भूमिका:
जीवनको कुनै घटना संयोगले हुँदैन, त्यत्तिकै घट्दैन। हरेक कुरामा कुनै दिव्य योजना हुन्छ वा ईश्वरीय सहनशीलतामा हुन दिएको हो।
यो सानो पुस्तिका तपाईंको हातमा परेको छ; यो पनि त्यसै, मतलबबिना भएको होइन। यस पुस्तकमा कति सत्य कुराहरू उल्लेख गरिएका छन्; यी कुराहरू हृदयदेखि नै स्वीकार गरेमा यिनले तपाईंको सम्पूर्ण जीवन बदली गरेर यसलाई एउटा नयाँ उद्देश्य दिन सक्छन्। यति मात्र होइन, तर पापहरूको क्षमा कसरी पाइन्छ, परमेश्वरसित कसरी मेलमिलाप राख्न सकिन्छ र यो हाम्रो छोटो जीवन बितेपछि स्वर्गमा हाम्रो लागि बस्ने ठाउँ तयार गरिएको कुरामा कसरी निश्चित हुन सकिन्छ आदि कुराहरू यस किताबले तपाईंलाई बताउँछ।
यस पुस्तकका पन्नाहरूमा कति प्रश्नहरूको उत्तर दिइन्छ, जुन प्रश्नहरू कतै तपाईंको मनमा पनि उठेका हुन सक्छन्। यसो नभए यहाँ हामीलाई हामी सबै जनाले सोच्नुपर्ने प्रश्नहरूको पक्का जवाफ दिइन्छ। यसैले थोरै समय लिएर तपाईंले यो पुस्तक ध्यानपूर्वक पढ्नुहुन हाम्रो अनुरोध छ। यस पुस्तकको अन्तिम प्रश्नको उत्तर एकदम महत्त्वपूर्ण छ। त्यहाँ बताइएको सल्लाह तपाईंले मान्नुभयो भने तपाईं सदा आभारी बन्नुहुनेछ।
आश्वासनः
पवित्र बाइबलले हामीलाई आश्वासन दिन्छ। तपाईंले यूहन्ना ७:१७ मा परमेश्वरको यसो भन्ने प्रतिज्ञा पाउनुहुन्छ:
'यदि कसैले परमेश्वरको इच्छा पालन गर्न चाहन्छ भने यस शिक्षाको विषयमा, योचाहिँ परमेश्वरको तर्फबाटकै हो कि म आफ्नैपट्टिबाट बोल्छु, सो उसले थाहा पाउनेछ।' परमेश्वरको त्यस प्रतिज्ञाअनुसार हरेक मानिस, जसले इमानदारीसाथ खोजेर सत्यता जान्न चाहन्छ, उसैले त्यो अवश्य भेट्टाउँछ।
यस पदमा भनिएको कुरा जाँच्नुहोस्। परमेश्वरलाई पुकार्नुहोस्, उहाँले आफूलाई तपाईंकहाँ प्रकट गरून् भनी उहाँलाई विन्ती गर्नुहोस्। त्यसपछि पढ्दै जाँदाखेरि तपाईंले यस पुस्तकमा दिइएका पवित्र बाइबलका पदहरूमा विशेष ध्यान दिनुहोला। यो किताब पढेर सिध्याउन धेरै बेर लाग्दैन; तर यो समय तपाईंको जीवनको सबभन्दा महत्त्वपूर्ण समय हुन सक्छ। परमेश्वरको वचनमा बताइएको उहाँको सन्देश तपाईंले ग्रहण गर्नुभयो भने तपाईं अनन्त जीवनको भागीदार बन्न पाउनुहुन्छ।
प्रश्नमाथि प्रश्न - जवाफ कसले दिने?
यस जीवनमा सबभन्दा महत्त्वपूर्ण कुरा के हो?
तन्दुरुस्त हुनु महत्त्वपूर्ण कुरा हो, तर सबभन्दा मुख्य कुरा यो होइन; किनभने एक दिन हामी सबै बिमारी भई- नभई पनि मर्नुपर्छ। पैसा र धनसम्पत्ति कमाउनु आवश्यक छ; तर त्यत्ति कहिल्यै पर्याप्त हुँदैन। किनकि एक दिन हामीले सबै धनसम्पत्ति छोड़ी जानु छ। सुखचैन उपभोग गर्नु पनि जरुरत छ, तर यी मनलाई आनन्द दिने कुराहरू कति क्षणिक हुन्छन्, विचार गर्नुहोस्। हाम्रो जीवन कति छोटो छ, र परलोकमा अनन्तकाल कति लामो छ। तब त्यो अनन्तकालको अवधि हामी कहाँ बिताउने हो, सो कुरामा निश्चित हुनु नै सबभन्दा महत्त्वपूर्ण कुरा हो। किनकि कि त स्वर्गमा कि त नरकमा हामीले अनन्तकाल बिताउनुपरेको छ। यसैले यस कुरामा निश्चित ज्ञान पाउनु जरुरत छ, होइन र?
प्रभु येशूले हामीलाई यसो भन्दै एउटा गाह्रो प्रश्न सोध्नुहुन्छ: 'मानिसले सारा संसारलाई प्राप्त गरे तापनि आफ्नो आत्माचाहिँ गुमायो भने त्यसलाई के फाइदा हुन्छ र? अथवा आफ्नो आत्माको सट्टामा मानिसले के देला र?' (मर्कूस ८:३६-३७)
अनन्तकाल कहाँ बिताउने सम्बन्धमा खास समस्या के हो? के यस विषयमा कुनै प्रश्न छ र?
हो, यस सम्बन्धमा एउटा ठूलो समस्या छ; अनि त्यो समस्या पाप हो। पापले हामी मानिसलाई हाम्रा सृष्टिकर्ता परमेश्वरदेखि अलग पारेको छ। हाम्रा पाप र अधर्महरूले गर्दा हामी मानिस स्वर्ग जानको निम्ति अयोग्य भयौं र नरकको लागि अति योग्य भयौं।
पवित्र बाइबलले यसो भन्दछ: 'तिमीहरूका अधर्म- हरूले तिमीहरूलाई तिमीहरूका परमेश्वरबाट अलग पारेका छन्, र तिमीहरूका पापले गर्दा उहाँको मुख तिमीहरूदेखि छेलिएको छ...।' (यशैया ५९:२)
पाप भनेको के हो त?
परमेश्वरको पवित्र स्वभावमा नआउने, त्यससित नमिल्ने हरेक कुरा पाप हो। जब परमेश्वरले 'सबैले पाप गरेका छन्, र परमेश्वरको महिमारहित हुन गएका छन्' भन्नुहुन्छ, तब उहाँले ठीक यही कुरा भन्न खोज्नुभएको हो। (रोमी ३:२३)
हामीले जानी-जानी गरेका सब खराब कामहरू पाप हुन्। 'सबै अधर्म पाप हो' (१ यूहन्ना ५:१७)। हामीले परमेश्वरको इच्छा जानेका, तर नगरेका सब कुरा पनि पाप हुन्। ‘जसले भलाइ गर्न जान्दछ, तर गर्दैन, त्यसको निम्ति यो पाप हो' (याकूब ४:१७)। आफ्नो विवेकको विरोधमा काम गर्नु पनि पाप हो। 'हरेक कुरा जो विश्वासबाटको होइन, त्यो पाप हो' (रोमी १४:२३)।
पाप भनेको परमेश्वरको पवित्र नियम भङ्ग गरेर आफ्नो अभिलाषा पूरा गर्नु हो। पापले यसो भन्छ: 'परमेश्वरको इच्छा होइन, तर मेरो इच्छा पूरा होस्!' हाम्रा विचार, काम र वचनहरू पापले भरिएका हुन्छन्। यति मात्र होइन, तर हामी आफै भित्रदेखि नै अर्थात् स्वभावैले पापी हौं। वास्तवमा हामीले गरेको सबभन्दा ठूलो अधर्मभन्दा हामी आफूचाहिँ अझ कति नराम्रा छौं।
तपाईंले मलाई दोषी तुल्याउनुभयो; के तपाईंले मेरो विषयमा मलाई ढुक्क हुन दिनुहुन्न कि के हो?
आफ्नो कसूर मानिलिनको निम्ति परमेश्वरले तपाईंलाई साबित तुल्याउन चाहनुहुन्छ। किनकि जो मानिस बिरामी छ र जसले आफ्नो रोगी अवस्था विचार नेको छ, ऊ मात्र निको हुनको निम्ति डाक्टरकहाँ जान्छ। प्रभु येशूले यसो भन्नुभएको छः 'निरोगीहरूलाई होइन, तर रोगीहरूलाई डाक्टरको खाँचो पर्दछ' (लूका ५:३१)। जतिले आफै पापी भएको महसुस गर्छन्, उनीहरू मात्र प्रभु येशूकहाँ जान्छन् र उनीहरूले मात्र मुक्ति पाउँछन्। तपाईं कहीं कतै चिप्लेर अग्लो पहराबाट तल खस्न लाग्दै गर्दा के तपाईंलाई राम्रो लाग्नु हुन्छ र?
असल मानिसहरू स्वर्ग जान्छन् र खराब मानिसहरू नरक जान्छन् भने त के, मलाई केको फिक्री लाग्ने?
