यो संसार कहाँ पुगेर टुङ्गिएला?

यो संसार कहाँ पुगेर

अब यस संसारको अवस्था केकस्तो हुनेछ होला? यो संसार कहाँ पुगेर टुङ्गिएला? यस्ता प्रश्नहरू सबैको मनमा उठ्छन्; यसमा शङ्का छैन। तपाईंको मनमा पनि कतिचोटि यस्ता प्रश्नहरू उठे होलान्। तपाईंले कुनै पनि समाचार पत्रिकामा वा सोसल मिडियामा पढ्नुभयो भने संसार सङ्कष्टैसङ्कष्टमा परेको र गड़बढ़ीले भरिएको देखिन्छ। रेडियो सुन्नुहोस्! ज्यादा नराम्रा समाचारहरू मात्र तपाईंले सुन्न पाउनुहुनेछ। 

हामीजस्ता साधारण मानिसहरूलाई मात्र होइन, तर राजनीतिज्ञ नेताहरूलाई पनि यी प्रश्नहरूले सताएका छन्। तिनीहरूको विचारमा संसारमाथि आइपरेका समस्याहरू कुनै हालतमा पनि समाधान गर्न नसकिने देखा परेका छन्। वैज्ञानिकहरूलाई डर लागेको छ; मनोविज्ञान, अर्थशास्त्र आदि विषय पढ़ेका विद्वान्हरूका चित्त खिन्न हुन गएका छन्। चारैतिर पैसाको मूल्य घट्दै गएको र महँगी बढिरहेको छ। एकातिर खड़ेरी र अनिकाल, शोषण र अत्याचार, लड़ाइँ र झैझगड़ा, जनसङ्ख्या र गरिबी साह्रै बढ़ेका छन् भने अर्कोतिर मानिसहरू भोगविलास र मोजमज्जा, मनोरञ्जन र नशाले मात्तिरहेका छन्। एकातिर मृत्युको त्रास र नाश हुने डरले मानिसहरूलाई पक्रेको छ भने, अर्कोतिर दैनिक जीवनमा मानिसहरूको व्यवहार बिग्रिँदै र भ्रष्ट हुँदै गएको छ। 

यस्तो हालतमा यो संसार कहाँ पुगेर टुङ्गिने हो भन्ने प्रश्न गर्नु स्वाभाविक कुरा हो। तर मानिसहरूसँग यस प्रश्नको उत्तर छैन। यो अनुमान लगाएर थाहा हुने कुरा पनि होइन। पवित्र धर्मशास्त्र बाइबलमा सारा संसारलाई सृष्टि गर्नुहुने परमेश्वरले यस प्रश्नको सही उत्तर दिइसक्नुभएको छ। हुन सक्छ, सबै मानिसहरूले यस प्रश्नको विषयमा उहाँको उत्तर तुरुन्तै स्वीकार नगर्लान्; यस पुस्तकमा पेश गरिएका, भविष्यमा चाँड़ै घट्नै लागेका घटना- हरूको विषयमा सबैजनालाई विश्वास नहोला, मनमा शङ्का उठ्ला। तर यी कुराहरू जान्न एकदम अनिवार्य हो; किनभने यी कुराहरू बिलकुल सत्य छन्, अनि हाम्रो जीवन र हाम्रो भविष्य यी कुराहरूमा भर पर्छ। 

संसार न्यायको लागि तयार हुँदैछ। एकमात्र सत्य सृष्टिकर्ता परमेश्वरले यस संसारलाई त्याग्नुभएको छैन। उहाँले आफ्नो स्वर्गको सिंहासन छोड्नुभएको छैन। उहाँ संसारमा भइरहेका कामहरू नियाल्नुहुन्छ। अब चाँड़ै उहाँले सबै मानिसहरूको न्याय गर्नुहुनेछ। इन्साफ हुनेछ भन्ने कुरा मानिसहरूले पत्याऊन् कि नपत्याऊन्; तिनीहरूले परमेश्वरको सामु न्यायमा उभिन चाहून् कि नचाहून्; न्यायको दिन तोकिएकै छ, त्यो दिन सुनिश्चित छ। परमेश्वरले यस संसारको न्याय गर्नुहुनेछ भन्ने कुरा सुनेर कति मानिसहरूले ठट्टा गर्छन् र न्याय हुने कुरा इन्कार गर्छन्। धेरैजनाले यस विषयमा सुन्न चाहँदैनन्। अरू मानिसहरूले यस सम्बन्धमा हल्का सोच्छन्। तर न्यायमा परमेश्वरको सामु उभिनु सजिलो कुरा होइन, खुशीको कुरा पनि होइन। सारा संसारको न्याय हुनेछ, र यस इन्साफबाट कसैले पनि उम्कन पाउनेछैन। यसकारण परमेश्वरको डरलाग्दो न्यायमा पर्नुभन्दा अघि नै गम्भीर भई हामीले एउटा बाँच्ने उपाय खोज्नुपर्छ, होइन र? 

पवित्र धर्मशास्त्र बाइबलको वचनको प्रकाशअनुसार परमेश्वरले इतिहासमा बेला-बेलामा यस संसारमा न्यायको काम गर्नुभएको थियो। नूहका दिनहरूमा उहाँले सारा पृथ्वीमाथि जलप्रलय ल्याउनुभएको थियो। त्यस समयमा उहाँले सबै मानिसहरूमा आठजनालाई छोड्नुभयो र अरू सबैलाई पानीद्वारा नाश गर्नुभयो। लूतका दिनहरूमा उहाँले सदोम र गमोरा नामक शहरहरूमाथि आगो र गन्धक बर्षाउनुभयो र ती शहरभित्र बस्ने सबै मानिसहरूलाई भष्म पार्नुभयो। लूत र तिनका दुईजना छोरीहरू मात्र उम्के। इस्राएलीहरूलाई मिस्र देशको दासत्वबाट निकाल्ने बेलामा मोशाका दिनहरूमा उहाँले मिस्री सेनालाई लाल समुद्रमा डुबाएर सत्यानाश गर्नुभयो। ख्रीष्टपूर्व छैटौं शताब्दीमा सम्राटको रूपमा शासन गर्ने बेबिलोनका शक्तिशाली राजा नबूकदनेस्सरदेखि लिएर बीसौं शताब्दीमा जर्मनीको अति क्रूर शासक एडोल्फ हिट्लरसम्म परमेश्वरले विभिन्न समयमा मानिसहरूको न्याय गर्दै आउनुभएको हो। तब के परमेश्वरले आजको यस पापले पूर्ण संसारलाई छोड्नुहुन्छ त? उहाँले आजभोलिका भक्तिहीन मानिसहरूलाई अवश्य छोड्नुहुनेछैन नै। उहाँले यस संसारका सबै अधर्मीहरू र परमेश्वरको डर नमान्ने मानिसहरूको न्याय गर्नुहुनेछ। व्यभिचारी, विलासी, अत्याचारी र बलात्कारी मानिसहरू उम्कनेछैनन्, न ता ईश्वरको निन्दा गर्ने, नास्तिक र स्वार्थी मानिसहरू परमेश्वरको धार्मिक इन्साफबाट उम्कनेछन्। उनीहरू सबैले आ-आफ्ना कामहरूको उचित दण्ड पाउनेछन्। 

'यस प्रकारको न्याय गर्नुहुने परमेश्वरलाई हामी मन पराउँदैनौ; यो सिद्धान्त हाम्रो जाति, समाज र धर्मसित मिल्दैन' भन्न कोही-कोही निस्क्लान्। यस्ताहरूले बहाना गर्छन्; किनभने यस्तो भन्ने मानिसहरूले आफ्नो काम र व्यवहार बदल्न चाहँदैनन्। यसकारण तिनीहरूले आफ्ना सृष्टिकर्ता परमेश्वरलाई एकातिर राख्छन्। न तिनीहरूको परिवारमा न तिनीहरूको व्यक्तिगत जीवनमा परमेश्वरको निम्ति ठाउँ छ। तिनीहरूले 'हामी सभ्य छौं' भन्छन्, ‘हामी वैज्ञानिक युगमा जिइरहेका छौं भन्छन्, ‘अहँ, परमेश्वर हामीलाई चाहिँदैन' भन्छन्। 

हुन पनि हो, मानिसहरूको ज्ञान निक्कै बढेको छ। अब मानिसहरूले जान्न नसक्ने कुनै कुरा रहेको छैन जस्तै छ। मानिसहरूले आविष्कार गर्न नसक्ने कुरा केही पनि रहेनछ। आफ्नो गाउँबस्ती र शहरको वातावरण मानिसहरूले आफ्नो खुशीले बदली गर्छन्। यसैले होला, तिनीहरू 'हामी उच्च स्तरमा पुगेका' घमण्डमा फुलेका छन्। हामी आफ्नो काम आफूले सम्हाल्ने भयौं। हामीलाई कसैको सहायता चाहिँदैन। हामी आफ्नै मालिक हौं। तब परमेश्वरले हामीलाई के भन्नुहुन्छ हँ? तर के मानिसहरूले आफ्ना सृष्टिकर्ताको कुरा सुन्न र त्यसमा ध्यान दिनुपर्दैन र? के यो संसार उहाँको हातबाट फुस्केर हाम्रो हातमा आइसक्यो र? तब के हामीलाई जे इच्छा लाग्छ, हामीले त्यही गरौं? हरेक मानिस आफ्नो निम्ति जिउनुपर्छ भनेर भन्छौं। हामी बल मिचेर काम गर्छौ। संसारमा कमजोरहरूका निम्ति ठाउँ छैन। कसैले हार खान चाहँदैन। यसकारण लाठीमुङ्ग्रो, गोलाबारूद हाम्रो बल हुन्छ। यसैले हामीले प्रशस्त मात्रामा हातहतियारहरू आविष्कार गरेका छौं। सम्पूर्ण बलले भ्याएसम्म हामी आफूलाई माया गर्छौं। जति सक्दो सबै थोकहरू आफ्नो हातमा पार्नु र मज्जा लुट्नु - के यो हाम्रो सिद्धान्त होइन र? यसो गरेर हामीले आफ्नो छिमेकीलाई प्रेम गर्न भुलेका छौं। 

परमेश्वरको वचन बाइबलमा इजकिएल नामक पुस्तकमा परमप्रभुले हाम्रो विषयमा यसो भन्नुहुन्छः 'परमप्रभुले तिनलाई भन्नुभयोः यरूशलेम शहरभित्र चारैतिर जाऊ, र त्यसमा गरिएका सबै घिनलाग्दा कामहरू देखेर शोक र विलाप गर्ने सबै मानिसहरूको निधारमा एउटा चिन्ह लगाऊ!' आफ्नो देश र आफ्नो शहरमा भइरहेका दुष्ट र फोहोर कामहरूले गर्दा हामीमध्ये कतिजना शोकित छन्? उक्त खण्डअनुसार के परमेश्वरले हाम्रो निधारमा आफ्नो चिन्ह लगाउन सक्नुहुन्छ? कि के हाम्रो वरिपरि दिनरात भइरहेका हर प्रकारका दुष्ट पापकर्महरूले हामीलाई थेचरा बनाइसके? जब हामी आफ्नो परिवार, आफ्नो टोल र बस्तीमा अत्याचार, लुटपित, व्यभिचार, हत्या आदि पापहरू देख्छौं - सुन्छौं, तब के हामी यसको विषयमा खिन्न हुन्छौं? कि के हामी केवल अरूलाई दोष लगाउँछौं? यस्ता पापहरूको दुर्गन्ध परमेश्वरको नाकमा पुगिसकेको छ। विचार गर्नुहोस्! कहिलेसम्म उहाँले आफ्नो न्याय रोकिराख्न सक्नुहुन्छ? उहाँले पापीहरूको दुष्टता कहिलेसम्म सहनुहुन्छ? 

