मामुली जीवनभन्‍दा उच्‍च जीवन : एकदेखि दस अध्‍यायसम्‍म

मामुली जीवनभन्‍दा उच्‍च जीवन

शुरुका एक-दुई शब्दहरूः 

'हामीले जुन प्रकारले आफ्नो इसाई जीवन जिइरहेका हुन्छौं, के त्यसले हाम्रो वल्लो वा पल्लो घरको छिमेकीलाई प्रभावित पार्न सक्छ त? तपाईं र मेरो जीवनले कुनचाहिँ साक्षी दिइरहेको छ? त्यसले कुनचाहिँ भाषा बोलिरहेको छ? हाम्रो छिमेकीको पनि आफ्नै जिउने तरिका हुन्छ, र उसको जीवन कस्तो किसिमको छ, सो परिभाषा उसकै जीवनले दिन्छ। तब हाम्रो विषयमा सोध्दा उसले के जवाफ देला? उसले “त्यो त साह्रै धर्मी मानिस हो” भनी भन्ला अनि ऊ आफूचाहिँ उसको विषयमा यसो भन्न सकिँदैन। के भिन्नता केवल यसैमा छ? के यसो भन्न मिल्छः धर्ममा उसको चासो छैन; इसाई धर्म हाम्रै शोक हो। तब मेरो प्रश्न छः हामीले जसरी आफ्नो ख्रीष्टिय विश्वास व्यवहारमा उतारेका छौं, के त्यसमा उसलाई प्रभावित पार्ने, उसलाई ताजुप लाग्ने कुनै कुरा छ? हामीमा विशिष्ट के छ? के हाम्रो जीवनमा कुनै यस्तो असाधारण कुरा हुन्छ, जुन कुराले उसमा प्रभुको बारेमा चासो बढ़ाउन र प्रश्न उठाउन सक्छ? कि के हामीले जे गरिरहेका छौं, उसले पनि त्यही गर्न सक्छ? के ख्रीष्टका पत्रहरू हौं भन्ने हाम्रो सिफारिस गर्ने केही सद्गुणहरू छन्? छैनन् भने ऊ किन इसाई बन्ने त? उसले त्यस प्रकारको लन्ठ किन उठाउनुपर्छ?' 
मेजर इयन थोमस 
टर्च बेरर्सका संस्थापक 

अध्‍याय एक : हाम्रो ठाउँमा प्रभु येशूले के गर्नुहुनेथियो? 

एउटा पहाड़माथि रातभरि प्रार्थना गर्नुभएपछि प्रभु येशूले बाह्रजना चेलाहरूलाई छान्नभयो। उनीहरू उहाँका प्रेरितहरू थिए, जसलाई उहाँले सुसमाचार फैलाउनका निम्ति सारा संसारभरि पठाउन चाहनुहुन्थ्यो। एपोस्टल भन्ने ग्रीक शब्दको शाब्दिक अर्थ 'पठाइएको' वा 'प्रेषित' हो, जुन शब्दचाहिँ नेपालीमा प्रेरित भनेर अनुवाद गरिएको छ। 

उनीहरू यस पहाड़बाट ओर्लिआएपछि प्रभु येशूले उनीहरूलाई उनीहरूको मिसन कार्यका निम्ति तालिम दिन थाल्नुभयो। पहिले उहाँले उनीहरूको जीवन शैलीसँग सम्बन्धित कुराहरूसित व्यवहार गर्नुभयो। उनीहरूले त्यागपूर्ण जीवन जिउनु- परेको थियो। उनीहरूले आफ्नो बोलावटको विषयमा गम्भीर हुनुपरेको थियो। उनीहरू लोकप्रिय हुनुहुँदैनथियो, तर उहाँको खातिर उनीहरूले सतावट भोग्नुपरेको थियो।

त्यसपछि उनीहरूले आफ्नो चालचलन कसरी सठीक राख्नुपरेको थियो, यस सम्बन्धमा उहाँले उनीहरूलाई निम्न शिक्षा दिनुभयोः 'तर म तिमी सुन्नेहरूलाई भन्दछुः आफ्ना शत्रुहरूलाई प्रेम गर; तिमीहरूलाई घृणा गर्नेहरूलाई भलाइ गर! जसले तिमीहरूलाई सराप्छन्, तिनीहरूलाई आशीर्वाद देओ, र जसले तिमीहरूलाई अपमान गर्दछन्, तिनीहरूका निम्ति प्रार्थना गर! अनि जसले तिमीलाई एउटा गालामा हिर्काउँछ, त्यसलाई अर्को पनि थापिदेऊ! जसले तिम्रो कोट खोस्छ, त्यसलाई आफ्नो दौरा पनि इन्कार नगर! तिमीसित माग्ने हरेकलाई देऊ; अनि जसले तिम्रा मालहरू लैजान्छ, त्यसबाट ती फिर्ता नमाग! अनि मानिसहरूले तिमीहरूसित जेजस्तो गरेका चाहन्छौ, तिमीहरूले पनि तिनीहरूसित त्यस्तै व्यवहार गर! किनकि जसले तिमीहरूलाई प्रेम गर्दछन्, तिनीहरूलाई तिमीहरूले प्रेम गर्दछौ भने तिमीहरूलाई त्यसमा के स्याबासी छ र? किनकि पापीहरूले पनि आफूलाई प्रेम गर्नेहरूलाई प्रेम गर्दछन्। अनि जसले तिमीहरूको भलाइ गर्दछन्, तिमीहरूले तिनीहरूको भलाइ गर्दछौ भने त्यसमा तिमीहरूलाई के स्याबासी छ र? किनकि पापीहरूले पनि त्यस्तै गर्दछन्। अनि तिनीहरूबाट फिर्ता पाउने आशा राखी तिमीहरूले तिनीहरूलाई सापट दिँदछौ भने त्यसमा तिमीहरूलाई के स्याबासी छ र? किनकि पापीहरूले पनि पापीहरूलाई दिएको जति फिर्ता पाउने आशामा सापट दिन्छन्। तर तिमीहरूका शत्रुहरूलाई प्रेम गर र भलाइ गर, अनि फेरि केही पनि पाउने आशा नगरीकन सापट देओ; र तिमीहरूको इनाम ठूलो हुनेछ, र तिमीहरू परमप्रधानका सन्तान हुनेछौ; किनकि उहाँ अधन्यवादी र दुष्टहरूप्रति दयालु हुनुहुन्छ। यसकारण जसरी तिमीहरूका पिता दयालु हुनुहुन्छ, त्यसरी नै तिमीहरू पनि दयालु होओ! 

प्रभुका यी आज्ञाहरूप्रति तपाईं र मेरो प्रतिक्रिया केकस्तो होला? के हामी यसो भन्न सक्छौंः 'ज्यू प्रभु, म यी आज्ञाहरूमा विश्वास गर्छु, अनि वास्तवमा हामी इसाईहरूले तपाईंका यी आज्ञाहरू पालन गरिरहेका छौं।' तब ढुक्क हुनुहोस्! हामी सबैजना यी आज्ञाहरूअनुसार जिएका छौं नि! तर के वास्तविक कुरा यस्तो हो र? यो खण्ड फेरि एकपल्ट पढ्नुहोस् र आफ्नो विषयमा इमानदार हुनुहोस्; अँ, प्रभुले यहाँ के भन्नुभएको छ, यसको बारेमा झसङ्ग हुनुहोस्! किनभने प्रभु येशूले यहाँ आफ्नो शिक्षामा एउटा अलौकिक जीवन चरित्र पेस गर्नुभएको हो। 

यो एक अस्वभाविक चरित्र हो। यस प्रकारको चरित्र मानिसहरूमा देखिने चालभन्दा महान् हो; यो एक साधारण जीवनभन्दा कता हो कता, एक उच्च जीवन हो। हाम्रो जीवन हाम्रा छिमेकीहरूको भन्दा फरक हुनुपर्छ। प्रभु येशूले यहाँ, यस बाइबलको खण्डमा यही कुरामा जोड दिनुभएको हो। हाम्रो जीवनमा भिन्नता छैन भने वास्तवमा, हामीले मानिसहरूलाई कुन सन्देश दिइरहेका छौं? तिनीहरूलाई 'फिक्री नगर्नुहोस्, किनकि हामी तपाईंहरूजस्ता छौं नि' भन्छौं। तर हाम्रो र तिनीहरूको जीवनको बीचमा कुनै भिन्नता भएन भने, मानिसहरूले हाम्रो कुरा किन सुनून्? यस्तो अवस्थामा हामीले तिनीहरूलाई सुसमाचार सुनाउँदा तिनीहरूलाई ख्रीष्टका दाबीहरू केहीजस्ता लाग्दैन। हाम्रो भिन्नतामा महत्त्व हुन्छ। हाम्रो जीवन मामुली जीवनभन्दा उच्च हुनुपर्छ। 

तर यदि हाम्रो र तिनीहरूको जीवनमा तिनीहरूले ठूलो भिन्नता देखे भने, तिनीहरूले यसको कारण के हो, सो खोज्न थाल्छन्, अनि यसरी नै तिनीहरूलाई सुसमाचार सुनाउने मौका हामीलाई मिल्दछ। टर्च बेरर्सका संस्थापक मेजर इयन थोमसले यसको बारेमा यसो भनेका छन्ः 'तपाईंको जीवनको सद्गुणले तपाईंका छिमेकीहरूलाई आश्चर्यचकित पार्नुपर्छ। तब तपाईंले तिनीहरूलाई केही न केही प्रभाव पार्न सम्भव हुन्छ। अरू मानिसहरूले हाम्रो जीवनमा छर्लङ्ग देख्न सक्नुपर्छ, कि हामीले जिएको जीवन खुबै सहनी गर्न योग्यको छ; यति मात्र होइन, तर कुरा स्पष्ट छः हाम्रो यो जीवन-शैली हाम्रै शक्तिदेखि बाहिरको चाल हो, जसका निम्ति कुनै लौकिक कारण पाइँदैन, अँ, परमेश्वरमा बाहेक अरू कुनै कारण देखिँदैन। कसैको देखासिकी गरेर यस प्रकारको ईश्वरीय जीवन नोकल गर्न पनि सकिँदैन। तिनीहरूले यसको विषयमा जेजति धेरथोरै बुझून्, तर तिनीहरूले हाम्रो जीवन परमेश्वरको रचना र काम भएको देख्नुपर्छ; उहाँले नै हामीमा आफ्नो रूप हालेर त्यो हामीबाट प्रकट गर्नुहुन्छ। 

यसर्थ छोटकारीमा भन्न हो भने, हाम्रा छिमेकीहरूले यो स्पष्ट बुझ्नुपर्छ, कि प्रभु येशू ख्रीष्ट, जसको विषयमा हामी तिनीहरूसँग कुरा गर्छौं, उहाँचाहिँ हामीले प्रस्तुत गरेको हाम्रो जीवनको मूल तत्त्व हुनुहुन्छ।' " 

निस्सन्देह अइसाईहरूले पनि बेला बेलामा वीरताका कामहरू देखाएका छन्। तिनीहरूले मिर्गौलाका रोगीहरूलाई आफ्नो मिर्गौला दान गरेका छन्। तिनीहरूले बूड़ापाकाहरूको विशेष स्याहार सुसार गरेका छन्। तिनीहरूले कल्यानकारी संस्थाहरूलाई उदारचित्तले दान दिएका छन्। तर हामीले चाहिँ ती मुक्ति नपाएका मानिसहरूले जे गर्न सक्छन्, ती सबै कामहरू नाघेर जाने बोलावट पाएका छौं। 

यति भनिसकेपछि हामीले यो पनि थपेर भनिहाल्नुपर्छः ख्रीष्टको कुनै चेलाले साँच्चै प्रभुतुल्य चरित्र देखाएकोले हर पल्ट मुक्ति नपाएका मानिसहरू फर्केर प्रभुकहाँ आउँछन् भन्ने कुरामा निश्चयता छैन। हाम्रो परिस्थितिमा प्रभु येशूले जस्तो गर्नुहुनेथियो, त्यस्तै गर्नु हाम्रो जिम्मेवारी हो। अनि प्रभु येशूमाथि आफ्नो विश्वास राख्नु विश्वास नगर्ने मानिसहरूको जिम्मेवारी हो। हामीले प्रभुका निम्ति जति राम्रो साक्षी दिए ता पनि कोही न कोही मानिस विश्वास नगरेर पछि हट्छन् नै। 

तर हामीले भन्न चाहेको कुरा यतिमा सकिएको छैन। हामीले ख्रीष्टको चरित्र उहाँको खास्टोले झैं राम्रोसँग ओढ़ेपछि कति मानिसहरूले हाम्रो दिमाग कुस्केर ठेगानमा छैन भन्ठान्लान्। तब के? के प्रभुले पाउनुभएको व्यवहारभन्दा राम्रो व्यवहार हामीले पाउने आशा राखौं? चेला कहिल्यै आफ्नो स्वामीभन्दा ठूलो हुँदैन। 
निक्कै वर्षअघि रूसी श्री फ्योडोर डोस्टोयस्कीले एउटा उपन्यास” लेखे, जसमा उनको नायक मिश्किन नामक राजकुमार थिए। मानिसहरूले ती पुरुषोत्तम राजकुमारको कुरै बुझ्न सक्दैनथिए। तिनीहरूको विचारमा तिनी पागल थिए। यस किताबको नाम 'मूर्ख' थियो। ख्रीष्टको रूप हामीमा जति बढ़ी देखा पर्छ, त्यत्ति नै बढ़ी मानिसहरूले हामीलाई मूर्ख ठान्ने सम्भावना पनि हुन्छ। 