तपाईंको यो विचार गलत हो; तब यसको नतिजा कसरी ठीक हुन सक्छ? तपाईंको यस भनाइको आधारचाहिँ ठीक भएन। किनभने असल मानिसहरू स्वर्ग जाने कुरा सत्य होइन। परमेश्वरको विचारअनुसार असल मानिस कुनै पनि छैन, एउटै पनि छैन। 'पृथ्वीमा एकजना पनि धर्मी मानिस छैन, जसले भलाइ गर्छ र पाप गर्दैन' (उपदेशक ७:२०)।
तब कुनचाहिँ मानिस स्वर्ग जान्छ त? परमेश्वरको निगाहअनुसार पापको क्षमा अर्थात् मुक्ति पाएको मानिस मात्र स्वर्ग जान्छ। तपाईंको प्रश्नको जग सत्य थिएन; यसैले तपाईंले ठीक निष्कर्षमा आइपुग्न सक्नुभएन। हामीले परमेश्वरको निगाह प्राप्त गरेर मुक्ति पाउनैपर्छ, नत्रता आफ्नो आत्माको बारेमा फिक्री गर्नुपर्ने प्रशस्त कारण रहन्छन्।
म अरू मानिसहरूजतिकै खराब हुँ; तपाईंले भन्न चाहनुभएको तात्पर्य यो हो कि?
आफ्नो दृष्टिकोणबाट अथवा आफ्ना साथी र आफन्त- हरूको विचारमा तपाईं शायद अरूजतिकै खराब देखा पर्नुहुन्न होला। तर आफ्नो जीवनको लेखा तपाईंले तिनीहरूको सामु दिनुपर्नेछैन नि। आफूलाई एक-अर्कासँग नापजोख गर्नेहरू र आफूलाई एक-अर्कासँग तुलना गर्नेहरू बुद्धिमान् होइनन् (२ कोरिन्थी १०:१२)। हाम्रो सृष्टिकर्ता परमेश्वरको सामु हामीले आफ्नो जीवनको लेखा दिनुपर्छ; अनि उहाँको दृष्टिमा हामी सबै दोषी छौं, हामी पापी छौं।
मैले दस आज्ञाहरू सकेसम्म पालन गरें भने के यो पर्याप्त हुँदैन?
सबभन्दा पहिले परमेश्वरले दिनुभएका यी दस आज्ञा- हरूमा हामीबाट के-के चाहिएको छ, सो हामी आफैलाई याद दिलाऔं। छोटकारीमा उहाँका यी आज्ञहरूको परिभाषा यस प्रकारको छः
आज्ञा १: साँचो परमेश्वरबाहेक अरू कुनै देवीदेवता मान्नुहुँदैन। एकमात्र सत्य र जीवित परमेश्वरले हाम्रो जीवनको प्रथम स्थान पाउनैपर्छ। उहाँले हाम्रो आदर, भक्ति र महिमा पाउनैपर्छ। संसारका जाति-जतिका विभिन्न आध्यात्मिक देवीदेवताहरू मान्नुभएन। तर पैसा, यौन, बलनीति, स्वार्थजस्तै आधुनिक देवताहरू पनि मान्नुहुँदैन। हाम्रो जीवनको सिंहासनमा यी कुरामध्ये कुनै एक थोक पनि हुनुहुँदैन।
आज्ञा २: हाम्रो कुनै मूर्ति हुनुहुँदैन। मूर्ति भन्नाले हामीले खोपिएको कुनै आकार सम्झन्छौं। तर मोटर- कार, घर, पतिपत्नी वा छोराछोरीहरूले परमेश्वरको ठाउँ ओगट्नुहुँदैन भन्ने अर्थ यस आज्ञाले सिकाउन खोजेको पनि हो।
आज्ञा ३: परमप्रभुको नाम व्यर्थेमा लिनुहुँदैन। परमेश्वरको नाममा झूटो कसम खानुहुँदैन, श्रापको रूपमा लिनुहुँदैन र उहाँको पवित्र नाम ठट्टादिल्लगीमा प्रयोग गर्नुहुँदैन।
आज्ञा ४: विश्रामदिन पवित्र मान्नुपर्छ। परमेश्वरको लागि हामीले हप्तामा एक दिन अलग राख्नुपर्छ, जुन दिनमा हामी उहाँको सेवा र उपासना गर्छौं।
आज्ञा ५: आफ्ना बुवाआमाको आदर गर्नुपर्छ। यस आज्ञाको अर्थ यही हो: उनीहरूको आज्ञा उल्लङ्घन गर्नुहुँदैन, उनीहरूलाई अनादरको व्यवहार देखाउनुहुँदैन र उनीहरूको सम्पत्ति लुट्नुहुँदैन। उनीहरूको वास्ता गर्नुपर्छ र उनीहरूप्रति धन्यवादी हुनुपर्छ।
आज्ञा ६: हत्या गर्नुहुँदैन। हामीले शायद कसैको प्राण लिएका छैनौं होला, तर प्रभु येशूलाई क्रूस चढ़ाउनुमा अवश्य हाम्रो हात थियो। यो कुरा नबिसौं। हाम्रा पापहरूको खातिर प्रभु येशू क्रूसमा मर्नुपरयो। प्रभु येशूको शिक्षाअनुसार हामीले कसैलाई घृणा गरयौं र कसैसँग रिसाएका छौं भने त्यो पनि हृदयभित्र हत्या गरेको बराबर हो (मत्ती ५२१ - २२; १ यूहन्ना ३:१५)। आजभोलि चारैतिर गरिने गर्भपात पनि हत्याको रूपमा लिनुपर्छ।
आज्ञा ७: व्यभिचार गर्नुहुँदैन। विवाहको बन्धनबाहिरको कुनै यौन सम्बन्ध मनाही गरिएको छ। तर प्रभु येशूको शिक्षाअनुसार यसको मतलब खराब इच्छाले कुनै स्त्रीलाई हेर्नु पनि आफ्नो हृदयभित्र व्यभिचार गरिसकेको बुझिन्छ (मत्ती ५:२८ )।
आज्ञा ८: चोरी गर्नुहुँदैन। हाम्रो छिमेकीको सम्पत्तिमा हात हाल्नुहुँदैन। तर परमेश्वरलाई दिनुपर्ने भाग अर्थात् उहाँलाई आदर, भक्ति, आज्ञाकारिता र धन्यवाद दिन हामी नभुलौं।
आज्ञा ९: झूट बोल्नुहुँदैन। कर तिर्ने सम्बन्धमा हामी झूटा नबनौं। आफ्नो उमेरको बारेमा पनि झूट नबोलौं। ढाकछोप गर्न खोज्दा वा गफ गर्दा असत्य कुरा नगरौं। बढ़ाइचढाइ र छलकपट नगरौं।
आज्ञा १०: अरू कसैको सम्पत्ति लालच गर्नुहुँदैन। लालच गरेको कुरा देखिँदैन, किनकि त्यो मनभत्रि गरिन्छ। हाम्रा सोचाइ र कल्पनाहरू शुद्ध हुनुपर्छ। हाम्रो सोचविचार कति शुद्ध छ?
जब हामी परमेश्वरलाई हाम्रो सारा मनले प्रेम गर्छौं र आफ्नो छिमेकीलाई आफूलाई झैं प्रेम गर्छौं, तब हामीले यी दस आज्ञाहरू पूरा गरेका हुन्छौं भन्ने कुरा प्रभु येशूले सिकाउनुभयो। किनभने प्रेमचाहिँ यी दस आज्ञाको सार हो। प्रभु येशूले मात्र यी आज्ञाहरू पूरा गर्नुभएको हो। अरू कसैले यी आज्ञाअनुसार चलेको छैन र चल्न सक्दैन।
यी दस आज्ञाहरू हामीले पालन गर्न सक्दैनौं भने यी आज्ञाहरू किन दिइएको त?
हामी सबै पापी छौं भन्ने कुरा स्पष्ट हुने गरी देखाउनको लागि यी आज्ञाहरू हामीलाई दिइएका छन्। 'व्यवस्थाद्वारा पाप चिन्ने ज्ञान हुन्छ' (रोमी ३:२० )। बाङ्गोटेढ़ा कुरा देखाउनको लागि सोझो रेखा चाहिन्छ। परमेश्वरका यी आज्ञाहरू यो सोझो रेखा हुन्। हामीले आफूलाई यी आज्ञाहरूमा बताइएका नैतिक स्तरसित तुलना गर्दा हामी आफू कति बाङ्गा छौं भन्ने कुरा थाहा गर्छौं। तर यी आज्ञाहरू यीद्वारा सिढ़ीमा चढेझैं स्वर्ग पुग्न दिइएका थिएनन्। ऐनाले हामीलाई हाम्रो मुख मैला छ, त्यसलाई धुनुपर्छ भन्ने कुरा देखाउँछ, तर ऐनाले मुख धुँदैन। ज्वरो नाप्ने तापमान यन्त्रले हामीलाई ज्वरो छ कि छैन भन्ने कुरा सङ्केत गर्छ, तर त्यसले ज्वरो निको पार्दैन।
तब के मेरा पापहरू मेटाउने प्रायश्चित्त वा क्षतिपूर्ति गर्ने कुनै उपाय छैन र?