परमेश्वर अति धीरजी र अति दयालु हुनुहुन्छ। उहाँ कुनै पनि मानिस नाश भएको चाहनुहुन्न। उहाँले न्याय गर्नुदेखि आफूलाई थामिराख्नुभएको छ। तर परमेश्वरले सधैंभरि मानिसहरूसँग वादविवाद गर्नुहुन्न। उहाँले मानिसहरूलाई पापको विषयमा पश्चात्ताप गर्ने मौका सधैँ दिनुहुन्न। एक दिन उहाँले पापी मानिसहरूको न्याय गर्नुहुने नै छ। यसकारण प्रिय मित्र, ढिलो हुनुभन्दा अघि नै यस गम्भीर विषयमा ख्याल राखेर नम्रतासाथ सारा हृदयले एकमात्र सत्य, जीवित परमेश्वरकहाँ फर्कनुहोस् र उहाँसित मेलमिलाप राख्नुहोस्! 

परमेश्वरले संसारलाई कसरी न्याय गर्नुहुनेछ? 

यस संसाको न्यायको सम्बन्धमा परमेश्वरको वचन पवित्र बाइबलमा धेरै ठाउँमा भविष्यवाणी गरिएको छ। यस न्याय गरिने अवधिलाई महासङ्कष्ट पनि भनिन्छ। अगमवक्ता मलाकीले यस महासङ्कष्टको समयलाई यसो भन्दै दन्किएको भट्टीको दिन भनेका छन्ः 'किनकि हेर, भट्टीझैं दन्किने दिन आइरहेको छ, जब सबै घमण्डी र दुष्ट काम गर्नेहरू ठुटाहरूजस्तै हुनेछन्, र त्यो आउन लागेको दिनले तिनीहरूलाई पूरा भस्म पार्नेछ, सेनाहरूको परमप्रभु भन्नुहुन्छ; अनि त्यस दिनले तिनीहरूको लागि न जरा न हाँगा बाँकी राख्नेछ' (मलाकी ४:१)। यस दिनलाई प्रभुको दिन पनि भिनिन्छ। प्रकाशको पुस्तकमा यस दिनको खूबै चर्चा गरिएको छ; त्यस पुस्तकमा यस दिनलाई सर्वशक्तिमान् परमेश्वरको क्रोधको महान् दिन भनिएको छ। 

यो महासङ्कष्ट अर्थात् यो न्यायको अवधि सात वर्ष हुनेछ। योचाहिँ सामान्य समय हुनेछैन। प्रभु येशूले यस दिनको विषयमा यसो भन्नुभएको छः ‘किनभने त्यस बेला यस्तो महासङ्कष्ट हुनेछ, जस्तो सङ्कष्ट पृथ्वीको शुरुदेखि अहिलेसम्म कहिल्यै भएको थिएन, न ता फेरि कहिल्यै हुने नै छ' (मत्ती २४:२१)। बितेका दिनहरूमा यस संसारमाथि आइपरेका सबै सङ्कष्टहरू प्रायः संसारभरि फैलिएका थिएनन्, तर घरि संसारको एक भागमाथि, घरि संसारको अर्को भागमाथि आइपरे। तर यो महासङ्कष्टचाहिँ एकै समयमा सारा संसारमाथि आइपर्नेछ। कुनै जाति वा कुनै देश यस सङ्कष्टदेखि उम्कनेछैन। संसारको छेउमा भएको सानो टापु पनि छोड़िनेछैन। हरेक जाति, हरेक कुल र हरेक मानिसमाथि पापको सजायरूपी परमेश्वरको क्रोध खानिनेछ। 

परमेश्वरको वचनअनुसार म तपाईंलाई भन्दछुः बितेका दिनहरूमा विभिन्न मानिसहरूले अरूलाई क्ररतासाथ थिचोमिचो गरेका थिए। मिस्रीहरूले इस्राएलीहरूलाई निक्कै दुःख दिए र तिनीहरूलाई दासत्वको बन्धनमा राखे। अश्शूरी र रोमीहरूले अरू जातिहरूमाथि देखाएको निर्दयता यस अत्याचारभन्दा अझै पनि ठूलो थियो। तर यी सबै दु:साहसका कार्यहरूभन्दा महासङ्कष्टको समय कता हो कता अति डरलाग्दो हुनेछ। यो दिन हिट्लरको शासनकालमा दोस्रो विश्वयुद्धको विनाशभन्दा अति भयानक हुनेछ। यस दिनको मुख्य उद्देश्य संसारबाट सबै दुष्टता हटाउनु हो। यो महासङ्कष्ट हुँदा धेरै विपत्तिहरू घटनेछन्, जस्तै भुइँचाला, आँधीबेहरी, खड़ेरी र विभिन्न महामारीहरू आदि। यी आपत्तिहरू यति कष्टपूर्ण हुनेछन्, कि हरेक मानिसले यो परमेश्वरको काम हो भनी बुझ्नेछ। अहिलेसम्म भइरहेका आपत्तिहरूचाहिँ आउन लागेको महासङ्कष्ट कस्तो हुनेछ, सो कुरा थोरै मात्रामा सङ्केत गर्ने सङ्केत-चिन्हहरू हुन्। यी आपत्पिपत्हरू परमेश्वरको न्यायका सूचक-चिन्हहरू हुन्छन्। 

परमेश्वरले दुष्ट मानिसहरूलाई आफ्नो न्यायका हतियारहरू बनाउनुहुनेछ। लड़ाइँ, झगड़ा आदि कुराले तिनीहरूले संसारलाई नष्ट गर्नेछन्। प्रकाशको पुस्तकअनुसार महासङ्कष्ट हुँदा घामले पृथ्वीलाई ज्यादै चर्को तापले पोल्नेछ र मानिसहरूमा कष्टपूर्ण घाउखटिराहरू निस्कनेछन्। यी पीड़ाहरू संसारमाथि आइपर्न लागेका विपत्तिहरूको सानो अंश मात्र हुन्। दुःखकष्टमा परेका मानिसहरूले पश्चात्ताप गर्नुको सट्टामा बरु परमेश्वरको निन्दा गर्नेछन्। तिनीहरूले मर्न खोज्नेछन्, र मृत्युद्वारा परमेश्वरको न्यायबाट उम्कन चाहनेछन्। 
प्रकाशको पुस्तकको छ अध्यायका बाह्र पददेखि सत्र पदको खण्डमा यस्तो लेखिएको छः 

'अनि जब प्रभु येशूले त्यो छैटौं छाप खोल्नुभयो, तब मैले हेरें, अनि हेर, एउटा ठूलो भुइँचालो भयो र घामचाहिँ केशको भाङ्ग्रे लुगाझैं कालो भयो, अनि जूनचाहिँ रगतजस्तो भयो, साथै जसरी नेभाराको रूखले ठूलो हूरीद्वारा हल्लाइँदा आफ्ना नपाएका फलहरू झारिदिन्छ, त्यसरी नै आकाशका ताराहरू पृथ्वीमाथि खसे। अनि पुस्तकको मुठा बेरिएझैं आकाश हटेर गयो; अनि हरेक पहाड़ र हरेक टापु आ-आफ्नो ठाउँबाट हटाइयो। अनि पृथ्वीका राजाहरूले, ठूला-ठूला मानिसहरू, धनवान्हरू, मुख्य कप्तानहरू र शक्तिशाली मानिसहरूले, साथै हरेक कमारा र हरेक स्वतन्त्र मानिसले आफूलाई ओड़ारहरूभित्र र पहाड़हरूका चट्टानहरूभित्र लुकाए। अनि तिनीहरूले पहाड़ र चट्टानहरूलाई भने: “हामीमाथि खस र सिंहासन- माथि विराजमान हुनुहुनेको मुखबाट र प्रभु येशूको क्रोधबाट हामीलाई लुकाइदेओ! किनकि उहाँको क्रोधको ठूलो दिन आएको छ; को खड़ा रहन सक्छ र?”  