प्रेरित पावलको विचार सही थियो। हामी कि त कतिका निम्ति तिनीहरूको मृत्युका निम्ति मृत्युको दुर्गन्ध हुन्छौं, कि त कतिका निम्ति तिनीहरूको जीवनका निम्ति जीवनको सुगन्ध हुन्छौं। हाम्रो भक्तिले पूर्ण जीवन-चरित्रले कि त तिनीहरूलाई ताजुप पार्छ, कि त तिनीहरूलाई अलमल्ल पार्छ। जस्तो भए पनि, उहाँको देखासिकी गरेर हामीले आफूलाई परमेश्वरका छोराछोरीहरूको रूपमा प्रस्तुत गर्नुपर्छ। 

यस पुस्तकका बाँकी पन्नाहरूमा हामी यस प्रकारका महान् असाधारण घटनाहरूमाथि आफ्नो ध्यान लगाउँछौं, जुन उच्च स्तरीय घटनाहरूमा ख्रीष्टका कतिपय चेलाहरूले प्रभु येशूको वचन अक्षरशः लिए। उनीहरूले शत्रुहरूलाई प्रेम गरे। उनीहरूले दुश्मनहरूलाई क्षमा गरे। उनीहरूले खराबको सट्टामा भलाइ गरे। उनीहरूले बदला लिएनन्, बरु अन्याय सहिरहे। उनीहरूले फिर्ता पाउने आशा नगरी अरूलाई दिए। छोटकारीमा यसो भन्न सकिन्छः उनीहरूले त्यही काम गरे, जुन काम प्रभु येशूले पनि गर्नुहुनेथियो। किनभने उनीहरूले आफूलाई 'यस परिस्थितिमा प्रभु येशूले केकसो गर्नुहुनेथियो' भन्ने प्रश्न सोधे, त्यसपछि उहाँले उनीहरूको ठाउँमा जस्तो गर्नुहुनेथियो, त्यस्तै उनीहरूले त्यो काम पूरा गरेर छाड़े। 

अध्‍याय  दुई : श्री हेन्री सुसो - परमेश्वरको एक मित्र 

सन् १३०० शताब्दीको कुरा हो : श्री हेन्री सुसो भन्ने जर्मन रहस्यवादी थिए। उनलाई, पावल टेर्सटेगन र अन्य केही भक्त विश्वासीहरूलाई ‘परमेश्वरका मित्र' भन्ने नाम दिइएको थियो। उनीहरू 'सर्वोच्चको गुप्त स्थानमा बस्ने मानिसहरू थिए। भजन एकमा भनेझैं उनीहरूको आनन्द परमप्रभुको व्यवस्थामा थियो। उनीहरूले दिनरात उहाँको व्यवस्थामा मन लगाउँथे, त्यसमा ध्यान दिन्थे। उनीहरू स्वर्गका नागरिक थिए। उनीहरूको जीवनको पवित्रता सराहना गरिन्थ्यो। 

एक दिनको कुरा होः श्री सुसोको घरको दैलाबाट खटखटको आवाज आयो। जब उनी ढोका खोल्न गए, तब उनले कहिल्यै नभेटेकी एउटी स्त्रीलाई देखे, जसको छातीको अँगालोमा एउटा दूधेबालक थियो। केही सङ्केत नगरी त्यस स्त्रीले त्यस बालकलाई यसो भन्दै उनको हातमा थमाइदिई : 'तपाईंको पापको फल यही हो!' यति भनेर त्यो स्त्री गइहाली। 

श्री सुसो छक्क परे, अन्योलमा परे। त्यस स्त्रीले लगाएको अभियोगले उनलाई चट्याङ्गले झैं घात पुस्यायो। केही बेरसम्म त्यस बालकलाई आफ्नो हातमा लिएको अवस्थामा उनी उभिरहे। निस्सन्देह त्यो बालक उनको होइन, तर त्यस स्त्रीको पापको फल हुनुपर्छ। अचेल यस्ता पापी स्त्रीहरूले आ-आफ्ना बालक- बालिकाहरूलाई प्लास्टिकको थैलीमा हालेर नालीमा फ्याँक्ने गर्छन्। तर यहाँ त्यस पापी स्त्रीलाई चाहिँ महत्त्वपूर्ण के थियो भने, आफ्नो पापको दोष अरू कसैमाथि लदाएरै छोड्नु त्यसलाई उचित लाग्यो। 

जे होस्, यस घटनाको खबर शहरभरि चारैतिर फिजियो। बिनसित्ति सुसोचाहिँ मानिसहरूको सामु देखावटी विश्वासी ठहरिए। तर उनी कपटी थिएनन्, न उनी एक धोकेबाज थिए। अब के गर्ने? प्रभुकहाँ गएर उनले आफ्नो मुद्दा उहाँको सामु प्रार्थनामा पेस गरे। उनले भनेः 'हे प्रभु, म कसो गरुँ? म निर्दोष छु; त्यो तपाईं नै जान्नुहुन्छ।' 
उनले प्रभुबाट स्पष्ट र सुनिश्चित उत्तर पाए। 'मैले जस्तो गरें, तिमीले पनि त्यस्तै गर! अरू मानिसहरूले गरेका पापहरूको खातिर कष्ट भोग, र केही पनि नभन!' सुसोले ख्रीष्टको क्रसमा नयाँ अर्थको एक झलक देखे, र उनको हृदय ईश्वरीय शान्तिले भरियो। 

उनले त्यस बालकलाई मानौं आफ्नो छोरा भएझैं हुर्काए- बढ़ाए। उनले आफूलाई आफूमाथि लगाइएको आरोपदेखि कहिल्यै बचाउने कोशिश गर्दैनथिए। कति वर्षपछि त्यो स्त्री त्यस शहरमा फर्केर आई, र सुसो निर्दोष छन्, र उनीमाथि लगाइएको आरोप झूटो हो भन्ने कुरा मानिसहरूलाई सुनाइछोड़ी। तर उनको नाममा हानि त भइसकेको थियो। तर परमेश्वरले त्यस हानिलाई भलाइमा परिणत गर्नुभयो; किनकि यसरी नै सुसोको जीवन ख्रीष्टको रूपमा झन् बढ़ता गरी ढालियो। उनले त्यस अनुकूल परिस्थितिमाथि विजय हासिल गरे। 

त्यही प्रकारले पुरानो नियममा हामी यूसुफको विषयमा, तिनले सहेको मनको चोट र दर्द अनि झूटो आरोपले गर्दा सहेको अन्यायको बारेमा पढ्छौं। तिनलाई व्यभिचारमा फसाउन खोजेकी त्यस स्त्रीले 'त्यसले मलाई बलात्कार गर्न खोजेको' भनेर यूसुफमाथि झूटो आरोप लगाई। अनि त्यस कथित अपराध प्रमाणित गर्ने हेतुले त्यसले तिनको कोटसमेत पेस गरी। तर तिनले आफ्नो मामिला परमप्रभुकहाँ सुम्पे; तिनले उहाँबाट दोषमुक्त हुन चाहे। प्रभु येशूमाथि विभिन्न झूटा आरोपहरू लगाइए। उहाँका शत्रुहरूले उहाँको जन्म अवैवाहिक सम्बन्धको फल हो भन्ने कुरा प्रमाणित गर्न खोजे। तिनीहरूको भनाइअनुसार उहाँले गर्नुभएका आश्चर्यकर्महरू शैतानको शक्तिले गरिएका थिए अरे। उहाँले रोमी सरकारको विरुद्ध राजद्रोह गर्नुभएको तिनीहरूको अभियोग थियो। तर यस्ता ज्यादा कठिन समयहरूमा उहाँले यसो भन्न सक्नुभयो: 'हो पिता, तपाईंको दृष्टिमा यस्तै असल ठहरियो (लूका १०:२१)। 

उहाँको उदाहरणबाट हामी एउटा कुरा सिक्छौंः हामीले आफ्नो सफाइ आफूले गर्नुपर्दैन, अथवा हामीले कानुनको सहारा लिनुहुँदैन। परमेश्वरले पापलाई आफ्नो काम पूरा गर्न दिनुहुन्छ; यसो हुँदा दोषीको दोष प्रकट हुनेछ र निर्दोषी दोषमुक्त हुने नै छ। 

अध्‍याय तीन : श्री रोबर्ट च्यापम्यान - प्रेमको एक प्रेरित 

श्री रोबर्ट च्यापम्यान एउटा धनाढ्य घरानामा हुर्केका थिए। परिवारको ऐशवान् भवन थियो भने तिनीहरूका प्रशस्त नोकर- चाकरहरू पनि थिए। तिनीहरूको मोटरकार थियो, जसको दुवैपट्टि तिनीहरूको परिवारिक छापचिन्ह लगाइएको थियो। तिनीहरू इसाई त थिए, तर खाँटी इसाईचाहिँ होइनन्। 
बीस वर्षको उमेरमा उनको एकजना साथीले उनलाई प्रचारक जेम्स एच. इभान्सको प्रवचन सुन्न निम्ताए। त्यस समय श्री च्यापम्यानको जीवनमा आमूल परिवर्तन आयो। केही दिनभित्र उनी परमेश्वरकहाँ फर्केर आए, र उनले प्रभु येशूमाथि विश्वास गरे। 

पवित्र बाइबलको नयाँ नियम पढ़ेर उनले के देखे भने, ख्रीष्ट-विश्वासीले पानीको बप्तिस्मा लिनुपर्छ। यसकारण उनले प्रचारक इभान्सलाई बप्तिस्मा लिने विन्ती गरे। तर जवाफमा ती होशियारी प्रचारकले उनलाई भनेः 'मेरो विचारमा, तपाईंले केही समयसम्म पर्खनुपर्छ, र विश्वासको यो कदम पहिले राम्ररी बुझ्नुपर्छ, होइन र?' तर श्री च्यापम्यानले तिनलाई यसो जवाफ दिएः ‘होइन हजुर, किनकि प्रभु येशूको आज्ञा पालन गर्न मलाई हतार लागेको छ।' अनि उनको जीवनभरि नै प्रभुको इच्छा तत्कालै पूरा गरिछोडूने उनको यस आज्ञाकारी मनले उनलाई सधैं साथ दिइरह्यो। 

उनी सफल वकिल त भए, तर प्रभु येशूले उनलाई पूरा समय उहाँको सेवा गर्न बोलाउनुभएको जस्तो उनलाई भान भयो। उनले सबै कुराहरू छोड़ेर ख्रीष्टको पछि नलागुन्जेल उनलाई शान्ति भएन। उनले सबै कुराहरू छोड़े भन्नाले हामीले यही बुझ्नुपर्छ कि उनले आफ्ना जग्गाजमिनहरू बेचे, धेरै धनसम्पत्ति त्यागे र वकालतको पेसासित सम्बन्धित मर्मदा र इज्जतलाई इन्कार गरे। गरिबहरूको सेवा गर्ने उनको लक्ष्य थियो; किनभने 'परमेश्वरले यस संसारका गरिबहरूलाई विश्वासमा धनी हुन र राज्यका हकदार बन्न चुन्नुभएको हो, जुन राज्यको प्रतिज्ञा- चाहिँ उहाँले आफूलाई प्रेम गर्नेहरूका निम्ति गर्नुभएको हों (याकूब २:५)। तब के हामीले गरिबहरूलाई सुसमाचार सुनाउनुपर्दैन र? (मत्ती ११:५ पद हेर्नुहोला)। अनि के साधारण जनताले प्रभु येशूको प्रवचन आनन्दपूर्वक सुनेनन् र? (मर्कूस १२ः३७)। 

यसैले मानिसहरूले यी अग्लो जीउ र हसिलो अनुहार भएका जवान वकिललाई उनले एउटी गरिब, कुप्री र अन्धी सहाराहीन स्त्रीलाई प्रेमपूर्वक मण्डलीका सभाहरूमा डोस्याइरहेका देखे। जब उनी र त्यो स्त्री सँगै गिर्जाघरभित्र पसे र भित्र आएर बस्ने ठाउँ खोजे, तब ती मानिसहरू सरमले पानी भए - तिनीहरू जो शिक्षामा खाँटी थिए, तर जसको व्यवहार स्वार्थी र प्रेमरहित थियो। 

त्यसपछि श्री च्यापम्यान इङ्गल्याण्डको बर्नस्टेपल भन्ने शहरको त्यस इलाकामा बसाइ सरे, जहाँ सुकुमबासीहरूको बस्ती थियो; किनकि उनले तिनीहरूलाई सुसमाचार सुनाउन चाहेका थिए। त्यहाँ मतपान खूब चल्थ्यो, जताततै फोहरमैला देखिन्थ्यो, गल्लीहरूमा मुसाहरू यता उता कुथे, झुपड़ीपिच्छे बिमारीहरू हुन्थे र चारैतिर घोर गरिबी हुन्थ्यो। तर उनले ती मानिसहरूको निरन्तर सेवा गरिरहे, र तिनीहरूका निम्ति उनको घरको ढोका सधैं खुला हुन्थ्यो। 