अहँ, यस्तो कुनै उपाय छैन, भाइ!
मेरा पापहरू मेटाउन खोजेको मेरो सब कोशिश व्यर्थै हो; के तपाईंले भन्न खोज्नुभएको यही हो?
हो, मैले भन्न खोजेको ठीक यही हो। हामीले गरेका पाप वा अपराधको दोष मेटाउन सक्ने कुनै क्षतिपूर्ति गर्ने कार्य नै छैन। पवित्र बाइबलले हामीलाई के बताउँछ भने हाम्रा सबै धर्मकर्महरू अर्थात् हामीले परमेश्वरलाई दिन सक्ने सबभन्दा राम्रा कामहरू उहाँको दृष्टिमा थोत्रा थाङ्गनाझैँ छन् (यशैया ६४ : ६ )। परमेश्वरले हामीबाट खोज्नुभएको कुरा प्रायश्चित्तको कुनै कार्य होइन; पापको विषयमा अफसोस मान्न पनि पुग्दैन। तर उहाँले हाम्रो जीवनमा खोज्नुभएको कुरा पश्चात्ताप हो।
पश्चात्ताप भनेको के हो त?
पश्चात्ताप भन्नाले पाप र आफ्नो विषयमा, परमेश्वर र ख्रीष्ट येशूको विषयमा हाम्रो मनको परिवर्तन बुझिन्छ, जसले गर्दा हाम्रो स्वभाव र सोचविचार बदली हुन्छ, अनि त्यो कुरा हाम्रो व्यवहारमा देखा पर्छ। पश्चात्तापचाहिँ केवल दिमागको कुरा होइन, तर हाम्रो विवेकभित्र हुने परिवर्तन हो। पश्चात्ताप गर्दा मानिसले म पापी हुँ भन्ने कुरा स्वीकार गर्नको साथै आफ्नो भक्तिहीन, परमेश्वरबाट टाढ़िएको, सहारा र आशाहीन अवस्था र परमेश्वरको निगाह चाहिएको आफ्नो ठूलो खाँचो मानिलिन्छ। पश्चात्ताप भनेको फर्कनु अर्थात् पापदेखि जीवित परमेश्वरतिर मन फिराउनु हो। यसको मतलब आफ्नो विरोधमा हामी परमेश्वरको पक्ष लिनु पनि हो।
पश्चात्ताप गर्दा आफैले गरेका पापहरूको विषयमा मनमा ताप हुन्छ, अफसोस हुन्छ, पछुतो हुन्छ। तर यति काफी छैन। किनकि हामी कुनै पापको विषयमा अफसोस माने तापनि त्यसलाई नछोड्न सक्छौं। पश्चात्ताप गर्ने व्यक्तिले पाप मानिलिन्छ र त्यसलाई छोडिदिन्छ।
पश्चात्ताप गर्नुबाहेक के अरू कुनै तरिका छैन, जसद्वारा मैले मुक्ति पाउन वा कमाउन सक्छु? यस्तो उपाय म रुचाउनेथिएँ।
धर्मकर्म गरेर मुक्ति पाउने सिद्धान्त सारा संसारका सबै धर्ममा फैलिएको छ; किनभने सबै मानिसहरूले आफ्नो बल लगाएर मुक्ति कमाउन चाहन्छन्। त्यस्तो सिद्धान्तले गर्दा पापी मानिसहरूले आफैमा र आफैले गरेका धार्मिक कामहरूमा घमण्ड गर्न सक्छन्। तर मुक्ति यसरी पाइँदै पाइँदैन। मुक्तिचाहिँ कमाउने कुरा होइन; कर्मले हामी मुक्ति पाउनका योग्य कहिल्यै बन्दैनौं। यस सम्बन्धमा परमेश्वरले यसो भन्नुहुन्छ: 'विश्वासैद्वारा तिमीहरूले अनुग्रहले मुक्ति पाएका छौ' (एफेसी २:८)। यस पदबाट हामीले मुक्तिचाहिँ निगाहको फलको रूपमा पाउनैपर्छ भन्ने कुरा स्पष्ट भयो।
मुक्ति पाउनु हो भने यो हामीले अनुग्रहले पाउनुपर्छ भन्ने कुरा तपाईंले घरीघरी भन्नुहुन्छ। यसको खास मतलब के हो?
परमेश्वरले आफ्नो निगाहका पात्रहरूलाई देखाउनुहुने दयाचाहिँ अनुग्रह भनिन्छ। दया पाउनु कसैको हक नै हुँदैन। दया पाउनुको सट्टामा हामीले बरु सजाय पाउनुपर्थ्यो। अनुग्रह, दया, निगाह भन्दाखेरि कसैलाई दानको रूपमा केही दिएको बुझिन्छ। दान कमाइँदैन। कमाएको चीज ज्याला वा मजदुरी भनिन्छ। तर दान पाउँदा हात थप्नु र धन्यवाद दिनुबाहेक अरू केही गर्न सकिँदैन।
निगाह पाउनु र कुनै चीज कमाउनु - यी दुई भिन्नै कुरा हुन्। यी दुई कुराको बीचमा मिल्ने कुनै कुरा छैन। कि त निगाह पाइन्छ कि त कमाइन्छ। दुईवटा कुरा हुनै सक्दैन। हामी अनुग्रह र न्यायमा ठूलो भिन्नता देख्छौं। न्याय हुँदा हामीले पाउनुपर्ने कुरा मात्र पाउँछौं। तर हामीलाई अनुग्रह देखाउँदा जुन कुरा पाउनुको हामी याग्यका छैनौं, त्यही कुरा हामीलाई सित्तैंमा दिइन्छ।
त्यसो हो भने तपाईंले असल कामहरूमा विश्वास राख्नुहुन्न भन्ने कुरा बुझियो, होइन र?
हो, मैले अघि भनिसकें, परमेश्वरको वचनको शिक्षा यस कुरामा एकदम सफा छ: हामीले गरेका धर्मकर्मले गर्दा कसैले मुक्ति पाउँदैन। तर मुक्ति पाएको हरेक व्यक्तिको जीवनमा असल कामहरू देखा पर्नुपर्छ भन्ने कुरा पनि स्पष्ट बताइएको छ। कामहरू हाम्रो विश्वासको जग होइनन्, तर साँचो विश्वासको प्रमाण हुन्। कामहरू रूखको जरासित होइन, तर हाँगामा लाग्ने फलसित तुलना गरिन्छ। कामहरू विश्वासको स्रोत होइनन्, तर विश्वासको परिणाम हुन्।
प्रभु येशूमाथि विश्वास गर्नुचाहिँ हामीले गर्न सक्ने हाम्रो पहिलो असल काम हो। यो काम परमेश्वरको दृष्टि ग्रहणयोग्य हुन्छ (यूहन्ना ६:२९ )। त्यसपछि परमेश्वरको महिमाको निम्ति र अरू मानिसहरूको भलाइको लागि हामीले प्रशस्त असल कामहरू गर्न पाउँछौं। यस्ता कामहरू असल काम भनिन्छन् र यिनको विरोधमा कोही पनि बोल्दैन।
म सानो हुँदो मलाई बप्तिस्मा दिइयो; के यो पर्याप्त छैन?
बप्तिस्माले कसैलाई बचाउँदैन; बप्तिस्माले न साना बालकहरूलाई बचाउँछ, न ता पूरा बढ़ेकाहरूलाई बचाउँछ। नयाँ नियमभरि खोज्नुहोस्, तर त्यहाँ साना बालकहरूलाई बप्तिस्मा दिइएको कुरा कुनै पदमा उल्लेख गरिएको तपाईंले पाउनुहुन्न। प्रभु येशूमाथि विश्वास राखेर उहाँलाई प्रभु र मुक्तिदाताको रूपमा अपनाउनेहरूले मात्र बप्तिस्मा लिए ( प्रेरित २:४१ र १८:८ )।
मुक्ति नपाएका साना नानीहरूलाई बप्तिस्मा दिने सिद्धान्तले परमेश्वरलाई अन्याय गरेको दोष लगाउँछ; किनभने यस सिद्धान्तले कहिल्यै बप्तिस्मा लिने मौका नपाएकाहरूलाई दोषी ठहराउँछ। यस सिद्धान्तले प्रभु येशूलाई होइन, तर पानीलाई बचाउने माध्यम तुल्याउँछ। नानीहरूले पानीको छिट्काउले मुक्ति पाउन सक्छन् भने प्रभु येशू किन मर्नुभयो त? यो सिद्धान्त व्यवहारमा ल्याउँदा काम लाग्दैन; किनभने सानो हुँदो बप्तिस्मा लिएकाहरूमध्ये धेरै जना व्यभिचारी, हत्यारा, अपराधी इत्यादि बने।
अब मलाई सफासँग भन्नुहोस्ः मैले मुक्ति पाउनको लागि के गर्नुपर्छ?
तपाईंले नयाँ जन्म पाउनैपर्छ। प्रभु येशूले यसो भन्नुभयोः 'तिमीहरूले नयाँ गरी जन्मनैपर्छ' (यूहन्ना ३:७)। नयाँ जन्म नपाई कुनै मानिसले परमेश्वरको राज्य देख्न पाउँदैन, पस्न पनि पाउँदैन।
नयाँ जन्म पाउनु भनेको के हो त?
