पैसा ! पैसा !! पैसा !!!

पैसा ! पैसा !! पैसा !!!

केही वर्षअघिको कुरा हो - बाटोको छेउमा म बसको लागि पर्खिरहेको थिएँ, त्यस बेला तीनजना मानिसहरू मेरो नजिकैमा आइपुगे, र मेरो ध्यान केही समय उनीहरूमाथि रह्यो। मैले एउटा अचम्मको कुरा देख्न पाएँ, यो घटना बिर्सिन सकिनँ र आज तपाईंलाई बताउन चाहन्छु। 

यी तीनजना मानिसहरूमा एकजना पियक्कड रहेछ। त्यसले रक्सीको गन्ध थाह पाएर अरू दुईजनालाई एउटा सानो घरतिर डोरयाएको थियो। त्यो घर रक्सीको भट्टी रहेछ। त्यस पिउने मानिसले अरूलाई त्यही भट्टीभित्र पस्न कर लाएको मैले देखेँ। तर त्यस पिउने मानिसका दुईजना साथीहरूले मानेनन्, किनभने एकजना कहिलेकाहीं मात्र मद्यपान गर्ने र अर्कोचाहिँ कहिल्यै नपिउने व्यक्ति थियो। पियक्कडलाई खाऊँ, खाऊँ भइरहेको थियो, र त्यसले कहिलेकाहीँ मात्र अलि पिउनेलाई तान्दै भट्टीभित्र लग्यो; तब तेस्रो मानिस पनि तिनीहरूको पछि गयो। 

भट्टीको ढोका खुला भएकोले यी तीनजनाले के गरिरहेका थिए, सो चाल पाउन म इच्छुक भएँ र अलि नजिक हेर्न गएँ। पियक्कड आफ्नो राज्यमा पुगेजस्तै एकदम खुशी थियो; किनभने त्यसले आफूलाई चारैतिर रक्सी, बियर र रमका बोतलहरूले घेरेको थाह गर्‍यो। तुरुन्तै त्यसले एक बोतल रक्सी र तीनटा गिलास भट्टीवालबाट मार्गिहाल्यो। त्यो बोतल पाउनसाथ त्यसले तीनटा गिलास भरिदियो र पिउन थाल्यो। त्यसका दुईजना साथीहरूले पिउन ढिलो गरेकोमा त्यसले ताजुप मान्यो र 'खाओ' भनेर तिनीहरूलाई पिउने साहस दियो। एकजनाले त्यसको कुरा मान्यो र त्यसलाई खुशी पार्नको निम्ति अलिकति पियो। त्यो देखेर पियक्कड खुशी भयो, र त्यस साथीको काँधमा धाप मार्दै त्यसलाई स्याबासी दियो। अर्को साथीतिर हेर्दै त्यसले पनि यसो गर्नेछ भन्ने आशा गर्ने पियक्कडले के सुन्नुपरयो ? त्यस साथीले माफ मागेर 'म पिउँदिनँ; मैले कहिल्यै पिएको छैनँ, र पिउन चाहँदिनँ पनि' भन्यो। तब पियक्कडले त्यसलाई नराम्रो गरी कर लगाउँदै 'तिमीले पिउनैपर्छ, नत्र तिमी मेरो साथी होइनौ' भनी भन्न थाल्यो। त्यो नपिउने साथीले फेरि मानेन र हात जोड़ेर त्यसलाई विन्ती गरयो। तब पियक्कड रिसायो र त्यस नपिउने साथीलाई गाली गरेर त्यसलाई बल्ल आफ्नो इच्छामा छोड्यो; त्यसपछि रक्सीको बोतल रित्तो नपारुन्जेल अर्को साथीसँग रक्सी पिउँदै बस्यो। 

यो घटना मेरो निम्ति अति अचम्मको थियो। अनि मैले यहाँबाट एउटा कुरा सिकें: मद्यपान अति दुष्ट, खतरा र विनाशकारी चीज रहेछ। यस चीजले कति परिवारहरूमा ठूलो दुःख ल्याएको छ; अति धेरैलाई कङ्गाल तुल्याएको छ। त्यसले असंख्य मानिसहरूबाट सम्पूर्ण धनसम्पत्ति मात्र खोसेको होइन, तर तिनीहरूको स्वास्थ्य, होस र प्राणसमेत नष्ट गरेको छ। यसैले म आज तपाईंको सामु यस ज्यादै खराब विषको बिरोधमा, साथै यस्तै नशा बेच्ने वा सेवन गर्नेहरूको विरोधमा मेरो सोर उठाउन र यसको खराबीको बारेमा परमेश्वरको वचनबाट सबैलाई चेताउनी दिन चाहन्छु। 

