मानिसको हृदय

मानिसको हृदय
  • हरेक जसले पाप गर्दछ, त्यसले परमेश्वरको नियमलाई पनि भङ्ग गर्दछ, किनभने परमेश्वरको नियमलाई भङ्ग गर्नु नै पाप हो।

  • अनि तिमीहरू जान्दछौ - हाम्रा पापहरू हरण गर्नलाई येशू ख्रीष्ट प्रकट हुनुभएको हो र उहाँमा पाप छैन।

  • हरेक जो उहाँमा रहन्छ, उसले पाप गर्दैन। हरेक जसले पाप गर्दछ, त्यसले उहाँलाई देखेको छैन, नता उहाँलाई चिनेको छ।

  • हे साना नानीहरू हो, कुनै मानिसले तिमीहरूलाई धोका दिन नपाओस्। जसले धार्मिक काम गर्छ, ऊ धर्मी हो, जसरी उहाँ पनि धर्मी हुनुहुन्छ।

  • जसले पाप गर्छ, त्यो शैतानबाटको हो; किनकि शैतानले शुरूदेखि पाप गर्दै आएको छ। शैतानका कामहरू नष्ट गर्नलाई परमेश्वरका पुत्र प्रकट हुनभयो।

  • हरेक जो परमेश्वरबाट जन्मेको छ, उसले पाप गर्दैन; किनकि उहाँको बीउ उसमा रहन्छ, अनि उसले पाप गर्न सक्दैन; किनभने ऊ परमेश्वरबाट जन्मेको हो।

  • परमेश्वरका सन्तान र शैतानका सन्तान यसैबाट प्रकट हुन्छन्ः हरेक जसले धार्मिक काम गर्दैन, त्यो परमेश्वरबाटको होइन, अनि त्यो पनि होइन, जसले आफ्नो भाइलाई प्रेम गर्दैन। (१ यूहन्ना ३:४ - १०)

परमेश्वरको मन्दिर वा शैतानको कार्यशाला 
(१ यूहन्ना ३:४-१०)

यो कुनै नयाँ किताब होइन। सर्वप्रथम यो पुस्तक दुई सय वर्ष पहिले फ्रान्स देशमा प्रकाशित भयो र हजारौंका हृदयमा यसद्वारा प्रशस्त आशिष मिल्यो। किनभने परमेश्वरले मानिसहरूको हृदयको अवस्था जसरी देख्नुहुन्छ, ठीक त्यसरी नै हामीलाई देखाउनुको लागि यस पुस्तकले एक आत्मिक ऐन जस्तो काम दिन्छ। यी पन्नाहरूमा धेरै जनाले आफ्ना पापपूर्ण हृदयको चित्रण देखे र पश्चाताप गरीकन एउटा नयाँ हृदय पाए अनि तिनीहरू भित्र एउटा नयाँ आत्मा प्राप्त गरे।

जब तपाईं यो पुस्तक किताब पढ्नुहुन्छ, तब कृपया यसमा आफैलाई देख्न सकिने एउटा ऐना सम्झेर पढ्नुहोस्। चाहे तपाईं अरु धर्म मान्ने, चाहे ख्रीष्टियन धर्म मान्ने हुनुहोस्, चाहे प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्ने, चाहे विश्वास नगर्ने वा विश्वासबाट पछि हटिसकेको मानिस हुनुहोस्, यस किताब पढ्दा परमेश्वरले तपाईंलाई जस्तो देख्नुहुन्छ, त्यस्तै तपाईंले आफूलाई देख्न सक्नुहुन्छ। परमेश्वरले कसैको पक्षपात गर्नुहुन्न। उहाँले त मानिसको हृदयको अवस्था हेर्नुहुन्छ।

शैतान सारा झूटको बुबा, अन्धकारको मालिक र यस संसारको देव हो; तापनि त्यसले आफैलाई ज्योतिर्मय स्वर्गदूतको रूपमा परिवर्तन गर्छ र यसरी धेरै मानिसहरूलाई भ्रममा पार्छ। बितेको समयमा झैं हिजो आज पनि ख्रीष्टका चेलाको भेष लिएर हिँड्ने झूटा, धोका दिने प्रचारकहरू प्रशस्तै छन्। यो कुनै अचम्मको कुरा होइन, किनकि तिनीहरूको मालिक शैतान आफैले पनि ईश्वरको दूतको भेष धारण गरेको छ (२ कोरन्थी ११:१३-१४)। परमेश्वरको प्रेम, महिमा र श्रेष्ठतालाई र मुक्तिदाता प्रभु येशूलाई मानिसहरूले देख्न नसकून् र देख्ने इच्छा समेत नगरुन् भनेर शैतान, यस संसारको देवले तिनीहरूका मन र आँखालाई अन्धा पारेको छ (२ कोरन्थी ४:४)। सबै पापी र विश्वास नगर्नेहरू आत्मिक हिसाबले मरेका छन् र परमेश्वरको बारेमा अन्धा छन्। तिनीहरूमाथि यस संसारको देवको आत्माले शासन गर्छ (एफिसी २:२० )। आफ्नो पतित अवस्था हेर्नलाई तिनीहरूका आँखा नउम्रेसम्म तिनीहरू अनन्त विनाशको बाटोमा दौडिरहेका छन्। “ममा पाप छैन ” भन्नेहरूले आफैलाई धोका दिन्छन्।

जब तपाईं यस किताब पढ्नुहुन्छ र यसमा भएका चित्रहरू राम्ररी नियालेर हेर्नुहुन्छ, तब तपाईं आफ्नै हृदयलाई देख्नुहुनेछ। परमेश्वरको प्रकाशलाई तपाईंको हृदयको अवस्था देखाउन दिनुहोस्। आफ्ना पाप स्वीकार गर्नुहोस्, र ममा पाप छैन भनेर नभन्नुहोस्; किनभने परमेश्वरको वचन बाइबलमा यसरी लेखिएको छः “यदि हामीमा पाप छैन भनी हामी भन्छौ भनेता हामीले आफैलाई धोका दिन्छौं, र हामीमा सत्यता छैन। तर हामीले आफ्ना पापहरू स्वीकार गयौं भने हाम्रा पाप क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नलाई उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ” (१ यूहन्ना १:७ - १०)। परमेश्वरको पुत्र येशू खीष्टको रगतले हामीलाई सब पापबाट शुद्ध पार्छ।

तपाईंको मनभित्र कि त शैतानले राज्य गर्छ, कि त परमेश्वरले गर्नुहुन्छ। तपाईं पापको दास हुनुहुन्छ वा परमेश्वरको सेवक। यदि पापले नै तपाईंलाई वशमा पारेको छ भने यो कुरा इन्कार नगर्नुहोस्, बरु परमेश्वरलाई पुकार्नुहोस्, जसले तपाईंलाई ख्रीष्ट येशूद्वारा छुटकारा दिनुहुनेछ। किनभने हामीमा भएका पाप क्षमा गर्न र शैतानको शक्तिलाई तोडेर हामीलाई पापबाट बचाउनको लागि प्रभु येशू खीष्ट यस संसारमा आउनुभयो। उहाँ नै हाम्रा मुक्तिदाता हुनुहुन्छ। तपाईं पवित्र परमेश्वरको उपस्थितिमा हुनुहुन्छ, उहाँले तपाईंका जीवनका सबै कुराहरू, तपाईंका गुप्त विचार र कार्यहरूसमेत जान्नुहुन्छ। तपाईंले आफैलाई र आफ्ना कार्यहरू परमेश्वरबाट लुकाउन सक्नुहुन्न, किनकि “जसले कान दिनुभयो, के उहाँ आफैले सुन्नुहुन्न र? जसले आँखा रच्नुभयो, के उहाँ आफैले देख्नुहुन्न र?” (भजनसंग्रह ९४:९ )

“जसका हृदय परमप्रभुप्रति सिद्ध छ, तिनीहरूलाई सहायता र सान्त्वना दिनका निम्ति परमप्रभुको दृष्टि सारा पृथ्वीभरि नै रहिरहन्छ।” (२ इतिहास १६:९)

“उहाँको दृष्टि मानिसहरूको चालमाथि रहेको हुन्छ, र तिनीहरू हिँडेको हरेक कदमलाई उहाँले देख्नुहुन्छ। कुनै यस्तो घोर अँध्यारो छैन, जहाँ दुष्टहरू उहाँदेखि लुक्नसक्छन्। (अय्यूब ३४:२१-२२)

"तर येशूले आफैलाई तिनीहरूको भरोसामा छोड्नुभएन, किनभने उहाँले सबै मानिसहरूलाई जान्नुहुन्थ्यो। ... किनभने मानिसभित्र के किनभने मानिसभित्र के हुन्छ, सो उहाँलाई थाहै थियो।” (यूहन्ना २:२४-२५)

यसकारण "त्यो धन्यको हो, जसको अपराध क्षमा भएको छ, र जसको पाप ढाकिएको छ। त्यो मानिस धन्यको हो, जसको अधर्मको लेखा परमेश्वर राख्नुहुन्न, जसको आत्मामा छल छँदै छैन।” (भजनसंग्रह ३२:१-२)

येशूले आज, अहिले पनि बोलाइरहनु भएको छः “हे सबै मेहनत गर्ने र बोझले दबिएका हो। म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।” (मत्ती ११:२८)