नयाँ जन्म भनेको एउटा आत्मिक जन्म बुझिन्छ; यो परमेश्वरको अचम्मको, अद्भुत काम हो। जब कुनै व्यक्तिले पश्चात्तापी भई आफ्ना पापहरूदेखि परमेश्वरतिर फर्कन्छ र प्रभु येशूमाथि विश्वास राखेर उहाँलाई प्रभु र मुक्तिदाताको रूपमा आफ्नो हृदयमा ग्रहण गर्छ, तब ऊ नयाँ गरी जन्मन्छ। हामी आमाको कोखबाट जन्मँदा शारीरिक रूपले जन्म्यौं भने यो नयाँ जन्म आत्मिक जन्म हो।
प्रभु येशूमाथि विश्वास राखेर मात्र मुक्ति पाइन्छ भन्ने कुरा तपाईंले भन्नुहुन्छ। मुक्ति पाउने एउटै मात्र बाटो छ भन्नु के यो निक्कै छोटो विचार होइन र?
यसो भन्दाखेरि तपाईंले पवित्र बाइबललाई, अँ, परमेश्वर स्वयम्लाई दोष्याउनुहुन्छ; किनभने प्रभु येशूले भन्नुभयोः 'बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ पुग्दैन ' (यूहन्ना १४:६ )। प्रभु येशूबिना कोही पनि परमेश्वरकहाँ पुग्न सक्दैन।
प्रभु येशूको प्रेरित पत्रुसले यसो भने: 'अरू कसैमा मुक्ति छैन; किनभने स्वर्गमनि मानिसहरूको बीचमा प्रभु येशू ख्रीष्टको नामबाहेक अरू कुनै नाम दिइएको छैन, जसद्वारा हामीले मुक्ति पाउनैपर्छ' (प्रेरित ४:१२ )। प्रभु येशूको नाममा मात्र मुक्ति छ।
प्रेरित पावलले यसो लेखे: 'येशू ख्रीष्ट अर्थात् त्यो बसालिएको जग छोड़ेर कुनै पनि मानिसले अरू कुनै जग बसाल्न सक्दैन ' (१ कोरिन्थी ३:१९)। मुक्ति पाउनको निम्ति हाम्रो विश्वासको एकमात्र जग प्रभु येशू हुनुपर्छ।
हजुर, विश्वास गर्नु भनेको के हो त?
विश्वास गर्नुको मतलब के हो भने स्वर्ग जानको लागि प्रभु येशू नै हाम्रो एकमात्र आशा हुनुहुन्छ भन्ने कुरा हामीले मनदेखि नै विश्वास गर्नुपर्छ, ग्रहण गर्नुपर्छ। हामीले आफूलाई बचाउन सक्दैनौं भन्ने कुरामा हामी पूरा रूपले निश्चय भएका हुन्छौं। हामी हाम्रो आत्मा बचाउने काममा परमेश्वरलाई अलि कति सघाउन सक्दैनौं; यसैले हामी पूरा भरोसा प्रभु येशूमाथि राख्छौं।
कुन प्रकारले हामीले विश्वास गर्नुपर्छ, सो स्पष्ट पार्नको लागि पवित्र बाइबलले हामीलाई विभिन्न शब्द- द्वारा यो कुरा सङ्केत गरेको छ। विश्वास भनेको हृदयले ग्रहण गर्नु हो, भनेको हृदयको ढोका खोल्नु हो, भनेको मुक्ति दिने ढोकाभित्र पस्नु हो। विश्वास गर्नुचाहिँ केही खानेकुरा खानु वा पेटमा हाल्नुजस्तै हो अथवा जीवन दिने पानी पिउनुजस्तै हो। उड़ान्त पुत्र घर फर्केजस्तै सत्य परमेश्वरतिर फर्कनु, अथवा एउटा दान जसरी ग्रहण गरिन्छ, त्यसरी नै प्रभु येशूलाई ग्रहण गर्नु विश्वासको परिभाषा हो। विश्वासचाहिँ प्रभु येशूतिर आशा गर्दै हेर्छ; विश्वास परमेश्वरको प्रेम पाउन चाहन्छ। विश्वास नम्र भई आफ्नो भूलचूक मानिलिन्छ। विश्वास मन खोलेर ध्यानसित सुन्छ। विश्वास हात बढाएर प्रभु येशूलाई, उहाँको वस्त्रको छेउ छुन खोज्छ। विश्वास विवाह-भोजको निम्तो स्वीकार गर्छ। विश्वासचाहिँ प्रभुलाई पछ्याउँछ।
विश्वास गर्नु र घोर अन्धकारभित्र हाम फाल्नु एउटै कुराजस्तै देखिन्छ, होइन र?
कदापि होइन। विश्वास गर्नको लागि हामीलाई पक्का प्रमाण चाहिएको छ। यो प्रमाण हामीले परमेश्वरको वचनमा पाउँछौं। किनभने परमेश्वरको वचन सत्य हो (यूहन्ना १७:१७)। यसैले प्रभु येशूमाथि विश्वास गर्नु मूर्ख कुरा होइन, तर एकदम समझदार कुरा हो। यो कुनै अनुमान होइन, तर प्रमाणित कुरामा विश्वास गरिन्छ। हामी अन्धविश्वास गर्दैनौं, तर दिमाग लगाएर हामी विश्वास गर्छौं। यावत् थोक सृष्टि गर्नुहुने सृष्टिकर्तामाथि भरोसा गर्नु हामी बुद्धि सम्झन्छौं; किनभने उहाँ हामीलाई ठग्नुहन्न र उहाँलाई छल गर्न सकिँदैन।
यसो हो भने के प्रभु येशूमा भएको मुक्ति एकदम सजिलो कुरा, अति सस्तो कुरा होइन र?
हो, प्रभु येशूमा भएको मुक्तिचाहिँ हामीले सजिलोसँग पाउन सक्छौं, यति सजिलो कि सबैको लागि यो मुक्तिको प्रबन्ध उपलब्ध छ। हाम्रो लागि यो अति सस्तो, पैसाबिना र दाम तिर्नु नपर्ने गरी उपलब्ध गरिएको हुन्छ (यशैया ५५:१)।
तर यसो भए पनि प्रभु येशूको लागि यो प्रबन्ध तयार गर्न सस्तो कुरा थिएन। उहाँ स्वर्गको महिमा छोडेर यस पापी संसारमा आउनुपरयो। हाम्रा सबै पाप र अधर्म काट्ने प्रायश्चित्तको लागि उहाँले क्रसमा असाध्य दुःख सहेर मर्नुपरयो र आफ्नो अमूल्य रगत बगाउनुपरयो (१ पत्रुस २:२४)।
मैले ठीक किसिमले विश्वास गरेको छ कि छैनँ? छु मेरो विश्वास पर्याप्त छ कि छैन? यो कुरा म कसरी जान्न सक्छु?
विश्वासचाहिँ हामीलाई मुक्ति दिने कुरा होइन नि। प्रभु येशू नै मुक्तिदाता हुनुहुन्छ। साँचो विश्वासले प्रभु येशूलाई पक्रन्छ र उहाँलाई कहिल्यै छोड्दैन। दिमागले विश्वास गर्दैन, तर हामीले सम्पूर्ण हृदयले प्रभु येशूमाथि भरोसा राख्नुपर्छ। हामीसँग धेरै विश्वास पनि चाहिँदैन, तर हाम्रो कमजोर विश्वास हामीले कुन कुरामाथि अर्थात् कसमाथि राखेका छौं, यो कुरा महत्त्वपूर्ण हो।
१ यूहन्ना ५:१० - १२ अनुसार पवित्र आत्माचाहिँ हामीभित्र प्रभुलाई पाएको कुरामा गवाही र मुक्तिको निश्चयता दिनुहुन्छ।
तपाईंको भनाइअनुसार मुक्ति पाउनको लागि हामीले केही गर्नुपर्दैन। फेरि तपाईंले हामीले विश्वास गर्नुपर्छ भनी भन्नुहुन्छ? के कुरा नमिलेजस्तै यो सुनिँदैन र?
तर तपाईंको लागि कुरा नमिलेको सुनिन्छ होला, यसको खास अर्थ यही हो: हामीले असल काम गरेर परमेश्वरको निगाह कमाउन सक्दैनौं, र कमाउनुपर्दैन पनि। धर्मकर्म गरेर कसैले मुक्ति पाउन सक्दैन। कुनै धार्मिक झुण्डको वा कुनै चर्चको सदस्य भएर पनि मुक्ति पाइने होइन, नता हाम्रो विश्वासयोग्यता र भक्तिद्वारा, न प्रभुभोजमा भाग लिएर न गरिबहरूलाई दान दिएर पाइन्छ (तीतस ३:५)। जब हामी प्रभु येशूमाथि हाम्रो पूरा भरोसा राख्छौं, तब हामीले मुक्ति कमाउन खोजेका होइनौं। स्वर्ग जाने अधिकार हामीले सितैंमा पाउँछौं। यसो गर्दा हामीमा घमण्ड गर्ने कुनै कारण रहँदैन।
प्रभुमाथि विश्वास गरेपछि अन्तसम्म विश्वासमा रहन सक्ने निश्चयता हामी कहाँबाट पाउँछौं?