उनले यसो भने: 'ख्रीष्टको प्रचार गर्नेहरू धेरै छन्, तर जिएर ख्रीष्टको जीवन देखाउनेहरू कम्ती छन्। यसैले मेरो जीवनको उच्च लक्ष्यचाहिँ जिएरै ख्रीष्टको जीवन देखाउनु हो।' वर्षहरूपछि श्री जोन नेल्सन् डार्बीले उनको विषयमा यसो भनेः 'मैले जे प्रचार गरेको छु, त्यही उनले जिएर छोड्छन्।' 

जब च्यापम्यानको ओभरकोट पुरानो भयो, तब उनको एक इसाई साथीले उनलाई एउटा नयाँ कोट दिए। तर उनले त्यो नयाँ कोट कहिल्यै लगाएनन्। उनले त्यो नयाँ कोट एउटा गरिब मानिसलाई दिएका रहेछन्, जससँग कुनै ओभरकोटै थिएन। तर यसमा मानिसहरूले असाधारण व्यवहार देखेमा श्री रोबर्ट च्यापम्यानले अचम्म माने। 

उनको त्यागपूर्ण जीवनमा उनका आफन्त र साथीहरू छक्क पर्थे। तिनीहरूमध्ये एकजनाले उनलाई भेटेर त्यहाँ के भइरहेको छ, सो हेर्न जाने निर्णय गरे। जब तिनी चढ़ेको ट्याक्सी - गाड़ी श्री च्यापम्यानको घरको अगाडि रोक्यो, तब तिनले चालकलाई यसो भन्दै हप्काएः 'के मैले तिमीलाई श्री च्यापम्यानको घरमा लान भनेको थिएनँ र?' चालकले जवाफ दियोः 'हजुर, उहाँको घर यही हो।' तब तिनी त्यस घरभित्र पसे, र तीन छक्क परी तिनले उनलाई सोधेः 'रोबर्ट, तपाईं यहाँ के गर्दै हुनुहुन्छ?' 'प्रभुले मलाई जहाँ पठाउनुभएको छ, त्यहाँ म उहाँको सेवा गर्दैछु', उनको जवाफ थियो। 'तपाईंको जिविका कसरी चल्दैछ? के तपाईंको ब्याङ्कको खाता छ?' भन्दै तिनको अर्को प्रश्न थियो, जसको जवाफ च्यापम्यानले यस प्रकारले दिए: 'म त प्रभुमा भर परेको छु, मलाई खाँचो परेको कुरा म उहाँलाई भन्छु। अनि उहाँले मलाई कहिल्यै छोड्नुभएकै छैन। यसरी मेरो विश्वास बढ्दैछ, र मेरो सेवाकार्य जारी रहेकै छ।' 

ती पाहुनाले भान्साकोठाको आलमारी प्रायः रित्तो भएको देखेर उनका निम्ति केही खानेकुरा किनिदिने आफ्नो विचार व्यक्त गरे। तब रोबर्टले उनलाई फलाना मार्टेकको एक पसले- कहाँ पठाए। वास्तवमा त्यस पसलका मालिकले अघिदेखि नै बिनसित्ति श्री च्यापम्यानसित कटु बैरभाव राखेका थिए। तर जब त्यही पसलेलाई रोबर्ट च्यापम्यानकहाँ यति धेरै सौदापात पुरयाउने आदेश दिइयो, तब तिनी व्याकुल भए। तुरुन्तै तिनी आफै ती सामानहरू लिएर सीधा च्यापम्यानको घर गए। धुरुधुरु रुँदै र पछुताउँदै तिनले उनलाई क्षमा मागे। त्यत्ति मात्र होइन, तर तिनले प्रभु येशूलाई आफ्ना प्रभु र मुक्तिदाताको रूपमा ग्रहण गरे। 

अतिथिसत्कार अथवा पाहुनाहरूको सेवाटहल गर्ने काम उनको सेवकाइको मुख्य भाग ठहरियो। श्री च्यापम्यानले आफ्नो पैसाले सड़कको पारिपट्टि एउटा घर किने, र प्रभुलाई उहाँको इच्छाअनुसारका पाहुनाहरू पठाइदिऊन् भन्ने विन्ती चढ़ाए। त्यस पाहुना - गृहमा कसैलाई पैसा लाग्दैनथियो, र कसैलाई 'तपाईं कहिले यहाँबाट पाल्नुहुन्छ' भन्ने प्रश्न कहिल्यै सोधिँदैनथियो। त्यहाँका पाहुनाहरूलाई राति आफ्ना जुत्ताहरू तिनीहरूको सुत्ने कोठाको ढोकाबाहिर राख्ने आदेश दिइयो। बिहान ती सबै जुत्ताहरू पालिस लगाइएका हुन्थे। यो थियो श्री च्यापम्यानको आफ्ना चाहुनाहरूका पाउहरू धोइदिने तरिका! एक अविवाहित पुरुषले आफ्ना पाहुनाहरूलाई देखाएको यस अतिथिसत्कारबाट विश्वासको जीवन के हो र प्रभुका जनहरूलाई कुन प्रकारले सेवा गर्नुपर्छ, सो सम्बन्धमा उनले तिनीहरूलाई यसरी नै व्यवहारिक शिक्षा दिने गर्थे। 

खाना खाँदाखेरि उनको टेबलको वरिपरि बस्नेहरूको बीचमा बड़ो रमाइलो हुन्थ्यो। बुद्धिका शब्द र अनुग्रहले पूर्ण वचनहरू सधैं सुनिन्थे, तर नचाहिँदो ख्यालठट्टाका निम्ति त्यहाँ कुनै ठावै थिएन। त्यहाँ अनुपस्थित भएको कुनै व्यक्तिको विषयमा केही नराम्रो कुरा बोल्न नपाउने त्यस पाहुना-गृहको एक नियम थियो। कसैले त्यो नियम भङ्ग गरेमा उसलाई प्रेमपूर्वक हप्काइन्थ्यो। कसैलाई त्यस प्रकारको हप्की झर्को नलागोस् भनेर यस हप्कीमा सधैं अनुग्रह मिसिएको हुन्थ्यो। श्री रोबर्ट च्यापम्यानलाई केले चिनिन्थ्यो? उनलाई बढ़ी चिनाउने सद्गुण प्रेम थियो। उनको एक दोषदर्शीले उनीसित कुनै सरोकार नराख्ने भाकल गरे। तिनले उनीसँग कुनै एक शब्द पनि बोल्नेछैनँ भने। एक दिनको कुरा हो: संयोगवश सड़कको एकै पेटीमा हिँड्दा ती दुईजनाको झम्का भेट भएछ। ती मानिसले उनको विषयमा भनेको सबै कुरा च्यापम्यानलाई थाहा थियो। तर जब ती दुईजनाको भेट भयो, त्यस बेला रोबर्टले ती व्यक्तिलाई हल्कासँग अङ्कमाल गरेर भनेः 'प्रिय भाइ, परमेश्वरले तपाईंलाई प्रेम गर्नुहुन्छ; प्रभु येशूले तपाईंलाई प्रेम गर्नुहुन्छ; अनि म पनि तपाईंलाई प्रेम गर्छु।' ती मानिसले पश्चात्ताप गरे र फेरि मण्डलीसँग सङ्गत राख्न थाले। 

एउटा पत्याइनसक्ने कुरा के हो भने, एक समयमा विदेशमा रहेका च्यापम्यानका एकजना साथीले उनलाई एउटा चिट्ठी लेखेका थिए। यस चिट्ठीको खाममा / लीफामा ठेगानाको रूपमा यति मात्र लेखिएको थियोः 'श्री आर. सी. च्यापम्यान, प्रेमको विद्यालय, इङ्गल्याण्ड।' अचम्म, यो पत्र उनीकहाँ आइपुगेछ। 

श्री च्यापम्यानले ख्रीष्टको मण्डलीलाई नाम नाम अनुसारका झुण्डहरूमा विभाजन गरेको मन पराउँदैनथिए। उनले परमेश्वरका सबै सच्चा छोराछोरीहरूलाई प्रेम गर्थे, तिनीहरूको मण्डलीको नाम र सदस्यता जेसुकै होस्। उनले सङ्गति गरिरहेको मण्डलीमा एक पल्ट फूट आउन लागेको थियो; किनकि कतिले आफूलाई अरू विश्वासीहरूबाट अगल पारे र मण्डली भवनरूपी सम्पत्ति दाबी गरे। उनले तिनीहरूको माग पूरा गरे। अर्को एक पल्ट नगर पालिकाले च्यापम्यानले मण्डली-भवनका निम्ति किनिराखेको जमिन मागे; त्यस बेलामा पनि उनले त्यो जमिन त्यस शहरको प्रशासनलाई दिइहाले। उनले यस्ता कुराहरू कहिल्यै कचहरीमा लाँदैनथिए, यद्यपि उनी एक निपुण वकिल हुन्थे। व्यक्तिगत झैझगड़ाहरू सम्हाल्दा उनले अतुरी गरेर कुनै निर्णय लिँदैनथे, तर सधैं पहिले प्रार्थनाको सहारा लिन्थे। एकपल्ट उनले जे. एन. डार्बीलाई कुनै एक कामकुरामा हतार गरेकोमा हप्काए। श्री डार्बीले आफ्नो बचाउमा यसो भनेः 'मैले छ हप्ता पर्खे।' तब श्री च्यापम्यानले जवाफ दिएः 'तपाईंको ठाउँमा मैले छ वर्ष पर्खनेथिएँ।' 

श्री च्यापम्यानले आफ्नो जीवन अनुशासित ढङ्गले कायम राख्थे, जस्तै प्रार्थना गर्ने र बाइबल पढ्ने नियमित समय, खाना खान निर्धारित समयहरू, घर-घरमा मानिसहरूको भेट गर्ने समय, भोकाएकाहरूलाई खुवाउने, असहायहरूलाई मद्दत गर्ने, खुलमखुल्ला जनसमूहको सामु प्रचार गर्ने र बाइबलको शिक्षा दिने समयहरू आदि। शनिवारको दिन उनी उपवास बस्थे र लिस्तीमा काम गरेर उनले काठका थालहरू बनाउँथे, जुन थालहरू उनले विभिन्न मानिसहरूलाई दान गर्थे। 

च्यापम्यानको जीवनी लेख्ने लेखक श्री प्रचाङ्क होल्म्स्ले उनको विषयमा यसो लेखे: 'पवित्र जीवन जिउनुमा आफ्नो चरित्रमा गम्भीरता देखाउनुमा र स्वार्थ त्याग गर्नुमा थोरै मानिस - हरू उनको स्तरमा आउँछन्। तर पनि उनी नानीजस्तो सरल र नम्र थिए। ... उनी एक आत्मिक शूरवीर थिए। उनले आफ्नो आत्मिक कदको एक इन्चमा पनि प्रसिद्धता कमाउने शारीरिक तरिकाहरू लगाएनन्।' 

प्रभु येशूले आफ्ना चेलाहरूलाई के सिकाउनुभयो भने, तिनीहरूले उहाँका निम्ति यस संसारमा कुनै न कुनै छापरूपी प्रभाव छोडून चाहेमा तिनीहरूको जीवन मामुली जीवनभन्दा उच्च हुनुपर्छ। यही कुरा हामी श्री आर. सी. च्यापम्यानको जीवनमा पूरा भएको देख्छौं। च्यापम्यानका एक आफन्त उनको अनौठो जीवनशैलीको रहस्य बुझ्न उत्सुक भएका थिए। तिनले उनको विषयमा यो गवाही दिए: 'च्यापम्यानलाई एउटा यस्तो आत्मिक शक्तिले चलाउँथ्यो, जसको विषयमा म पूरा अन्जान छु।' यसमा तिनको कमी के थियो, सो तिनले पत्ता लगाउन खोजे। तिनले च्यापम्यानलाई आफ्नो आत्मिक अवस्था खुलस्त पारे। तब ती दुईजनाले सँगै प्रार्थना गरे र बाइबल अध्ययन गरे। फलस्वरूप बदली भएका मानिस भई ती आफन्त घर फर्के। 

दाउपेच र चतुर चालहरूले युक्त हाम्रो जटिल दुनियाँमा श्री रोबर्ट च्यापम्यानजस्तो मानिसचाहिँ मङ्गलग्रहबाट वा अर्को संसारबाट आएको देखिन्छ। हो, यो साँचो हो। उनी अर्कै दुनियाँका मानिस थिए। उनी 'सर्वोच्चको गुप्त स्थानमा सर्व- शक्तिमान्को छहारीमा बसेर जिउने गर्थे। उनीजस्ता मानिसहरूको विषयमा ए.डब्ल्यू. टोजरले यसो लेखे: ‘वास्तवमा सच्चा आत्मिक मानिस अनौठो मानिस हो। ऊ आफ्नो निम्ति जिउँदैन, तर प्रभुका इच्छाहरू पूरा गर्न जिउँछ। उसले अरू मानिसहरूलाई 'तिमीहरू आफ्नो सम्पूर्ण जीवन प्रभु येशू मेरा स्वामीलाई सुम्पिदेओ' भन्ने आग्रह गर्छ। उसले आफ्नो निम्ति केही चाहँदैन, केही खोज्दैन। ऊ आदर पाएकोमा खुशी हुँदैन, तर जब मुक्तिदाता प्रभुले मानिसहरूको सामु महिमा पाउनुहुन्छ, तब ऊ अत्यन्त खुशी हुन्छ। जब उसका प्रभुको बढ़िबढाइ हुन्छ तर उसको बेवास्ता गरिन्छ, तब ऊ आनन्दित हुन्छ। 