जसरी पवित्रशास्त्र बाइबलमा पापी मानिसको अवस्था बयान गरिएको छ, त्यसरी नै यो पहिलो चित्रले एक पापपूर्ण, नयाँ जीवन नपाएको नर वा नारीको हृदय देखाउँछ अर्थात् यस्तो व्यक्तिलाई देखाउँछ, जसमाथि यस संसारको आत्माले शारीरिक अभिलाषा र कामवासनाद्वारा प्रभुत्व जमाएको छ। उसको हृदयको सच्चा चित्र यही नै हो। परमेश्वरले उसलाई यसरी देख्नुहुन्छ। लोलाएका राता राता आँखाले मतवालीपनको जाहेर गर्दछन्, जसरी हितोपदेश २३:२९-३३ मा बयान गरिएको छः “ कसलाई दुःख छ? कसलाई शोक छ? को झगडामा फस्दछ? को कुलतमा पर्दछ? कसलाई विना कारण घाउ लाग्दछ? कसका आँखा राता राता हुन्छन्? तिनीहरूकै, जो अबेरसम्म मद्य पिउँछन्, जो मसला मिसाएको मद्यको खोजमा रहँदछन्। जब मद्य रातो देखा पर्दछ, जब त्यसका रङ्ग कचौरामा सुन्दर देखिन्छ, अनि जब त्यो यताउता टिलपिलाउँदछ, तब तिमी त्यसलाई नहेर, किनकि अन्तमा त्यसले साँपले झैं ठुङ्दछ र विषालु साँपले झैं डस्दछ। तिम्रा आँखाले नचिनेका कुरा हेर्दछन् अनि तिम्रो मनदेखि अनुचित कुरा निक्लँदछ।”

चित्रको व्याख्या

पहिलो चित्र

यो चित्रमा शिरको मुन्तिर मानिसको हृदय देखाइएको छ, जहाँ कैयौं विभिन्न प्रकारका जीवजन्तुहरू बास गरेका छन्, जसले मानिसको हृदयमा रहने विभिन्न प्रकारका पापहरू संकेत गर्दछन्; किनकि हृदय नै हाम्रा पापको वासस्थान र वैठक हो। परमेश्वर हामीसँग यर्मिया भविष्यवक्ताद्वारा यसरी बोल्नुहुन्छ " मान्छेको मन सबै कुराभन्दा छली हुन्छ र त्यसलाई असाध्यै रोग लागेको छ, त्यसलाई कसले जान्न सक्दछ र?” (यर्मिया १७:९)। प्रभु येशू आफै यस वचनलाई यसरी पुष्टि दिएर भन्नुहुन्छः “भित्रबाट नै अर्थात् मानिसको हृदयबाट नै खराबविचार, व्यभिचार, रण्डीवाजी, हत्या, चोरी, लोभ, दुष्टता, कामुकता, कुदृष्टि, निन्दा, घमण्ड, मूर्खता निस्कँदछन्। यी सबै खराब कुराहरू भित्रबाट निस्कँदछन् र मानिसलाई अशुद्ध पार्दछन्।” (मर्कूस ७:२१-२३) 
 

पापी मानिसको हृदय

१. पापी मानिसको हृदय

१. मयूरः मयूरको सुन्दरता सबै मानिसले प्रशंसा गर्दछन्। तर यहाँ यसले हृदयमा घमण्ड, अहंकार आदि पापलाई संकेत गर्दछ। लुसीफर, परमेश्वरको अभिषिक्त करुब, ईश्वरकै ज्योति धारण गर्ने एक बखत परमेश्वरको दूत थियो। घमण्डको कारण पतित भएर ऊ स्वर्गबाट खस्यो र यसरी परमेश्वरको शत्रु, शैतान भयो। (यशैया १४:६-१७, इजकिएल २८:१२)

घमण्ड नरकुण्डबाट पैदा भएर आफैलाई विभिन्न तरिकाले प्रकट गर्दछ। कुनै मानिसले आफ्नो धन-सम्पत्तिमा, कसैले उच्च शिक्षामा घमण्ड गर्छन्; त कसै-कसैले आफ्नो फेसनपूर्ण वस्त्रहरूमा घमण्ड गर्छन्, जसमा लाजको सीमालाई नाघेर तिनीहरूले निर्लज्जासाथ आफ्नो शरीर नाङ्गै देखाउँछन्। कसैले आफ्नो बज्ने गहना, चुरा, औंठीहरूमा घमण्ड गर्दछन्, जसरी यशैया ३:१६-२४ मा स्पष्टसँग वर्णन गरिएको छ। कसैले आफ्ना पितापुर्खा, राष्ट्रियता, संस्कृति, खेल-तमाशा आदिमा घमण्ड गर्छन् र यो कुरा भुल्छन् कि “परमेश्वरले घमण्डीहरूलाई विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ” अनि नाशको अघि अहंकार र पतनको अघि अभिमान आउँछ।” (१ पत्रुस ५:५; हितोपदेश १६:१८)  

२. बोकाः कामवासनाले मत्त भएको गन्हाउने जनावर, बोको कामोद्दीपना, शारीरिक वासना, अनैतिकता, व्यभिचार, परस्त्रीगमनको प्रतीक हो। यस्ता भावनाले उत्पन्न हुने पापहरू यो आधुनिक युगको अन्तिम दिनहरूमा यति साह्रै फैलिरहेका छन् कि “ अन्तिम दिनहरूमा सदोम र गमोराका दिनहरू जस्तै हुनेछन्” भनेर ख्रीष्टले करिब २००० वर्ष पहिले भविष्यवाणी गर्नुभएको कुरा सत्य साबित हुन आएको छ। यो आधुनिक आत्माले खालि लोग्ने र स्वास्नी मानिसहरूलाई मात्र पक्रेको होइन, धार्मिक मानिसहरूको घर, संस्थाहरू, स्कूल र छात्रावासमा समेत पसेको छ। यो विनाशको बीउ शैतानको बढी धूर्तता र चलाकीद्वारा सिनेमा, नाच, विभिन्न अनैतिक कथा, उपन्यास आदि साहित्य र यस्ता कैयौं उपायले मानिसको हृदयमा छरिएको छ। जुन कुराहरू परमेश्वरको दृष्टिमा पाप हुन्, तिनै कुराहरूलाई मानिसहरूले आधुनिक नैतिकता नै सम्झिन थालेका छन्। लाखौं युवक- युवतीहरूले आफ्ना जीवनको आदर्श सिनेमा र उपन्यासको आधारमा निर्माण गर्दछन्, तर यी कुराहरूले तिनीहरूको जीवनलाई आपत्ति, लज्जा र शोकमा पुऱ्याउँदछन्। अनैतिक र छाडा जीवन विताउने सिनेमाका पात्र, खेलाडी र नायक-नायिकाहरू नै यो तल्लो नवजवान पीढीका आदर्श हिरो-हिरोनीहरू हुन्छन्। परमेश्वरका पवित्र जन यूसुफ जस्तालाई अब कसैले पनि आदर्शको रूपमा मान्दैन। जुलु जातिजस्ता असभ्य समाजमा पनि व्यभिचारीहरूलाई मृत्यु दण्ड दिने चलन छ। यस्ता असभ्य जातिले पनि आजको हाम्रो सभ्य समाजलाई कतिपय कुरा सिकाउन सक्छ। परमेश्वर हामीलाई भन्नुहुन्छः “व्यभिचारदेखि भाग! अरु जुनसुकै पाप जो मानिसले गर्दछ, त्यो शरीरदेखि बाहिर हुन्छ, तर व्याभिचार गर्नेले आफ्नै शरीरको विरुद्धमा पाप गर्दछ। अथवा के तिमीहरूलाई थाहा छैन? तिमीहरूको शरीर तिमीहरूभित्र हुनुहुने पवित्र आत्माको मन्दिर हो, जसलाई तिमीहरूले परमेश्वरबाट पायौं र तिमीहरू आफैका होइनौं” अनि “कसैले परमेश्वरको मन्दिरलाई नष्ट गर्दछ भने त्यसलाई परमेश्वरले नष्ट गर्नुहुनेछ; किनभने परमेश्वरको मन्दिर पवित्र छ, जुन मन्दिरचाहिँ तिमीहरू नै हौ।” (१ कोरन्थी ६:१८ - १९, ३:१७) 