मानिसले कसरी मुक्ति पाउँछ, सो कुरा तपाईंले नबिर्सनुहोला। जुन बेला कुनै मानिसले प्रभु येशूमाथि विश्वास राख्छ, त्यस बेला उसले आफूलाई बचाउँदैन। होइन, तर उसले अनुग्रहबाट मुक्ति पाउँछ। यसो हो भने पछिसम्म विश्वासमा रहिरहने कुरा पनि हाम्रै हातमा छैन। प्रभु येशू हामीलाई बचाउनुहुन्छ। यति मात्र होइन, उहाँले हामीलाई विश्वासमा स्थिर रहने तुल्याउनुहन्छ। जब प्रभु येशूले हामीमा एउटा असल काम शुरु गर्नुहुन्छ, तब उहाँले यो काम पूरा पनि गर्नुहुनेछ (फिलिप्पी १:६; यहूदा १:२४)।
हामीले विश्वास मात्र गर्नुपर्छ भने त हामीले मनपरी जीवन बिताउने डर हुँदैन र?
जसले प्रभु येशूमा मुक्ति पाएको छ, उसका इच्छा र अभिलाषाहरू परमेश्वरले बदली गर्नुहुन्छ। यस्तो व्यक्तिले पाप रुचाउँदैन। ऊभित्र पापको तिर्सना प्रबल हुँदैन, तर कम हुँदै जान्छ। प्रभु येशूलाई क्रूसमा चढ़ाउने पापहरूमा लागिरहनु यस्तो व्यक्तिको इच्छा नै होइन। शुद्ध र पवित्र बन्नु हाम्रो तीब्र चाहना हुन्छ। पवित्र बाइबलले यसो भन्दछ: 'कोही ख्रीष्टमा छ भने ऊ एउटा नयाँ सृष्टि हो। पुराना कुराहरू बितिगएका छन्; हेर, सब कुरा नयाँ भएका छन्' (२ कोरिन्थी ५:१७)।
मुक्ति पाएपछि मैले कुनै पाप गरें भने के मैले मुक्ति गुमाउन सक्छु?
यूहन्ना १०:२७ - २९ पदमा प्रभु येशूले के भन्नुभएको छ भने उहाँका भेड़ामध्ये कुनै पनि हराउन सक्दैन, कहिल्यै नाश हुँदैन। रोमी ८:३० पदअनुसार जति जना विश्वासद्वारा धर्मी ठहरिए, उनीहरू सबै एक दिन महिमित बन्नेछन्। मुक्ति पाउनु एउटा नयाँ जन्म हो। यो जन्म भएपछि यसलाई रद्द गर्न सकिँदैन। यो कहिल्यै नबदल्ने कुरा हो (यूहन्ना ३:३, ५)। मुक्ति पाउनु भनेको अनन्त जीवन पाउनु हो। अनि अनन्त जीवन भनेको एउटा यस्तो जीवन हो, जसको अन्त कहिल्यै हुँदैन (यूहन्ना ३:१६ र ३६)। साँचो विश्वासी जनलाई कुनै कुराले परमेश्वरको प्रेमबाट अलग पार्न सक्दैन (रोमी ८:३८-३९)।
तर म एउटा मानिसलाई चिन्छु, जसले विश्वास गरेपछि पाप गरयो र मुक्ति गुमाएर त्यो नाश भयो। यसको विषयमा तपाईंले के भन्नुहुन्छ?
त्यो मानिस साँच्ची नै मुक्ति पाएको व्यक्ति थियो भने ऊ हराउन सक्दैन वा कहिल्यै नाश हुँदैन। तर त्यो मानिस एउटा नक्कली विश्वासी मात्र भएको हुन सक्छ, जसले कुनै अलौकिक अनुभव गरेको थियो होला र जसको जीवनमा केही परिवर्तन आएको थियो होला, तर केही समयपछि त्यसले प्रभुलाई छोड़ेर फेरि पुरानो, पापपूर्ण जीवनमा फर्केको हुन सक्छ।
अरूको जीवन जाँच्न र यसो गर्दा कुनै निचोरमा आउनुमा हामी एकदम होशियार बस्नुपर्छ; किनभने हाम्रो विश्वासचाहिँ परमेश्वरको प्रेरणाले दिएको पवित्र वचनमा आधारित छ, अनुभवमा होइन। जुनै कुरा जाँच्दाखेरि हाम्रो प्रश्न यो हुनुपर्छ: परमेश्वरको पवित्र वचनले यस विषयमा के भन्दछ?
मुक्ति पाएको व्यक्तिले पापको क्षमा पाएको तपाईंले भन्नुभयो। तर विश्वास गरेपछि यस्तो मानिसले फेरि पाप गर्यो भने केकसो?
जब कुनै मानिसले प्रभु येशूमाथि विश्वास राखेर मुक्ति पाउँछ, तब उसले आफ्ना सम्पूर्ण पापहरूको माफ पाउँछ। अनि जहाँ पापहरू क्षमा भए, त्यहाँ कुनै दण्ड दिने ठाउँ रहँदैन। जब प्रभु येशू मर्नुभयो, तब उहाँले हाम्रा सबै पापहरूको ऋण तिरिदिनुभयो। चाहे बितेका दिनमा गरेका पापहरू हुन्, चाहे वर्तमानमा वा भविष्यमा गरिने पापहरू किन नहोऊन्, प्रभु येशू यी सब पापहरूको प्रायश्चित्त हुनुहुन्छ। जुन बेला उहाँ मर्नुभयो, त्यतिखेर तपाईंले र मैले कुनै पाप गरेका थिएनौं; किनभने हामी जन्मेका थिएनौं। तापनि उहाँ यी सबै पापहरूको लागि मर्नुभयो, र सबका सब पापको लागि छुटकाराको दाम तिर्नुभयो।
परमेश्वर न्यायकर्ता हुनुहुन्छ। उहाँ हामी विश्वासी- हरूमा हामीलाई सजाय दिएर अनन्त अन्धकारमा फ्याँक्नको निम्ति कुनै पाप भेट्टाउनुहुन्न, किनभने प्रभु येशूले क्रूसमा मर्नुहुँदा यी सबै पापहरूको ऋण तिरिसक्नुभयो। 'अब ख्रीष्ट येशूमा हुनेहरूलाई कुनै दण्डको आज्ञा छैन' (रोमी ८:१)।
प्रभु येशूमाथि विश्वास गरेपछि पाप गरेमा तल उल्लेख गरिएका हानि हामीले उठाउनुपर्छः
क) परमेश्वरसितको हाम्रो सँगत टुट्छ। पाप स्वीकार नगरे र नछोड़ेसम्म यो सँगत टुटेको हुन्छ। परमेश्वरसँगको सँगत टूटे पनि हाम्रो उहाँसितको सम्बन्ध टुटेको छैन। सँगतचाहिँ एकदम कोमल, सजिलैसँग चुँडिन सक्ने प्रेमको बन्धन हो भने परमेश्वरसितको सम्बन्धचाहिँ कहिल्यै चुड़ाल्न नसकिने साङ्गला हो।
ख) हाम्रा सँगी - विश्वासीहरूसित हाम्रो सँगत पनि टुटेको हुन्छ।
ग) हाम्रा प्रार्थनाहरूको उत्तर हामी पाउँदैनौं।
घ) प्रभुको निम्ति गरिने सेवा फलहीन हुन्छ; पापले हाम्रो सेवा असम्भव तुल्याउँछ। पापले हाम्रा ओठहरू थुन्छ।
ङ) प्रभु येशूको नाममा कलङ्क लाग्छ र हाम्रो जीवनद्वारा प्रभुको अनादर हुन्छ।
च) हामीले शान्ति गुमाउँछौं।
छ) पाप गरेकोले गर्दा हामीमा मुक्तिको निश्चयता हराउन सम्भव छ। श्री जे. आई. पाकरले यसो भन्छन्: 'बितेको समयमा हामीले मुक्ति पाएको कुरा हाम्रो वर्तमान् जीवनको परिवर्तनले मात्र प्रमाणित गर्छ।'
ज) हामी आत्मिक उन्नति गर्दैनौं।
झ) परमेश्वरको ताड़ना हामीमाथि आइपर्छ।
यसैले हामी बुझौं: प्रभु येशूमाथि विश्वास राख्ने बित्तिकै हाम्रा सब पापहरू क्षमा हुन्छन्। पापको क्षमा भएपछि हामी न्यायमा पर्नेछैनौं। पापको क्षमा एकपल्ट सधैँको निम्ति पाइने कुरा हो।
प्रभु येशूका विश्वासी जनहरू सबै परमेश्वरका परिवारका हुन्छन्। यस परिवारभित्र सँगत कायम राख्नको लागि हामी सधैं हाम्रो पाप मानिलिनुपर्छ। यो कुरा हामीले चाँड़ै सिक्नुपर्छ र जीवनभरि व्यवहारमा ल्याउनुपर्छ।
प्रभु येशूमाथि विश्वास गरेपछि कुनै पाप मेरो जीवनमा छँदै म मरें भने के हुन्छ?