यस सम्बन्धमा हामी पवित्र बाइबलमा यसरी लेखिएको पाउँछौं: दाखमद्य ठट्यौले र मदिरा खलबले हुन्छ; अनि हरेक जो यस कुरामा भड्किन्छ, त्यो बुद्धिमान् होइन। हितोपदेश २०:१ 

रक्सी खतरा चीज हो भन्ने कुरा पिउनेहरूले स्वीकार गर्न तयार छैनन्। तर यी मानिसहरू ठगिइसकेका छन्। मदिराले तिनीहरूसित ठट्टा गरेको छ र तिनीहरूलाई कुबाटोतिर लगिसकेको छ; तर पनि तिनीहरूलाई रमाइलो लाग्छ। झन् तिनीहरूलाई रोक्न चाहनेसँग तिनीहरूले झगड़ा गर्न आउँछन्। 
जसले सुखबिलासलाई प्रेम गर्छ, त्यो गरिब हुन्छ; जसले दाखमद्य र तेललाई प्रेम गर्छ, त्यो धनी हुनेछैन।हितोपदेश २१:१७ 

मद्यले तिनीहरूलाई गरिब तुल्याउँछ भन्ने कुरा पिउनेहरूले बुझ्दैनन्; किनभने तिनीहरूले यस विषलाई धेरै माया गर्छन्; तिनीहरू घर, जग्गाजमिन, अँ सारा सम्पत्ति रक्सीको लागि दिन तयार छन्। यो हो तिनीहरूको पाप। पियक्कडहरूको बीचमा, मासु खाने घिचुवाहरूको बीचमा नहोऊ; किनभने मतवाला र घिचुवा कङ्गाल हुनेछन्; अनि लट्ठाइले थाडना ओढ़ाउनेछ। हितोपदेश २३:२०–२१ 

मतवाला र घिचुवाहरूको साथी गरिब हुन्छ र थाङना ओढ्नपर्छ भन्ने कुरा नपिउनेले मात्र बुझ्छ। पियक्कडले त्यो अनुभव आफै गर्नुपर्छ। त्यसले आफ्नो घरपरिवारलाई अनेकौं दुःख दिन्छ। आफ्ना छोराछोरीहरू र आफ्नी पत्नीले खाएका र लाएका छन् कि छैनन् भनी त्यसलाई कुनै फिक्री लाग्दैन। निकम्मा मानिसहरूसित लागेर त्यसले मद्य खोजिहिँड्छ र आफ्नो परिवारलाई रुवाउँछ र शोकमा डुबाउँछ। ऐया कसलाई? अत्था कसलाई? झगड़ाहरू कसलाई? बकबक कसलाई? कसलाई बिनाकारण चोटहरू लागेको छ? कसका आँखा राता-राता हुन्छन्? तिनीहरूकै, जो अबेरसम्म दाखमद्यमा अलमलिरहन्छन्; तिनीहरूकै, जो मसला मिलाइएको मदिरा चाख्न जान्छन्। हितोपदेश २३:२९-३० 

मद्यले हामीलाई के गर्छ? त्यसले हामीलाई कष्ट दिन्छ, आपसमा झगड़ा उत्पन्न गराउँछ र हामीलाई व्यर्थ कुरा बक्न लाउँछ। त्यसले हाम्रो दिमाग बिगार्छ, हामीलाई बन्धनमा पार्छ र हामीलाई आफ्नो कब्जाबाट निस्केर जान दिँदै दिँदैन। 

दाखमद्य, जब त्यो रातो हुन्छ, जब त्यो कचौरामा चमचमाउँछ. जब त्यो तररर गिलासमा झर्छ, तब त्यसलाई नहेर! अन्तमा त्यसले साँपले झैं ठुग्छ, र साँभे साँपले झैं डस्छ। तिम्रा आँखाहरूले व्यभिचारी स्त्रीहरूलाई देख्नेछन्, र तिम्रो हृदयले टेढ़ा कुराहरू बक्नेछ। अँ, तिमी समुद्रको बीचमा लेट्नेझैं अथवा मस्तूलको टुप्पामा लेट्ने मानिसझैं हुनेछौ। तिमीले भन्नेछौ : 'तिनीहरूले मलाई हिर्काए, तर म बिरामी भइनँ, तिनीहरूले मलाई पिटे, तर यो मैले थाहै पाइनँ। म कहिले बिउँझँ ? म फेरि त्यसकै खोज गर्नेछु।' हितोपदेश २३:३१-३५ 