३. सुँगुरः सुँगुरले मद्यपान र अगस्तिपनको पापलाई संकेत गर्दछ र सफा र फोहोरको वास्ता नराखी भेट्टाए जति सबै कुरा हसुर्ने, सुँगुर एउटा फोहोरी जनावर हो। यसरी नै एउटा पापपूर्ण हृदयले पनि हरेक खराब कल्पना, फोहोर विचार र बोली, अश्लील चित्र, साहित्य, आदिलाई टिपी हाल्दछ। यस शरीरलाई जो जीवित परमेश्वरको मन्दिर हुनुपथ्यौं, त्यसलाई अशुद्ध भोजनको अर्थात् पान, बीडी, चुरोट, सुर्ती, अफीम जस्ता हानिकारक पदार्थको उपयोग गरेर अपवित्र तुल्याएको छ। अहिले मानिसहरूलाई धुम्रपान र अफीमको आदतले यति साह्रो पक्रिएको छ कि पहिले कहिल्यै यस्तो थिएन। यस्ता धुम्रपानका शिकार र शैतानका दासहरूलाई परमेश्वरको शक्तिले मात्र छुटकारा दिन सक्छ। ज्यादा धार्मिक सोचविचार भएका मानिसहरू गिर्जाघरमा धुम्रपान गर्ने साहस गर्दैनन्। यो विचार गरेर कि यसो गर्नु चाहिँ परमेश्वरको नियमलाई उल्लंघन गर्नु हो, तरै पनि तिनीहरू जो परमेश्वरकै खास सत्य मन्दिर हुन्, यो गन्धपूर्ण ठुटाले आफ्नो शरीरलाई अशुद्ध पार्नमा संकोच मान्दैनन्। पावल प्रभुको बक्ता भन्छन्ः “के तिमीहरूलाई थाहा छैन तिम्रो शरीर पवित्र आत्माको मन्दिर हो, अनि कसैले यसलाई अशुद्ध पार्छ भने त्यसलाई परमेश्वरले नष्ट पार्नुहुनेछ?” (१ कोरन्थी ३:१६-१७)  

ज्यादा खन्चुवा व्यक्ति पनि परमेश्वरको दृष्टिमा घृणित हुन्छ। हामी जिउनको लागि खान्छौं, खानको लागि जिउँदैनौं। भोक राम्ररी भोजन गर्नाले तृप्त हुन्छ, तर शारीरिक अभिलाषा भने “ देऊ, देऊ” भनेर कराइरहन्छ। 

शारीरिक अभिलाषा र तृष्णाहरू कहिल्यै तृप्त हुँदैनन्, कहिल्यै सन्तुष्ट हुँदैनन्। पुरानो समयमा परमेश्वरको नियमअनुसार अगस्ति र मतवालालाई ढुङ्गाले हानेर मारियोस् भनेर भनिएको छ। “ मद्य भोगी र घिचुवाहरू दरिद्र हुन्छन्, अनि निद्राले थाङ्ना पहियाउँछ। उडन्ताको संगतिले आफ्नो बाबुको अनुहार लज्जित तुल्याउँछ।” (हितोपदेश २३:२१, २८: ७) त्यो धनवान मानिसलाई सम्झनुहोस्, जो ज्यादै खन्चुवा र आफ्ना शारीरिक अभिलाषाको दास थियो र पछि मन्यो, जब उसले नरकमा आँखा उठायो, तब ऊ अवर्णनीय पीडामा थियो। मादक पदार्थबाट हुने खराबीको बारेमा शायद बयान गरिरहनु आवश्यक पर्दैन। यो कुरा यति राम्ररी जानिएको छ कि यसलाई खेलाँचीको रूपमा लिन सकिँदैन। परमेश्वर आफ्नो वचनमा स्पष्ट रूपले बताउनुहुन्छ - कोही मतवाला स्वर्गीय राज्यको हकवाला हुन सक्दैन। जसले मद्य बनाउने र बेच्ने काम गर्छन्, तिनीहरू पनि परमेश्वरको सामु उत्तिकै दोषी ठहरिन्छन्, किनकि परमेश्वर भन्नुहुन्छः “त्यसमाथि सराप! जो मद्य पिउनमा वीर र मदिराको तेज बढाउनमा बहादुर छ।” (यशैया ५:२२) “त्यसमाथि सराप! जसले आफ्नो छिमेकीलाई मद्य पियाउँछ अनि त्यसमा विष मिसाएर तिनीहरूलाई बेहोस गराएर तिनको नाङ्गोपन हेर्छ।” (हबकूक २:१५ ) तिनीहरूका भोजमा वीणा, सारङ्गी, मृदङ्ग, बाँसुरी र मद्य पाइन्छ, तर तिनीहरूले परमेश्वरको काम देख्दैनन् र उहाँका हातले गरेका काममा ध्यान दिँदैनन्।” (यशैया ५:१२)“ अधर्मीहरू परमेश्वरको राज्यको हकदार हुँदैनन् भन्ने के तिमीहरूलाई थाहा छैन? नठगियौ, व्यभिचारी, मूर्तिपूजा गर्ने, रण्डीबाजी गर्ने, पुरूषगामी, चोर, लोभी, मतवाला, लुटाहा र गाली गर्नेहरू परमेश्वरको राज्यको हकदार हुनेछैनन्।” (१ कोरन्थी ६:९-१०) 

हाम्रा सांसारीक स्वभावका पापहरू प्रकट छन्। तिनीहरूमध्ये केही यिनै हुन्ः व्यभिचार, रण्डीबाजी, अपवित्रता, कामुकता, मूर्तिपूजा, टुनामुना, शत्रुता, झगडा, डाहा, गुटबन्धी, द्वेष, मतवालीपन, मोजमज्जा र अरु यस्तै कुराहरू! यस्ता यस्ता काम गर्नेहरू कुनै रीतिले परमेश्वरका राज्यका हकवाला हुनेछैनन् (गलाती ५:१९-२१। “दाख - मद्यले नमात, जसमा चरित्रहीनता हुन्छ, तर आत्माले भरपूर होओ।" (एफिसी ५:१८ ) 

तिर्खाउनेहरूलाई येशू यसरी निम्तो दिनुहुन्छः “कोही तिर्खाउँछ भने ऊ म कहाँ आओस् र जीवनको पानी सित्तैंमा पिओस् (यूहन्ना ७:३८) "हे सबै तिर्खाउनेहरू हो, पानीनेर आओ, रुपियाँ नहुनेहरू पनि आओ, आएर दाख- मद्य र दूध विना रुपियाँ र दामै नदिई किनी लेओ” (यशैया ५५:१)। “जसले त्यो पानीबाट पिउला, जो म उसलाई दिनेछु, ऊ कहिल्यै तिर्खाउने छैन, तर जुन पानी म उसलाई दिनेछु, त्यो पानी उसभित्र अनन्त जीवनका निम्ति उम्रिरहने पानीको मुहान बन्नेछ।” (यूहन्ना ४:१४ ) 

४. कछुवाः कछुवाले अल्छीपना, आलेटाले, वा अल्याङ-टल्याङ र तान्त्रिक विद्या, टुनामुना जस्ता पाप संकेत गर्दछ। अविश्वासचाहिँ तान्त्रिक विद्याकै पाप बराबर हो। "अल्छी मानिस आफ्नो लालसामा पर्दछ, किनकि उसका हात परिश्रम गर्न मान्दैनन्। यस्तो मानिस दिनभरि लालसा मात्र गरिरहन्छ” (हितोपदेश २१:२५-२६)। यहोशूले इस्राएलका सन्तानहरूलाई भन्नुपरेको थियोः "यो देश आफ्नो अधीनमा पार्न अल्छी नगर"। मानिसको स्वभाव परमेश्वरका कुराहरूलाई प्राप्त गर्नुमा अल्छी र सुस्ती छ। येशूले भन्नुभयो: “साँघुरो ढोकाबाट पस्नलाई प्रयत्न गर” (लूका १३:२४)। “खोज, र तिमीहरूले पाउनेछौं”। “स्वर्गको राज्यले बलमिचाई सहिरहेछ, अनि बलजफती गर्ने मानिसहरूले जबर जस्तसँग यसलाई लिन्छन्” (मत्ती ११:१२)। 

यदि हामी उद्धार र आत्मिक वरदानको सम्बन्धमा आलस्य हुन्छौं भने हामी नरकमा पुग्दछौं। अल्छीपनाले प्रार्थना गर्न, परमेश्वरका रहस्यमय कुराहरू खोज्न र परमेश्वरका सबभन्दा आशिषपूर्ण प्रतिज्ञाहरू लिनको लागि हामीलाई रोक्छ र सर्वनाशको बाटोतिर प्रगति गराउँछ। तिम्रो हृदय आजै अर्पण गर भनी परमेश्वरले तपाईंसँग बोलेर तपाईंलाई उत्तेजित पार्नुहुँदा शैतानले तपाईंको मनमा, यो काम भोलि कि अरु कुनै सुविधाजनक दिनमा गरौंला भन्ने विचार ल्याउँछ। त्यो दिन, अफसोस्! फेरि कहिल्यै आउँदैन र तपाईं मुक्तिविना र ख्रीष्टविना नै मर्नुहुनेछ। परमेश्वर भन्नुहुन्छः “आज तिमीहरूले उहाँको आवाज सुन्यौ भने आफ्ना हृदयलाई कठोर नपार।" (हिब्रू ३:८) कतिपय मानिसहरू उद्धारको लागि अझै सुविधाजनक मौका खोजेर बस्दा बस्दै त्यो दिन नआइकनै नाश हुन्छन्। 