उसको रुचिअनुसार उसको सर्वोत्तम विषयवस्तुको विषयमा गर्ने मानिसहरूलाई कम पाइन्छ। यसकारण ऊ चुप रहन्छ जब अरू मानिसहरू धार्मिक गफमा व्यस्त भएका हुन्छन्। ऊ विचारमग्न हुन्छ। यसो गरेकोमा उसले नरमाइलो, लठुवा र गम्भीरे आदि ख्याति कमाउँछ। मानिसहरूले उसलाई पर- पर गर्छन्। यसरी समाज र उसको बीचको खाँद बढ्दै जान्छ। उसले यस्ता साथीहरू खोज्छ, जुन साथीहरू 'हस्तिहाड़का महलहरूबाट' आएको हुनाले तिनीहरूका वस्त्रहरूमा गन्धरस, अगरु र तेजपातको सुगन्ध महकिन्छ (भजन ४५:८ )। के उसले यस्ताहरूलाई भेट्टाउँछ त? एक-दुईजना यस्ता होलान्। तब के गर्ने? मरियमले जस्तै उसले यी उच्च विचारहरू आफ्नो हृदयमा राखिछोड्नुपर्ला।'4) 

आउनुहोस्, हामी आफ्नो पुस्तामा सच्चा आत्मिक विश्वासीहरू बन्नमा आफ्नो सर्वोच्च लक्ष्य बनाऔं! 

अध्‍याय चार : सङ्कष्टभित्र पनि ठूलो, अलौकिक शान्ति अनुभव गरेकी एक स्त्री  

निक्कै वर्ष अगाडिको कुरा हो : एक पल्ट श्री एच. ए. आइरनसाइडले एउटी अस्ट्रेयाली विधवाको सत्य कथा हामीलाई सुनाएका थिए। यी स्त्री इसाई थिइन्, परमेश्वरकी एक आदर्श नारी थिइन्। तिनको आत्मिकता कति गहिरो थियो, सो सबैले बुझ्न सक्छन्। तिनको जीवनको प्रतीक तिनको प्रभुमाथि राखिएको अटल विश्वास हो; किनकि तिनले आफूलाई उहाँको इच्छाको अधीनतामा सुम्पेर त्यहाँ राखिछोड़िन्। 

जब तिनको पतिको मृत्यु भयो, तब तिनी पाँचजना छोराहरू हुर्काउन एकलै छोड़िइन्। तिनले भजन १४६:९ पदमा सान्त्वना पाइन्, जहाँ यसो लेखिएको छः 'टुहुराहरूलाई र विधवाहरूलाई उहाँले सम्हाल्नुहुन्छ।' परमेश्वरको वचनको यो प्रतिज्ञा तिनले आफ्नो निम्ति दाबी गरिन्। तिनका ती पाँच भाइछोराहरूले प्रभुको शिक्षा र अर्तीमा हुर्किने सौभाग्य पाए। समयमा तिनीहरू सबैले प्रभु येशूलाई आफ्ना व्यक्तिगत प्रभु र मुक्तिदाताको रूपमा स्वीकार गरे। 

तब लड़ाइँ भयो। ती पाँच जवान छोराहरूले स्वदेशको रक्षा गर भन्ने आह्वान स्वीकार गरे, र फौजमा भर्ना भए। हुन सक्छ, तिनीहरूको विन्तीअनुसार तिनीहरू एकै फौजी दलमा लगाइए। दिन प्रतिदिन आमाले छोराहरूका निम्ति प्रार्थना चढ़ाएर तिनीहरूलाई परमेश्वरको हातमा सुम्पिदिइन्, यो जानेर कि तिनीहरूको जीवन उहाँको देखरेख र जिम्मामा सुरक्षित हुन्छ। 

एक दिन तिनले झ्यालबाट बाहिर हेरिन्; अनि हेर, तिनले एकजना मानिसलाई तिनको घरको ढोकातिर आइरहेको देखिन्। तत्कालै तिनले ती मानिसलाई चिनिहालिन्। उनी ती कर्मचारी थिए, जसले यस गाउँका पास्टर भई गाउँ - परिवारको कुनै सदस्य लड़ाइँमा मरेमा वा बेपत्ता भएमा तिनीहरूलाई त्यसको जानकारी दिनुपरेको थियो। जसलाई यो दर्दनाक अभिभारा सुम्पिदिइएको थियो, उनी एक भक्त इसाई थिए। 

ती स्त्री उनका निम्ति ढोका खोल्न गइन्; अनि त्यहाँ तिनको सामु उभिरहेका ती कर्मचारीको हातमा एउटा पहेंलो कागज, एक केबिलग्राम भएको रहेछ। तिनका निम्ति समय टक्क रोकिएझैं भयो। अभिवादनको आदन प्रदान गरेपछि तिनले उनलाई भित्र पस्ने आग्रह गरिन्। घरभित्र पसेपछि तिनले अन्तमा उनलाई सोध्ने आँट गरिन् : 'कोचाहिँ?' ती कर्मचारीलाई त्यस प्रश्नको जवाफ दिन अति गाह्रो भयो; किनभने यी स्त्रीका निम्ति खबर सहिनसक्ने हुने हो कि भन्ने ठूलो डर उनलाई लागेको थियो। तर अब कुनचाहिँ छोरा लड़ाइँमा मरे होलान् भन्ने कुरा सुन्न र जान्न यी आमालाई पूरा छटपट लागिरहेको थियो। अन्तमा उनको मुखबाट यो शब्द निस्क्योः 'पाँचैजना।' तत्कालै तिनको चेहराको रङ्ग उड्यो, तिनको चिउँड़ो काम्न थाल्यो र तिनका आँखाहरू आँसुले भरिए। त्यसपछि तिनले यसो भनेः 'तिनीहरू उहाँकै थिए; अनि उहाँले तिनीहरूलाई आफूकहाँ लानुभयो।' तिनको विशिष्ट यसैमा थियोः तिनको अटल विश्वासको आत्मा सधैं यस्तै थियो। ती दुईजनाले प्रार्थनामा घुँडा टेके। 

तिनको प्रार्थनामा कुनै झर्का, उन्मादका शब्दहरू सुनिएनन्; तिनले गनगन गरिनन् तिनमा कुनै तीतोपना वा चित्तदुःखाइ थिएन। जब तिनका छोराहरूले 'स्वदेशको रक्षा गर' भन्ने आह्वान स्वीकार गरे र तिनीहरू फौजमा भर्ती भएर घरबाट हिँडेका थिए, त्यस बेलै तिनले तिनीहरूलाई परमेश्वरको हातमा सुम्पिदिएकी थिइन्; उहाँ आफ्नो करारमा विश्वासयोग्य हुनुहुन्छ। तिनले आफ्ना मुक्तिदाता प्रभुलाई राम्ररी चिनेकी हुनाले यो खबर सुनेर तिनले न उहाँको प्रेममा, न उहाँको बुद्धिमा कुनै शङ्का गरिन्। तिनको मनमा समझले बुझ्न नसकिने शान्ति थियो। अनि त्यस गाउँका मानिसहरूका निम्ति तिनको यो गवाही अति मूल्यवान् ठहरियो; तिनीहरूले बितेका वर्षहरूमा सुनेका सबै प्रवचनहरूमा भन्दा तिनको यस गवाहीमा तिनीहरूको दृष्टिमा ठूलो मतलब थियो। 

सबै ख्रीष्ट-विश्वासीहरूले यी इसाई विधवाले गरेकी प्रतिक्रिया देखाउन सक्नुपर्छ भन्ने कुरा यस सत्य कथाद्वारा हामीलाई सुझाउ दिन खोजेको होइन। किनभने यो विदितै छ कि प्रभु येशूले तिनलाई विशेष अनुग्रह दिनुभएको कारणले तिनले यो अगम्य हानि भोग्न सकिन्। प्रियजनको मृत्यु हुँदा रुनुचाहिँ न सरमको कुरा हो, न गलत नै हो। प्रभु येशूले लाजरसको चिहानमा त्यही गर्नुभएको थियो; उहाँ रुनुभयो। तर यस घटनाले हामीलाई के देखाउन खोज्यो भने, असह्य पीड़ामा परेको घड़ीमा इसाईहरू बेग्लै हुन्छन्, यति बेग्ला कि संसारका मानिसहरू त्यो देखेर वाल्ल पर्छन्। जब ख्रीष्ट-विश्वासीहरूले परमेश्वरका प्रतिज्ञाहरू आत्मासात् गर्छन्, तब उनीहरूसँग अदृश्य स्रोतहरू हुन्छन्, जसको बारेमा अन्य मानिसहरूलाई केही थाहा हुँदैन। 

अध्‍याय पाँच : श्री बड ब्रङ्के - परमेश्वरको आज्ञा पालन गर्दा मोल चुकाउनुपर्ने मानिस 

श्री बड ब्रङ्केको जीवन केही समयसम्म हल्का थियो। उनकी सुन्दर, प्रेमी पत्नी थिइन्, जसको नाम जेनिस थियो। उनका छजना छोराछोरीहरू थिए। उनले इलिनोइस प्रदेशको इल्जिन शहरमा सानो हवाईअड्डामा हवाईजहाजको मर्मत गर्ने कम्पनीको साझेदारको रूपमा काम गर्थे। उनका दसै औला घिउमा थिए, उनको विचारमा। 

तर यस्तो समय आयो, जब केही कारणवश आफ्नो आत्मिक अवस्थाको बारेमा विभिन्न विचारहरूले उनको त्यो शान्ति भङ्ग गरे र उनलाई सताउन थाले। त्यस बेलासम्म उनी स्थानीय लुथरन् चर्चको डिकन थिए; उनी त्यस मण्डलीको विश्वासयोग्य सदस्य थिए। तर यतिमा उनलाई सन्तुष्टिचाहिँ भएन; किनकि त्यस तुथरन् चर्चको बाल- बप्तिस्मामा उनले ठेस खाएका थिए। नवबालबालिकामाथि बप्तिस्माको पानी छर्केमा ऊ ख्रीष्टको देहको एक अङ्ग बनिनेछ र परमेश्वरको राज्यको हकदार हुनेछ भन्ने शिक्षा उनलाई सठीक लाग्दैनथियो। अबदेखि उनले यस्तो कुरा मान्न सकेनन्। एकपछि अर्को हुँदै केही अनौठा परिस्थितिहरू उनको जीवनमा खड़ा भए, अनि उनले बेलुकी छात्रछात्रीहरूलाई पढ़ाइदिने एउटा बाइबल स्कूलका कक्षाहरूमा भाग लिन थाले। हप्तापिच्छे त्यहाँ दाउँदा उनको आत्माले प्रकाश पायो। अन्तमा उनी प्रभु येशूको एक समर्पित चेला बने; किनकि टेलीविजनमा सुसमाचारको प्रवचन सुनेर उनी त्यस निर्णयमा पुगे। 

उनले मुक्ति पाएको त्यस दिनदेखि उनमा परमेश्वरको वचन जान्ने र पालन गर्ने इच्छा थियो। उनको विचारअनुसार मुक्ति पाएको मानिसको कुनै समस्या हुँदैन थियो। तर उनको यो धारणा एउटा भूलधारणा थियो। किनकि उनको एउटा विशेष समस्या देखा परयो। अबचाहिँ उनी काम गर्ने कम्पनीमा एउटा अइसाईसित साझेदार थिए। अघि त्यस कुराले उनलाई कहिल्यै घोचेको थिएन। तर अब उनले पढेर थाहा पाए : 

‘अविश्वासीहरूसँग असमान भएर एउटा जुवामा नजोतिओ; किनकि धार्मिकताको अधर्मसँग के सङ्गति हुन्छ र? अनि उज्यालोको अन्धकारसँग एक सहभागिता? अनि ख्रीष्टको बेलियालसँग के एकता? अथवा विश्वासीको अविश्वासीसँग के हिस्सा? अनि परमेश्वरको मन्दिरको मूर्तिहरूसँग के सम्बन्ध? किनभने तिमीहरू जीवित परमेश्वरको मन्दिर हौ; जसरी परमेश्वरले भन्नभएको छः “ म उनीहरूको बीचमा बस्नेछु र उनीहरूको बीचमा हिँड्डुल गर्नेछु, अनि म उनीहरूको परमेश्वर हुनेछु, र उनीहरू मेरा जनहरू हुनेछन्। यसकारण तिनीहरूको बीचबाट निस्केर आओ र अलग होओ, परमप्रभु भन्नुहुन्छ, अनि अशुद्ध कुरालाई नछोओ, र म तिमीहरूलाई ग्रहण गर्नेछु, अनि म तिमीहरूको पिता हुनेछु, र तिमीहरू मेरा छोराहरू र छोरीहरू हुनेछौ, सर्वशक्तिमान् प्रभु भन्नुहुन्छ।" ' २ कोरिन्थी ६:१४-१८ 