तब ख्रीष्ट-विरोधी प्रकट हुनेछ 

महासङ्कष्टको सात वर्षको अवधिभित्र ख्रीष्ट-विरोधी उठेर सारा संसारका राज्यहरू आफ्नो अधीनतामा ल्याउनेछ र तिनीहरूमाथि कड़ा शासन गर्नेछ। पवित्र बाइबलमा त्यस ख्रीष्ट-विरोधीलाई 'पापको पुरुष' र 'विनाशको पुत्र' भन्ने नाम दिइएको छ। यो व्यक्ति एकदम शक्तिशाली हुनेछ। त्यसले सबै मानिसहरूलाई आफ्नो कुरा मान्न पार्नेछ र धूर्तसाथ सबैलाई मोहित पार्नेछ। त्यो खूबै घमण्डी हुनेछ, र त्यसले प्रशस्त पाप गर्नेछ; किनभने शैतानले त्यसलाई आफ्नो शक्ति प्रदान गर्नेछ। 

त्यो ख्रीष्ट-विरोधीचाहिँ परमेश्वरको शत्रु हुनेछ। महासङ्कष्टको दोस्रो भागमा अर्थात् साढ़े तीन वर्षसम्म त्यसलाई सारा संसारमाथि शासन गर्ने अधिकार दिइनेछ। त्यस व्यक्तिको शासन अति डरलाग्दो हुनेछ। यस्तो दुष्ट र कठोर शासक कहिल्यै भएको छैन। एडोल्फ हिट्लरले लाखौं यहूदीहरूलाई, साथै अनगिन्ती अरू जातिका मानिसहरूलाई मारे। ठीक त्यस्तै त्यस ख्रीष्ट-विरोधीले पनि थुप्रै थुप्रै मानिसहरूलाई नाश गर्नेछ। त्यसले ती सबैलाई मार्नेछ, जस-जसले त्यसको छाप लिँदैनन् र त्यसको मूर्तिलाई पूजा गर्दैनन्। 

अन्तमा ख्रीष्ट-विरोधीको भयानक राज्य आर्मागेड्डोन भन्ने ठाउँमा हुने महायुद्धद्वारा शेष हुनेछ। यो युद्ध महासङ्कष्टको अन्ततिर हुनेछ। शैतानले आफ्ना दुष्ट सेवकहरू पठाउनेछ र सारा संसारका सेनाहरू आर्मागेड्डोनमा भेला पार्नेछ। त्यो ठाउँ इस्राएल देशमा पर्छ। पृथ्वीका सबै राजाहरू र शासकहरूले इस्राएललाई घृणा गरेर आफ्ना जम्मा सेनाहरू र भयङ्कर हातहतियारहरूको साथ त्यस ठाउँमा आइपुग्नेछन्। त्यस बेला प्रभु येशू ठूलो शक्ति र महिमाको साथ स्वर्गबाट उत्रनुहुनेछ, र उहाँका शक्तिशाली दूतहरू उहाँको पछि लाग्नेछन्। प्रभु येशू र उहाँको सेनाले त्यस ख्रीष्ट- विरोधीसँग लड़ाइँ गर्नुहुनेछ; ख्रीष्ट-विरोधी पक्राउ पर्नेछ, र गन्धकले बलिरहेको अग्निसागरमा फालिनेछ। ख्रीष्ट - विरोधीको जम्मै सेना प्रभु येशूले आफ्नो दुईधारे तरवारले मार्नुहुनेछ। यसरी नै उहाँले यी सबै मानिसहरूको न्याय गर्नुहुनेछ। 

महासङ्कष्टको सात वर्षभित्र परमेश्वरले संसारमा मानिसहरूको जनसङ्ख्या धेरै घटाउनुहुनेछ। यही समयमा संसारमा जिउने हरेक मानिसको न्याय हुनेछ; किनभने महासङ्कष्टकाल नै न्यायको समय, काँटछाँटको समय हुनेछ। यो अवधि यति भयङ्कर हुनेछ, कि कुनै मानिसले यति कष्ट सहन सक्दैन। तर पनि वर्तमान् युगमा बाँचिरहेका करोडौं मानिसहरूले यस महासङ्कष्टभित्र प्रवेश गर्नेछन्। किनभने यो समय नजिकै आइपुगेको छ। चाँड़ै महासङ्कष्ट शुरु हुनेछ। संसार यसको निम्ति तयार भएको छ। अचानक समय फेर्नेछ। तब हाम्रो अवस्था केकस्तो हुने होला? 

के हामी आउन लागेको परमेश्वरको इन्साफबाट उम्कन सक्छौं त? के हाम्रो निम्ति कुनै उम्कने उपाय छ? यसो हेर्दा संसारको लागि केही आशा नभएको देखिन्छ। विनाश आउन लागेको छ। हाम्रा सबै दुष्ट र घिनलाग्दा पापकर्महरूले हामीलाई विनाशमा पुरयाउनेछन्। के सत्यानाशबाट उम्कने एउटै पनि बाटो छैन? सबै मानिसहरूका निम्ति आशा नहोला, तर ख्रीष्टको सुसमाचार मान्नेहरू र सम्पूर्ण हृदयले पापदेखि फर्कनेहरूको निम्ति आशा जारी नै छ। आउन लागेको परमेश्वरको न्यायदेखि पूरा छुटकारा छ। यस छुटकाराको शुभ सन्देश लिएर हामी यस पुस्तकमार्फत तपाईंकहाँ आउँदैछौं। मुक्तिको आशा नहुँदो हो त हामी तपाईंसँग न्यायको कुरा किन गर्ने र? छुटकारा छैन भने त जीवित परमेश्वरको हातमा पर्नुबाहेक अरू कुनै कुरा बाँकी रहनेथिएन। तर प्रभु येशूमा मुक्ति छ। यो कुरा हर प्रकारले सत्य र ग्रहणयोग्य छ। किनभने परमेश्वरका पुत्र प्रभु येशू फेरि यस संसारमा आउनुहुनेछ र उहाँको बाटो हेर्नेहरू सबैलाई छुटकारा दिनुहुनेछ। के हामी उहाँलाई भेट्न तयार छौं? 

प्रभु येशू चाँड़ै फेरि आउनुहुनेछ 

वर्तमान् संसारमा धेरै मानिसहरूको निम्ति प्रभु येशू फेरि आउनुहुनेछ भन्ने समाचार कल्पनाको कुरा मात्र हो। तर प्रभु येशूको दोस्रो आगमन मानिसहरूले रचेको कल्पना होइन। अब चाँड़ै प्रभु येशू आउँदै हुनुहुन्छ। यो घटना अब चाँड़ै घट्ने नै छ भन्ने कुरा अहिले संसारमा जिइरहेका लाखौं ख्रीष्ट-विश्वासीहरूले विश्वास गर्छन्। प्रभु येशूको दोस्रो आगमन कुनै नयाँ विचार वा नयाँ सिद्धान्त होइन। यस सम्बन्धमा पवित्र धर्मशास्त्र बाइबलमा अघिबाट धेरै भविष्यवाणीहरू दिइएका छन्, साथै प्रभु येशूले आफ्नै मुखले प्रतिज्ञा गरेर भन्नुभयोः 'म चाँडै आउँछु।' 

परमेश्वरले यस संसारको कालचक्रमा हात हाल्नुहुन्छ भन्ने विचार कसै- कसैलाई हाँसो लाग्छ होला। तिनीहरूले यसो भन्दै हामीलाई प्रश्न गर्छन्ः 'खोइ, प्रभु येशूको आगमनको प्रतिज्ञा कहाँ गयो त?' परमेश्वरको वचन पवित्र बाइबलमा प्रभु येशूको दोस्रो आगमनको विषयमा करिब तीन सय पल्ट बयान गरेर यसको पूर्व-सूचना दिइएको छ। यस सम्बन्धमा पहिले भविष्यवाणी गर्ने व्यक्तिको नाम हनोक हो। उनले यसो भन्दै यसको विषयमा भविष्यवाणी गरे: 'हेर, प्रभु आफ्ना हजारौँहजार पवित्र जनहरूको साथमा आउनुहुन्छ। सबैको न्याय गर्नका निम्ति, साथै तिनीहरूको बीचमा भएका सबै भक्तिहीन मानिसहरूलाई, भक्तिहीन भई तिनीहरूले गरेका तिनीहरूका सबै भक्तिहीन कामहरू र भक्तिहीन पापीहरूले उहाँको विरोधमा बोलेका तिनीहरूका सबै कठोर वचनहरूको विषयमा दोषी ठहराउनका निम्ति उहाँ आउनुहुन्छ।' (यहूदा १:१४-१५) 
प्रभु येशूले 'म फेरि आउनेछु' भन्ने प्रतिज्ञा गर्नुभयो। उहाँले आफ्ना चेलाहरूलाई भन्नभएको शब्दमा तपाईंले ध्यान दिनुहोला! 

‘तिमीहरूको हृदय विचलित नहोस्! तिमीहरू परमेश्वरमा विश्वास गर्छौं; ममाथि पनि विश्वास गर! मेरा पिताको घरमा धेरै बस्ने ठाउँहरू छन्; यस्तो नहुँदो हो त मैले तिमीहरूलाई यो भन्नेथिएँ। म तिमीहरूको निम्ति एउटा ठाउँ तयार पार्न जान्छु। अनि गएर मैले तिमीहरूको निम्ति त्यो ठाउँ तयार पारें भने म फेरि आउनेछु; अनि जहाँ म छु, त्यहाँ तिमीहरू पनि होओ भन्ने हेतुले म तिमीहरूलाई आफूकहाँ लैजानेछु।' यूहन्ना १४:१-३ 

प्रभु येशू किन फेरि यस संसारमा आउनुहुनेछ। यसका दुईवटा मुख्य कारणहरू छन्ः एक, यस संसारबाट आफ्ना सबै विश्वासी जनहरूलाई उठाइलैजानका निम्ति, र दुई, यस संसारबाट सबै अधर्महरू र सबै दुष्टता हटाउन उहाँ फेरि आउनुहुनेछ। 

यसर्थ हामी निचोड़मा आइपुगेर भन्न सक्छौं : प्रभु येशूको आगमन हुने बेलामा जिउने मानिसहरू कि त ख्रीष्ट - विश्वासी भई यस संसारबाट उठाई लगिनेछन्, कि त तिनीहरूका पाप र अधर्महरूले गर्दा संसारमाथि आइपर्ने सङ्कष्ट र क्लेश भोग्न छोडिनेछन्।  

प्रभु येशूमा मुक्ति छ 

अप्ठ्यारो परिस्थितिमा फसेको मानिसलाई त्यहाँबाट मुक्त गर्ने काम निकास्नु भनिन्छ। जब प्रभु येशू फेरि आउनुहुनेछ, तब उहाँले ठीक त्यही काम गर्नुहुनेछ। परमेश्वरको वचनमा यसो लेखिएको छः 'हामी जीवित हुनेहरू र उहाँको आगमनसम्म बाँकी रहनेहरू हावामा प्रभुलाई भेट्नका निम्ति बादलहरूमा उनीहरूसँग जो अघि ख्रीष्टमा मरिगए, एकसाथ उठाइनेछौँ (१ थेस्सलोनिकी ४:१७)। 

महासङ्कष्टको शुरु हुनुभन्दा अघि नै प्रभु येशूले आफ्ना जनहरूलाई संसारबाट उठाएर लैजानुहुनेछ। किनकि यसो लेखिएको छः ‘परमेश्वरले हामीलाई क्रोधको निम्ति होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा मुक्ति पाउनको निम्ति ठहराउनुभएको हो।' (१ थेस्सलोनिकी ५:९) ‘तिमीले मेरो धीरजको वचन पालन गरेका छौ; यसैले म पनि तिमीलाई परीक्षाको घड़ीबाट जोगाउनेछु; त्योचाहिँ पृथ्वीमाथि बस्ने सबै मानिसहरूलाई जाँच्न सारा संसारमाथि आउनेछ' (प्रकाश ३:१०)। 

