अबको चालीस दिनमा

अबको चालीस दिनमा...

टिग्रिस नदीको पूर्वी किनारमा अस्सुरिया साम्राज्यको निनवे नाम गरेको राजधानी थियो, जो त्यस बेला एकदम प्रख्यात थियो। त्यो पुरानो शहर निम्रोदद्वारा बनाइयो र पछि ठूलो शहर भयो। त्यसको नाम 'डाँकू शहर' पनि भनिन्थ्यो; किनभने त्यसका बासिन्दाहरूले अरू शहर र देशहरूलाई आक्रमण गरेर तिनीहरूका धनसम्पत्ति लुटेका थिए र तिनीहरूलाई शोषण गरेका थिए। यसरी नै त्यो शहर धनी भयो। 

त्यस शहरमा परमेश्वरले आफ्नो अगमवक्ता पठाईकन त्यसका मानिसहरूको विरोधमा एउटा सन्देश सुनाउनुभयो; किनकि परमप्रभुको दृष्टिमा त्यस शहरको दुष्टाइँ ज्यादै ठूलो थियो। परमेश्वरको सन्देश यस प्रकारको थियो - " अबको चालीस दिनमा निनवे नाश हुनेछ! " यो छोटो, तर गम्भीर सन्देश सुनेर निनवेका मानिसहरूले परमेश्वरलाई विश्वास गरे। उनीहरूले आफ्ना पापदेखि पश्चात्ताप गरे। परमप्रभुको सामु उनीहरूले आफूलाई नम्र तुल्याए र आफूले गरेका पापहरूमा पछुताउँदै उनीहरूले निगाह पाऔं भनेर परमेश्वरलाई पुकारे। उनीहरू आफ्ना कुमार्ग र अत्याचारदेखि फर्के। उनीहरूले परमेश्वरको भयानक रिस र अनन्त विनाशबाट उम्कन चाहे, र यसकारण परमेश्वरको कृपा खोजे। उनीहरूले गरेका सबै पश्चात्तापका कार्यहरू देखेर परमेश्वरले उनीहरूप्रति दया देखाउनुभयो र उनीहरूमाथि विपत्ति ल्याउनुभएन। उनीहरू नाश भएनन्। परमेश्वरको कृपाले गर्दा उनीहरू न्याय र सजायबाट उम्के। 

निनवे शहरको निम्ति झैं आज संसार र त्यसका बासिन्दाहरूका निम्ति पनि सृष्टिकर्ता परमेश्वरको एउटा सन्देश छ; किनभने यहाँ पाप र अधर्महरू ज्यादै बढ़ेका छन्। सन्देश यस प्रकारको छ - "परमेश्वरले एक दिन तोक्नुभएको छ, जुन दिन उहाँले सारा संसारका मानिसको न्याय गर्नुहुनेछ। यसकारण उहाँले आज नै सबै ठाउँमा सबै मानिसहरूलाई आ-आफ्ना पापमा पछुताउनू भन्ने आज्ञा दिनुहुन्छ।" 

परमेश्वरको आज्ञा स्पष्ट छ र तोकिएको समय थोरै बाँकी रहयो। यसैले हामी सबैजनालाई प्रेमसाथ यो गम्भीर चेताउनी दिन्छौं परमेश्वरको न्याय र अनन्त विनाशबाट उम्कनलाई तपाईंले मूर्तिपूजा, व्यभिचार, मतवालीपन त्याग्नुहोस्! घमण्ड, लोभ र स्वार्थीपन; रिस, डाहा र झगड़ा; हत्या, शोषण, अत्याचार र सबै चोरी र ठग्ने कामहरूसमेत छोड्नुहोस्! सबै कुकर्म र पापहरू त्यागेर साँचो, जिउँदो, एकमात्र सृष्टिकर्ता परमेश्वरतिर फर्कनुहोस् र उहाँको भय मान्नुहोस्! नत्र तपाईं चाँड़ै आइपर्ने उहाँको न्याय र डरलाग्दो दण्डबाट कसरी उम्कनुहुनेछ त? 

'खाइसार कि लाइसार, मरेपछि लम्पसार' - यो भनाइअनुसार जिउनेहरूलाई हामी प्रभुको सामु कड़ा चेताउनी दिन्छौं - के तपाईं परमेश्वरको डर मान्न चाहनुहुन्न? के तपाईंले आफ्नो हृदय कठोर पार्नुहुन्छ र आफ्ना भूलचूकमा पछुतो मान्नुहुन्न? याद राख्नुहोस्, परमेश्वरको धार्मिक न्याय चाँडै आउँदैछ। त्यस दिन प्रभुले तपाईंलाई तपाईंका कामहरूअनुसार प्रतिफल दिनुहुनेछ। 

जब दुष्ट र पापी मानिसहरूले उन्नति गर्छन्; जब भोगविलासमा जिउनेहरूमाथि केही विपत्ति आइलाग्दैन; तब उनीहरू चाँड़ै नाश हुनेछन् भन्ने कुरा के तपाईंलाई थाह छैन? परमेश्वरको वचन बाइबलले हामीलाई यो कुरा स्पष्ट देखाउँछ - दुष्टहरूको फलिफाप नाश हुने विकास हो। प्रिय मित्र, याद गर्नुहोस्! परमेश्वरले तपाईंलाई पश्चात्ताप गर्ने समय दिँदै हुनुहुन्छ। उहाँले कोही पनि नाश नभएको, तर सबैले पापदेखि जिउँदो परमेश्वरतिर मन फर्काएको चाहनुहुन्छ। यसैकारण आजसम्म उहाँ तपाईंप्रति धीरज देखाउनुभएको छ। उहाँको कृपा र धीरजलाई तुच्छा नठान्नुहोस् भनी हामीले तपाईंलाई अनुरोध गर्दछौं। 