टुना र जादु गर्नेहरू कछुवाको बाहिरी खवटा अक्सर तान्त्रिक विद्याको काममा चलाउँछन्। यहाँ यसको मतलब जिउँदो परमेश्वरमा विश्वास राख्नको सट्टा टुनामुना गर्ने, हात-जोखाना हेर्ने, तान्त्रिक कुरामा विश्वास राख्ने पाप संकेत गर्दछ। परमेश्वरको वचनले हामीलाई सिकाउँछ: विशेष गरेर सङ्कष्ट, परीक्षा, बिमारी, दुःख वा विलापको समयमा भाग्य र दुर्भाग्यमा भर पर्नुको सट्टा जिउँदो परमेश्वरलाई पुकार्नु पर्दछ, जो हाम्रो सहायता गर्न सधैँ तत्पर हुनुहुन्छ। किनकि "सज्जनका पाइला परमेश्वरबाट नै स्थिर रहन्छ” (भजनसंग्रह ३७:२३)। “किनकि उच्च पद न पूर्वबाट न पश्चिमबाट, न दक्षिणबाट नै आउछ, तर परमेश्वर नै न्यायधीश हुनुहुन्छ” (भजनसंग्रह ७५:६-७)। परमेश्वरले इस्राएलीहरूलाई यसो भन्दै आज्ञा दिनुभयो: “आफ्नो छोरा कि छोर लाई आगोमा होमबलि गर्ने, भविष्यवाणी बोल्ने, शुभ-अशुभ मुहूर्त मान्ने, मन्त्रतन्त्र गर्ने, बोक्सी, इन्द्रजाल गर्ने, विजुवा, झाँक्री वा मसान जगाउने कोही मानिस तिमीहरूमध्ये नपाइयोस्। किनभने जतिले यस्ता यस्ता काम गर्दैछन्, ती सबै परमेश्वरको सामु घृणित हुन्छन्” (व्यवस्था १८ : १० - १२)। “कुकुरहरू, टुनामुना गर्नेहरू, व्यभिचारीहरू, हत्याराहरू, मूर्तिपूजा गर्नेहरू, झूटलाई मन पराउनेहरू र रच्नेहरू बाहिर हुन्छन्” (प्रकाश २२ : १५ )। तपाईं भाग्य बताउनेहरूतिर वा यस्ता कुराहरू खोज्नेहरूतिर नफर्कनुहोस्। नत्र तपाईंले तिनीहरूसँगसँगै पाप गरेर आफूलाई अशुद्ध पार्नुहुनेछ। “म परमप्रभु तिमीहरूका परमेश्वर हुँ” (लेवी १९:३१)। “जब तिनीहरूले तिमीहरूलाई कुर्ली कुर्ली फलाक्ने र बक्ने जादु गर्नेहरू र झाँक्रीहरूसित सोध भनी भन्छन्, तब के मानिसहरूले आफ्नै परमेश्वरकहाँ गई सोध्नु पर्दैन र? के जिउँदाको विषयमा मरेकाहरूसित सोध्नु उचित छ? व्यवस्था र साक्षीवचन कहाँ जाओ। यदि तिनीहरू यस कुरा अनुसार बोल्दैनन् भनेता निश्चय तिनीहरूको लागि बिहान हुनेछैन।” (यशैया ८ः१९-२०) 

यस सानो पुस्तक पढ्दै गर्दा परमेश्वर तपाईंसँग बोलिरहनु हुन्छ र भन्नुहुन्छः “आफ्ना पापदेखि पश्चात्ताप गरेर आफ्नो जीवन मेरो हातमा सुम्प।" तर तपाईंको हृदयमा बास गर्ने कछुवाको आत्माले तपाईंमा सब प्रकारका सुझाउहरू ल्याएर तपाईंले परमेश्वरको विषयमा गर्नु हुने निर्णयलाई गर्न दिँदैन, तर तपाईंको हृदयलाई डरले भरिदिन्छ। “म सच्चा ख्रीष्टियन भएको खण्डमा मेरा साथी, आफन्त र अरु मानिसहरूले मलाई के भन्लान्?” “यदि मैले नाच, रङ्गी भोज, संसारीक मनोरञ्जन इत्यादि कुराहरूमा फेरि भाग नलिँदा के होला?” ख्रीष्ट येशूमा भएको अपार धन, उहाँको अचम्मको शान्ति, अवर्णनीय आनन्द, महिमा र अनन्त जीवन देख्नको सट्टा तपाईं ती कुराहरू देख्न थाल्नुहुन्छ, जुन कुराहरू तपाईंले ख्रीष्टलाई आफ्नो हृदयमा ग्रहण गर्नलाई त्याग्नुपर्छ। तर ख्रीष्ट येशू जीवनभर मृत्युको डरले दासत्वमा परेका सबैलाई छुटकारा दिन आउनुभयो (हिब्रू २:१४-१५)। कछुवाको झैं तपाईंमा भएको आलेटाले गर्ने स्वभावले तपाईको हृदय कछुवाकै बाहिरी खवटाजस्तो कडा नहोउन्जेल साह्रो हुँदै जान्छ। 

५. चितुवाः चितुवा एउटा डरलाग्दो र निर्दयी जनावर हो। अक्सर मानिसको हृदयमा घृणा, क्रोध र हिंसात्मक स्वभावले अड्डा जमाएको हुन्छ र धेरैचोटि यसले मानिसलाई हत्या गर्न लाउँछ। तपाईले आफ्नो यो हिंसात्मक स्वभावलाई वशमा राख्ने कोशिष गर्न सक्नुहुन्छ, तर यो छताछुल्ल भएर फुटेर बाहिर प्रकाशमा आउँछ। आफ्नो हृदयमा रिस छ भन्ने कुरा स्वीकार गरेर तपाईंले यसबाट छुटकारा पाउनलाई प्रभु येशूसँग बिन्ती गर्नु राम्रो हुन्छ। “रिसाउन छोड र क्रोधलाई त्याग; यसले खराबी गर्नतिर ढल्काउँछ” (भजनसंग्रह ३७:८)। “क्रोध निर्दयी हुन्छ, अनि रिसचाहिँ वहने भलजस्तो; तर बल्दो रिसको सामु को टिक्न सक्छ?” (हितोपदेश २७:४)। “छिटो नरिसाऊ, किनकि रिस त मूर्खको हृदयमा बस्छ” (उपदेशक ७:९)। “यसकारण आफ्नो मनदेखि रिस र क्रोध हटाऊ।” (कलस्सी ३:८ )। 

धेरैजसो मानिसहरूले मादक पदार्थ पिएर वा कसैसँग बदला लिएर आफ्नो रिस शान्त पार्न खोज्छन् तर " तिनीहरूका मद्य अजिङ्गरको विष र काला सर्पका विष हुन्” (व्यवस्था ३२:३३)। पापपूर्ण हृदयले बदला फेर्ने काम खूब मन पराउँछ, तर हाम्रो बदला फेर्ने परमेश्वर हुनुहुन्छ। येशूले भन्नुभयो: “तिमीले आफ्ना छिमेकीहरूलाई आफैलाई झैं प्रेम गर” र “तिम्रा शत्रुहरूलाई पनि प्रेम गर।” हाम्रो विरुद्धमा अपराध गर्नेहरूलाई हामीले क्षमा गयौँ भने हाम्रा अपराध क्षमा गर्न परमेश्वरले प्रतिज्ञा गनुभएको छ। चुक्ली लाउने र मनमनै गनगनाउने आत्मा पनि परमेश्वरको दृष्टिमा उत्तिकै घृणित हो। युद्ध र हत्या गर्ने खराब भावनाको वासस्थान हृदय नै हो। यसकारण यदि मानिसले धेरै समयसम्म तग्ने हो भने सच्चा शान्ति हृदयमा स्थापित गर्न अति आवश्यक छ। 

६. साँपः अदनको बगैंचामा हवालाई साँपले छल गरेर परमेश्वरसँगको मीठो सँगति र मेलमिलापलाई नष्ट पायो। पतित भएको स्वर्गदूत शैतान आफ्नो सट्टामा आदम र हवालाई परमेश्वरको सँगतिमा बसेका र संसारको अधिपति भएका देख्दा ईर्ष्याले मुर्छा परेको थियो। यही ईर्ष्याले शैतानले तिनीहरूलाई नाश पार्ने युक्ति रच्यो, र साँच्चै तिनीहरूको अचम्मको मेलमिलाप, परमेश्वरसँगको सँगति र जीवनलाई बिगायो। यही शैतानिक ईर्ष्या र द्वेषले गर्दा मानव जातिमा कतिपय व्यक्तिको सुखलाई नाश पारिदिन्छ। किनकि तिनीहरू अरुलाई सुख र आराम साथ बसेको देख्न सक्दैनन्। “ ईर्ष्या चिहानजस्तै निर्दयी हुन्छ” (श्रेष्ठगीत ८:६)।

यसले मानिसको हृदयमा अरुको सुख र आनन्दलाई खलबलाउने दुष्ट विचारहरू उत्पन्न गराउँछ, हत्यासम्म गर्ने भावना जगाउँछ। विशेष गरी कसै कसैको विवाहित जीवनमा यस्तो पाइन्छ। जीवनका अन्य क्षेत्रहरूमा पनि ईर्ष्याले अवर्णनीय दुःख र घृणा उत्पन्न गरेको हुन्छ। यतिसम्म कि ख्रीष्टियन सेवकगण पनि यसको हमलाबाट उम्केका हुँदैनन्। हामीले नित्य होशियार रहनुपर्दछ र हाम्रो हृदयमा पवित्र आत्माद्वारा बहाइएको परमेश्वरको शुद्ध प्रेमले भरिनुपर्दछ, नत्रभने परमेश्वरप्रतिको हाम्रो सबै भक्ति र सेवकाई शैतानिक आत्माले नष्ट पारिनेछन्। 