यो निकास्ने काम कसरी हुनेछ? यस विषयमा परमेश्वरको प्रेरित पावलले यसो लेखेः ‘किनकि प्रभु आफै आज्ञारूपी कौलासोको साथमा प्रधान स्वर्गदूतको आवाज र परमेश्वरको तुरहीको साथमा स्वर्गबाट ओर्लनुहुनेछ अनि ख्रीष्टमा मरेकाहरू पहिले बौरेर उठ्नेछन्, त्यसपछि हामी जीवित हुनेहरू र उहाँको आगमनसम्म बाँकी रहनेहरू हावामा प्रभुलाई भेट्नका निम्ति बादलहरूमा उनीहरूसँग एकसाथ उठाइनेछौं' (१ थेस्सलोनिकी ४:१६-१७)। 

उक्त बाइबल-पदहरूबाट कुरा स्पष्ट छः यो निकास्ने कामले मरेपछि हाम्रो आत्मा प्रभु येशूसँग मिल्ने कुरालाई होइन, तर हाम्रो शारीरिक उत्थानलाई सङ्केत गर्दछ। जब प्रभु येशू आउनुहुनेछ, तब हामी प्रभु येशूमाथि विश्वास गर्नेहरू बादलहरूमा उठाइनेछौं। आँखाको झिमिकमा नै हामी स्वर्गको घरमा सारिनेछौं। प्रभु येशूले त्यहाँ आफ्ना चेलाहरूका निम्ति एउटा ठाउँ तयार पार्नुभएको छ। प्रभु येशूमाथि विश्वास गरेर उहाँमा नयाँ जीवन पाएकाहरू यस निकास्ने कार्यमा सहभागी हुनेछन्। तर प्रभु येशूलाई केवल मुखले प्रभु, प्रभु भन्नेहरूले यसमा भाग लिन पाउनेछैनन्। उहाँको पछि लाग्ने र उहाँको बाटो हेर्ने सच्चा चेलाहरूलाई यो सौभाग्य मिल्नेछ। के प्रभु येशू तपाईंलाई पनि उठाउन आउनुहुनेछ? कि के तपाईं छोड़िनुहुनेछ? 

'यो कुरा कसरी सम्भव हुनेछ? मानिस कसरी शरीरमा आकाशतिर उठाइनेछ?' यस्तो शङ्का सायद तपाईंको मनमा उठेको होला। तर यो कुरा सम्भव नै छ; किनभने पवित्र बाइबलमा यस्तो लेखिएको छः 'हेर, म तिमीहरूलाई एउटा रहस्य बताउँछुः हामी सबैजना सुतिजानेछैनौं, तर हामी सबैजना बदली हुनेछौं – एकै क्षणमै, आँखाको झिमिकमा, आखिरी तुरही बज्दाखेरि नै; किनकि तुरही बज्नेछ र मरेकाहरू अविनाशी दशामा बौराइनेछन्। तब हामीचाहिँ बदली हुनेछौं; किनभने यस विनाशीले अविनाशलाई पहिरनैपर्छ र मरणशीलले अमरतालाई ओढ्नैपर्छ (१ कोरिन्थी १५ः५१-५३)। यस प्रकारले उठाइनेहरूको रूप बदली हुनेछ। प्रभु येशू बौरिउठ्नुभएपछि उहाँको शरीर जस्तो थियो, ठीक उहाँको महिमित शरीरअनुसार हाम्रो यो कमजोर शरीर पनि एउटा महिमित शरीर बन्नेछ। 

प्रभु येशूले आफ्ना मानिसहरूलाई यस संसारबाट किन उठाई लैजानुहुनेछ? किन उहाँका साँचो भक्ति गर्ने चेलाहरू मात्र उठाइनेछन्? यस प्रश्नको उत्तर एउटै होः महासङ्कष्टको शुरु हुनुभन्दा अगाडि प्रभु येशूले आफ्ना मानिसहरूलाई उठाउने कारण यस प्रकारको छः संसार खारिनुपर्छ, हर प्रकारको दुष्टता यस संसारबाट हटाइनेछ। त्यस बेला जीवित रहने सबै मानिसहरूको न्याय हुनेछ। यो अति डरलाग्दो न्याय शुरु हुन लागेको छ। यस न्याय हुनुभन्दा पहिला प्रभु येशूले आफ्ना जनहरूलाई बचाउनुहुनेछ। उहाँले उनीहरूलाई संसारबाट उठाउनुहुनेछ। सात वर्षसम्म संसारलाई खार्ने काम लाग्नेछ। त्यत्तिखेर अन्तिम न्याय हुने नै होइन; किनकि त्यो त पछि सेतो सिंहासनको सामु हुनेछ। तर यस खार्ने अवधिमा सात वर्षसम्म सर्वशक्तिमान् परमेश्वरको क्रोध संसारमाथि खनिनेछ। 

प्रभु येशूको दोस्रो आगमान कति चाँडै हुनेछ? 

यी सबै कुराहरू कहिले घट्नेछन्? त्यस दिन र घड़ीको विषयमा खास गरी कसैलाई केही निश्चित कुरा थाहा छैन। तर प्रभु येशूको आगमनमा र महासङ्कष्ट हुँदा भइरहने चिन्हहरूको विषयमा तपाईंले हरेक दिन समाचार पत्रिका वा सोसल मिडियामा पढ्न पाउनुभएको छ। प्रभु येशूले यी अन्तिम दिनहरूका लक्षणहरू के-के हुन्, सो बताउनुभएको छ। उहाँले आफ्नो दोस्रो आगमन नूहका दिनहरूसित तुलना गर्नुभयो। 

नूहका दिनहरू तीनवटा अवगुणले चिनिन्छन्ः 

क) नूहका दिनहरूमा पृथ्वी दुष्टता र भ्रष्टाचारले भरिएको थियो। मानिसहरूको सोचविचार निरन्तर खराबै मात्र भएको थियो। अचेल पनि हामी जीवनको हरेक क्षेत्रमा यही भ्रष्टाचार देख्दछौं। गत पन्ध्र वर्षभित्र मानिसहरूको नैतिक पतन अति नै भएको छ। मानिसहरूको विचार दुष्ट र झन् दुष्ट हुँदै गएको छ। यदि तपाईंले फराकिलो बाटो, पापको बाटोलाई घृणा गर्नुभयो भने संसारको चलनसित तपाईंलाई ठेसठक्कर लाग्ने नै छ, संसारका रीतिहरूले तपाईंलाई विरक्त पार्छन्। किनभने यही समयमा मानिसहरूले पवित्र र नैतिक जीवन बिताउनुमा ध्यान दिने होइन, तर पाप र अधर्महरूतिर ढल्किसकेका छन्। मानिसहरू आफ्नै दुष्ट चालको सिकार भएका रहेछन्। 

ख) नूहका दिनहरू अत्याचार, अन्याय र थिचोमिचोले परिपूर्ण थिए। हिजोआज पनि यस्तै छ। ( १ थेस्सलोनिकी ५:९) 'मै खाऊ, मै लाऊँ' भन्नेहरू धेरै भएका हुन्छन्। आफ्नो हठमा चल्ने, स्वार्थी, लोभी र विलासी मानिसहरू अनगिन्ती छन्। बलजफत गर्नेहरूको मात्र हक लाग्ने रहेछ, यस दुष्ट संसारमा। यसकारण चारैतिर आतङ्क फैलिरहेको छ। सबै मानिसहरूलाई डरैडर भएको छ। 

ग) नूहका दिनहरूमा मानिसहरूले परमेश्वरलाई हेला गर्थे। त्यस बेलाका सबै मानिसहरू नास्तिक र भक्तिहीन भएका थिए। हुन त तिनीहरूले धर्मका सबै रीतिथितिहरू मान्ने गर्थे, तर परमेश्वरको डर भने मान्दैनथिए। 

परमेश्वरको न्याय हुँदै-हुँदैन भन्ने भान लिएर तिनीहरूले मनपरिको जीवन बिताउँथे। तिनीहरूले मस्त खान्थे, पिउँथे, मोज गर्थे। आज पनि मानिसहरूको हालत यस्तै छ। वर्तमान समयमा मानिसहरू प्रायः मोजमज्जामा जिइरहेका छन्। कसैमा यो विचार जाग्दैन कि सायद भोलि हामीले यी सबै मोजका थोकहरू छोड़ेर जानुपर्छ अनि जिउँदा र मरेकाहरूको इन्साफ गर्नुहुने परमेश्वरको सामु उभिनुपर्नेछ। झन् प्रभु येशू अब चाँड़ै आउँदै हुनुहुन्छ भन्ने कुरा तिनीहरूको लागि ठट्टाको कारण मात्र भएको छ। 

परमेश्वरले पापी मानिसहरूको न्याय गर्नुहुने नै छ 

प्रभु येशू परमेश्वरबाट न्यायाधीशको रूपमा नियुक्त हुनुभएको छ। उहाँ अब चाँड़ै यस संसारमा देखा पर्नुहुनेछ। प्रभु येशूको सुसमाचार विश्वास नगर्नेहरू र एकमात्र सत्य र जीवित परमेश्वरलाई नचिन्नेहरू सबैलाई उहाँले दण्ड दिनुहुनेछ। व्यभिचारी, अत्याचारी, हत्यारा आदि पापीहरूको इन्साफ हुनेछ। अभिमानी, स्वार्थी, कपटी र घमण्डीहरू न्यायबाट उम्कनेछैनन्। लोभीहरूको साथमा मूर्तिहरू रच्ने र मूर्तिलाई पुज्नेहरूले एकसाथ आफ्ना कामहरूको प्रतिफल पाउनेछन्। धनी र गरिब, पढ़ेका र नपढेका, विदेशी र स्वदेशी, धर्म मात्रे र धर्म नमात्रेहरू सबैको न्याय हुनेछ। पियक्कड़, जुवाडे, मोजमज्जा गर्नेहरू, फिल्म बनाउनेहरू र सिनेमा हेर्नेहरू, नायक र नायिकाहरू, गायक र गायिकाहरूको पनि न्याय हुनेछ। खानदानी र नीच स्तरका मानिसहरू, गुरु र छात्रछात्राहरू, मालिक र नोकरहरू, आस्तिक र नास्तिकहरू न्यायमा खड़ा हुनेछन्। यी सबै मानिसहरूको न्याय प्रभु येशूले गर्नुहुनेछ। 

नूहका दिनहरूमा अचानक जलप्रलयले सारा संसारलाई नष्ट गरेको थियो। त्यसरी नै प्रभु येशू संसारमाथि चोरझैं आइलाग्नुहुनेछ। सदोम र गमोराका शहरहरूमाथि अचानक गन्धक र आगो बर्से झैं उहाँले यस संसारलाई भस्म पार्नुहुनेछ।  

आउन लागेको न्यायका चिन्हाहरू के-के हुन्? 