माथि उल्लेख गरेको कुरा यसमा पनि लागू हुन्छ। यी पापहरूको सजाय प्रभुले तिरिसक्नुभयो। परमेश्वरले दोस्रो चोटि यी पापहरूको लेखा लिनुहुन्न। यसैले हाम्रो मुक्ति सुरक्षित छ। यी पापहरूले यसलाई असर पार्दैनन्। यी पापहरूले गर्दा जुन सँगत परमेश्वरसित टुटेको थियो, त्यो सँगत प्रभुको उपस्थितिमा पुग्नसाथ हामी फेरि पाउँछौं। ख्रीष्ट प्रभुको न्यायआसनको सामु उभिँदा मानिनलिएका हाम्रा पापहरूले हामीलाई इनाम गुमाउने तुल्याउँछन्, हामीलाई शर्ममा पार्छन्।
प्रभु येशू सबै मानिसहरूको लागि मर्नुभयो भन्ने कुरा तपाईंले बताउनुभयो। तब सबै मानिसहरूले किन मुक्ति पाउँदैनन्?
प्रभु येशूको मृत्युचाहिँ सारा संसारका सबै मानिस- हरूका सम्पूर्ण पापहरू काट्नको लागि पर्याप्त छ। तर जब कुनै व्यक्तिले प्रभु येशूमाथि विश्वास राख्छ, तब मात्र उसले उहाँको मृत्युबाट लाभ उठाउँछ। परमेश्वरले कुनै मानिसलाई त्यसको इच्छाको विरोधमा जबरजस्तीले बचाउनुहुन्न। स्वर्गभित्र ती मानिसहरू मात्र प्रवेश गर्छन्, जसले साँच्ची नै त्यहाँ पुग्न चाहन्छन्।
प्रभु येशूमाथि विश्वास गरेर उहाँलाई ग्रहण गर्दा केकस्तो अनुभव गरिन्छ?
प्रभुलाई ग्रहण गर्दा कुनै मानिसले अचम्मको मानसिक अनुभव गर्छन् भने कतिले यस्तो अनुभव गर्दैनन्। पापको दलदले हिलोबाट प्रभुलाई पाउनेहरूमध्ये धेरैले अचम्म प्रकारले छुटकारा पाएको अनुभव गर्छन्। परमेश्वरको मुक्तिको प्रबन्ध ग्रहण गर्दा अरू कति मानिसहरूमा यो अनुभव शान्त प्रकारले हुन्छ। तर मुक्ति पाउँदा सबैमा केही न केही अनुभव हुन्छ नै। कतिले तुरुन्तै यसको मीठो, शान्तिमय अनभव गर्छन् भने अरूले बिस्तारै वा पछि मात्र यसको अनुभव गर्छन्। कतिले धेरै समयसम्म केही थाहा गर्दैनन्।
मैले मुक्ति पाएको म कसरी जान्नु?
यसमा साथ दिने प्रथम कुरा परमेश्वरको वचन हो। १ यूहन्ना ५:१३ अनुसार पवित्र बाइबल यस हेतुले लेखिएको हो, कि प्रभु येशूमाथि विश्वास गर्नेहरूले मुक्ति पाएको कुरा निश्चित रूपले जानून्।
कसैले मुक्ति पाएको हो भने हामी तल उल्लेख गरिएका कुराहरू उसको जीवनमा भएको देख्न सक्छौं:
- प्रभु येशूप्रति आज्ञा पालन गर्ने मन छ
- अरू ख्रीष्टका विश्वासीहरूप्रति प्रेमको भावना छ पवित्र जीवन जिउने इच्छा छ
- पापलाई घृणा गरिन्छ
- परमेश्वरको वचनप्रति रुचि हुन्छ
- प्रार्थना गर्ने मन हुन्छ
- परमेश्वरको अगुवाइ पाएको अनुभव गरिन्छ विश्वासमा स्थिर रही लगातार अघि बढिन्छ
- पवित्र आत्मा उसको मनभित्र मुक्ति पाएको साक्षी दिनुहुन्छ
- प्रभु येशूको मुक्ति दिने सुसमाचार अरूलाई सुनाउने इच्छा हुन्छ
प्रभु येशूलाई ग्रहण गर्नुभन्दा अघि के मैले मेरो जीवन सुधार्नुपर्दैन र?
सुसमाचारको वचनमा हामी यसको विषयमा केही पढ्दैनौं। ख्रीष्ट येशूबिना हामीले आफ्नो जीवन सुधार्न सक्दैनौं। यसो गर्न खोज्दा हाम्रो जीवन झन् पापको हिलोमा डुब्छ कि? हामीलाई सुधारको खाँचो छैन; हामीलाई नयाँ हुनुको खाँचो छ। अनि याद गर्नुहोस्: प्रभु येशूसित अर्को क्रूसमा झुण्ड्याइएको अपराधीले आफ्नो जीवनको सुधार गर्न सकेको थिएन। तब हामी आफ्नो जीवन आफ्नो बलले किन सुधार्ने कोशिश गर्ने त?
प्रभु येशूले यस्तो एउटा मानिसको विषयमा बताउनुभयो, जसले आफ्नो जीवनको सुधार गर्न खोज्यो। त्यसको मनरूपी घरचाहिँ सफा, तर रित्तो थियो। त्यसले प्रभु येशूलाई भित्र आउन दिएन। तब त्यसको अन्तिम अवस्थाचाहिँ पहिलेको अवस्थाभन्दा धेरै खराब भएको कुरा मत्ती १२:४३-४५ मा पढ्नुहोला।
ख्रीष्टकहाँ आउन तिम्रो विवेकले तिमीलाई बाधा नदिओस्,
न तिम्रो सुधार हुन्छ भन्ने सपनाले तिमीलाई कुनै सान्त्वना दिओस्।
किनकि उहाँले तिमीबाट चाहेको कुरा यति हो:
तिमीलाई उहाँको खाँचो छ भन्ने तिमीलाई थाहा लागोस्।
आऊ, हे पापको भारीले थिचिएको र लदिएकोहो,
पापमा गिरेको, हराएको र बिग्रेको तिमी जो,
योग्य नभएसम्म नपर्ख,
नत्र तिमी कहिल्यै ख्रीष्टकहाँ आउँदैनौं।
मैले मुक्ति पाएँ भन्नु के यो अहम् होइन र?
मुक्ति हामीले कुनै प्रकारले कमाउन सके त यसमा घमण्ड गर्ने ठाउँ हुन्थ्यो। तर अब कुनै विश्वासी भाइबहिनीले मैले मुक्ति पाएँ भन्छ भने उसले घमण्ड गरेको हुँदैन। किनकि उसले भन्न खोजेको कुरा यही हो : 'मैले चाहिँ पापैपाप मात्र गरें, तर प्रभु येशूले मलाई बचाउनुभयो। ' परमेश्वरको निगाहले गर्दा उसले मुक्ति पायो। त्यो ऊबाट निस्केर आएको कुरा होइन। तर प्रभु येशूको विषयमा दिनुभएको परमेश्वरको पक्का साक्षी विश्वास नगर्नुचाहिँ सबभन्दा ठूलो अहम् हो (१ यूहन्ना ५:१०)।
ख्रीष्टयानहरूले सत्यता पाएका हुन्छन् भने किन ख्रीष्टका चेलाहरू यसभन्दा धेरै छैनन्?
यस प्रश्नबाट यति बुझिन्छ: बहुसंख्य सधैं सत्यताको पक्ष लिएको कुरा तपाईंले अनुमान गर्नुभएको रहेछ। तर यो कुरा साँचो होइन। जलप्रलयको समयमा आठजनाको जीवन मात्र ठीक थियो, अरू सबै आ-आफ्ना पापमा नाश भए। गलगथा भनिने ठाउँमा प्रभुलाई क्रूसमा चढाएर मार्दा सारा भीड़ले ठूलो भूल गरे, तर प्रभुका थोरै चेलाहरू सत्य ठहरिए। प्रभु येशूले भन्नुहुन्छः 'विनाशमा पुरयाउने ढोका फराकिलो हुन्छ र बाटोचाहिँ चौड़ा हुन्छ; अनि त्यसबाट भित्र पस्ने धेरै हुन्छन्। तर जीवनमा पुरयाउने ढोका साँघुरो र बाटो पनि साँघुरो हुन्छ; अनि यो भेट्टाउने धेरै हुन्छन्' (मत्ती ७:१३-१४)।
परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ भने उहाँ लड़ाइँ, सङ्कष्ट, दुःख र पीड़ाहरू किन रोक्नुहुन्न?
यी सब खराब कुराहरू पापले गर्दा यस संसारमा पसेर आएका हुन्। परमेश्वरले यी खराब कुराहरू उत्पन्न गर्नुभएको होइन। रोग, दुःख, पीड़ा र मृत्यु - यी सब शैतानबाटका कुरा हुन्। परमेश्वरले यी कुराहरू हुन दिनुहुन्छ, यति मात्र। तर यसो हुँदा पनि उहाँले यी कुराहरू आफ्नो महिमाको निम्ति, साथै आफ्ना जनहरूको भलाइ र आफ्ना उद्देश्यहरू पूरा गर्नको निम्ति चलाउनुहुन्छ।
परमेश्वरचाहिँ प्रेम गर्ने परमेश्वर हुनुहुन्छ भने त उहाँले मानिसहरूलाई कसरी नरकमा फाल्न सक्नुहुन्छ त?