जाँडरक्सी कसै-कसैलाई मीठो लाग्छ; तर अन्तमा मद्यपान सर्पको विषजस्तै हुन्छ। नशाको विष लागेको मानिस लट्ठिएको हुन्छ। त्यो सजिलोसँग व्यभिचारी स्त्रीहरूको हातमा पर्छ। नचाहिँदा र फोस्रा कुराहरू बोलेर त्यसले आफ्नो बढाइचढाइ गर्छ। तर त्यो आफै मद्यको कैदी भएको छ भनी थाह लाग्दैन। यसो गर्दा त्यसले पापमाथि पाप थप्दै जान्छ र आफ्नो अमूल्य आत्मालाई अनन्त नरकको आगोमा पुरयाएर त्यसलाई सदाको लागि गुमाउनुपर्छ। 

नाश हुन लागेकोलाई मदिरा देऊ; मनमा पीर भएकाहरूलाई दाखमद्य देऊ! त्यसले पिओस् र आफ्नो गरिबी बिर्सोस्; त्यसले आफ्नो पीर फेरि नसम्झोस्। हितोपदेश ३१:६-७ 

मनको पीरले गर्दा र आफ्नो घरका दुःखहरू खप्न नसकेको हुनाले धेरै मानिसहरूले मद्यमदिरामा सहारा लिन्छन्। थोरै समय भए पनि तिनीहरूले आफ्नो समस्या बिर्सन चाहन्छन्। गरिब, दुःखी र लाचारीहरूबाट सारा संसारले नाफा उठाएको छ। कसरी? तिनीहरूलाई मद्यपान बेचेर र खुवाएर नै। कसको पसल वा होटेलमा बियर र रक्सी छैन? त्यही चीज मात्र बिक्छ भनी सबैले भन्छन्। 

हाय तिनीहरूलाई, जो मदिरा खोज्न बिहानै उठ्छन्; जो दाखमद्यले तिनीहरूलाई लट्ठ पारुन्जेल राति अबेरसम्म बस्छन्। यशैया ५:११ हाय त्यसलाई, जसले आफ्ना छिमेकीको नङ्गाता हेर्न भनी त्यसलाई पिउन दिन्छ; आफ्नो बोतल त्यसको सामु राख्छ र त्यसलाई मत्त गराउँछ। हबकूक २:१५ 

हाय तिनीहरूलाई, जो दाखमद्य पिउनलाई वीर, जो मदिरा मिसाउनुमा निपुण हुन्छन्। यशैया ५:२२  
हाय, हाय, हाय! तीनपल्ट तिनीहरूलाई हाय, जो मदिराको खोजमा हिँड्दछन्, जो मद्य बनाउने, बेच्ने वा पियाउन काम गर्दछन्। के त्यो श्राप र दोष तपाईंलाई पनि लाग्छ? तब होशियार हुनुहोस्! किनभने तपाईंले ठूलो पाप गर्नुभएको छ। यसको लेखा तपाईंले एकदिन एकमात्र सत्य परमेश्वर हाम्रो सृष्टिकर्तालाई दिनुपर्छ। 
रन्डीबाजी, दाखमद्य र जाँडले समझ बिगारेर लैजान्छ। होशे ४:११ 

व्यभिचारमा फसेर धेरै मानिसहरू नाश भए। तर रक्सीजाँडले गर्दा झन् बढ़ी मानिसहरूको समझ बिग्रियो। तिनीहरू के गरिरहेका छन्, सो जान्दैनन् र बुझ्दैनन्; किनभने तिनीहरूको होस रहेन। अब यस्ताहरूको हालत के हुनेछ त? 

शरीरका कामहरू प्रकट छन्; ती यी हुन्ः परस्त्रीगमन, व्यभिचार, अशुद्धता, कामुकता, मूर्तिपूजा, टुनामुना, शत्रुता, झगड़ा, डाहा, रिस, विरोध, फूट, दलबन्दी, द्वेष, हत्या, मतवालापन, मोजमज्जा, साथै यही प्रकारका कुराहरू, जसका विषयमा म तिमीहरूलाई पहिल्यै भन्दछु, यस्ता यस्ता काम गर्नेहरू परमेश्वरको राज्यका हकवाला हुनेछैनन्। गलाती ५:१९-२१ 