७. भ्यागुतोः यसले माटो खान्छ र यहाँ लालचा र रुपियाँ पैसाको लोभको संकेत गर्दछ, जो सबै किसिमको खराबीको जरा हो (१ तिमोथी ६:१०) कङ्गो देशमा यस्ता भ्यागुताहरू पनि देखिएका छन्, जो भुँडी फुटेर नमरुञ्जेल सयकडौं कमिलाहरू खाइरहन्छन्। कुनै लोभी मानिसले पनि गरिब र दरिद्रहरूमाथि दया देखाउने इच्छा नराखीकन चाहे इमान्दारपूर्वक होस् चाहे बेइमानीसाथ जसरी भए पनि यस संसारको धन सोहोर्न र थुपार्नपट्टि लाग्दछ। ख्रीष्ट येशू आफैले भन्नुभयो: “आफ्नो निम्ति पृथ्वीमा धनसम्पत्ति नथुपार, जहाँ कीरा र खियाले नष्ट पार्छन् - जहाँ चोरहरूले फोरेर चोर्छन्; तर आफ्नो निम्ति स्वर्गमा धनसम्पत्ति थुपार, जहाँ न कीराले न खियाले नष्ट पार्छन् - जहाँ चोरहरूले न फोर्छन् न चोर्छन, किनभने जहाँ तिमीहरूको धनसम्पत्ति हुन्छ, त्यही तिमीहरूको मन पनि हुनेछ” (मत्ती ६:१९ - २१ )। आकान र उसका सारा परिवार सुन, चाँदी, मूल्यवान पत्थर र लुगाफाटाहरूलाई ज्यादा प्रेम मरेका हुनाले नाश भए। ख्रीष्ट येशूको चेला, यहूदा इस्करयोती आफै झुण्डिएर मयो, किनकि रुपियाँ - पैसाको प्रेमले नै उसलाई आफ्नो प्रभु र मालिकलाई पक्राइदिने धोखेबाज बनाइएको थियो। यो दोष रुपियाँ- पैसाको होइन, न सुनको नै हो; तर यी कुराहरूप्रतिको प्रेमको हो, जो मानिसको हृदयमा लुकेर बस्छ। सबै वर्ग, जाति र वर्णका हजारौं नरनारीहरूमा र तिनीहरूको परिवारमा चाहे जुवा खेलेर होस्, चाहे घोडा दौड, कुकुर-दौड आदिमा बाजी जितेर होस्, प्रशस्त धन बटुलेर अचानक उत्तीखेरै धनी बन्न सकौं भन्ने यो उत्कट, प्रबल, खराब इच्छाले बास गरेको हुन्छ, धेरैपरिश्रम नगरीकनै धनी बन्ने इच्छाले मानिसलाई हत्या, डकैती गर्नको साथै आत्महत्यासम्म गर्न लगाउँछ। रुपियाँ- पैसाको लोभसँग अधिकार चलाउने वा प्रख्यात हुने लालचा आउँछ, चाहे यो शासन गर्ने राजनीतिक शक्ति होस्, चाहे गरिबहरूलाई थिचोमिचो पार्ने शक्ति होस्, चाहे धार्मिक शक्ति र अधिकार होस्, जसले आफ्नो संगठनको नामको लागि ज्यादा उत्साह लिएर काम गर्छ, तर खीष्टको पछि लाग्ने कुनै भक्तजनलाई घृणा देखाउँछ (मर्कूस ९:३८ )। येशूले भन्नुभयो “होशियार रहो, आफूलाई सबै किसिमका लालचाबाट जोगाऔं, किनकि मानिसको जिन्दगीचाहिँ त्यससँग भएको प्रशस्त सम्पत्तिमाथि आधारित छैन” (लूका १२:१५)। एउटा धनी मूर्ख मानिसको कहानी यस प्रकारको छः “कुनै एउटा धनी मानिसको जमीनले प्रशस्त उब्जनी दिन्थ्यो, अनि त्यसले यसो भनेर मनमनै विचार गयो, मसित मेरो अन्न राख्ने ठाउँ नै छैन; अब म के गरुँ? तब त्यसले भन्यो, म यही गर्नेछु, म आफ्ना भकारीहरू भत्काएर झन् ठूला-ठूला बनाउनेछु, अनि मेरा सबै अनाज र सम्पत्तिहरू त्यही राख्नेछु, र म आफ्नो प्राणलाई भन्नेछु, “ए प्राण, धेरै वर्षसम्म पुग्ने धेरै सम्पत्ति तेरो निम्ति थुप्रिएको छ। आरामसँग बस, खा, पी, र आनन्द गर्।” तर परमेश्वरले त्यसलाई भन्नुभयोः 'ए मुर्ख, यही रात तँबाट तेरो प्राण फिर्ता चाहिएको छ तब जे कुराहरू तैंले जोहो गरेको छस्, ती कसको होलान्?' परमेश्वरप्रति धनी नभईकन आफ्नो निम्ति मात्र धन थुपार्ने यस्तै हुनेछ” (लूका १२:१६-२१ ) "किनभने मानिसले सारा संसारलाई हात पारेर आफ्नो प्राणचाहिँ गुमायो भने त्यसलाई के फाइदा हुनेछ?” (मर्कूस ८:३६ ) “यसकारण म तिमीहरूलाई भन्दछु, हामी के खाऔंला भन्दै आफ्नो प्राणको लागि, साथै हामी के लगाऔंला भन्दै आफ्नो शरीरको लागि फिक्री नगर। किनकि जहाँ तिमीहरूको धन छ, त्यही तिमीहरूको मन पनि हुनेछ।” (लूका १२:२२-२४ )। “तर पहिले परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर र यी सबै कुर हरू तिमीहरूलाई थपिनेछन्।” (मत्ती ६:३३) 

८. शैतानः ऊ सब झूटको बुबा हो। उसले हामीलाई उस्काएर विभिन्न प्रकारका पाप गर्न लगाउँछ र हृदयमा शासन गर्छ। प्रभु येशूले भन्नुभयोः "तिमीहरू ता आफ्ना बुबा, शैतानबाटको हौ, अनि आफ्नो बुबाका कुइच्छाहरू पूरा गर्न चाहन्छौं। त्यो ता शुरुदेखि नै हत्यारा थियो, र सत्यमा ठहरेन, किनभने त्यसमा सत्य छँदै छैन। जब त्यसले झूट बोल्दछ, तब त्यो आफ्नै तर्फबाट बोल्दछ, किनभने त्यो झूट हो, र झूटको बुबा हो" (यूहन्ना ८:४४)। झूट चाहे ठूलो होस् चाहे सानो होस्, झूट झूट नै हो। मानिसको जीवनमा कैयौं झूट हुन्छन्: ती बोलिन्छन्, लेखिन्छन् र गरिन्छन्। कपटी एउटा यस्तो झूटो मानिस हो, जसले आफूले गरेको झूटो कामलाई वास्तवमा गर्दै नगरेजस्तो बहाना गर्दछ। परमेश्वर झूट बोल्न सक्नुहुन्न नता ख्रीष्टियनले सक्दछ। “उहाँसँग हाम्रो सँगति छ भनी हामी भन्छौं, तर अन्धकारमा हिँड्छौं भने हामी ढाँट्छौं र सत्यमा चल्दैनौं” (१ यूहन्ना १:६)। "कुकुरहरू, जादु गर्नेहरू, व्यभिचारीहरू, हत्याराहरू, मूर्तिपूजा गर्नेहरू र सबै झूट मन पराउने र रच्नेहरू बाहिर हुन्छन्।” (प्रकाश २२:१५) 

९. ताराः यसले प्रत्येक मानिसका हृदयमा भएका विवेकलाई संकेत गर्दछ। यहाँ यो कालो, अपवित्र र दुष्ट छ। शायद निरन्तर मनपरी पाप गरेकोले मरिसकेको छ। अब यो अन्धो र विचलित अवस्थामा छ, त्यसले गर्दा आफैले गरेको कामको पनि ठीक बेठीक छुट्टयाउन नसक्ने भएको छ। यो दुष्ट विवेक कहिलेकहीं शान्त र कहिलेकाहीं दुःखित हुन्छ। यसले क्षमा दिनुपर्ने ठाउँमा दण्ड र दण्ड दिनुपर्ने ठाउँमा क्षमा दिन्छ। शायद यो विवेक तातो फलामले डामिएको जस्तो छ र विश्वासबाट हटिसकेकोले आफ्नो सबै विवेक चेतना हराएको छ। किनकि यसले बहकाउने आत्माहरू र शैतानका शिक्षाहरूलाई ध्यान दिएर कपटसाथ झूट बोलेको छ।

१०. आँखाः परमेश्वरको आँखाले हृदयमा पस्ने हरेक कुरालाई देख्छ। उहाँको तेजपूर्ण आँखाबाट केही पनि कुरा छिप्न सक्दैन। यसकारण उहाँ हृदयका सबै गुप्त विचार र मनोभावनाहरू जान्नु र देख्नुहुन्छ। 