पहिले हामी यो कुरा बुझौं: परमेश्वरले मानिसहरूको लागि नरक बनाउनुभएन। उहाँले त्यो अग्नि कुण्ड शैतान र त्यसका दूतहरूको लागि तयार गर्नुभएको हो। कोही पनि मानिस त्यस ननिभ्ने आगोभित्र पर्नु परमेश्वरको इच्छा होइन। यसैले उहाँले आफ्नो एकमात्र पुत्रलाई यस संसारमा पठाउनुभयो। यही कारणले प्रभु येशू गलगथा भन्ने ठाउँमा क्रूसको दुःख सहनुभयो, र आफ्नो रगत बगाएर मर्नुभयो। यसरी नरकबाट उम्कने बाटो तयार भयो। तर जब मानिसहरूले परमेश्वरले तयार गर्नुभएको मुक्तिको प्रबन्ध वास्ता गर्दैनन्, तब तिनीहरूलाई नरकमा फाल्नुबाहेक अरू कुनै उपाय रहँदैन। वास्तवमा यस्ता मानिसहरू मात्र नरकमा पर्न जान्छन्, जसले परमेश्वरको निगाहको दानलाई इन्कार गरेर अनन्त जीवन पाउन चाहँदैनन्। तिनीहरूले स्वर्ग छान्नको सट्टामा नरक नै आफ्नै लागि रोज्दछन्।
ख्रीष्टयानहरूमा धेरै कपटीहरू छन्; यस कुराले मलाई विश्वास गर्न बाधा दिन्छ।
यस सम्बन्धमा तपाईंले एउटा कुरा याद गर्नुपर्छः संसारमा दुई प्रकारका ख्रीष्टयान छन् - प्रभु येशूका साँचो चेलाहरू र नामधारी ख्रीष्टयानहरू। मुखले मात्र म ख्रीष्टयान हुँ भन्नेहरू र आफ्नो जीवनबाट विश्वासको पक्का प्रमाण दिनेहरूको बीचमा हामीले छुट्ट्याउनुपर्छ। राजनीतिमा पनि कपटीहरू छन्; यसो भएर पनि हामी चुनाउमा मत नहाल्ने होइनौं नि। खेलाड़ीहरूमध्ये कोही न कोही कपटी पनि होलान्, तापनि हामी खेलकुद अब नहेर्ने त? संसारका मनोरञ्जनकर्ताहरूमध्ये कपटीहरू प्रशस्त पाइन्छन्, तर मासिहरूले तिनीहरूको कुरा हेर्न छोड्दैनन्। पैसामा नकली पैसा पनि पाइन्छ, तब हामी पैसा नचलाऔं त? मानिसहरूले वास्तविक र मूल्यवान् कुराको मात्र नकल गर्छन्। यसो भन्दाखेरि हामीले कपटीहरूको पक्ष लिएका छैनौं। तर कपटीहरूमा ठेस खाएर प्रभुमाथि विश्वास नगर्ने बाहना नगरौं! परमेश्वरको माग के हो त? हामीले ख्रीष्टयानहरूमाथि आफ्नो विश्वास र भरोसा राख्नुपर्दैन, तर प्रभु येशूमाथि हाम्रो पूरा विश्वास राख्नुपर्छ। यस कुरामा हाम्रो सुझाउ यस प्रकारको छः प्रभु येशूमाथि विश्वास गर्नुहोस्, अनि विश्वास गरेपछि तपाईंले संसारका मानिसहरूलाई आफ्नो साँचो विश्वास देखाउनुहोला। तब साँचो ख्रीष्टको चेला कस्तो हुन्छ, सबैले तपाईंबाट थाहा पाउँछन्।
म हिचकिचाउँछु; किनभने मेरो विचारमा ख्रीष्टयान- हरूले मेरो पैसा मात्र पाउन खोज्छन् जस्तो छ।
प्रभु येशूको चेला हुनुदेखि कति मानिसहरू यस कुरामा ठेस खान्छन्। तर पैसामा ठेस खानुपर्दैन नि। हुन सक्छ, कति मण्डली र ख्रीष्टिय संस्थाहरूले पैसामा ठूलो मतलब राख्छन् होला, तर यिनीहरू खास गरी ख्रीष्टको सिद्धान्तका असल नमुनाहरू होइनन् नि। परमेश्वरले तपाईंको पैसा चाहनुहुन्न, उहाँले तपाईंलाई चाह गर्नुहुन्छ; उहाँले तपाईंको पूरा भरोसा र भक्ति पाउन चाहनुहुन्छ।
प्रभु येशूमाथि विश्वास गरेपछि के मैले बप्तिस्मा लिनुपर्छ?
तपाईंले साँचो गरी प्रभुमाथि विश्वास गर्नुभयो भने तपाईंले बप्तिस्मा लिन चाहनुहुन्छ। मुक्ति पाउनको लागि बप्तिस्मा लिनु दरकार छैन भने पनि आज्ञाकारी हुनको लागि बप्तिस्मा लिनुपर्छ। प्रभु येशूले बप्तिस्मा लिने आज्ञा दिनुभएपछि यो आज्ञा महत्त्वपूर्ण हुन्छ (मत्ती २८:१९)। बप्तिस्मा लिने व्यक्तिले बप्तिस्माद्वारा आफ्नो समाजका दाजुभाइ-दिदीबहिनीहरूको सामु आफ्नो विश्वासको साक्षी दिन्छ। आफ्नो विश्वासको साक्षी दिने तरिकाहरूमा बप्तिस्मा पहिलो स्थान पाउँछ। कसैले बप्तिस्मा लिन पटक्कै मान्दैन भने त के त्यस्तो व्यक्तिप्रति, त्यसले साँच्चिकै मुक्ति पाएको छैन कि भन्ने सङ्का उठ्छ। एउटा विश्वासी जो बप्तिस्मा नलिईकन मर्छ, ऊ सदा-सर्वदा बप्तिस्मा नलिएको देखा पर्छ।
मैले प्रभु येशूलाई अपनाएँ भने के जुन धर्म वा दस्तुरमा म हुर्के, मैले त्यसको सबै कुरा त्याग्नुपर्छ?
जुन कुराले प्रभु येशूको विरोध गर्छन्, जुन कुराले धर्मकर्म गरेर मुक्ति पाइन्छ भन्ने कुरा सिकाउँछन्, जुन कुराले मूर्तिसित सम्बन्ध जोड्छन्, जुन कुरा परमेश्वरको पवित्र वचनको विपरीत हुन्छ, यी सब कुराहरू हामीले त्याग्नुपर्छ। आफ्नो परिवार र समाजबाट समस्या पाएर पनि तपाईंले यी कुराहरू मनदेखि नै छोड्न चाहनुहुन्छ। यस सम्बन्धमा प्रभु येशूले भन्नुभयोः 'म पृथ्वीमा मिलाप ल्याउन आएको हुँ भनी नसम्झ; म मिलाप ल्याउन होइन, तर तरवार चलाउन आएँ। किनभने म मानिसलाई उसको बुवाबाट, छोरीलाई उसकी आमाबाट र बुहारीलाई उसकी सासुबाट अलग गराउन आएको हुँ। अनि मानिसका शत्रु उसका परिवारकाहरू हुनेछन्' (मत्ती १०:३४-३६)।
धेरै पल्ट कुरा यस्तो हुन्छ: जब कोही प्रभुतिर फर्कन्छ, तब उसका आफन्तहरू उसको विरोध गर्न थाल्छन्। यसो भए पनि त्यस कुराले तपाईंलाई निराश पार्नुपर्दैन। किनकि यो कुरा पनि अनुभवद्वारा सत्य ठहरिएको छः बिस्तारै हाम्रो जीवनको असल परिवर्तन देखेर हाम्रा परिवारभित्रकाहरूले प्रभुलाई पाउँछन्, अथवा यसो नभए तिनीहरूले विरोध गर्न छोड्छन् र प्रभुप्रति चासो राख्न थाल्छन्। यस सम्बन्धमा हाम्रो जिम्मेवारी प्रभुको आज्ञा पालन गर्नु हो। अरू कुरा हामी उहाँको जिम्मामा राखिछोड्नुपर्छ। प्रभुले हाम्रो आज्ञापालन देखेर अवश्य हामीलाई यसको प्रतिफल दिनुहुन्छ।
म प्रभु येशूलाई ग्रहण चाहन्छु; यसो हुँदा-हुँदै पनि मलाई अलिक डर लाग्दैछ। यो किन यस्तो भएको, के तपाईंले मलाई बताउन सक्नुहुन्छ?
तपाईंलाई डर लाग्ने कारण तपाईंको घमण्ड हुन सक्छ। प्रभुको नाम लिनुदेखि तपाईं लजाउनुहुन्छ कि के हो? यसको कारण यो पनि हुन सक्छ। शायद, प्रभु येशूलाई पाउनुभन्दा तपाईंले आफ्ना पापहरू रुचाउनुहुन्छ कि? के आफ्नो मन शुद्ध पार्नुभन्दा तपाईंले पापमा आनन्द लिन चाहनुहुन्छ? हुन सक्छ, तपाईंको कुनै प्रिय मानिस छ होला, जसलाई तपाईंले बढ़ी माया गर्नुहुन्छ कि? अथवा यो डर आफ्नो परिवारबाट आएको हुन सक्छ; आफ्नो बुवाआमाले के भन्लान् भनेर तपाईंले फिक्री गर्नुहुन्छ कि?