यी वचनहरूले भाइ बडलाई घोचिरहन्थे। 'विश्वासीको अविश्वासीसँग के हिस्सा?' यी शब्दहरू पढ्दाखेरि उनका निम्ति सधैं आलै हुन्थे। कुरा साँचो थियोः उनका साझेदार र उनको जीवन अब फरक थियो, अनि उनीहरूको बीचमा विचारधारा मिल्दैनथियो। अघि तिनीहरूको अनैतिक व्यवहारमा कुनै समस्या थिएन भने, अबचाहिँ भाइ बडका निम्ति त्यो कुरा एउटा ठूलो समस्या थियो। गोरु र गधा एउटा जुवामा नारिए जस्तो भयो। तिनीहरू एकै पाराले, एकै दिशातिर जोतिएनन्। 

आफूले के गर्नुपर्छ, सो बडलाई थाहा भयो। उनी अब यस असमान जुवामनिबाट निस्केर आउनुपरयो। तर हवाईजहाजको मर्मत गर्ने कामले उनको जीविका चल्थ्यो। उनले आफ्नो परिवारको विषयमा सोच्नुपरेको थियो। उनले यो काम छोड़ेमा रोजीरोटी कहाँबाट आउने? उनीहरूको गुजारा कसरी चल्नेथियो? 
यसकारण उनले यस कुरामा अघि बढ्नुभन्दा पहिले स्थानीय मण्डलीका एकजना एल्डरसँग सल्लाह मागे। उनले ती एल्डर आफ्नो कामको समस्या बताइदिए। उनी एउटा कठिन परिस्थितिमा परेका थिए। तब ती एल्डरले भनेः 'यस कुरामा म खास त्यति ठूलो समस्या देख्दिनँ। आफ्नो साझेदारलाई दाम तिरेर उसलाई दिनुपर्ने हिस्सा दिनुहोस्, र तपाईं यस कम्पनीको एकमात्र मालिक हुनुहुन्छ।' बडले भनेः 'मेरो त्यति पैसा कहाँ हो र?' फेरि ती एल्डरले अर्को सल्लाह दिएः 'त्यसो भए, आफ्नो हिस्सा उसबाट माग्नुहोस्!' 

कुरा ठिक्कै थियो। उनले यसो गर्न कोशिश गर्नेथिए। जब उनले आफ्नो साझेदारसँग कुरा निकाले, तब उनी छक्क परे; किनभने उनको साझेदार यस कुरामा आफ्नो राजीखुशी जनाए। उसले बडलाई उनको हिस्साको रूपमा चालीस हजार डलर दिने कबुल गरयो। उनको समस्या समाधान भएछ। अनि शुरुमा उनले महिनापिच्छे उसबाट दुई-दुई सय डलरका किस्ताहरूरूपी चेकहरू पाउने गर्थे, त्यसपछि उनले पाउनुपर्ने किस्ताहरू कम हुँदै गए। अन्तमा बडले ती चेकहरूको भुक्तानी गर्न खोज्दा साझेदारको खातामा अपुग रकम भएको हुनाले कतिपय चेकको भुक्तानी हुन सकेन। 

पछिबाट बडले के चाल पाए भने, उनको साझेदारको कम्पनीको टाट उल्ट्यो र त्यसको दिवाला भयो। यो कुरा सुन्न उनलाई अचम्म लागेन। 

भाइ बडले ‘अविश्वासीहरूसँग असमान भएर एउटा जुवामा नजोतिओं' भन्ने परमेश्वरको आज्ञा पालन गर्ने निर्णय गरे, र त्यस कुराले गर्दा उनले अठतीस हजार डलरभन्दा बढ़ी हानि भोग्नुपरयो। तब उनको हालत के भयो त? परमेश्वरले आफ्नो प्रतिज्ञा कहिल्यै बिर्सनुहुन्न नै, जसमा उहाँले भन्नुभएको छः 

अनि म तिमीहरूको पिता हुनेछु' (२ कोरिन्थी ६:१८)। थोरै समयपछि भाइ बडले एकजना विश्वासीकोमा काम पाए, जुन काम पचीस वर्षसम्म चल्यो। जब बडको उमेर पैंसठ्ठी वर्ष भएको थियो, र उनले त्यस कामबाट अवकास लिए, तब उनले पहिले गुमाएको रकमभन्दा तीन गुणा बढ़ता पाए। हेर्नुहोस्, प्रभुको काम गर्ने तरिका यस प्रकारको छ। उहाँ कहिल्यै कसैको ऋणमा पर्नुहुनेछैन नै।

अध्‍याय छ : श्री डेविड अक्म्यान नम्र भएर विजय प्राप्त गर्ने मानिस 

श्री डेविड अक्म्यान हङकङमा प्रसिद्ध समाचार- पत्रिकाकाको वरिष्ठ संवाददाता थिए। उनी एक सच्चा इसाई थिए; अनि त्यसमा उनको नाम चलेको थियो, किनभने उनले नडराईकन प्रभुका निम्ति गवाही दिने गर्थे। 

त्यस बेलाको कुरा होः उनको विभागको मुख्य हाकिमको अश्लील, फोहोर बोली लगातार श्री अक्म्यानको पिरोल्ने कारण हुन्थ्यो। ती मानिसले बोलीपिच्छे प्रभुको नाम व्यर्थैमा लिने गर्थे सराप्नु तिनका निम्ति भात खानु जत्तिकै थियो। अक्म्यानको झोंक चल्थ्यो, तर उनले आफ्नो रिस वशमा राख्ने कोशिश गर्थे। तर दिनहुँ उनको मनमा तनाउ बढिरहेको थियो। 

अन्तमा थामिनसक्नु भयो; किनभने एक दिन, जब ती मानिसले अझ अचाक्ली घिनलाग्दो गाली बाक्न थाले, तब अक्म्यान बम्केः 'माफ गर्नुहोला; तर तपाईंले परमेश्वरको नाम किन व्यर्थमा लिनुहुन्छ? त्यो मलाई मन पर्दैन।' उनले त्यो कुरा शान्त भावले भनेनन्, न ता उनको वचन अनुग्रहले पूर्ण, नुनले स्वादिलो पारिएको थियो, तर त्यो त एउटा कड़ा हप्की थियो। 

त्यस विभागका हाकिमले पनि उनको यो हप्की हल्का लिएनन्, तर उनलाई भनेः 'मलाई पनि माफ गर्नुहोला; तर तपाईंले मेरो गल्ती जसरी देखाउनुभएको छ, त्यो मलाई मन पर्दैन।' 

आफूले धेरै अघिदेखि भन्न खोजेको कुरा गरिछोडून सफल भएकोमा डेविड शुरुमा मक्क र आत्मसन्तुष्ट भए। 'लौ, ती मानिसलाई मैले भनें हैं' भनेर त्यसमा उनलाई सन्तोष लागेको थियो। सायद यस हप्कीले उनको समस्या हल गर्नेथियो, अनि उनले अबदेखि उसो ती हाकिमको मुखबाट कुनै कुवचन सुन्नुपर्नेथिएन होला। उनले एउटा अप्ठ्यारो समस्यालाई कति राम्रो गरी समाधान गरे अरे। 

तर केही समयपछि उनलाई मनमनै याद भयोः 'तैंले बम किन पडूखाइस्?' उनले आफ्नो हाकिमलाई भनेको कुरा सत्य त थियो, तर उनको भन्ने तरिका भएन। उनको गवाहीमा दाग लाग्यो, र यी दुईजनाको बीचमा बोलचाल बन्द भयो। 

एक रात डेविड पलङमा ढल्किरहेको थियो; त्यस बेला उनलाई झसङ्ग भयोः ख्रीष्ट्यान भएको नाताले उनले के गर्नुपर्छ, सो उनलाई याद भयो। उनले मनमनै भनेः 'भोलि म अफिसमा जान्छु र सम्पूर्ण दोष आफूमाथि लिन्छु।' यसो गर्दा उनको घमण्ड त्यसलाई शेष पार्ने प्रहार लाग्नेथियो, र त्यस कुराले उनलाई झारेर निक्कै नम्र पार्नेथियो। तर उनले बन्दुकको गोली निलिछाड़े। बिहान उनी विभागको हाकिमको सामु खड़ा भए। 

डेविडले भनेर स्वीकार गरेः 'हजुर, आज म तपाईंलाई दुईवटा कुरा भन्न चाहन्छु। एक, हाम्रो बीचको सम्बन्ध बिग्रेको छ, र हाम्रो बीचमा बोलचाल छैन; त्यसको मूलकारण मै हुँ। म जस्तो व्यक्ति हुनुपर्नेथियो, म त्यस्तै भइनँ। मलाई माफ गर्नुहोस्! त्यसको सम्पूर्ण दोष मेरो हो, तपाईंको होइन।' ती हाकिम अक्क न बक्क भए। 

तर अब उनी दोस्रो माइल पनि जानु थियो। यसकारण श्री अक्म्यानले यसमा थपेर भनेः 'दोस्रो कुरा, आजदेखि उसो कुनै समाचार लेख्नुपर्दा म तपाईंलाई त्यसको पहिलो स्थान दिनेछु। तपाईंले त्यो समाचार लेख्न चाहनुभयो भने, ठिक्कै छ, त्यो तपाईं लेख्नुहोस्! अनि तपाईंले त्यो लेख्न चाहनुभएन भने मलाई भन्नुहोस्, र म त्यो लेख्नेछु। मलाई क्षमा गर्नुहोस्! अबदेखि उसो लेख्नुपर्ने समाचारहरू जति छन्, ती सबै तपाईंका हुन्; अनि तपाईंले लेख्न नचाहनुभएका समाचार मेरै हुन्।' 

पत्रकारहरूको बीचमा यस्तो किसिमको क्षमा-याचना र निःस्वार्थ विरलै देखिन्छ। यसकारण विभागको ती हाकिम निरुत्तर भए। श्री अक्म्यान अफिसबाट बाहिर आए। उनी अति खुशी थिए; किनकि उनले बिग्रेको सम्बन्ध सुधार्न सके। 

केही दिनपछि इसाई व्यापारीहरूले आयोजना गरेको 'बिहानको खाजा' नामक सभामा एकजना प्रशासक आफूले प्रभु येशूमाथि किन र कसरी विश्वास गरेको सम्बन्धमा जीवन गवाही दिन लागेका कुरा डेविडले चाल पाए। अलिक अनिश्चित भएका डेविड गए र आफ्नो विभागको हाकिमलाई भनेः 'हेर्नुहोस्, व्यापारीहरूले आयोजना गरेको 'बिहानको नास्ता' नामक सभामा म भाग लिन गइरहेको छु, जहाँ तिनीहरूले परमेश्वरमाथिको तिनीहरूको विश्वासको कुरा गर्नेछन्। के तपाईं मसँग त्यस सभामा जान चाहनुहुन्छ?' अनि यस पालि श्री अक्म्यानलाई छक्क पर्ने समय आएको रहेछ। किनकि उनका हाकिमले 'हुन्छ' भने। अनि त्यस सभाको अन्तमा के भयो भने, ती हाकिमले प्रभु येशूलाई आफ्ना व्यक्तिगत प्रभु र मुक्तिदाताको रूपमा ग्रहण गरे र आफ्नो जीवन उहाँको हातमा सुम्पे। 

श्री अक्म्यानले त्यसको टिप्पणीको रूपमा यसो भनेः 'हुन त, प्रभुकहाँ आउँदा ती हाकिमको पापको भारी ठूलो थियो, अनि तिनले अहिलेसम्म कति पुराना बानीहरूसित तिनलाई छोडून संघर्ष गरिरहेका छन्। तर मैले त्यो प्रथम कदम नचालेको भए मैले कुनै पनि हालतमा पनि ती मानिसलाई ख्रीष्टकहाँ ल्याउन सक्नेथिइनँ।' 

यस संसारमा श्री अक्म्यानले जस्तो सम्पूर्ण हृदयले र कुनै सर्त नराखीकन गरेको क्षमा-याचना एक असाधारण वस्तु हो। प्रतिस्पर्धात्मक दुनियाँमा आफ्ना अधिकारहरू इन्कार गर्नु पत्याइ- नसक्ने कुरा हो। तर यस्तै किसिमको अलौकिक व्यवहारले कठोर पुरुष र स्त्रीहरूलाई जितेको छ र प्रभु येशूकहाँ ल्याएको छ, अँ, यस्ताहरूलाई अझ जित्दैछ र प्रभुकहाँ ल्याउँदैछ। 

अध्‍याय सात : भाइ डग निकोल्स - तुच्छ ठान्न सकिने सेवा एउटै पनि छैन 

परमेश्वरले भाइ डग निकोल्सलाई भारतमा सुसमाचार प्रचार गर्न बोलाउनुभएकै हो, त्यसमा कुनै शङ्का छैन। त्यस देशको आत्मिक खाँचो भयानक थियो, र अझ यत्सै छँदैछ। लाखौं- कड़ोरौं मानिसहरू विभिन्न धर्महरूको पन्जामा अल्झिरहेका हुन्छन्। परमेश्वरले उनलाई भारतमा पठाउनुभएको कुरामा भाइ डग निश्चित थियो। 