११. आगाका साना जिब्राहरू : हृदयको वरिपरि रहेका आगाका यी साना जिब्राहरूले पापपूर्ण हृदयलाई परमेश्वरको प्रेमले घेरिएको संकेत गर्दछन्। परमेश्वरले पापलाई घृणा गर्नुभए पनि पापीलाई प्रेम गर्नुहुन्छ। त्यो नाश नहोस्, तर पश्चात्ताप गरेर बाँचोस् भन्ने उहाँ इच्छा गर्नुहुन्छ। ख्रीष्ट येशू पापीहरूलाई खोज्न र बचाउन आउनुभयो। एकजना पापीले पश्चात्ताप गर्छ अर्थात् परमेश्वर तिर मन फिराउँछ भने स्वर्गमा ठूलो आनन्द हुन्छ। यी साना जिब्राहरूले ख्रीष्ट येशूको रगतलाई पनि संकेत गर्दछन्। “हेर संसारको पाप उठाइ लैजाने परमेश्वरको थुमा येशू ख्रीष्ट हुनुहुन्छ” (यूहन्ना १:२९) 

१२. स्वर्गदूतः उनले परमेश्वरको वचन प्रस्तुत गर्दछन्। परमेश्वर छल, कपट र पापले लादिएका नरनारीहरूको हृदयमा बोल्न चाहनुहुन्छ। मानिसहरूले पश्चात्ताप गरुन्, र उहाँको ज्योति र प्रेम आफ्ना हृदयमा पस्न देऊन् भन्ने उहाँको ठूलो इच्छा छ। 

१३. ढुकुरः यो चाहिँ पवित्र आत्मा र सत्यको आत्माको चिन्ह हो। उहाँले मानिसलाई पाप, धार्मिकता र न्यायको विषयमा कायल पार्नुहुन्छ। यहाँ चित्रमा पवित्र आत्मा हृदयको बाहिर रहनुभएको देखा पर्छ। पापले शासन गरेको ठाउँमा उहाँ रहन सक्नुहुन्न। 

यो चित्रमा दर्शाएको वर्णन तपाईंको हृदयको अवस्थासँग मिल्छ भने तपाईंले आज प्रभु येशूलाई पुकार्नुहोस्। आफ्नो हृदय उहाँको लागि खोलेर उहाँको वचनको ज्योति तपाईंको हृदयमा चम्कन दिनुहोस्। “प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस्, र तपाईंले मुक्ति पाउनुहुनेछ” (प्रेरित १६:३१) परमेश्वर तयार हुनुहुन्छ, अँ, उहाँले तपाईंको हृदय परिवर्तन गर्ने प्रतिज्ञा गर्नुभएको छ। साथै उहाँले पवित्र आत्माले तपाईंको हृदय भर्नुहुनेछ। यो कुरा दोस्रो चित्रमा व्याख्या गरिएको छ।

दोस्रो चित्र 

यो चित्रले परमेश्वरलाई खोज्न शुरु गरेको एक पश्चात्तापी मानिसको हृदय संकेत गर्दछ। यहाँ स्वर्गदूतले एउटा तरवार समातिरहेको छन्, जो परमेश्वरको वचन हो। “किनकि परमेश्वरको वचन जीवित र प्रभावशाली, र कुनै दुईधारे तरवारभन्दा पनि धारिलो हुन्छ, जसले प्राण र आत्मालाई, जोर्नी जोर्नी र हड्डीको मासीलाई पनि वारपार छेड्छ, र हृदयको भावना र विचारहरूलाई खुट्टयाउने हुन्छ” (हिब्रू ४:१२)। परमेश्वरको वचनले उसलाई यो याद दिलाउँछः “पापको ज्याला मृत्यु हो” र “मानिसले एक पटक मर्नैपर्छ, अनि त्यसपछि न्यायको लागि खडा हुनुपर्दछ” (रोमी ६:२३, हिब्रू ९:२७)। “पापी र अविश्वासीहरूको भागचाहिँ आगो र गन्धकले भरिएको कुण्डमा हुनेछ।” (प्रकाश २१:८) 

दोषी पश्‍चात्तापी हृदय

२. दोषी पश्चात्तापीको हृदय 

स्वर्गदूतको अर्को हातमा एउटा खप्पर छ। यसले पापीहरूलाई एक पटक हामी सबैले मर्नैपर्छ भन्ने याद दिलाउँछ। हाम्रो यो शरीर, जसलाई हामी यति माया गर्छौ, लुगा लगाउँछौं, खुवाउँछौं, सिंगार्छौं र उसको अभिलाषा पूरा गर्नलाई सब प्रकारको हेरचाह गर्छौं, तर एक दिन यो मरेर सड्नेछ। तब हाम्रो आत्मा, जो कहिल्यै मर्दैन, परमेश्वरको न्यायआशनको सामुन्ने खडा हुनुपर्दछ। 

यहाँ हामी देख्छौं पापी मानिसले परमेश्वरको वचनमा ध्यान दिन शुरु गरेर परमेश्वरको प्रेमप्रति आफ्नो हृदय खोलेको छ। पवित्र आत्माले उसको अँध्यारो र पापी हृदयमा चम्कन शुरु गर्नुभएको छ। परमेश्वरको उज्यालो उसको मनमा पस्नसाथ अन्धकार निस्कन्छ। जब परमेश्वरको उज्यालो भित्र जान्छ, तब अन्धकार बाहिर निस्किन्छ। विभिन्न जनावरहरूद्वारा संकेत गरिएका पापहरू निस्केर भाग्दछन्। यसकारण प्रिय पाठक, प्रभु येशू संसारको ज्योतिलाई आफ्नो हृदयमा पस्न दिनुहोस् र चित्रमा दर्शाए झैं अन्धकार र त्यसका कामहरूले तपाईंको हृदयलाई छोड्नेछन्। येशूले भन्नुभयो: “म संसारको ज्योति हुँ, मेरो पछि लाग्ने अँध्यारोमा हिँड्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ” (यूहन्ना ८:१२)। तपाईं आफ्नै प्रयत्नले वा बुद्धिले आफ्नो हृदयबाट अन्धकार निकाल्न कहिल्यै सफल हुन सक्नुहुन्न। सबभन्दा सरल, निश्चित, छिटो र प्रभावशाली एउटै मात्र तरिका यही हो: तपाईं प्रभु येशूलाई भित्र आउन दिनुहोस् र पापको अन्धकार निकालिन्छ। चन्द्रमा र ताराहरूले हामीलाई रातको अन्धकारमा केही सहायता दिन सक्छन्ः तर जब सूर्य उदाएको हुन्छ, तब अन्धकार र साना तिना प्रकाशहरू हराउँछन्। येशू धार्मिकताका सूर्य हुनुहुन्छ। जब येशू यरुशलेमको मन्दिरमा पस्नुभयो, तब उहाँले सबै गोरु, भेंडा, ढुकुर बेच्नेहरूलाई बाहिर निकाल्नुभयो र पैसा साट्नेहरूको टेबल घोप्ट्यार भन्नुभयोः “यो लेखिएको छ, मेरो घर प्रार्थनाको घर कहलाइनेछ, तर तिमीहरूले चाहिँ यसलाई डाँकूहरूको ओडार बनाएका छौं (मत्ती २१:१३)। तपाईंको हृदय परमेश्वरको मन्दिर हुनको निम्ति बनाइएको हो। परमेश्वर यसमा बास गर्न चाहनुहुन्छ। यसलाई सुन्दर तुल्याउन र ज्योति, प्रेम अनि आनन्दले भरपूर पार्न चाहनुहुन्छ। प्रभु येशू हाम्रा पापहरूलाई क्षमा गर्न मात्र आउनुभएन, तर उहाँ हामीलाई बचाउन र पापको शक्तिबाट छुटकारा दिन आउनुभयो। “यसकारण परमेश्वरको पुत्रले तिमीहरूलाई स्वतन्त्र पारे भने तिमीहरू निश्चय स्वतन्त्र हुनेछौ”। (यूहन्ना ८:३६) 

तेस्रो चित्र 

यो चित्रले एउटा सच्चा पश्चात्तापी मानिसको हृदयको अवस्था देखाउँछ। अहिले उसले आफ्ना धेरै डरलाग्दा पापहरू देख्दछ, जसको कारण येशू क्रूसमा मर्नुभयो। जब त्यो पापीले क्रूसलाई देख्दछ, जुन क्रूस स्वर्गदूतले परमेश्वरको वचनद्वारा उसलाई प्रकट गर्दैछन्, तब यो दृष्यले उसको पश्चात्तापी हृदय तोडिदिन्छ र गम्भीर शोक र वेदनाले आफ्ना धेरै पापको कारणले विचलित हुन्छ। उसले ख्रीष्ट येशूमा प्रकट गरिएको परमेश्वरको महान प्रेमलाई देख्दछ। यस प्रेमले उसको हृदय पगालिदिन्छ। विशेष गरी जब ऊ यो महशुस गर्न थाल्दछ - ख्रीष्ट येशू, परमेश्वरको पुत्र त्यो श्रापित क्रूसमा मेरो सट्टामा मर्नुभैं मेरा सबै पापहरू उठाइलैजानुभयो। 