आउन लागेको न्यायका चिन्हहरू हामीलाई चेताउनीको रूपमा दिइएका छन्। हाम्रो चारैतिर यी चिन्हहरू देखा परेका छन्। कसले यो ख्याल गरेको छ? अनिकाल, भुइँचालो, आँधीबेहरी, महामारीहरू प्रशस्त मात्रामा बढ़ेका छन्। झूटो शिक्षाको जाल फैलाउनेहरू र झूटा चमत्कार देखाउनेहरूले जताततै काम गरिरहेका छन्। हाम्रो सामु धेरै इस्राएलीहरू आफ्नो देशतिर फर्किगएका छन्। यो एउटा अचम्मको कुरा हो। किनकि उन्नाइस सय वर्ष बितेपछि यहूदीहरूको विषयमा परमेश्वरले दिनुभएको भविष्यवाणी हाम्रा आँखाहरूको अगाड़ि पूरा भयो। मध्येपूर्व एशियामा घरिघरि चल्ने लड़ाइँहरू, झगड़ाहरू, संसारभरि आर्थिक समस्या र महँगीहरू छँदैछन्। एक विशाल, तर झूटो इसाई धर्मको विश्वमण्डली, संयुक्त राष्ट्रको संघको एकमतको शासन, महायुद्धको निम्ति चारैतिर भइरहेको हातहतियारहरूको तयारी आदि। यी सबै कुराहरू प्रभु येशूको दोस्रो आगमनका चिन्हहरू हुन्। हुन सक्छ, प्रभु येशू दुई-चार वर्ष ढिलो गर्न सक्नुहुन्छ, तर सायद उहाँ हामीले सोचेको समयभन्दा छोटो आउनुहुनेछ कि? यसकारण आफ्नो जीवन जाँच्नुहोस्! प्रभु येशूको यस आगमनको निम्ति तयार हुनुहोस्! 

कति दिन परमेश्वरले आफूलाई न्याय गर्नदेखि रोकिराख्नुहुन्छ? संसारका पापहरू र अधर्महरू दिन प्रतिदिन बढ्दैछन्। उहाँले यी घिनलाग्दा कामकुरा- हरू कति समयसम्म सहनुहुन्छ? व्यभिचार, फोहोरीपन, अश्लीलपन, बलात्कार, मूर्तिपूजा, मन्त्रतन्त्र, स्वार्थीपन, चोरी, हत्या, पैसाको लोभ, विलासीपन, कपटीपन, छल, फूट र गनगनाहटहरूले कति दिन परमेश्वरमा धार्मिक रिस नजगाउलान्? कति दिन हाम्रा पापहरूप्रति परमेश्वरले आफ्ना आँखाहरू बन्द गर्नुहुन्छ? के तपाईंले यस विषयमा सोच्नुभएको छ? 

कति मानिसहरू भन्छन्ः 'म ईश्वरमा विश्वास राख्छु, उहाँको भक्ति गर्छु।' तब मेरो प्रश्न छः तपाईंले कुनचाहिँ ईश्वरको भक्ति गर्नुभएको? के तपाईंले एकमात्र सत्य परमेश्वरलाई चिन्न भएको र उहाँको भक्ति गर्नुभएको छ? एकमात्र सत्य र जीवित परमेश्वरको भक्ति गर्नलाई हामीले प्रभु येशू परमेश्वरको एकमात्र पुत्रलाई चिन्नुपर्छ। किनकि कि त आज, कि त भोलि, कि त पर्सि कुनै दिनमा उहाँ आउनुहुनेछ। प्रभु येशूको सामु हामीले घुड़ा टेकेर आफ्नो जीवनको लेखा दिनुपर्नेछ। किनभने उहाँ नै परमेश्वर हुनुहुन्छ। यसकारण समय छँदै हामी परमेश्वरकहाँ सम्पूर्ण हृदयले फर्कनु हो भने हामीले प्रभु येशूमाथि विश्वास गर्नुपर्छ। 

परमेश्वरले सबै मानिसहरूलाई बचाउन चाहनुहुन्छ 

परमेश्वरले कोही पनि नष्ट भएको चाहनुहुन्न। एउटा मानिस पनि महासङ्कष्टमा परेको वा आफ्ना पापहरूको दण्ड पाएको चाहनुहुन्न। उहाँ हरेक मानिसलाई कल्याण गर्नुहुन्छ र हृदयदेखि माया गर्नुहुन्छ। सबै मानिसहरूले मुक्ति पाऊन्, र सबैजना सत्यको ज्ञानमा आऊन् भन्ने इच्छा उहाँमा छ। उहाँले आफूकहाँ फर्कि आउने कुनै मानिसलाई इन्कार गर्नुहुन्न, तर उसलाई बचाउनुहुन्छ। चाहे तपाईंले गर्नुभएका पापहरू जति ठूला किन नहोऊन्, साँचो पश्चात्तापको फलस्वरूप प्रभु येशूले तपाईंलाई पापको क्षमा दिनुहुन्छ। 

परमेश्वरको एकमात्र पुत्र प्रभु येशू यस संसारमा आउनुभयो। उहाँले क्रूसमा हाम्रा निम्ति र हाम्रो सट्टामा हाम्रा सबै पाप र अधर्महरूको सजाय भौग्नुभयो। उहाँमाथि हामीले भोग्नुपर्ने दण्ड आइपस्यो। निर्दोष हुनुभएको प्रभु येशूले असाध्य दुःखकष्ट सहनुभयो, र क्रसमा पापबलि भएर मर्नुभयो। मरेको तेस्रो दिनमा उहाँ फेरि जिउँदो भएर मरेकाहरूको बीचबाट उठ्नुभयो। उहाँ स्वर्ग चढ़ी जानुभयो र परमेश्वरको दाहिने हातपट्टि विराजमान हुनु- भएको छ। उहाँ सबैका प्रभु हुनुहुन्छ। प्रभु येशू मेरा व्यक्तिगत प्रभु र मुक्तिदाता हुनुहुन्छ भन्ने कुरा हामीले हृदयले विश्वास गर्नुपर्छ र मुखले स्वीकार गर्नुपर्छ। 

के तपाईंले प्रभु येशूमा पापको क्षमा र एउटा नयाँ जीवन पाउनुभएको छ? के परमेश्वरले तपाईंलाई अनन्त जीवनको दान दिनुभएको छ? के तपाईंको हृदयभित्र एक अद्भुत र अचम्मको शान्ति आएको छ? के तपाईंले प्रभु येशूमाथि हृदयदेखि विश्वास गर्नुभएको छ र उहाँलाई आफ्नो प्रभु र मुक्तिदाताको रूपमा ग्रहण गर्नुभएको छ? यस्तो गर्नुभएको छ भने तपाईं खुशीसाथ भन्न सक्नुहुन्छः प्रभु येशू मेरा प्रभु हुनुहुन्छ। उहाँको आगमनको लागि, उहाँलाई भेट्नको लागि म तयार छु। तर फलाना गिर्जा, फलाना धार्मिक संस्थाको सदस्यसदस्या हुँ भनी तपाईंले घमण्ड नगर्नुहोला। यस प्रकारको कुराले हामीलाई केही लाभ हुँदैन। धार्मिक विधिविधानहरूमा, धर्मकर्महरूमा भरोसा नगर्नुहोस्! पुर्खाहरूदेखि नै, जन्मदेखि नै हामी ख्रीष्ट्यान हौं भनेर तपाईं भूलमा नपर्नुहोला। यसरी नै साँचो ख्रीष्ट - विश्वासी हुने नै होइन। बुबाआमाको विश्वासले छोराछोरीहरूलाई बचाउँदैन। विश्वास व्यक्तिगत हुनुपर्छ। परमेश्वरलाई चढाउनुभएका भेटीहरू, दुःखीहरूलाई दिनुभएका दानहरू, तपाईंले गर्नुभएको कुनै सुकर्ममा भर नपर्नुहोस्! तपाईंलाई मुक्ति दिनुहुने प्रभु येशूमाथि विश्वास र भरोसा गर्नुहोस्! 

परमेश्वरसँग तपाईंको सम्बन्ध सठीक छ कि छैन? जाँचेर हेर्नुहोस्! ठीक छैन भने उहाँसित आफ्नो सम्बन्ध सठीक पार्नुहोस् र उहाँसितको सम्बन्ध कायम राख्नुहोस्! तपाईं मोजमज्जा, खेलतमाशा, नाचगान र मनोरञ्जनको निम्ति जिउनुभयो भने गहिरो प्रकारले तपाईंले फेरि एकपल्ट आफ्नो आत्मिक अवस्थाको विषयमा सोच्नुपर्ला। सांसारिक जीवनबाट तपाईंलाई के लाभ छ र? परमेश्वरलाई भन्दा बढ्ता प्रेम गर्नुभएको जुनसुकै चीज परमेश्वरको दृष्टिमा मूर्ति, हृदयभित्रको मूर्ति हो। यसलाई फाल्नुहोस्! हृदयदेखि स्वार्थ, इर्ष्या, कुइच्छा, पैसाको लोभलालच, धनसम्पत्तिको माया छोड्नुहोस्! कुनै चीज परमेश्वरलाई भन्दा बढ़ी माया नगर्नुहोस्! न इष्टमित्रहरू न आफन्तहरू, न बुबाआमा न छोराछोरीहरू, न आफ्नी पत्नीलाई वा आफ्ना पतिलाई प्रभु येशूलाई भन्दा बढ्ता प्रेम नगर्नुहोस्! नत्र ता परमनेश्वरको प्रेम तपाईंभित्र वास गर्दैन। बरु प्रभु येशूको ठूलो प्रेमले गर्दा यी सबै थोकहरू पछिल्तिर राख्नुहोस्! 

तपाईं प्रभु येशूको दोस्रो आगमनको निम्ति तयार हुनुहुन्न भने अहिले नै प्रभु येशूको चरणमा पर्नुहोस्! आफ्ना सबै कुराहरू उहाँसित ठीक पार्नुहोस्! आफ्नो आत्मिक अवस्था जाँचेर हेर्नुहोस्! तपाईं ख्रीष्टमा हुनुहुन्छ कि हुनुहुन्न? आज नै तपाईंको जीवन प्रभु येशूको हातमा सुम्पनुहोस्! उहाँ तपाईंलाई प्रेम गर्नुहुने मुक्तिदाता हुनुहुन्छ। उहाँ तपाईंको जीवनमा एक अचम्मको काम गर्नुहुन्छ। प्रभु येशूलाई पुकार्नुहोस् र उहाँलाई आफ्नो मनका कुराहरू बताउनुहोस्! आफ्ना पापहरू मानिलिनुहोस्! तपाईंको यो कर्तव्य पूरा गर्नुहोस्, तब परमेश्वरले पनि आफ्नो प्रतिज्ञा पूरा गर्नुहुनेछ र तपाईंलाई मुक्ति र अनन्त जीवन दिनुहुनेछ। उहाँतिर फर्कनुहोस् र परमेश्वरको क्रोधदेखि बाँच्नुहोस्! 