मलाई के डर लागेको छ भने मैले प्रभु येशूमा भएको मुक्ति पाउनको लागि बढ़ी त्याग्नुपर्छ जस्तै लाग्दैछ।
तब तपाईंलाई मेरो प्रश्न यो छ: प्रभु येशूलाई नपाउँदा तपाईंले के-के गुमाउनुपर्छ, के यसको विषयमा तपाईंले विचार गर्नुभएको छ त?
म पछि प्रभु येशूलाई ग्रहण गर्छु होला; के यो हुन्छ?
यसो भन्दा तपाईंले दुई कुराहरूमा ध्यान दिनुभएको छैन। पहिलो कुरा: हाम्रो जीवन एकदम अनिश्चित छ। अनि दोस्रोचाहिँ : प्रभु येशू जुनै बेला आउन सक्नुहुन्छ।
हो, यो कुरा म मान्छुः म जुनै बेला पनि कुनै दुरघटनामा परेर मर्न सक्छु। तर प्रभुको आगमन - यो के हो त?
'म फेरि आउँछु' भन्दै प्रभु येशूले आफ्ना चेलाहरूलाई आफ्नो दोस्रो आगमनको विषयमा बताउनुभयो। यो कहिले हुन्छ, सो कसैले जान्दैन। यो आज पनि हुन सक्छ। धेरै लक्षणहरूबाट यो चाँड़ै हुनेछ भन्ने कुरा हामीले बुझेका छौं। प्रभुको आगमनमा सबै साँचा विश्वासीहरू स्वर्गमा उठाइनेछन्। तर जतिले प्रभु येशूको मुक्तिको सुसमाचार सुने तापनि इन्कार गरेर अविश्वासी रहे, तिनीहरूले मुक्ति पाउने अर्को मौका पाउनेछैनन्। तिनीहरू महासङ्कष्टबाट भएर जानुपर्छ र अन्तमा नरकमा पुग्नुपर्छ।
यसो भन्दा के तपाईंले संसारको अन्तको विषयमा कुरा गर्नुभयो?
होइन, संसारको अन्त हुनुभन्दा पहिले कति कुराहरू अझ घट्नेछन्। पहिले प्रभु येशू स्वर्गबाट आउनुहुन्छ र उहाँको दुलही अर्थात् उहाँको मण्डलीलाई उठाई लैजानुहुनेछ। त्यसपछि संसारमाथि ठूलो सङ्कष्ट आइपर्छ। त्यो समयपछि प्रभु येशू यस संसारमा आफ्नो राज्य स्थापित गर्नुहुन्छ। उहाँको राज्य एक हजार वर्षसम्म रहनेछ। त्यसको अन्तमा अहिले भइरहेको संसार शेष हुनेछ। यो आगोद्वारा भस्म हुनेछ। त्यसपछि अनन्तकाल शुरु हुनेछ। त्यहाँ नयाँ आकाश र नयाँ पृथ्वी हुनेछन्।
ठीक छ, मैले मुक्ति कसरी पाउन सक्छु र यसमा म कसरी निश्चित हुन्छु भन्ने कुरा दया गरी अब मलाई फेरि एकपल्ट सकेसम्म सरल भाषामा बताइदिनुहुन्छ कि?
पहिले, तपाईंले परमेश्वरको सामु आफ्नो दोषी अवस्था बुझ्नु र मानिलिनुपर्छ। तपाईं एउटा पापी मानिस हुनुहुन्छ, जो नरकको अनन्त आगोमा परेर परमेश्वरको सजाय पाउन योग्यको हुनुहुन्छ।
दोस्रो कुरा : तपाईंले आफूलाई बचाउन सक्नुहुन्छ भन्ने विचार तपाईंले पूरा तवरले फाल्नुपर्छ। यस कुरामा तपाईंको भागै छैन; न एउटा असल जीवन बिताएर, न कुनै प्रकारका असल काम गरेर नै तपाईंले यसमा साथ दिन सक्नुहुन्छ।
त्यसपछि प्रभु येशू तपाईंको निम्ति र तपाईंको सट्टामा क्रूसमा मर्नुभयो अनि उहाँले तपाईंका सबै पापहरूको लागि पूरा छुटकाराको दाम तिरिदिनुभयो भन्ने कुरा तपाईंले हृदयदेखि नै विश्वास गर्नुपर्छ।
अन्तमा, तपाईंले विश्वासद्वारा नै प्रभु येशूलाई आफ्नो जीवनको एकमात्र स्वामी र मुक्तिदाताको रूपमा ग्रहण गर्नुपर्छ। उहाँ तपाईंको एकमात्र स्वर्ग जाने आशा हुनुपर्छ। तपाईंले इमानदारीसाथ प्रभु येशूलाई ग्रहण गर्नुभयो भने परमेश्वरको वचनले अधिकारपूर्वक तपाईंलाई मुक्ति र अनन्त जीवन पाएको प्रतिज्ञा दिन्छ। परमेश्वरको प्रतिज्ञा यस प्रकारको छ: ‘परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र प्रभु येशूलाई दिनुभयो उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस्, तर उसले अनन्त जीवन पाओस्' (यूहन्ना ३:१६)। तपाईंको लागि पाउनु मात्र छ, गुमाउनु केही पनि छैन। तब के तपाईंले प्रभु येशूमाथि विश्वास गर्नुहुन्छ, अहिले नै गर्नुहुन्छ?
रवाफ ढङ्गले चलाइएको महाजनहरूको भेटघाटमा एउटा जवान केटीले सुन्दर प्रकारले बाजा बजाएर गीतको प्रदर्शन गरी। सबै मानिसहरूले थप्पड़ी मार्दा भेला भएको ठाउँ पूरा हल्लियो। त्यसपछि श्री सेसार मिलन नामक मानिस उसलाई धन्यवाद दिन गए, अनि कुरा बढ़ाउँदै लाँदा उनले ऊसित आत्मिक कुराहरूको बारेमा बातचित गर्न थाले। ऊ रिसाई, किनकि उनले उसलाई हामी सबै पापी छौं र मुक्ति पाउनु खाँचो छ भनेका थिए। परमेश्वरको पुत्र प्रभु येशूको रगतले उसका सब पापहरू धोएर उसलाई शुद्ध पार्न सक्छ भन्ने कुरा सुन्दा उसलाई ठीक लागेन, तर यी मानिसलाई छोटो हप्की दिएर ऊ फरक्क फर्केर उनलाई छोड़ी।
तर त्यस रात यो केटी निदाउन सकिन। श्री मिलनका शब्दहरू उसको मनमा गुँजाइरहे। राति दुई बजे ऊ पलडबाट उत्री अनि कलम र कागज लिएर उसले रुँदै रुँदै त्यो प्रख्यात गीत लेखी: “जस्तै म छु...।” त्यो गीत रच्ने केटीको नाम चरलोट एलियोट हो। उसले प्रभु येशूलाई कसरी ग्रहण गरी, त्यसको वर्णन यस गीतले दिन्छ।
जस्तो म छु
जस्तो म छु, मेरो अरू कुनै विन्ती छैन,
तर तपाईंको रगतले मेरो लागि बगाइएको हुनाले
र तपाईंले मलाई आफूकहाँ बोलाउनुभएको हुनाले
हे परमेश्वरको थुमा, म आउँदैछु, आउँदैछु।
जस्तो म छु, र ढिलो गर्दिनँ,
मेरो मन सबै कलङ्कबाट मेट्नको लागि
तपाईंकहाँ, जसको रगतले मेरा सबै पाप शुद्ध पार्न सक्छ,
हे परमेश्वरको थुमा, म आउँदैछु, आउँदैछु।
जस्तो म छु, यता र उता हुँत्तिए तापनि
संघर्ष धेरै र शङ्का धेरै भए पनि
भित्र-बाहिर लड़ाइँहरू र डर भए पनि
हे परमेश्वरको थुमा, म आउँदैछु, आउँदैछु।
जस्तो म छु, गरिब, दुःखी, अन्धी,
दृष्टि, स्वर्गको धन, मनको स्वास्थ्य,
हो, मलाई खाँचो परेको सबै म तपाईंमा पाउँछु,
हे परमेश्वरको थुमा, म आउँदैछु, आउँदैछु।
जस्तो म छु, त्यस्तै तपाईंले मलाई ग्रहण गर्नुहुन्छ,
तपाईंले मलाई स्वागत गर्नुहुन्छ, क्षमा दिनुहुन्छ,
शुद्ध पार्नुहुन्छ र शान्ति दिनुहुन्छ।
मैले तपाईंको प्रतिज्ञामाथि भरोशा गरेकोले
हे परमेश्वरको थुमा, म आउँदैछु, आउँदैछु।
जस्तो म छु, मैले नचिनेको तपाईंको प्रेमले
ममा सब बाधाहरू हटाइदियो;
अब तपाईंको हुन, अँ, तपाईंको मात्र हुनलाई
हे परमेश्वरको थुमा, म आउँदैछु, आउँदैछु।
चरलोट एलियोट