तर के त्यो साँचो र सत्य थियो? तब अहिले उनी यस खैराँते अस्पतालअन्तर्गत टी.बी. उपचार केन्द्रमा चलमल गर्न नसक्ने अवस्थामा के गरिरहेका थिए? उनलाई यस रोगले किन पक्र्यो? यस कुरामा उदेक मान्नु स्वभाविक कुरा हो। उनी स्वास्थ भए प्रभु येशूका निम्ति के-के गर्नेथिए, अँ, कति बढ़ी काम गर्न सक्नेथिए। 

तर उनी शङ्का र निराशको भुँवरीको चक्करमा परेन। होइन, उनले वार्डमा बिरामीहरूलाई सुसमाचार सुनाउने निश्चय गरे। उनी एक पलङदेखि अर्को पलङमा जाँदै पर्चापर्ची बाँड्दैथिए। तर उनले सोचेको जस्तो भएन। तिनीहरूले उनका पर्चा लिन मानेनन्। तिनीहरूको दृष्टिमा उनी एक धनी अमेरिकी थिए, जसले

एकजना भारतीयको पलङ ओगटेका थिए। रूखो भएका ती मानिसहरूले उनका पर्चापर्ची लिएनन्। तर प्रभु येशूसित डगले अप्नाउनुपर्ने र तिनीहरूकहाँ सुसमाचार पुस्र्याइदिने अर्को तरिका थियो। एक रात एक अति कमजोर र सिकिस्त बिरामी मानिस बड़ो मुस्किलले आफ्नो पलङबाट ओल्र्यो। उसले सौचालयमा जान खोज्यो, तर कमजोरीको कारणले ऊ त्यहाँ पुग्न सकेन; यसैले उसले आफ्नो लुगामा टट्टिपिसाब गरिपठायो। भुइँ मैला भयो, र त्यो वार्डको कोठा सहिनसक्ने दुर्गन्धले भरियो। 

नर्सहरू र सरसफाइ-कर्मचारीहरूले त्यो मैला सोहर्नुपरेको हुनाले उसलाई भएभरको सराप्दै हुक्रे। एकजनाले उसलाई थप्पड़ पनि दिइहाल्यो। उक्त घटनाले त्यहाँ भएका सबै बिरामीहरूलाई छटपटायो। 

भोलिपल्ट राति त्यो कमजोर व्यक्ति फेरि पनि आफ्नो पलङबाट उठ्यो; उसलाई सौचालय जानु थियो। तर के गर्ने? ऊ अति नै दुर्बल थियो, अनि यसो गर्न सकेन। ऊ पलङमा उत्तानो पछारियो र रुन लाग्यो। 

भाइ डग आफू कमजोरी थिए, ता पनि उनी उठे र त्यस रोगीकहाँ गए। उनले त्यस अशक्त बिरामीलाई उठाए र बोकेर सौचालयमा लगे। त्यस मानिसले टट्टिपिसाब गरुन्जेल उनी पर्खे, त्यसपछि उनले उसलाई फेरि उसको पलङमा बोकेर ल्याइदिए। 

त्यस बेलासम्म सबै बिरामीहरू ब्यूँझेका थिए। तिनीहरूले के भइरहेको थियो, सो सबै देखे। त्यस अस्पतालमा आएर एउटा पलङ ओगट्ने विदेशी मानिसप्रति तिनीहरूको विचार तत्कालै बदलियो। एकजना बिरामीले डगको पलङमा आएर उनलाई एक कम तातो चिया दियो, र हातको इसाराले उनीबाट एउटा पर्चा माग्यो। डाक्टरहरू, नर्सहरू र सरसफाइ-कर्मचारीहरूले पनि सुसमाचारका पुस्तिकाहरू माग्न थाले। अन्तमा ती मानिसहरूमध्ये कतिजना प्रभु येशूकहाँ फर्केर आए; किनभने तिनीहरूले भाइ डग निकोल्सको जीवनमा ख्रीष्ट येशूलाई र उहाँको दया देख्न सके। 

प्रभु येशूले भन्न खोज्नुभएको यो हो, जब उहाँले भन्नभयो कि उहाँका चेलाहरूले संसारका मानिसहरूले देखाउन सक्ने दयाका कामहरू मात्र देखाए भने काफी हुँदैनथियो। हामी तिनीहरूले गरेका कामहरू नाघेर जानुपर्छ। हामीले यस प्रकारका कामहरूमा ख्रीष्ट येशूलाई चिनाउनुपर्छ, जुन कामहरू संसारका मानिसहरूले गर्न सक्दैनन्, किनभने यसो गर्नलाई दिव्य प्रेमको खाँचो पर्छ। आउनुहोस्, तपाईं र म हामीबाट परमेश्वरको अलौकिक प्रेमको प्रदर्शन हुनुपर्छ। यसैले हाम्रो व्यवहार संसारका मानिसहरूको भन्दा उच्च हुनुपर्छ, नत्र हामीले कहिल्यै आफ्नो व्यवहारले कुनै मानिसलाई प्रभाव पार्न सक्दैनौं, र हाम्रै सामु हराएका मानिसहरू सबै नष्ट हुनेछन्। 

अध्‍याय आठ : श्री एरिक लिड्डुल स्कटल्याण्डको गर्व बढ़ाउने एक छोरा 8)  

श्री एरिक लिड्डलको कुरा बुझ्नका निम्ति हामीले उनको जमानाको स्कटल्याण्ड कस्तो थियो, सो कुरा अलिकति जान्नुपर्छ; किनभने त्यस बेलाका इसाईहरूले प्रभुको दिनलाई खुबै मान्ने गर्थे। तिनीहरूले आइतबारलाई 'इसाई विश्रामदिन' भन्ने नाम दिएका थिए। तिनीहरूले त्यस दिन कुनै काम गर्दैनथिए, तिनीहरूले खेलकुद गर्दैनथिए, तर विश्वासयोग्यतासाथ गिर्जा जान्थे र माण्डलिक सभाहरूमा भाग लिन्थे। आइतबार दोकान - पसलहरू सधैं बन्द हुन्थे। आपतकालीन अवस्थाहरूलाई छोड़ेर यातायात पनि ठप्प हुन्थ्यो। ख्रीष्ट - विश्वासीहरूले प्रभुको दिनलाई विशेष रूपले अलग गर्थे। त्यस दिन उनीहरूले प्रभुको सेवा र आराधना गर्ने गर्थे। उनीहरूको विचारमा, प्रभुलाई प्रेम गर्नेहरूले उहाँको दिनलाई पनि प्रिय मान्नपर्छ। 

भाइ एरिकले पन्ध्र वर्षको उमेरमा आफ्नो जीवनको सबैभन्दा मुख्य निर्णय लिए। उनले प्रभु येशूलाई आफ्ना व्यक्तिगत प्रभु र मुक्तिदाताको रूपमा ग्रहण गरे। पछि उनले दौड़ दौडूनमा खूब रुचि र चासो राखे, ता पनि उनले सधैं प्रभुलाई दिनुपर्ने प्रथम स्थान प्रभुलाई दिए। 

ओलम्पिक खेलहरूमा उनले आफ्नो देशको प्रतिनिधित्व गर्ने आकाङ्क्षा राखेका थिए। अनि सन् १९२४ सालमा उनले यसो गर्ने मौका पाए; किनभने पेरिसमा एक सय मिटरको दौड़ दौड़न उनलाई छानियो। उनको विभोरको सीमा रहेन। तर उनको लहर तत्कालै बदलियो; किनकि उनको टोलीको एक साथीले उनलाई भने, त्यो दौड़चाहिँ आइतबार पर्ने भयो। 

'त्यो हुनै सक्दैन, त्यो हुनै सक्दैन' भन्दै उनी बरबराइरहे। तब उनले एकान्त जग्गा खोजेर प्रभुसँग प्रार्थनामा केही समय बिताए। प्रार्थनाबाट उठेर उनले निर्णय लिइसकेका थिए। उनले न प्रभुलाई न उहाँको दिनको अनादर गर्नेथिए। 

जब उनको यो निर्णय सार्वजनिक भयो, तब चारैतिर खैलाबैला मच्चियो। 'तिमीले यसरी आफ्नो देशलाई सरममा पार्न पाउँदैनौ, नत्र तिमी एक धोकेबाज हौ!' ब्रिटिस टोलीका प्रबन्धक झोंकिएर यसो भनेः 'तिमीले यसो गर्नुहुँदैन।' तर भाइ एरिकले शान्त भावले जवाफ दिए: 'जस्तो भए पनि म प्रभुको दिनमा दौड़ दौड़न सक्दिनँ।' 

उनले दौड़मा भाग नलिने निर्णयचाहिँ समाचारको मुख्य खबर बन्यो। ब्रिटिस खेदकुद - अधिकारीहरू नाराज भए; समाचार-पत्रिकाहरूले उनीमाथि खुलामखुला दोष लगाए र उनको कटु आलोचना गरे। उनका केही साथीहरूले उनको बचाउ गर्ने कोशिश गरे, तर तिनीहरू विफल भए। लोकप्रिय एरिक यसरी नै बित्थाको मान्छे बन्न पुगे। 

एकदिन भाइ एरिकले बुलेटिन बोर्डका सूचनाहरू पढ़े। चार सय मिटरको दौड़ आइतबारको दिन नपर्ने रहेछ। हुन त उनले त्यस दूरीका निम्ति कुनै अभ्यास गरेका थिएनन्, तर उनले यसो गर्न कोशिश गर्नु हुनेथियो। यसकारण उनी प्रबन्धककहाँ गए, र उनले तिनलाई त्यस चार सय मिटरको दौड़मा भाग लिन पाऊँ भन्ने विन्ती गरे। अनि पाहिलेबाट चलेको नियमको विपरीत ती प्रबन्धकले 'हुन्छ' भने। एरिकले पहिलो चरणको दौड़ जिते। दोस्रो चरणमा उनले फेरि जिते। चाँडै उनी सेमी-फाइनलमा पुगे। त्यसपछि उनले फाइनलमा प्रवेश गरे। त्यो फाइनलचाहिँ ओलम्दिक खेलकुदहरूमध्ये श्रेष्ठ दौड़ मानिएको थियो। 

त्यस दौड़को शुरु हुनुभन्दा केही क्षण अगाडि उनको टोलीको मालिश गर्ने माड़कले उनलाई एउटा सानो कागजको टुक्रा दियो, जुन टुक्रा एरिकले तुरुन्तै यो वचन पढ़ेः 'पवित्र बाइबलमा यसो लेखिएको छः 'मलाई आदर गर्नेलाई म आदर गर्नेछु।' तिम्रो सफलताको शुभकामना!” यो वचन एक बाइबलको पद रहेछ, जो १ शमूएल २:३० पदमा लेखिएको छ। अनि त्यस पदले एरिकलाई दौड़भरि नै साथ दियो। 

एकजना अधिकारीले ब्रिटिस टोलीलाई उत्साह बढ़ाउँदै यसो भनेः 'खेलकुदमा भाग लिनुचाहिँ जीवनको सबभन्दा महत्त्वपूर्ण कुरा हो।' सायद तिनले एरिकलाई हप्काउन यसो भने होलान्। तर यस हप्कीरूपी काँड़ लागेन; त्यो त्यसै भुइँमा खसिगयो; किनभने भाइ एरिकका निम्ति खेलकुद र दौड़भन्दा महत्त्वपूर्ण कुराहरू थिए। 

तब त्यो क्षण आयो, तब धावकहरूले दौड़मा आ-आफ्नो स्थानका निम्ति चिट्ठा हाले। भाइ एरिकलाई नराम्रो ठाउँ मिलेछ। अनि त्यस दिनको गर्मी पनि ज्यादा थियो, सहिनसक्ने थियो। ओलम्पिक खेलकुदमा पहिले यति गर्मी कहिल्यै भएकै थिएन। 

मानिसहरूको भनाइ यस प्रकारको छः भाइ एरिकको दौड़ने ढङ्ग डरलाग्दो थियो। दौड्दाखेरि उनका पाखुराहरू मच्चिरहेका थिए, उनका मुक्काहरूले हावा हिर्काइरहेका थिए, उनका घुड़ाहरू दमकल चलिरहेका थिए र उनको टाउको पछिल्तिर उछिटिएको थियो। यसरी कुद्दा कसैले उनलाई एउटा हावाको बलले चलेको मिलसित तुलना गरयो। अब लक्ष्यमा पुग्न लगभग पचास मिटर मात्र बाँकी हुँदा नै उनले आफ्नो अन्तिम बल लगाएर आफ्नो गति अझै बढाइदिए। यसरी उनी अन्य धावक- हरूलाई उछिने फाइनलको विजेता बने र स्वर्ण पदक प्राप्त गरे। यस दौड़मा उनले नयाँ विश्व रेकर्ड पनि बसालिछोड़े। 