तपाईंको निर्णयमा तपाईंको नियति भर पर्छ 

परमेश्वर भन्नुहुन्छः मेरो आत्मा मानिसहरूसित सधैंभरि संघर्ष गरिरहनेछैन। हामी संसारको चरमोत्कर्षमा आइपुगेका छौं, यस युगको अन्ततिर पुगेका छौं। यसकारण मानिसहरूलाई जित्नको निम्ति दुईवटा शक्तिहरूले खूब कोशिश गरिरहेका छन्। एकातिर दुष्ट आत्मा शैतानले मानिसहरूलाई आफ्नो वशमा ल्याउन र पापमा फसाउन खोज्छ भने अर्कातिर परमेश्वरको कृपामय हातले मानिसहरूलाई पश्चात्तापमा डोरयाउन चाहन्छ। उहाँले हरेक पुरुष र हरेक स्त्रीलाई, हरेक केटा र हरेक केटीलाई अनन्त बिजोक र पीड़ाबाट बचाउन चाहनुहुन्छ। के तपाईं आफ्ना पापहरूको सम्बन्धमा पछुतो मान्न तयार हुनुहुन्छ? शैतानचाहिँ परमेश्वर र मानिसको शत्रु हो। शैतान नरकको दोषी भइसकेको छ। त्यसले आफ्नो कामको प्रतिफल पाउने नै छ। यो सुनिश्चित छ। तर कसैले स्वर्गको सुख उपभोग गर्न नपाओस् भन्ने हेतुले त्यसले सबै मानिसहरूलाई, तपाईंलाई पनि, त्यस नरककुण्डमा पुरयाउन चाहन्छ। यसैकारणले त्यसले सबै असल कुराहरूलाई घृणा गरेर निन्दा गरिरहन्छ। त्यसले परमेश्वरको काममा सधैं बाधा पार्छ। त्यसको कुरा सुन्नेहरू सबै नष्ट हुनेछन्; किनकि त्यसले झूट बोल्छ र झूट मात्र बोल्न जान्दछ। 

यसो भए पनि परमेश्वरको अनुग्रहमय बचाउने कार्य चलिरहेकै छ, र अघि बढ्दै जान्छ। परमेश्वरको पवित्र आत्माले हरेक मानिसलाई पापको विषयमा र पापले कमाएको दण्डको बारेमा कायल पार्दै उसलाई अनन्त विनाशदेखि फर्काउने काम गर्नुहुन्छ। मानिसको अमूल्य आत्मालाई जित्‍ने काम बलको युद्ध होइन; किनभने परमेश्वर त सर्वशक्तिमान् हुनुहुन्छ, अनि शैतानको शक्ति सीमित छ। चलिरहेको युद्ध त मानिसहरूको हृदयमा पो चल्दैछ। परमेश्वरले कुनै पनि मानिसलाई जबरजस्ती गर्नुहुन्न। मानिसले आफ्नो इच्छाले प्रभु येशूमाथि विश्वास गर्नुपर्छ। कसैले परमेश्वरको महान् प्रेम र ख्रीष्ट येशूमा तयार गर्नुभएको मुक्ति इन्कार गर्न चाहन्छ भने उसले यसो गर्न सक्छ। तर उसले आफ्नो निर्णयअनुसारको फल भोग्नैपर्छ। प्रभु येशूलाई इन्कार गर्ने हरेक मानिस अनन्ज विनाशमा जाने नै छ। यसकारण कि त परमेश्वरको ठूलो मुक्तिको प्रबन्ध ग्रहण गरिन्छ, कि त अग्निसागरमा डुबेर आफ्ना पापहरूको दण्ड बोकिन्छ। यसबाहेक रोज्ने अरू कुनै कुरा छैन। प्रभु येशूको सुसमाचारद्वारा परमेश्वरले आज जाति-जातिका सबै मानिसहरूलाई मुक्तिको दान पाउने निम्तो दिनुहुन्छ, र तिनीहरूको सामु मेलमिलापको सर्त राख्नुहुन्छ। सबैजनाले प्रभु येशूमा भएको मुक्ति ग्रहण गरून् - यो परमेश्वरको तीव्र इच्छा हो। परमेश्वर भन्नुहुन्छः ‘दुष्ट मानिसको मृत्यु म चाहन्नँ, तर बरु दुष्ट मानिसले आफ्नो चाल त्यागेर बाँचोस् - म त्यही चाहन्छु। आफ्नो दुष्ट चाल त्याग, त्यसलाई त्यागिहाल; तिमीहरू किन मर्न चाहन्छौ?' (इजकिएल ३३:११) 

परमेश्वरको वचन पवित्र बाइबलमा परमप्रभुले भविष्यमा आइपर्ने कुराहरूमा मुख्य उद्देश्य यही राख्नुभएको छः हामी आउन लागेको परमेश्वरको क्रोधबाट भागौं, उहाँको कृपा खोजौं र बाँचौं। 

'जबसम्म परमप्रभुलाई भेट्टाउन सकिन्छ, तबसम्म उहाँको खोजी गर! जबसम्म उहाँ नजिक हुनुहुन्छ, तबसम्म उहाँलाई पुकार गर! दुष्टले आफ्नो चाल र अधर्मीले आफ्नो सोचविचार त्यागोस्, र परमप्रभुकहाँ फर्कोस्, उहाँले उसमाथि कृपा देखाउनुहुनेछ। हाम्रा परमेश्वरकहाँ ऊ फर्कोस्, र उहाँले उसलाई प्रशस्त गरी क्षमा गर्नुहुनेछ।' (यशैया ५५:६-७) 

सभ्यताको नाममा अचेल भइरहेको दुष्टता, भ्रष्टचार, व्यभिचार, कपटीपन आदि नियालेर हेरौं भने हामीले संसारलाई पापले ग्रस्त भएको पाउँछौं मानिससित परमेश्वरको आत्मा सधैंभरि संघर्ष गर्नुहुन्न। हालमा परमेश्वरले आफूलाई संसारको न्याय गर्नदेखि रोक्नुभएको छ। यसको एउटा कारण यो होः 

‘कतिले ढिलाइ सम्झेझैं प्रभु आफ्नो प्रतिज्ञाको सम्बन्धमा ढिलो गर्नुहुन्न; तर कोही पनि नष्ट नहोस्, तर सबैले पश्चात्ताप गरून् भन्ने इच्छा राखेर उहाँले हामीप्रति धीरज देखाउनुहुन्छ। तर प्रभुको दिनचाहिँ राति चोर आएझैं गरी आउनेछ, जुन दिनमा आकाशहरू र पृथ्वी र त्यसमा भएका कामहरू जलेर शेष हुनेछन्।' (२ पत्रुस ३:९-१०) 

यी आखिरी दिनहरूमा परमेश्वर आफूले छान्नुभएको झुण्डमा भित्र्याउन लागेको बाँकी रहेको भागका मानिसहरूलाई बटुल्दै हुनुहुन्छ। अब चाँड़ै यसको सङ्ख्या पूरा हुनेछ। तब अनुग्रहको समय सिद्धिनेछ। प्रभु येशूका सच्चा विश्वासीहरूको झुण्ड, उहाँको मण्डली प्रभुलाई भेट्नको निम्ति आकाशमा उठाइनेछ। त्यसपछि महासङ्कष्ट शुरु हुनेछ। 

पाठक मित्र, परमेश्वरले नियुक्त गर्नुभएको मुक्तिदाता प्रभु येशूको विषयमा तपाईंले के निर्णय गर्नुभएको छ? के तपाईं प्रभु येशूका सच्चा विश्वासीहरूको साथमा प्रभुलाई भेट्न परमेश्वरको घरतिर उठाइनुहुनेछ? अथवा के तपाईं विनाशको लागि पृथ्वीमा छोडिनुहुनेछ? ठीक प्रकारको निर्णय गर्नुहोस्! यस कुरामा निश्चित हुनुहोस्! 

अहिले यस अनुग्रहको समयमा तपाईं प्रभु येशूलाई ग्रहण गर्नुभएन भने, पछि महासङ्कष्ट चल्दै गर्दा प्रभुको नाम पुकार्न तपाईंलाई अति गाह्रो हुनेछ। महासङ्कष्ट भयानक हुनेछ। त्यस बेला प्रभु येशूको नाम स्वीकार गर्ने हरेक मानिसलाई तुरुन्तै मारिनेछ। यसकारण परमेश्वरले तपाईंलाई बचाउने हिसाबले आज नै तपाईंलाई यसो भन्दै आग्रह गर्नुहुन्छः 'हेर, ग्रहणयोग्य समय अहिले नै हो; हेर, मुक्तिको दिन अहिले नै हों (२ कोरिन्थी ६:२)। 

के तपाईंलाई यो कुरा थाहा छैन, कि तपाईंका पापहरूले तपाईंलाई नरकतिर खिच्दैछन्? यी पापहरूको क्षमा तपाईंले आफ्नो मृत्यु हुनुअघि पाउनुपर्छ। भरे, भोलि के हुने हो, सो तपाईंको हातदेखि बाहिरको कुरा हो। भोलि तपाईं महासङ्कष्टमा वा नरकको आगोमा परिसक्नुभएको सम्भवना छ। तपाईंलाई के थाहा? यसैले आज नै सठीक निर्णय गरेर आफ्नो भविष्य निर्माण गर्नुहोस्! 