पश्‍चात्तापी हृदय

३. पश्‍चात्तापी हृदय

दुष्ट मानिसहरूले प्रभु येशूलाई कोर्रा लगाए, काँडाको मुकुट लगाइदिए उहाँका हात र पाउमा निर्दयतासाथ कीला ठोके, अनि यसरी उहाँ हाम्रा पापहरूको लागि क्रूसमा मर्नुभयो। यो घटनाले स्पष्ट र गहिरो रूपमा पश्चात्तापी मानिसको हृदय र जीवनमा परिवर्तन ल्याउँदछ। उसले परमेश्वरको वचन पढ्दछ; जसमा उसले आफैलाई ऐनामा देखे झैं देख्न थाल्दछ, र आफूलाई झन् झन् परमेश्वरदेखि टाढा भएको र उहाँको आज्ञाहरू उल्लंघन गरेको थाहा गर्दछ। गहिरो शोक र पश्चात्ताप उसलाई हुन्छ र उसले आँसु र विलापका साथ परमेश्वरको अगाडी आफूलाई सुम्पन्छ। येशूले उसलाई आफ्नो नजिक खिँच्नुहुन्छ। जब परमेश्वरको प्रेम र शान्ति उसको हृदयमा पस्छ, तब उसले यो थाहा गर्न लाग्दछः “परमेश्वरको पुत्र येशूको रगतले हामीलाई सब पापबाट शुद्ध पार्दछ” (१ यूहन्ना १:७)। “टुटेका हृदय भएकाहरू सबैको नजिक परमप्रभु हुनुहुन्छ” (भजनसंग्रह ३४:१८ )। फेरि परमेश्वरको वचनले भन्दछः “म यस मानिसतिर हेरिरहन्छु, जो दीन र चूर्ण मनको छ, अनि मेरो वचन सुनेर काम्दछ” (यशैया ६६:२। पवित्र आत्माले येशूका यी वचनहरूद्वारा बोल्दै हुनुहुन्छ: “हे छोरा, हे छोरी आनन्द गर, तिम्रा पाप क्षमा भए।” यी सबै कार्य उसकै निम्ति गरिएका हुन्, जब उसले विश्वासमा क्रूसलाई हेरिरहन्छ, जहाँ प्रभु येशूले आफ्नो अमूल्य रगत बगाउनुभएको छ। उसले यो थाहा गर्दछ, मेरो पापको बोझ हटिसकेको छ, किनकि प्रभु येशूले मेरो लागि दुःख र कष्ट सहनुभयो। “उहाँ हाम्रा अपराधको कारण घायल हुनुभयो, र हाम्रा अधर्मको निम्ति चोट पारिनुभयो"; "परमेश्वरले हामी सबैको अधर्महरूको बोझ उहाँमाथि हालिदिनु भयो।” (यशैया ५३:५) 

पवित्र आत्माको प्रकाशले अब उसको अन्धकारपूर्ण र अशुद्ध हृदयलाई भर्दछ। अब ऊ शुद्ध पारिएको छ र येशूको रगतले हिउँजस्तो सेतो बनाइएको छ (यशैया १:१८)। पवित्र आत्माले उसभित्र गवाही दिनुहुन्छ मलाई पापको क्षमा भएको छ र ठूलो कृपा पाएर म परमेश्वरको सन्तान बनिएको छु (रोमी ८:१६)अब उसलाई यो निश्चय छः “ हरेक जसले येशूमाथि विश्वास गर्दछ ऊ नाश हुँदैन, तर उसले अनन्त जीवन पाउँछ।” किनकि “येशूमा हामीलाई उहाँको रगतबाट छुटकारा, अर्थात् उहाँको अनुग्रहको धनअनुसार अपराधहरूको क्षमा हुन्छ (एफिसी १:७)। पापपूर्ण अभिलाषा पूरा गर्नको सट्टा अब उसमा परमेश्वरको निम्ति जिउने र उहाँको निम्ति सेवा गर्ने गहिरो इच्छा हुन्छ। “हामी उहाँलाई प्रेम गर्छौं, जसले हामीलाई पहिले प्रेम गर्नुभयो।” अब उसले संसार र सांसारीक कुराहरूमा प्रेम राख्दैन, तर परमेश्वरका कुराहरूलाई ज्यादा प्रेम गर्न थाल्दछ। 

यसकारण यस चित्रमा विभिन्न पापहरू संकेत गर्ने जनावरहरू अब हृदयको बाहिरपट्टि रहेका छन्, तरै पनि शैतान आफ्नो पहिलेको वासस्थान छोड्न राजी छैन, र फेरि भित्र पस्ने आशा गरीकन पछि फर्केर हेरिरहन्छ नै। यसैकारण प्रभु येशूले हामीलाई भन्नुहुन्छः “ जागा रहो, प्रार्थना गर र शैतानको विरोध गर्दै रहो, र शैतान तिमीहरूबाट भाग्नेछ।” 

चौथो चित्र 

यो चित्रले एउटा ख्रीष्टियनको बारेमा बताउँछ, जसले हाम्रा प्रभु र मुक्तिदाता येशूको बलिदानद्वारा पूरा शान्ति र छुटकारा पाइसकेको छ। यसकारण अब उसलाई कुनै कुरामा घमण्ड छैन। “खालि हाम्रा प्रभु येशू ख्रीष्टको क्रूसको गर्व गर्दछ, जसद्वारा मचाहिँ संसारको लेखि र संसारचाहिँ मेरो लेखि क्रूसमा टाँगिएको छ” (गलाती ६:१४)। येशू क्रूसमा मुर्नभयो। हामी पनि उहाँसँगसँगै क्रूसमा टाँगिएका छौं, “कि पापको लेखि मरेर धार्मिकताको लेखि जिउन सकौं। (१ पत्रुस २:२४) 

ख्रीष्‍टसँग क्रूसमा चढ़ाइएको हृदय

४. ख्रीष्टसँग क्रूसमा चढाइएको हृदय 

हेर, एक ख्रीष्टियन, जसले सांसारीक कुराप्रतिको इच्छा क्रूसमा चढायो। हामीले यो आज्ञा पाएका छौंः “आत्मामा हिँड र तिमीहरूले शरीरको लालसा कुनै रीतिले पूरा गर्नेछैनौ।” (गलाती ५:१६-२५)। 

यस हृदयको चित्रमा त्यो खाँबो देखाइएको छ, जसमा तिनीहरूले प्रभु येशूलाई लुगा खोलेर बाँधेका थिए। यसको साथमा चाबुक र कोर्रा पनि देखाइएको छ, जसले उहाँ निर्दयतासाथ पिटिनुभएको थियो। उहाँ हाम्रा पापको लागि मारिनुभयो, किनकि, “हाम्रो शान्तिको लागि उहाँमाथि शासना पयो” (यशैया ५३:५)। हेरोद राजा र उनका मानिसहरूले उहाँलाई गिल्ला गरे, कोर्रा लगाए, बैजनी रङ्गको वस्त्र पहिराइदिए र काँडाको मुकुट बनाएर उहाँको शिरमा खाँदै राजाले लाउने सुनको मुकुट भन्दै लगाइदिए। राजाको हातमा राजदण्ड हुनुपर्छ भन्दै तिनीहरूले उहाँको दाहिने हातमा निगालो राखिदिए र उहाँको अगाडि निहुरेर "सलाम, यहूदीहरूका राजा!” भन्दै ठट्टा गरे। तिनीहरूले उहाँलाई थुके र उहाँको हातबाट निगालोलाई थुतेर उहाँको शिरमा हिर्काए। यसरी तिनीहरूले निर्लज्ज र निर्दयतासाथ खिसी गरेपछि उहाँलाई क्रूसमा चढाउनको लागि शहर बाहिरतिर लिएर गए। 

कैयौं नामधारी ख्रीष्टियनहरू गिर्जा घरमा प्रार्थना गर्छन्, प्रभु भोजमा भाग लिन्छन्, परमेश्वरको भजन गाउँछन्, र पनि आफ्ना दुष्ट कामहरूद्वारा लगातार आफ्ना मुक्तिदाता प्रभुलाई फेरि क्रूसमा चढाइ नै रहन्छन्। “मलाई हे प्रभु हे प्रभु भन्ने हरेक स्वर्गको राज्यमा पस्नेछैन, तर त्यो पस्नेछ, जसले मेरा स्वर्गीय पिताको इच्छा पालन गर्छ।” (मत्ती ७:२१)। 

यो चित्रमा हामी एउटा पैसाको थैली पनि देख्छौं, जुन थैली चाहिँ यहूदा इस्करयोतीको हो, जसले प्रभु येशूलाई धोका दिएर तीसवटा चाँदिका टुक्रामा बेच्यो, किनकि पैसाको प्रेमले उसको हृदय बाँधिएको र अन्धो भएको थियो। लाल्टिन, साङ्ला इत्यादि ती सिपाहीहरूले प्रयोग गरेका थिए, जसले रातमा येशूलाई पक्रेका थिए। पासालाई, जो अक्सर जुवा खेल्ने काममा प्रयोग गरिन्छ, सिपाहीहरूले प्रयोग गरेर उहाँको वस्त्रमा चिठ्ठा हाले, र यस प्रकारले परमेश्वरको भविष्यवाणीको वचन पूरा हुन आयोः “तिनीहरूले आपसमा मेरा वस्त्र बाँडे र मेरा पोशाकका निम्ति चाहिँ तिनीहरूले चिठ्ठा हाले" (भजनसंग्रह २२:१८)। तिनीहरूले येशूको हरेक कुरा त लगे तर उहाँलाई यसो भन्दै इन्कार गरे: “हामीमाथि शासन गर्नलाई यो मानिसलाई हामी चाहँदैनौ। 