मतवालाहरूले परमेश्वरको राज्यका हकदार हुँदैनन् भने तिनीहरूको भाग के हो त? तिनीहरूको भाग कहिल्यै ननिभ्ने नरकको आगो हुनेछ। तब के हामीलाई आफ्नो विषयमा होशियार हुनु खाँचो छैन? के हामीले आफ्नो आत्माको निम्ति फिक्री गर्नुपर्दैन र? नरकमा पर्नुभन्दा अघि नै परमेश्वरको डर मानेर हामीले मद्यपान गर्ने बानी सधैँको लागि छोड्नुपर्छ। 

आफ्नै विषयमा होशियार बस, कहीं वाक्क - व्याक्क पार्ने अचाक्लीपन, मतवालापन र यस जीवनका फिक्रीहरूले तिमीहरूका हृदय दबाउलान्, र त्यो दिन तिमीहरूमाथि एक्कासि आइपर्ला। किनभने सम्पूर्ण पृथ्वीमा बस्नेहरू सबैमाथि त्यो दिन पासोझैं आइपर्नेछ। यसकारण यी सबै परिआउने कुराहरूदेखि उम्कन, साथै प्रभु येशूको सामु उभिनका निम्ति योग्य ठहरिनलाई जागा रहो र सधैँ प्रार्थना गर! लूका २१:३४-३६ 

हामी एकदिन प्रभु येशूको सामु उभिनुपर्छ र आफ्नो जीवनको लेखा दिनुपर्छ। के उहाँको दृष्टिमा तपाईं योग्य ठहरिनुहुन्छ ? मातिरहनेहरू सबैमाथि त्यो दिन एक्कासि आइपर्नेछ। किनकि परमेश्वरको सामु न्यायमा उभिनको लागि तिनीहरूले आफूलाई तयार गरेनन्। तिनीहरूका दुष्ट कामको फल तिनीहरूले अवश्य भोग्नुपर्नेछ। 

हामीले हाम्रो बितेको जीवनको जति समय अन्यजातिहरूको इच्छाअनुसार गर्नुमा बितायौं अर्थात् कामुकता, अभिलाषा, मतवालापन, मोजमज्जा, रक्सीधोकाइ र घिनलाग्दा मूर्तिपूजाहरूमा बितायौं, त्यही हाम्रो लागि पर्याप्त भयो। यस्तो भारी उपद्रवमा तिमीहरू तिनीहरूसित लागी नहिँडेकोमा तिनीहरूलाई अनौठो लाग्छ र तिमीहरूको निन्दा गर्छन्। तिनीहरूले जिउँदा र मरेकाहरूको न्याय गर्नको निम्ति तयार हुनुहुनेलाई हिसाब दिनेछन्। १ पत्रुस ४:३-४ 

बितेको समयमा हामीले मद्यपान गरेर जीवन बितायौं, मोजमज्जा गयौँ होला; त्यत्तिमा पुग्यो। अब हामी यी पापहरूबाट साँचो गरी पश्चात्ताप गरौं र यस्ता घिनलाग्दा पापहरू सधैंको लागि त्यागौं। विनाशको बाटो छोड़ेर तपाईं जिउँदो प्रभु येशूकहाँ आउनुहोस्! उहाँले तपाईंलाई सबै पापहरूको बन्धनबाट, मद्यपान गर्ने पापबाट पनि छुटकारा दिनुहुन्छ। 

दिनमा जस्तै गरी हामी इमानदारीसाथ हिँड़ौं; मोजमज्जा र मतवालापनमा होइन, व्यभिचार र कामुकतामा पनि होइन, न ता झगड़ा र डाहामा नै। तर प्रभु येशू ख्रीष्टलाई पहिर, र कुइच्छाहरू पूरा गर्नलाई शरीरको लागि कुनै प्रबन्ध नगर! रोमी १३:१३-१४ 

परमेश्वरको सामु इमानदारी बन्नलाई हामीले मात्ने र मोजमज्जा गर्ने बानी र अरू पापहरू फाल्नुपर्छ। प्रभु येशूमाथि विश्वास राखेर हामीले उहाँलाई मुक्तिदाताको रूपमा आफ्नो हृदयमा ग्रहण गर्नुपर्छ। उहाँको पवित्र गुण हामीले धारण गर्नुपर्छ। धेरै मानिसहरूले प्रभु येशूमाथि विश्वास गरेर मद्यपान गर्ने बन्धनबाट छुटकारा पाए। तपाईंले पनि छुटकारा पाउनुपर्छ। प्रभु येशू पापको बन्धनमा परेका सबैको मुक्तिदाता हुनुहुन्छ। उहाँको नाम पुकारी उहाँमा शरण लिनुहोस् र सबै पापबाट मुक्त हुनुहोस्! 