सायद तपाईंको निम्ति कति कुरा बुझ्न कठिन होला। तपाईंले निर्णय गर्नुभन्दा अघि आफ्नो केही कुरा मिलाउन समय पाउन चाहनुहुन्छ होला। तर याद गर्नुहोस्! पहिले परमेश्वरसँग मिलाप राखेर उहाँसितको सम्बन्ध सठीक पार्न बुद्धिको कुरा हो। पहिला मुक्ति पाउनुहोस्! एक दिन निर्णय गर्न सक्ने समय तुर्नेछ। तपाईंले बहाना नगर्नुहोला। आफ्नो परिवार, आफ्नो जात र आफ्नो धर्म हेर्ने काम छैन। धनदौलत, पढ़ाइ र इज्जतको सवाल बाजीमा नराखौं! तपाईंलाई विश्वास गर्नमा बाधा दिने सबै कुराहरू पन्साएर प्रभुको चरणमा पर्नुहोस्! अब धेरै समय छैन। यस सम्बन्धमा निर्णय पर सार्नु, समय खेर फाल्नु पाप हो। आगोसित खेले पोलिन्छ, डढ़िन्छ। आफ्ना पापहरू नत्यागे ती पापहरूले तपाईंलाई नाश गर्नेछन्। तपाईं कुन कुराको चाह गर्नुहुन्छ? तपाईं परमेश्वरको डरलाग्दो न्यायबाट, नरकको ननिभ्ने आगोबाट उम्कने मोड़मा पुग्नुभएको छ। आज मुक्ति पाउनुहोस्! 

मुक्ति पाउन मैले के गर्नुपर्छ? यो तपाईंको प्रश्न हो भने यसको उत्तर यहाँ दिऔंः परमेश्वरले नियुक्ति गर्नुभएको मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई विश्वासद्वारा ग्रहण गर्नुपर्छ। उहाँ तपाईंका निम्ति क्रसमा मर्नुभयो। उहाँको नाममा पापको क्षमा छ। उहाँ मरेको तेस्रो दिनमा बौरिउठ्नुभएको प्रभु हुनुहुन्छ; उहाँमाथि विश्वास गर्नुपर्छ। यसरी नै तपाईंले मुक्ति पाउनुहुनेछ, र बाँच्नुहुनेछ। 

तपाईंको निम्ति परमेश्वरले गर्नुभएका प्रतिज्ञाहरू 

परमेश्वरको वचन पवित्र बाइबलबाट हामी यहाँ तपाईंको निम्ति केही प्रतिज्ञाहरू पेश गर्दछौं। परमेश्वरका यी प्रतिज्ञाहरूमा तपाईंले ध्यान दिनुहोला। परमेश्वरको विश्वासयोग्य र नित्य रहने वचनमाथि भर परेर आफ्नो विश्वास स्थापित गर्नुहोस्! 

'हामीले आफ्ना पापहरू स्वीकार गरयौं भने हामीलाई हाम्रा पापहरू क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्न उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ।' (१ यूहन्ना १:९) 

परमेश्वर सारा सृष्टिको मालिक हुनुहुन्छ। यसकारण उहाँले आफ्नो अधिकार-क्षेत्रभित्र आफ्ना नियमहरू कायम राखिएका चाहनुहुन्छ। कसैले उहँको नियम भङ्ग गरेर पाप गर्छ भने परमेश्वरको यस कुराको बेवस्ता गर्न सक्नुहुन्न। उहाँ धार्मिक न्यायाधीश हुनुहुन्छ। यसकारण उहाँले मानिसहरूका पाप र अधर्महरू सहन सक्नुहुन्न। उहाँले पापको सजाय दिनुपर्छ। तर प्रभु येशू तपाईं र मेरा पापहरूको निम्ति क्रसमा मर्नुभयो। उहाँले हाम्रो सट्टामा परमेश्वरको पट्टिबाट हाम्रा पापहरूको दण्ड भोग्नुभयो। यसकारण उहाँले हाम्रा पापहरू क्षमा गर्न सक्नुहुन्छ। हाम्रो जिम्मेवारी यस प्रकारको छः नम्र भईकन हामीले प्रभु येशूको सामु आफ्ना पापहरू मानिलिनुपर्छ। 

'किनकि हामीलाई परमेश्वरकहाँ पुरयाउन ख्रीष्टले पनि यी धर्मी जनले अधर्मीहरूका निम्ति - एकपल्ट पापहरूको लागि दुःख भोग्नुभयो र शरीरमा मारिनुभयो, तर आत्मामा जीवित पारिनुभयो। (१ पत्रुस ३:१८ ) तपाईंले आफ्ना पापहरूको कारण मर्नुपर्नेथियो। पापको सजाय तपाईंले नै भोर्नुपर्नेथियो। तर परमेश्वरले हामीलाई प्रेम गर्नुभयो र प्रभु येशूमा हाम्रो निम्ति पापको क्षमा पाउने प्रबन्ध गर्नुभयो। यसो गर्नको निम्ति प्रभु येशू क्रसमा मर्नुभयो र मरेको तेस्रो दिनमा फेरि जिइउठ्नुभयो। यसरी नै उहाँ हामीलाई परमेश्वरकहाँ पुस्त्राउनमा पूरा सक्षम हुनुभयो। उहाँको माध्यमद्वारा हामी परमेश्वरसँग मेलमिलाप राख्न सक्छौं। आउनुहोस्, हामी प्रभु येशूकहाँ जाऔँ र सृष्टिकर्ता परमेश्वरसँग मिलाप राखौं! 

'अनि जसरी मानिसहरूको निम्ति एकपल्ट मरण र त्यसपछि न्याय नियुक्त गरिएको छ, त्यसरी नै ख्रीष्ट पनि धेरैजनाका पापहरू बोक्नका निम्ति एकपल्ट बलि हुनुभयो। अनि उहाँको बाटो हेर्नेहरूकहाँ मुक्तिको निम्ति उहाँ दोस्रो पल्ट बिनापाप देखा पर्नुहुनेछ।' (हिब्रू ९:२७-२८) 

मृत्यु र न्याय: यी दुईवटा कुराहरू हरेक मानिसको निम्ति निश्चय गरिएका हुन्छन्। मानिस न मृत्युबाट न न्यायबाट उम्कन सक्छ। किनभने यी दुईवटा कुराहरू परमेश्वरले आफ्नो इच्छाअनुसार खटाउनुभएको छ। तर जसरी मृत्यु र न्याय तोकिएको छ, त्यसरी नै प्रभु येशूमा मुक्ति र अनन्त जीवन पनि सुनिश्चित छन्। यसकारण तपाईंले कुन कुराको बाटो हेर्नुहुन्छ? मृत्यु र न्यायको डरलाग्दो सजायको बाटो कि प्रभु येशू ख्रीष्टको दोस्रो आगमनको बाटो हेर्नुहुन्छ? तपाईं कुन आशामा जिउनुहुन्छ? प्रभु येशूको बाटो हेर्नेहरू सबैले मुक्ति पाउनेछन्। 

‘तर जतिले प्रभु येशूलाई ग्रहण गरे, तिनीहरूलाई उहाँले परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो, अर्थात् तिनीहरूलाई जसले उहाँको नाममाथि विश्वास राख्छन्।' (यूहन्ना १:१२) 

परमेश्वरले तपाईंलाई आफ्नो सन्तान तुल्याउने इच्छा गर्नुहुन्छ। यस्तो ठूलो अधिकार र सौभाग्य पाउन तपाईंले प्रभु येशूलाई आफ्नो व्यक्तिगत प्रभु र मुक्तिदाताको रूपमा ग्रहण गर्नुपर्छ। जसले मुक्ति पाउन प्रभु येशूको नाममाथि विश्वास राख्छ, उसलाई परमेश्वरले धर्मपुत्र- धर्मपुत्री तुल्याईकन आफ्नो परिवारभित्र ग्रहण गर्नुहुन्छ। परमेश्वरको सन्तान भईकन तपाईं अनन्त जीवन र स्वर्गको हकदार हुनुहुन्छ, परमेश्वरका आशिषहरूको भागी हुनुहुन्छ। यसकारण प्रभु येशूको मीठो र उच्च नाम पुकार गर्नुहोस्! येशूको नाममा मुक्ति छ। 

‘किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्नो एकमात्र पुत्रलाई यस हेतुले दिनुभयो, कि प्रभु येशूमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर उहाँमाथि विश्वास गर्ने हरेकले अनन्त जीवन पाओस्।' (यूहन्ना ३:१६) 

परमेश्वरले तपाईंलाई र मलाई गहिरो प्रेमले प्रेम गर्नुहुन्छ। उहाँ हामीलाई नाश भएको चाहनुहुन्न, तर बरु हामी अमर रहेको इच्छा गर्नुहुन्छ। प्रभु येशूलाई पापबलिको रूपमा दिएर परमेश्वरले हामीप्रति आफ्नो प्रेमको प्रमाण दिनुभयो। प्रभु येशूमाथि विश्वास गरेर परमेश्वरको प्रेम ग्रहण गरिन्छ। 

‘यदि तपाईंले प्रभु येशूलाई आफ्नो मुखले स्वीकार गर्नुहुन्छ र परमेश्वरले उहाँलाई मरेकाहरूबाट बौराएर उठाउनुभएको कुरा आफ्नो हृदयले विश्वास गर्नुहुन्छ भने तपाईंले मुक्ति पाउनुहुनेछ।' (रोमी १०:९) 

मुक्ति कसरी पाइन्छ? यस सम्बन्धमा परमेश्वरको वचन पवित्र बाइबलमा कुरा सफासँग लेखिएको छ। मुक्ति पाउने तरिका सजिलो छ। बालकले यसको उपाय बुझ्न सक्छ। अँ, प्रौढहरूभन्दा बरु नानीहरूले मुक्ति पाउन सक्छन्; किनकि तिनीहरूले शङ्का गर्दैनन्, र परमेश्वरको उपहार खुशीसाथ ग्रहण गर्छन्। प्रौढ़हरूमा धेरैले प्रभु येशूमा ठेस खान्छन्। किनभने तिनीहरूले मुक्ति दानको रूपमा ग्रहण गर्न चाहँदैनन्, तर मुक्तिको निम्ति धर्मकर्म गर्न चाहन्छन्। तिनीहरूले धर्मका नियमहरू पालन गरेर मुक्ति कमाउन खोज्छन्। तर ख्रीष्ट येशूमा परमेश्वरले तयार गर्नुभएको मुक्ति यसरी पाइँदैन। पापी मानिसले परमेश्वरको सामु निगाह पाउनुपर्छ। मानिस परमेश्वरको सामु झुक्नुपर्छ; किनभने ऊ अघिबाट दोषी भइसक्यो। सम्पूर्ण हृदयदेखि प्रभु येशूमाथि विश्वास राख्नु र मुखले उहाँलाई पुकार्नुबाहेक अरू कुनै काम मानिसले गर्नुपर्दैन। अरू कुनै काम परमेश्वरको दृष्टिमा ग्रहणयोग्य ठहरिँदैन। कि त हामीले प्रभु येशूमाथि विश्वास गरेर परमेश्वरको कृपादृष्टि पाउँछौं, कि त मुक्ति पाउँदै पाउँदैनौं। के तपाईंले मुक्ति पाउनुभयो? 

