्छौं। हामी प्रभु येशूको हातमा सुरक्षित हुन्छौं। को होला, जसले हामीलाई उहाँको हातबाट खोस्न सक्ला? शैतानले पनि हामीलाई पनि खोस्न सक्दैन। अहँ, यसो हुन असम्भव छ; किनभने हामी परमेश्वरको शक्तिमा सुरक्षित, अनन्तसम्म सुरक्षित छौं। हामी हराउन सक्दैनौं। किनभने प्रभु येशूले भन्नुभयोः ‘मलाई पठाउनुहुनेको इच्छा यो हो ः हरेक जसले पुत्रलाई देख्छ र उनीमाथि विश्वास गर्छ, उसले अनन्त जीवन पाउँछ; अनि म उसलाई अन्तिम दिनमा बौराएर उठाउनेछु' (यूहन्ना ६:४०)। ‘मलाई 
७ 
पठाउनुहुनेको इच्छा यो होः उहाँले मलाई दिनुभएको सबैमध्ये म एउटालाई पनि नहराऊँ, तर उसलाई अन्तिम दिनमा फेरि बौराएर उठाऊँ' (यूहन्ना ६:३९ )। प्रभु येशूमाथि विश्वास गर्नेहरूमध्ये एकैजना पनि हराउँदैन। परमेश्वरको इच्छा यही हो। अनि प्रभु येशूले तिनीहरू सबैलाई अन्तिम दिनमा बौराएर उठाउनुहुनेछ। 

ज) हाम्रो जिम्मेवारी अन्तसम्म विश्वास गर्नु हो 

परमेश्वरले एउटा दिन निर्धारित गर्नुभयो, जुन दिनमा हामीले आफैले आशा गरेको कुरा प्राप्त गर्नेछौं। त्यो दिन प्रभु येशूको दोस्रो आगमन हो। ‘यसकारण आफ्नो मनको कम्मर कस, सचेत रहो र त्यस अनुग्रहमाथि पूर्ण रूपले आशा राख, जुन अनुग्रह येशू ख्रीष्ट प्रकट हुनुहुँदा तिमीहरूकहाँ आउनेछ' (१ पत्रुस १: १३ )। त्यस दिनमा हामीले हाम्रो विश्वासको परिणाम पाउनेछौं, हाम्रो आत्माको मुक्ति (१ पत्रुस १:९)। यसकारण हाम्रो जिम्मेवारी प्रभु येशूमाथि विश्वास गर्नु हो, र यस विश्वासमा अन्तिम दिनसम्म रहिरहनु हो। प्रेरित पत्रसले यो अन्तराल समय विश्वासको जाँच भनेका छन्, जुन समयमा खाँचो छ भने, हामी अनेकौं परीक्षाहरूमा पर्दछौं। तर यस जाँचमा हामी उतिर्ण भयौं भने 'येशू ख्रीष्ट प्रकट हुनुहुँदा प्रशंसा, 
आदर र महिमा' पाउनेछौं (१ पत्रुस १:७)। 

प्रभु येशूलाई हामीले देखेका छैनौं, तापनि प्रेम गर्छौं। अहिले हामी उहाँलाई देख्दैनौं, तर विश्वास गरेर उहाँमा बयान गरेर नसकिने र महिमाले पूर्ण आनन्दले खूबै आनन्द मनाउँछौं। जुन मुक्ति हराउँछ, त्यस मुक्तिमा आनन्द मनाउन सकिँदैन। तर जुन मुक्ति सुरक्षित छ, जुन मुक्ति सुनिश्चित छ, त्यस मुक्तिमा हामी रमाउन सक्छौं; रमाउन मात्र कहाँ हो र, हामी खूब आनन्द मनाउन सक्छौं। अनि हाम्रो बयान गरेर नसकिने र महिमाले पूर्ण आनन्द के हो त? स्वर्गमा हाम्रो निम्ति सुरक्षित रहेको हाम्रो अधिकारको भाग हाम्रो परम आनन्दको कारण हो। अनि परमेश्वर हामीलाई आफ्ना जनहरूको बीचमा त्यो पैतृक सम्पत्ति दिलाउन सक्षम हुनुहुन्छ यसकारण बुझ्नुहोस्ः कसैको मुक्ति हराउँदैन। केही कुरा हराउँछ भने, त्योचाहिँ कसैको विश्वास होला। किनभने वचनमा यसो लेखिएको छः 'उहाँको घर हामी हौं, यदि हामीले यो भरोसा र आशाको निश्चयता अन्तसम्म बलियो गरी पक्रिराख्यौं भने' (हिब्र ३:६ )। 'हामी ख्रीष्टका भागीदार भएका हौं, यदि हामीले हाम्रो शुरुको भरोसा अन्तसम्म बलियो गरी पक्रिराख्यौं भनें' (हिब्र ३:१४)। अनि 'हामी तीमध्येका होइनौं, जो नाश हुन पछि हट्छन्, तर उनीहरूमध्येका हौं, जसले आत्मा बचाउने गरी विश्वास गर्छन्' (हिब्रू १०:३९)। 

तब केही समयसम्म विश्वास गर्नेहरू र लक्ष्यमा नपुगी विश्वास छोडूनेहरूको विषयमा निम्न वचन सत्य ठहिरन्छः 

'किनभने हरेकसँग छ, उसलाई दिइनेछ र उससँग प्रशस्त हुनेछ; तर जससँग छैन, त्यसबाट जे त्यससँग छ, त्यो पनि खोसिनेछ' (मत्ती २५:२९)। तिनीहरूसँग साँचो विश्वास भएदेखि तिनीहरूको विश्वास- माथि विश्वास थपिनेथियो, र तिनीहरू अन्तसम्म विश्वासमा रहिरहनेथिए। तर जुन कुरा विश्वास देखिन्थ्यो, त्यो साँचो विश्वास ठहरिएन। किनकि विश्वासको जाँचले हाम्रो विश्वास नष्ट गर्दैन, अँ, नष्ट गर्नै सक्दैन, तर विश्वासका परीक्षाहरूले आगोले सुनचाँदी खारेझैं हाम्रो विश्वास खार्दछन्, र हाम्रो विश्वास विशुद्ध हुँदै जानेछ अनि यो खारिएको विश्वास प्रभुको दिनमा स्वाबासीको योग्य गनिनेछ। 

Your encouragement is valuable to us

Your stories help make websites like this possible.