के यो कुरा तिमीहरूलाई थाह छैन? अधर्मीहरूले परमेश्वरको राज्यका हकवाला हुनेछैनन्। धोका नखाओ, व्यभिचारी, मूर्तिपूजक, परस्त्रीगामी, पुरुषगामी, चोर, लोभी, मतवाला, गाली बक्ने र धुताहाहरू परमेश्वरको राज्यका हकवाला हुनेछैनन्। तिमीहरूमध्ये कतिजना यस्तै थियौ; तर प्रभु येशूको नाममा र हाम्रा परमेश्वरको आत्माद्वारा तिमीहरू धोइएका छौ, पवित्र पारिएका छौ र धर्मी ठहरिएका छौ। १ कोरिन्थी ६:९ - ११ 

हो, अरू अधर्मीहरूजस्तै मतवालाहरू पनि परमेश्वरको राज्यका हकदार हुन सक्दैनन्। तर खुशीको कुरा के हो भने यस्ता पापीहरूलाई बचाउन प्रभु येशू यस संसारमा आउनुभयो। हामीलाई सबै पापहरूको बन्धनबाट छुटाउनको निम्ति उहाँले क्रूसमा आफ्नो प्राण पाप-बलिको रूपमा दिनुभयो र आफ्नो निर्दोष, अमूल्य रगत बगाउनुभयो। यसरी नै प्रभु येशूले हामी सबैको लागि छुटकाराको दाम तिरिदिनुभयो। हामीलाई अति प्रेम गरी उहाँ हाम्रो निम्ति मर्नुभयो र मुक्ति पाउने ठूलो प्रबन्ध तयार गर्नुभयो। त्यसपछि मरेको तेस्रो दिनमा उहाँ फेरि जिउँदो भई मुर्दाहरूबाट उठ्नुभयो र उहाँका चेलाहरूकहाँ देखा पर्नुभयो। उहाँ मृत्युमाथि विजयी हुनुभयो। प्रभु येशू जिउँदो प्रभु हुनुहुन्छ। उहाँले तपाईंलाई पापको क्षमा र पवित्र आत्मा दिनुहुन्छ। यसकारण येशूको नाम पुकारी आफ्ना पाप उहाँको सामु प्रार्थनामा मानिलिनुहोस्! आफ्नो जीवन उहाँको शक्तिशाली, प्रेमिलो हातमा सुम्पिदिनुहोस्! प्रभु येशूले तपाईंलाई अवश्य बचाउनुहुनेछ। 
दाखमद्यले नमात, जसमा चरित्रहीनता हुन्छ; तर आत्माले भरपूर होओ। एफेसी ५:१८ 

हाम्रो निम्ति परमेश्वरको इच्छा स्पष्ट छः मद्यपान गरी हामी मात्तिनुहुँदैन। किनभने त्यसले हामीलाई चरित्रहीन बनाउँछ। तर जब हामी पवित्र आत्माले भरपूर हुन्छौं, तब हाम्रो जीवनबाट परमेश्वर प्रसन्न हुनुहुन्छ; किनभने त्यही पवित्र आत्माले हामीमा प्रेम, आनन्द, शान्ति र मिलापजस्तै राम्रा-राम्रा गुणहरू पैदा गर्नुहुन्छ। यसकारण आफ्नो जीवन विश्वाससाथ प्रभु येशूको अधीनतामा राखिछोड्नुहोस्! तब तपाईं मतवाला हुनुपर्दैन; तर प्रभु येशूमाथि विश्वास राखेको हुनाले तपाईं मद्यपानको बन्धनबाट, साथै अरू सबै पापहरूबाट पनि छुटकारा पाउनुहुन्छ, र पवित्र आत्माले तपाईंलाई भर्नुहुनेछ। यसरी नै तपाईंको जीवनबाट परमेश्वरको महिमा हुनेछ। 

परमेश्वरको वचन पवित्र बाइबलबाट यस सम्बन्धमा तपाईंलाई अझ बुझ्ने इच्छा छ भने तल दिइएको ठेगानामा चिट्ठी लेख्नुहुन अनुरोध गर्दछौं। आत्मिक कुराहरूको सम्बन्धमा हामी तपाईलाई सकभर सहायता गर्न तयार छौं। हामीसँग सम्‍पर्क गर्ने हरेकलाई हामी रोचक पुस्‍तकहरू सित्तैंमा पठाउनेछौं। धन्यवाद। 

Your encouragement is valuable to us

Your stories help make websites like this possible.