‘हामी आफैले गरेका धर्मकर्महरूले होइन, तर परमेश्वरको कृपाअनुसार उहाँले हामीलाई मुक्ति दिनुभयो- नयाँ जन्मको स्नान र पवित्र आत्माबाटको नवीकरणद्वारा।' (तीतस ३:५) 

धर्मकर्महरू गर्ने मानिसले ईश्वरको भक्ति गरेको हुनाले मुक्ति पाउने चेष्टा गर्छ र मुक्ति कमाउन खोज्छ। उसमा घमण्ड छ; तर यस प्रकारको गर्व-गराइ परमेश्वरको सामु ग्रहण गरिँदैन। हामी पापी मानिस भएका हुनाले हामीले उहाँको कृपा पाउनुपर्छ। धर्मकर्मद्वारा होइन, तर परमेश्वरको अपार कृपाद्वारा नै मुक्ति पाइन्छ। के तपाईं यो कुरा मान्न तयार हुनुहुन्छ? यस प्रकारले मुक्ति पाएको मानिसको जीवनमा परमेश्वरले एउटा अचम्मको काम गर्नुहुन्छ। नयाँ जन्मद्वारा उहाँले हामीमा अनन्त जीवन उत्पन्न गर्नुहुन्छ। उहाँको पवित्र आत्माद्वारा परमेश्वरले हामीलाई एउटा नयाँ सृष्टि तुल्याउनुहुन्छ। तपाईंले धर्मकर्महरू यसको बीचमा नहाल्नुहोला; नत्र कुरा बिग्रिन्छ। मुक्ति पाउने सम्बन्धमा धर्मका कामहरू व्यर्थ हुन्। मुक्ति दिने काम सम्पूर्ण रूपले परमेश्वरको हो। धन्य त्यो मानिस, जसले आफ्नो जीवन प्रभु येशूको हातमा सुम्पन्छ किनभने उसले सित्तैंमा मुक्ति पाउँछ। 

'किनकि हामी सबैजना अशुद्ध मानिसहरूजस्ता छौं; अनि हाम्रा धर्मकर्महरू फोहोर थाङ्नाजस्तै छन्।' (यशैया ६४:६) 

हामी पापले भरिएका मानिसहरू हुन्छौं। यसो भए हामीले परमेश्वरलाई के दिन सक्छौं त? पवित्र परमेश्वरको दृष्टिमा हाम्रा धर्मका कामहरू फोहोर थाङ्ना गनिएका छन्। तब हामी परमेश्वरलाई कसरी खुशी पारौं? तल उल्लेख गरिएको पदले हामीलाई यसको उत्तर दिन्छ। 

‘किनकि विश्वासद्वारा निगाह पाएर तिमीहरूले मुक्ति पाएका छौ; अनि यो तिमीहरू आफैबाटको होइन, तर यो त परमेश्वरको वरदान हो। कामहरूबाट मुक्ति पाइँदैन, नत्र ता कसैले घमण्ड गर्छ।' (एफेसी २:८-९) 

मुक्ति एउटा दान हो। प्रभु येशूमाथि विश्वास गर्ने हरेक व्यक्तिलाई परमेश्वरले यो दान सित्तैंमा दिनुहुन्छ। परमेश्वरको अपार प्रेम कामले कमाउन सकिँदैन। एउटा उपहार कसरी पाइन्छ, कसरी ग्रहण गरिन्छ? आफ्ना हातहरू बढ़ाउनुहोस् र परमेश्वरको वरदान ग्रहण गर्नुहोस्, र परमेश्वरलाई धन्यवाद चढाउनुहोस्! सित्तैंमा उपलब्ध भएको मुक्ति यसरी नै ग्रहण गर्नुपर्छ। 

‘अनि प्रभु येशूले तिनीहरूलाई भन्नुभयोः परमेश्वर पिताले मलाई जतिजना दिनुहुन्छ, ती सबैजना मकहाँ आउनेछन्; अनि मकहाँ आउने जुनैपनि व्यक्तिलाई म कुनै तवरले अफाल्नेछैनँ।... साँचो, साँचो म तिमीहरूलाई भन्दछुः जसले ममाथि विश्वास गर्छ, ऊसँग अनन्त जीवन छ।' (यूहन्ना ६:३७ र ४७ ) 

यी दिव्य वचनद्वारा प्रभु येशूले तपाईंलाई उहाँकहाँ आउने निम्तो दिनुहुन्छ। उहाँले कसैलाई पनि इन्कार गर्नुहुन्न। उहाँको यो निम्तो, उहाँको अपार प्रेम, उहाँको मुक्तिको दान, उहाँमा हुने अनन्त जीवन अविश्वास गरेर इन्कार नगर्नुहोस्! 

अब मुक्तिको सम्बन्धमा निचोड़मा हामी परमेश्वरको वचनका तीनवटा मुख्य बुँदा पेश गरेर तपाईंलाई फेरि एकपल्ट याद दिलाउँछौं: 

क) आफ्ना पापहरूको विषयमा पछुताउनुहोस्! प्रभु येशूको नाम पुकारेर आफ्ना पापहरू मानिलिनुहोस्! यसकारण यसो भन्नुहोस्ः ‘म एक अधम पापी हुँ; परमेश्वरको विरोधमा म बारम्बार पाप गर्दै आएको छु। यसकारण म मनमा दु:खित छु। म पछुताउँछु। विनम्र भई म अब परमेश्वरकहाँ फर्कन्छु र आफ्ना पापहरू मानिलिन्छु।' 

ख) परमेश्वरको एकमात्र पुत्र प्रभु येशू यस संसारमा आउनुभयो। उहाँले क्रूसमा हाम्रो सट्टामा हाम्रा पापहरूको सजाय भोग्नुभयो। उहाँमाथि हामीले भोग्नुपर्ने दण्ड आइपरयो। निर्दोष हुनुभएको प्रभु येशूले असाध्य दुःखकष्ट सहनुभयो, र क्रूसमा पापबलि भएर मर्नुभयो। मरेको तेस्रो दिनमा उहाँ फेरि जिउँदो भएर मरेकाहरूको बीचबाट उठ्नुभयो। उहाँ स्वर्ग चढ़ी जानुभयो र परमेश्वरको दाहिने हातपट्टि विराजमान हुनुभएको छ। उहाँ सबैका प्रभु हुनुहुन्छ। प्रभु येशू मेरा व्यक्तिगत प्रभु र मुक्तिदाता हुनुहुन्छ भन्ने कुरा हामीले हृदयले विश्वास गर्नुपर्छ र मुखले स्वीकार गर्नुपर्छ। 

ग) प्रभु येशूलाई आफ्नो प्रभु र मुक्तिदाताको रूपमा अाउनु हो भने हामीले आफ्नो सम्पूर्ण जीवन उहाँको हातमा सुम्पनुपर्छ, र त्यसपछि जीवनभरि उहाँको पछि लाग्नुपर्छ। 

के तपाईंले प्रभु येशूलाई ग्रहण गर्न चाहनुहुन्छ? यदि तपाईं यसो गर्न तयार हुनुहुन्छ भने तल दिइएको प्रार्थनाअनुसार एकमात्र सत्य र जीवित सृष्टिकर्ता परमेश्वरलाई पुकार्नुहोस्! 

प्रभु येशूलाई ग्रहण गर्न मेरो प्रार्थना र समर्पण: 

'हे मेरा सृष्टिकर्ता परमेश्वर, म एक पापी मानिस हुँ; दिन प्रतिदिन मैले तपाईंको विरोधमा पाप गरेको छु। यसकारण म तपाईंलाई आज पुकार्छु र मेरा सबै पापहरू तपाईंको सामु मानिलिन्छु। मेरा सबै पापहरू क्षमा गर्नुहोस्! प्रभु येशूमाथि विश्वास राखेर र उहाँको ठूलो प्रेममा भरोसा राखेर मैले तपाईंकहाँ आउने हिम्मत पाएको छु। किनभने प्रभु येशू मजस्तो पापी मानिसलाई बचाउन मेरा निम्ति क्रसमा मर्नुभयो। उहाँले मेरा सबै पापहरूको सजाय भोग्नुभयो। तीन दिनपछि उहाँ मरेकाहरूबाट फेरि जिउँदो हुनुभयो। उहाँले मृत्युलाई जित्नुभयो। प्रभु येशू सबैका प्रभु भईकन स्वर्गमा राज्य गर्नुहुन्छ। यसकारण म उहाँलाई मेरा व्यक्तिगत प्रभु र मुक्तिदाताको रूपमा मान्दछु र यही कारणले अहिले नै मेरो जीवन उहाँको हातमा सुम्पन्छु। अबदेखि उसो म प्रभु येशूको साँचो चेला भई जिउन चाहन्छु। हे प्रभु येशू, मेरो हृदयको अवस्था जान्नुहुने, मलाई बचाउनुहोस्! पवित्र आत्माद्वारा आजको दिनदेखि मेरो हृदयमा वास गर्नुहोस्! मलाई लिएर तपाईंको महिमा गर्ने मानिस तुल्याउनुहोस्! धन्यवाद! आमेन!' 

प्रिय मित्र, के तपाईंले उक्त प्रार्थना चढ़ाउनुभयो? के यसरी नै तपाईंले प्रभु येशूलाई आफ्ना व्यक्तिगत प्रभु र मुक्तिदाता तुल्याउनुभयो। यो तपाईंको मनको खुशीसाथ गरिएको निर्णय हो भने हामीसँग सम्पर्क गरिदिनुहुन अनुरोध गर्दछौं। हामी तपाईंसँग रमाउन र परमेश्वरलाई धन्यवाद चढ़ाउन चाहन्छौं। तपाईंलाई व्यक्तिगत रूपले चिन्न, तपाईंसित सङ्गति गर्न र तपाईंको निम्ति प्रार्थना गर्न हामी पूरा इच्छुक छौं। तपाईंको आत्मिक उन्नतिको लागि हामी तपाईंलाई सकभर सहायता गर्न तत्पर छौं। तपाईंसँग नयाँ नियमको पुस्तक छैन भने तपाईंलाई प्रभु येशूको जीवन र शिक्षा दिने पवित्र बाइबलको यही खण्ड उपहार स्‍वरूप दिने प्रण गर्छौं। 

यस विषयमा अधिक जानकारी चाहनुभयो भने अथवा हामीसित भेट्न तपाईंको इच्छा भएदेखि तपाईंले हामीसँग सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं। धन्यवाद! 

Your encouragement is valuable to us

Your stories help make websites like this possible.