उनको जीवनी लेख्ने लेखक श्रीमती स्याली म्यागनुस्सनले यसो लेखिन्ः ‘जब उनले आफ्नो इसाई विश्वास कायम राख्नलाई एक सय मिटरको दौड़मा स्वर्ण पदक प्राप्त गर्न सक्ने सुअवसर त्यागे, जुन दौड़ उनले जित्ने ठूलो सम्भावना थियो, तब उनले लाखौं मानिसहरूको ध्यान आकर्षित गरे। तर जब उनले त्यस चार सय मिटरको दौड़ जिते, जुन दौड़ जित्ने सम्भावना कम थियो, तब सम्पूर्ण देशका मानिसहरू उनको चरणमा परे।") अनि एक प्रसिद्ध खेलाड़ीले यसो भनेः 'निस्सन्देह, स्कटल्याण्डका सबैभन्दा महान् खेलाड़ी एरिक लिड्डल हुन्। उनको प्रभाव, उनको उदाहरण, उनको क्षमता उनको महानताका कारण हुन्।' 9) 

भाइ एरिक पछिबाट चीनको मिसनरी भए। पानीजहाजमा चढ्ने बेलामा उनले आफ्नी बहिनीलाई यसो भनेका थिएः 'जेनी बहिनी, परमेश्वरले मलाई एउटै उद्देश्यले अर्थात् चीनका निम्ति बनाउनुभएको हो। अनि परमेश्वरले मलाई छिटो-छिटो दौड़न सक्ने पनि बनाउनुभयो; किनभने जब म दौड़ाउँछु, तब म उहाँको आनन्द महसुस गर्दछु।' 

चीनलाई कब्जा गर्दाखेरि जापानीहरूले एरिकलाई पनि कैदी बनाए र उनलाई नजरबन्दी शिविरमा पठाए, जहाँ कैदीहरूको अवस्था दयनीय थियो; सबैलाई खाना र कपड़ा अपुग थियो। पाइखानाको सहुलियतहरू बताइनसक्ने थिए। त्यस शिविरले मानिसको सबभन्दा खराब गुणहरू प्रकट गरयो। धेरै कैदीहरू, विशेष गरी अमेरिकी व्यापारीहरूको बीचमा भैझगड़ा भइ- रहन्थ्यो। 
तर एरिकचाहिँ भिन्नै किसिमका मानिस थिए। यस कुरामा तिनीहरू सबै सहमत थिए। उनले आफ्नो इसाई विश्वास जिउँथे। पहिले सियाचोङ्ग शहरमा चिनियाँ मानिसहरूको बीचमा गरेझैं उनले अब यहाँ त्यस शिविरमा पनि ख्रीष्टको रूप देखाएर छोड़े। वेश्याहरू र तुच्छ मानिएका व्यापारहरूसित उनले मित्रता गाँसे। कमजोरहरूका निम्ति उनले कोइला बोकिदिए र जवानहरूलाई उनले शिक्षादिक्षा दिए। आफ्नो सुनको घड़ी बेचेर उनले अरूको सेवा गरे, यहाँसम्म कि हॉकी डण्ठीहरू बनाउन उनले आफ्नो ओढ्ने चद्दर च्याते। यति गरेपछि पनि उनी त्यही एरिक नै रहन्थे, जसले पुराना पर्दाहरूबाट बनाइएको आफ्नो अति साधारण कमिज लगाउँथे र जसमा कुनै बाहिरी विशेषता देखिँदैनथियो। उनी अत्यन्तै साधारण देखिन्थे। 

जब एउटी रूसकी नजरबन्दी वेश्यालाई आफ्नो सामान थान्कोमान्को गर्न मद्दत चाहिएको थियो, तब भाइ एरिकले यस काममा उसलाई सहायता गरे। पछि त्यस स्त्रीले भनी कि एरिक नै उसलाई मद्दत गरेर यसको सट्टामा उसको सेवा नलिएका प्रथम पुरुष हुन्। 

एक कैदीले एरिकको विषयमा यस प्रकारको गवाही दियोः 'मैले एरिकलाई कसैको बारेमा एक खराब शब्द बोलेको कहिल्यै सुनिनँ।' अर्काले भनेः 'मैले चिनेका मानिसहरूमध्ये एरिकचाहिँ बढ़ी मात्रामा ख्रीष्टतुल्य व्यक्ति हुन्।' 

एकदिन जापानी सिपाहीले एरिकलाई हाजिरीमा नआएको देख्यो। उनको खोजी हुँदा एकजनाले बतायो, कि उनी मरेको केही घण्टा मात्र भयो। त्यो सिपाही अकमकाए, त्यसपछि त्यसले सोध्योः 'भाइ लिड्डलचाहिँ इसाई भएको थियो, होइन र?' त्यो मानिस एरिकसँग कहिल्यै बोलेको थिएन, तर त्यसले उनमा ख्रीष्टको चरित्र देखेको हुनुपर्छ र यसो भनेको हो। 

त्यस शिविरमा एरिक मरे; तर मर्ने कारण त्यहाँको क्रूरता थिएन, तर उनको ब्रेन ट्यूमर भएको रहेछ। त्यस शिविरको अस्पतालमा त्यस किसिमको रोगको उपचार गर्ने प्रबन्ध नै थिएन। भाइ एरिकको अन्तिम शब्द सुन्नहोस्, जुन शब्द उनले स्कटल्याण्डकी एन्नी बुचन नामक नर्ससँग भनेः 'एन्नी बहिनी, मुख्य कुरा समर्पण, सम्पूर्ण समर्पण हो रहेछ!' 

जब स्कटल्याण्डको ग्लासगोमा उनको मृत्युको खबर पुग्यो, तब सन्ध्या-समाचार भन्ने समाचार - पत्रिकामा यी स्मरणीय शब्दहरू पढ्न पाइँयोः ‘स्कटल्याण्डले एउटा यस्ता छोरा गुमायो, जसले आफ्नो जीवनको हर घड़ीमा यसलाई गर्वशाली तुल्याए।' 

दफनको सेवामा एक वरिष्ठ मिसनरी श्री आर्नोल्ड ब्राइसनले यसो भनेः 'हिजो मात्र मलाई एकजना मानिसले भनेः “मैले चिनेका सबै मानिसहरूमध्ये एरिक लिडुलचाहिँ त्यही व्यक्ति हुनुहुन्थ्यो, जसको चरित्र र जीवनले बढ़ीभन्दा बढ़ी मात्रामा येशू ख्रीष्टको आत्मा प्रकट गरेको छ।” अनि हामीमध्ये जजसले एरिकलाई व्यक्तिगत रूपले चिन्ने सौभाग्य पाएका छौं, हामी पनि उनको विषयमा दिएको यस रायमा पूरा सहमत छौं। 

उनको पवित्र जीवन र टाढ़ो - टाढ़ोसम्म पुगेको प्रभावको रहस्य केमा थियो? परमेश्वरको इच्छा जसरी त्यो ख्रीष्ट येशूमा प्रकट भएको छ, उहाँको त्यस इच्छाअनुसारको सम्पूर्ण समर्पण उनको जीवनको रहस्य भएको रहेछ। उनको जीवन सदैव परमेश्वरको नियन्त्रणमा रहेको थियो। उनले आफ्ना स्वामी र प्रभुलाई भक्तिसाथ पछाएका थिए। उनको भक्तिमा कहिल्यै कुनै कमी भएन। उनले प्रभु येशूलाई यति तीब्र मनसाय र अभिप्रायले अप्नाए, कि मानिसहरूले उनमा साँचो धर्मको वास्तविकता के हो, सो शक्तिको साथ देख्न सके।'11) 

उनको जीवनीमा अझ एउटा थप कुरा छ। सन् १९७७ सालको कुरा होः ब्रिटिस सिनेमा निर्देशक श्री डेविड पट्टनम्ले एरिक लिड्डलको जीवनको कथा अर्थात् सन् १९२४ सालमा उनले ओलम्पिक खेलकुद कसरी जितेका थिए, सो कथा कतैबाट भेट्टाएका रहेछन्। श्री पट्टनम्ले भर्खरै 'मिडनाइट एक्सप्रेस' नामक चालचित्र बनाइसकेका थिए, जुन चालचित्रमा मानिसका सबैभन्दा नीच अवगुणहरू देखाइएका थिए। यस प्रकारको दोषदर्शी चालचित्रले तिनको मन तीतो र खल्लो पारेको थियो। यो चलचित्र सफल भएकोमा तिनी निराश भए। अनि अबचाहिँ एरिकको कथाले तिनको यो निराशा जाती पार्ला भन्ने विचार आयो। किनकि तिनले भने र यसरी स्वीकार गरेः 'एरिक लिड्डलको चरित्रमा महानता छ; किनकि उनी आफूभन्दा महान् कुराका निम्ति खड़ा भए। उनले संसारको सामु प्राप्त हुने सफलताभन्दा परमेश्वरलाई नै र उहाँप्रति देखाउनुपर्ने कर्तव्य अघि राखेका थिए।' 

यसरी नै 'चेरियोट ऑफ फायर' अर्थात् अग्निरथ नामक चालचित्र बन्यो। तुरुन्तै यो चालचित्र भव्य रूपले चल्न थाल्यो। संसारभरिका मानिसहरूले एरिक लिड्डलको कहानी देख्न र जान्न पाए - यस्ता एउटा जवान मानिसको, जसले आफ्नो विश्वास अगाड़ि राखेर ओलम्पिक खेलकुदको स्वर्ण पदकलाई पनि तुच्छ ठानेका थिए। यहाँ स्कटल्याण्डका एक विनम्र खेलाड़ी थिए, जसको विश्वास अटल थियो र जसले त्यस विश्वाससित नमिल्ने कुराहरूसँग कुनै सम्झौता गरेका थिएनन्। 

चारैतिर यस चालचित्रको प्रशंसा गरियो। परमेश्वरले ती मानिसलाई आदर गर्नुभएको छ, जसले उहाँको आदर गरेका थिए। यो कुरा देखेर मानिसहरू रोए। न्यू यर्कका चालचित्र समालोचक श्री रेड रीडले यस सम्बन्धमा यसो भने: 'अहिलेसम्म देखेका सबै चालचित्रहरूमध्ये सबभन्दा उच्च! यस चालचित्रमा विश्वव्यापी सत्यताहरू तिनको गहिराइमा प्रस्तुत गरिएका हुन्छन्, जुन सत्यताले अचेलका कुटिल विचारधाराहरू काटेको छ र पुरानो मानिएको भावनालाई पुनर्स्थापना गरेको छ।' 

सन् १९२४ सालमा भाइ एरिक उनको प्रसिद्ध ओलम्पिक दौड़ दौड़ेका थिए, अनि सन्ताउन्न वर्षपछि एउटा चालचित्र बन्यो, जसले उनको सम्मान गरयो यस्तो एउटा सम्मान, जसको विषयमा उनले पाउँछु भन्ने कल्पनाधरि गर्न सक्नेथिएनन्। 

अध्‍याय नौ : जनरल ओलिवर ओ. होवार्ड - आफूलाई नम्र तुल्याउने सेनापति-जनरल 12) 

सन् १८६५ सालमा अमेरिकाको गृह-युद्ध समाप्त भएको थियो, अनि यू.एस.ए. को राजधानी वाशिङ्गटनमा एक महान् विजय परेडको तयारी चलिरहेको थियो। जनरल श्री विलियम टि. शेरम्यानलाई यस आयोजनाको जिम्मेवारी सुम्पिएको थियो। परेड़को बाटो पेन्सिलभेनिया नामक सड़क भएर वाइट हाउस हुँदै जानुपरेको थियो। अनि सरकारी नियमअनुसार ती जनरलहरू, जसले युद्ध हुँदा आ-आफ्नो दलको नेतृत्व गरे, उनीहरूचाहिँ आ- आफ्नो दलको सामु राष्ट्रपतिको अगाडि सवार गर्नुपरेको थियो। 

परेडको दिनमा के भयो भने, त्यस दिनको बिहान एउटा ठूलो समस्या देखा परयो। जनरल शेरम्यानले जनरल ओलिवर ओ. होवार्डलाई भेट्न जाँदा आफ्नो विचलित मुद्रा लुकाउन सकेनन्। टेन्नेसी र एट्लान्टाका लडाइँहरूमा विजय हासिल गर्नुमा मद्दत पुस्र्याउने पल्टनहरूका सेनापति तिनी नै थिए। टेन्नेसीको सेनाको कप्तानको ओहदामा पदोन्नति भएको होवार्डले जनरल शेरम्यानसँग 'समुद्रको तटसम्म भएको मार्च' नामक त्यस प्रख्यात प्रयाणमा भाग लिएका थिए। 

‘जनरल होवार्ड, तपाईंलाई विदितै छ, कि तपाईं परेडमा आफ्नो दलको सामु सवार हुनुपर्ने हो।' 
'हजुर!' 
'तर म तपाईंबाट एउटा अनुमति लिन चाहन्छु।' 'हजुर, भन्नुहोस्!” 
'तपाईंभन्दा अघि तपाईंको दलमाथि सेनापति भएका जनरलले परेडमा आफ्नो पुरानो दलको नेतृत्व गरेर त्यसको अघि-अघि सवार हुन चाहनुहुन्छ। तपाईं अन्तिम लडाइँहरूमा तिनीहरूका सेनापति हुनुहुन्थ्यो भन्ने मलाई थाहै छ। तर होवार्डज्यू, तपाईं इसाई हुनुहुन्छ। यसकारण कसैले तपाईंको आशामा पानी फ्याँक्दा तपाईंले यो सहन सक्नुहुन्छ भन्ने मेरो 
भन्ने मेरो पूरा भरोसा छ। तब भन्नुहोस्, के तपाईंले ती जनरललाई परेडमा तपाईंको यस दलको सामु सवार हुन दिनुहुन्छ?' 