विचार गर्नुहोस् - यदि परमेश्वरले तपाईंको आयुमा चालीस दिन मात्र बाँकी राख्नुभएको छ भने तपाईंले परमेश्वरसँग आफूलाई ठीक राख्नलाई के गर्नुहुन्छ? यो अवधिभित्र तपाईं कुन ठाउँमा तीर्थयात्रा गरी आफ्ना पापको बोझबाट मुक्त हुनुहुन्छ? वा केकस्ता धर्मकर्म गरेर आफ्नो मनलाई शुद्ध पार्न सक्नुहुन्छ? कुन मन्दिर गएर कुन देवता पूजेर तपाईंले आफूलाई परमेश्वरको न्याय अर्थात् नरकको कहिल्यै ननिभ्ने आगोबाट बचाउन चाहनुहुन्छ? प्रिय मित्र सुन्नुहोस्, यी सबै कुराबाट तपाईंलाई केही लाभ हुँदैन। एउटै मात्र बाँच्ने उपाय छ - सत्य परमेश्वरको सामु आफूलाई नम्र बनाएर आफ्ना पापहरू मानिलिनुहोस्। पश्चात्ताप गर्नुहोस् र आफ्नो सृष्टिकर्तातिर फर्कनुहोस्; किनभने परमप्रभु परमेश्वर न्यायी र धर्मी हुनुभए तापनि उहाँ हरेक मानिसप्रति, जसले पापदेखि साँचो गरी पछुताउँछ, कृपालु र दयालु हुनुहुन्छ। 

यो कुरा निनवेजस्तो ठूलो शहरबाट सिक्नुहोला - ती मानिसहरूले साँचो गरी पापदेखि पछुताए र यसैले परमेश्वरबाट कृपा पाए। 

करीब दुई हजार वर्षअघि परमेश्वरले आफ्नो एकमात्र पुत्र प्रभु येशू ख्रीष्टलाई यस संसारमा पठाउनुभयो। प्रभु येशूको जीवनमा परमेश्वरले मानिसहरूप्रति आफ्नो प्रेम र दया स्पष्ट रूपले देखाउनुभयो। प्रभु येशू पापीहरूलाई खोज्न र बचाउन आउनुभयो। उहाँ निर्दोष भएर पनि काठको क्रूसमा असाध्य कष्ट सहेर मर्नुभयो। परमेश्वरले हामीलाई कति प्रेम गर्नुहुन्छ भन्ने कुरा यसैमा प्रकट भएको छ। उहाँले हाम्रो लागि आफ्नो प्राण दिएर सारा संसारका पापको निम्ति प्रायश्चित हुनुभयो। परमेश्वर यो बलिदानमा सन्तुष्ट हुनुभयो र प्रभु येशूलाई संकेत गर्दै हामीलाई भन्नुहुन्छ- 'हेर, सारा संसारको पाप उठाई लैजाने परमेश्वरको थुमा!' प्रभु येशूमा परमेश्वरले हामीलाई मुक्ति अर्थात् पापको क्षमा दिनुहुन्छ। उहाँद्वारा नै हामीले परमेश्वरसँग मेलमिलाप राख्न पाउँछौं। यसकारण तपाईं यही बाटो भएर परमेश्वरकहाँ आउनुहोस्। प्रभु येशूको नाममा पापको क्षमा छ। जब परमेश्वरले प्रभु येशूलाई मरेकाहरूबाट बौराउनुभयो, तब उहाँले यस कुरामा आफ्नो छाप लगाएर हामी सबैलाई यसको पक्क प्रमाण दिनुभयो। आज प्रभु येशू जिउँदो हुनुहुन्छ। उहाँ सबैका प्रभु हुनुहुन्छ, किनभने उहाँलाई नै स्वर्ग र पृथ्वीका सारा अधिकार दिइएको छ। साँचो हृदयले प्रभु येशूलाई पुकार्नुहोस्। उहाँले तपाईंलाई मुक्ति दिनुहुन्छ। 

यो सन्देश तपाईंलाई सुनाउन हामी अति इच्छुक भयौं। यो पर्चाद्वारा परमेश्वरले तपाईंलाई आग्रह गर्नुहुन्छ " परमेश्वरसँग मिलाप राख्नुहोस्!" यसरी नै तपाईं उहाँको धर्मी न्याय र चाँड़ै आइलाग्ने विनाशबाट अवश्य उम्कनुहुनेछ। यो सुन्देशद्वारा परमेश्वरले तपाईंलाई आशिष दिऊन्। 

यस सम्बन्धमा तपाईंलाई अझ जान्ने वा बुझ्ने इच्छा छ भने हामीसँग सम्‍पर्क गर्नुहोला। हामी तपाईंलाई आत्मिक कुराको सम्बन्धमा सकेसम्म सहायता गर्न तयार छौं। धन्यवाद। 

Your encouragement is valuable to us

Your stories help make websites like this possible.