एक क्षणका निम्ति जनरल होवार्डलाई त्यो धक्का साह्रै लाग्यो। तिनले घोड़ामाथि आफ्नो दलको सामु सवार हुन अति इच्छा गरेका थिए; किनकि तिनीहरूले लडाइँमा तिनलाई पूरा निष्ठा र त्यागको साथ सेवा गरेका थिए। तिनीहरू तिनको साथमा युद्धमा लड्दा आपसमा जोड़दार सैनिक जोश र आत्मीयता विकाश भएको थियो। तिनका सिपाहीहरू तिनका निम्ति र एक-अर्काका निम्ति मर्न तयार थिए। अँ, तिनले लड़ाइँमा आफ्नो एक पाखुरासमेत गुमाएका थिए। अनि अबचाहिँ तिनले अर्का एक जनरललाई आफ्नो यो आदरको स्थान दिनुपरेको थियो। अघि यस्तो कहिल्यै भएको थिएन, अनि यो अनुरोध कुनै हालतमा पनि समोचित थिएन। 
तर तुरुन्तै जनरल होवार्डले आफूलाई नियन्त्रणमा राखे। 'तपाईंको अनुरोध मेरो आज्ञा' भनेर फौजी उक्तिअनुसार उनी आफ्नो हुकुम गर्ने अफिसरको सामु खुट्टा बजाउने गरी सीधा खड़ा भए, अनि फेरि भनेः 'हुन्छ, हजुर! हजुर आफैले यसो भन्नभएकोले र म इसाई भएको नाताले म खुशीसँग हजुरको अनुरोध मान्दछु। हुन्छ, अर्का जनरलले मेरो दलको सामु सवार गरून्!' 

श्री शेरम्यान तनाउमुक्त भए, अनि आदरपूर्वक जनरल होवार्डलाई हेरेर भनेः 'होवार्डज्यू, तपाईंले अनुमति दिनुहुन्छ, मलाई थाहा थियो। अब मेरो कुरा सुन्नुहोस्! तपाईं मसँग सम्पूर्ण सेनाको अघि-अघि सवार हुनुपर्छ।' 

जनरल होवार्डको यो व्यवहार मामुली व्यवहार थिएन, तर एक इसाई व्यवहार थियो। तिनले अमूल्य नम्रताको पाठ सिकेका थिए; किनकि तिनले ख्रीष्टको मन अप्नाएका थिए। नीच ठाउँ ओगट्नु मानिसको स्वभावको विरुद्ध हो। तर श्री शेरम्यानले तिनको सम्मान गरे, जुन सम्मान अरू कुनै रीतिले होइन, तर विनम्र भएका हुनाले मात्र तिनी प्राप्त गर्न सक्ने भए। 

अध्‍याय दस : रोगमा वा निरोगमा पनि 13) 

श्री रोबर्टसन् म्याक खिल्कनुचाहिँ कोलम्बिया बाइबल कलेज र सेमिनारीको अध्यक्ष थिए। जवान मानिसहरूलाई प्रभु येशू ख्रीष्टका प्रभावशाली सेवकहरू तुल्याउने तालिम दिन पाएकोमा उनको परम आनन्द थियो। यही लक्ष्य लिएर उनले यस काममा अथक परिश्रम गर्थे। उनको नेतृत्वमा, आत्मिकता र उच्च स्तरीय शिक्षाको कारणले कोलम्बिया बाइबल कलेजको खूब नाम चलेको थियो। 

तर त्यस समय उनको जीवनमा एउटा ठूलो समस्या आयो। त्यसको शुरु यस प्रकारको भयोः उनकी पत्नी मुरिएलले एउटै कुरा घरी-घरी दोहोरयाउन लागिन्। तब तिनले पढ्ने र चित्र कोर्ने क्षमता गुमाइन्। त्यसपछि तिनले सार्वजनिक सेवकाइहरू बन्द गर्नुपरयो। श्री रोबर्टसन्का निम्ति आफ्नी पत्नीको जीवन बिस्तारै मधुरो हुँदै गएको हेर्न बड़ो कठिन र कष्टदायक थियो। 

अन्तमा डाक्टरले उनकी पत्नीलाई 'सुसमाचारका चार पुस्तकका नाम झट्टै भन्नहोस्' भनेर सोध्दाखेरि तिनले त्यसको उत्तर दिन सकिनन्। अब रोग पत्ता लगाइयो। तिनलाई अल्जाइमर रोग लागेको रहेछ। 

श्री रोबर्टसन्की पत्नी धेरै वर्षदेखि उनको आत्मीय सङ्गिनी र जीवन साथी थिइन्। उनको फलवन्त सेवकाइ तिनीबिना असम्भव हुनेथियो। तिनीबिना उनले आफ्नो सेवकाइ अघि बढ़ाउन सक्नेथिएनन्। अब उनले के गर्नुपर्ने हो? आफ्नो कलेज र सेमिनारीको कार्य जारी राख्नका निम्ति के उनले पत्नीको हेरचाह भाड़ामा काम गर्नेहरूको हातमा सुम्पनुपर्ने हो कि के उनले आफ्नो कामबाट अवकास लिएर तिनको सेवा गरेर तिनले धेरै वर्षअघिदेखि उनलाई निरन्तर गरेको वास्ताको केही पूर्ति गर्नुपर्ने हो? 

उनका सहकर्मीहरूका निम्ति उनले लिनुपर्ने निर्णय सुस्पष्ट थियो। उनको सट्टामा मुरिएललाई ख्रीष्टिय प्रेम र कोमलता देखाउन सक्ने कैयौं मित्रहरू थिए। यसकारण तिनीहरूको विचारमा, उनले कोलम्बिया बाइबल कलेजमा आफ्नो अगुवाको काम छोड्नुपर्दैनथियो। यसरी उनले त्यस काममा निरन्तरता दिन सक्नेथिए। 

तर के उनले परमेश्वरको सामु आफ्नी पत्नीसित रोगमा वा निरोगमा पनि मृत्युले अलग नगरेसम्म म विश्वासयोग्य रहनेछु भन्ने विवाहको प्रण गरेका थिएनन् र? अहिले उनकी पत्नी रोगमा परेकी थिइन्, र तिनको स्वास्थ्य फर्कनु सम्भव थिएन। हुन त, परमेश्वरले मुरिएलको जीवनमा एउटा आश्चर्यकर्म गर्न सक्नुहुने- थियो। तर उहाँले यसो नगर्न पनि सक्नुहुनेथियो। तिनको जीवनको बदलीमा उहाँले बरु श्री रोबर्टसनको जीवनमा एउटा अचम्मको काम गर्नुहुन सम्भव थियो। अब उनले के गर्ने त? के उनले आफ्नो विवाहको प्रण कायम राख्नेथिए? 

हो, उनले आफ्नो विवाहको प्रण पूरा गर्ने नै थिए। उनले मुरिएलको मानसिक र शारीरिक अपकर्षी अवस्थामा तिनको स्याहारसुसार गर्न उनले कलेज र सेमिनारीको अध्यक्ष-पदबाट अवकास लिए; यसमा ख्रीष्टिय समाज अति चकित भयो। उनले भनेः ‘जब समय आयो, तब मेरो निर्णय सुदृढ़ रह्यो; यसको विषयमा मैले फेरि पनि सोच्नु र यसको मूल्याङ्कन गर्नुपरेको थिएन; किनकि यो सत्यनिष्ठाको कुरा थियो। ... यसो गर्न मलाई गाह्रो लागेन। यसका निम्ति मलाई तितीक्षा - शक्ति पनि चाहिएन। वास्तवमा, मुरिएलले अद्भुत समर्पणको साथ मलाई लगभग चालीस वर्षअघिदेखि मेरो वास्ता गरेकी थिइन्। अब मेरो पालो आयो। मुरिएल कस्ती सङ्गिनी थिइन्, यसको साध्य छैन। चालीस वर्षसम्म मैले तिनको हेरचाह गरें भने पनि म तिनको ऋणबाट मुक्त हुनेथिइनँ।' 

त्यसपछि श्री रोबर्टसन्ले सत्र वर्षसम्म आफ्नी पत्नीको विस्मृतितर्फको ओरालो यात्रामा साथ दिए। उनले यस अवधिको विषयमा यसो लेखे: 'तिनका निम्ति मध्यरात भइरहेको थियो। अनि मैले बेला-बेलामा सोध्ने गर्थेः यो रात कहिले अन्त हुने हो? अरे, अल्जहाइमरको भयानक रोगले यति छिटो नलाग्नुपर्नेथियो, यति लामो समयसम्म नसताउनुपर्नेथियो!! तर मुरिएलचाहिँ आफ्नो मौन दुनियाँमा पूरा रूपले सन्तुष्ट र प्रेमयोग्य छिन्। प्रभु येशूले तिनलाई घरमा लैजानुभयो भने मैले तिनको मधु र प्यारो उपस्थितिको अभावको नमीठो अनुभव गर्नेथिएँ। हो, यस्ता समयहरू पनि थिए, जब म अधीर भएँ, तर कहिलेकहीं मात्र यस्तो भयो। तिनीसित रिसाउनुमा कुनै मतलबै थिएन। अनि कसले जान्दछ? सायद मेरो आत्मा परिपक्व तुल्याउनुहोस् भन्ने मेरो युवा अवस्थाको प्रार्थनाको उत्तर प्रभु येशूले यस प्रकारले दिँदै हुनुहुन्थ्यो, कि कसो? 

एकपल्ट मैले रिसमा आफ्नो होश गुमाएको थिएँ। ती दिनहरूमा मुरिएल अझ पनि आफै उभिन र यता-उता हिँड्न सक्ने भएकी थिइन्, अनि तिनलाई झाड़ा - पिशाबको थाङना लगाउने अवस्था भएको थिएन। कहिलेकहीं तिनले अचानक पाइखाना जान नपाई मैला गर्थिन्। एकदिन तिनको छेउमा घुँड़ा टेकेर मैले मैला सोहोर्दैथिएँ, तब तिनले मलाई सघाउने कोशिश गरिन्। मैले मनाही गर्दा पनि तिनले जबर्जस्ती गरिन्। मलाई झन्-झन् रिस उठ्यो। अचानक मैले तिनलाई चलमल नगरी रहने हेतुले तिनको चाकमा एक झापड़ लगाएँ, मानो त्यसो गर्दा केही फायदा हुन्छ झैं गरी। मैले हल्का झापड़ मात्र लगाएको थिएँ, तर तिनी अचम्मचकित भइन्, अनि म पनि छक्क परें। तिनीसँग विवाह भएको चवालीस वर्षभित्र मैले रिसमा तिनीमाथि हात कहिल्यै लगाएको थिइनँ, न ता तिनलाई कुनै समय गाली गरेको थिएँ। यस्तो गर्ने परिक्षामा समेत म कहिल्यै परेको थिइनँ। तर अहिले यस्तै घड़ीमा, जब तिनले मेरो मद्दतको बढ़ता खाँचो पर्थ्यो, तब यस्तो भयो। 

सुँक्क सुँक्क गर्दै मैले तिनलाई क्षमा मागें। हुन त तिनले न ती शब्दहरू बुझिन्, न ता तिनले बोल्न सकिन्। यसकारण मैले प्रार्थनामा सहारा लिएँ र प्रभुलाई म कति दुःखी र क्षमाप्रार्थी छु, सो बताइदिएँ। यो कुरा बिर्सन मलाई केही दिन त लाग्यो। सायद परमेश्वरले ती आँसुहरू यस उद्देश्यले जम्मा पारिदिनुभयो कि तिनैले कुनै भविष्यका दिनहरूमा सल्कन लागेका मेरो रिसरूपी ज्वालाहरू निभाउन सकून्।' 
यसरी श्री रोबर्टसन् म्याक खिल्कन्ले आफ्नी पत्नीको मृत्यु नभएसम्म विस्मृतिमा डुबिरहेकी तिनको स्याहार सुसार गर्नलाई आफूले बाइस वर्षदेखि सम्हालेर ल्याएको बाइबल कलेज र सेमिनारीको अध्यक्षको पदलाई त्यागे। 

उक्त जीवन-कथा 'ख्रीस्टियानिटी टुडे' भन्ने इसाई पत्रिकामा छापियो। पाठकहरूले सरम नमानी आँसु बहाए। प्रभुलाई चिन्ने कति दम्पतीहरूले आपसमा आफ्नो विवाहको प्रण नयाँ गरी बाँधे। फेरि अरू मानिसहरूले विवाहको बन्धनरूपी पवित्र सम्बन्धमा नवीन महत्त्व देख्न सके। अनि कतिले श्री रोबर्टसन् म्याक खिल्कन्को जीवनमा प्रभु येशूको एक झलक देख्न सके। 

Your encouragement is valuable to us

Your stories help make websites like this possible.