प्रायः सबै मानिसहरू परमेश्वरबाट किसिम-किसिमका आशिषहरू पाउन इच्छुक छन् - हावा, वर्ष, सूर्यको ताप इत्यादि। तर तिनीहरू आफैचाहिँ परमेश्वरको अधीनमा रहन चाहँदैनन्। धेरैजनाका निम्ति परमेश्वर आपत्ति र निराशको समयमा मात्र एक सहायक बनिनुभयो भने पुग्छ। 

सिपाहीहरूले येशूको कोखामा भालाले घोचे, र तुरुन्तै त्यहाँबाट रगत र पानी निस्क्यो (यूहन्ना १९:३३ - ३७)। भाले बास्नुभन्दा पहिले पत्रुसले तीन पटक येशूलाई इन्कार गरे, तर पछि छाती पिटी पिटी रोएर पश्चात्ताप गरे। के तपाईंले येशूलाई आफ्ना वचन र कामद्वारा स्वीकार गर्नुभएको छ? के मानिसहरूको अगाडि उहाँको नाम लिन तपाईंलाई लाज लाग्छ? येशूले भन्नुभयोः यसकारण हरेक जसले मानिसहरूको सामु मलाई स्वीकार गर्छ, म पनि उसलाई मेरा स्वर्गमा हुने पिताको सामु स्वीकार गर्नेछु। तर हरेक जसले मलाई मानिसहरूको सामु इन्कार गर्छ, म पनि उसलाई मेरा स्वर्गमा हुने पिताको सामु इन्कार गर्नेछु” (मत्ती १०:३२-३३)। 

येशूले यो पनि भन्नुभयो, “जसले आफ्नो क्रूस उठाएर मेरो पछि लाग्दैन, त्यो मेरो योग्यको हुँदैन” (मत्ती १०:३८)। तिनीहरू धन्यका हुन्, जो ख्रीष्ट येशूमा अर्थात् चट्टानमा दृढ रहँन्छन्। 

पाँचौ चित्र 

परमेश्वरको प्रशस्त निगाह र दयाले बचाइएको, शुद्ध र पवित्र पारिएको एक पापीको हृदय यस चित्रले दर्शाउँछ। यो हृदय अब परमेश्वरको सच्चा मन्दिर अर्थात् परमेश्वर पिता, पुत्र र पवित्र आत्माको वासस्थान भएको छ। यस विषयमा प्रभु येशू ख्रीष्टले यसो भन्दै प्रतिज्ञा गर्नुभएको थियोः “कसैले मलाई प्रेम गर्दछ भने त्यसले मेरो वचन पालन गर्नेछ, अनि मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ, र हामी त्यसकहाँ आउनेछौं र त्यससँग बास गर्नेछौं” (यूहन्ना १४:२३) “परमेश्वरले मानिसहरूलाई आशिष् दिएर माथि उठाउनुहुन्छ” (लूका १:५२)। 

५. यो हृदय परमेश्‍वरको मन्‍दिर हो

५. यो हृदय परमेश्वरको मन्दिर हो 

अब यो हृदय परमेश्वरको सच्चा मन्दिर भएको छ। यहाँबाट पाप निकालिएको छ। झूटको बुबा शैतानद्वारा विभिन्न जनावरहरूले शासन गरिएको हृदयमा अब हामी पवित्र आत्मा, सत्यका आत्मा बास गर्नुभएको देख्दछौं। पापको घृणित बैठकको बदला अब उसको हृदय सुन्दर फलदायी रुख वा बगैंचाजस्तै भएको छ। उसले आत्माको फल फलाउँदछ। जस्तैः प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाई, विश्वास, नम्रता, संयम र यस्तै परमेश्वर र मानिसंलाई मनपर्ने सद्गुणहरू। अब ऊ सच्चा अङ्गुरको फलदायी हाँगो भएको छ, जुन अङ्गुरको बोट हाम्रा प्रभु येशू ख्रीष्ट आफै हुनुहुन्छ। यो फल फल्ने रहस्य यो होः ऊ ख्रीष्टमा रहन्छ र ख्रीष्ट र उहाँका वचनहरू उसमा रहन्छन् (यूहन्ना १५:१-१०)। पवित्र आत्माको भरपूरी र बप्तिस्मा पाएपछि उसमा अब शरीर र शारीरिक अभिलाषाहरूमाथि विजय पाउने सामर्थ्य छ। पवित्र आत्माको शक्तिले ऊ आत्मिक तवरमा हिँड्न र शरीरमाथि विजय पाउन सामर्थ्य भएको छ। ऊ सुन्ने, देख्ने र अनुभव गर्ने कुराहरू अनुसार हिँड्दैन, तर विश्वासद्वारा जीवन बिताउँछ, किनकि ख्रीष्ट येशूमाथि विश्वास गर्नु नै विजय हो। 

“हृदयमा शुद्ध हुनेहरू धन्य हुन्, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्” (मत्ती ५:८)। दाऊद राजाले आफ्ना सारा धनसम्पत्ति र आफ्ना शत्रुहरूमाथि विजय पाउँदा पनि यो थाहा गरे: सबभन्दा ठूलो युद्ध त उनको आफ्नै हृदयभित्र चलिरहेको थियो। आफ्नो आन्तरिक आवश्यकताको महशुस गर्दै उनले यो प्रार्थना गरे: “हे परमेश्वर ममा शुद्ध आत्मा सृजनुहोस् र मभित्र स्थिरताको नयाँ आत्मा दिनुहोस्” (भजनसंग्रह ५१:१०)। कोही पनि आफ्नो हृदयलाई आफैले पार्न वा नयाँ आत्मा सृजना गर्न सामर्थवान छैन, खालि दाऊद राजाले गरे झैं तपाईं परमेश्वरकहाँ आएर “ममा एक नयाँ हृदय उत्पन्न गर्नुहोस् भनी उहाँसँग सच्चा पश्चात्तापका साथ प्रार्थना गर्नुभयो भने मात्र यो हुन सक्दछ। परमेश्वर तपाईंको जीवनमा नयाँ कुरा गर्न उत्सुक हुनुहुन्छ। आडम्बरले भरिएको तपाईंका आफ्ना धर्मकर्ममा भरोसा राखेर तपाईंको हृदय परमप्रभुको वासस्थान हुन सक्दैन किनकि ती धर्मकर्म परमेश्वरको दृष्टिमा फोहोर लुगा जस्ता छन्। परमेश्वर मात्र तपाईंलाई सहायता गर्न सक्नुहुन्छ, किनकि प्रतिज्ञा गर्ने व्यक्ति उहाँ नै हुनुहुन्छ, जसले भन्नुभयो: “ म तिमीहरूमाथि चोखो पानी छर्किदिनेछु, तिमीहरू शुद्ध हुनेछौं। यसरी म तिमीहरूलाई सबै अशुद्धता र मूर्तिहरूदेखि शुद्ध गर्दछु। अनि म तिमीहरूलाई नयाँ हृदय दिनेछु र तिमीहरूभित्र नयाँ आत्मा हालिदिनेछु। अनि म तिमीहरूको ढुङ्गाको हृदय निकालेर मासुको हृदय दिनेछु। अनि म आफ्नो आत्मा तिमीहरूभित्र हालेर तिमीहरूलाई यस्तो गराउनेछु तिमीहरू मेरा विधिहरूमा हिँड्नेछौं र मेरा नियमहरू मानेर ती अनुसार गर्नेछौं " ( इजकिएल ३६ : २५-२७)। यही नै नयाँ नियमको वाचा हो, जुन वाचाचाहिँ परमेश्वरले आफ्ना पुत्र ख्रीष्ट येशूको रगतद्वारा छाप लगाउनुभएको छ। 

यस चित्रमा हामी स्वर्गदूतलाई फेरि पनि प्रकट भएको देख्दछौं। स्वर्गदूत तिनीहरूको सेवाको लागि नियुक्त गरिएका हुन्, जो अनन्त जीवनको भागीदार भएका छन्। स्वर्गदूतहरू परमेश्वरको भय मान्नेहरूलाई रक्षा र सेवा गर्दछन्। (भजनसंग्रह ३४:७; हिब्रू १:१४) 

हामी यस चित्रमा शैतानलाई पनि हृदयको नजिकै उभिरहेको देख्छौं, मानौं ऊ आफ्नो पहिलेको वासस्थानमा फेरि पस्ने मौका खोजिरहेको छ। यसैकारण हामीले आज्ञा पाएका छौं : जागा रहो, प्रार्थना गरिरहो: “किनकि तिमीहरूको विरोधी शैतान, कसलाई भेटाऊँ र निलिहालूँ भनेर गर्जने सिंहझैं खोजेर हिँड्दछ” (१ पत्रुस ५:८)। कैयौंपटक शैतान ज्योतिको दूतको भेष लिएर बेहोशियारीहरूलाई सांसरिक वासना र अभिलाषाहरूमा मोहित पारेर आफ्नो धुर्त्याइँले छकाउँदछ, यहाँसम्म कि विशेष चुनिएका जनहरूलाई पनि त्यसले धोका दिने प्रयत्न गर्दछ। यसकारण हामी शैतानको सामना गरौं, र त्यो हामीदेखि भाग्नेछ (याकूब ४:७)। 

छैटौ चित्र 

यो एउटा विश्वासबाट पछि हट्न लागेको व्यक्तिको दुःखदायी चित्र हो। उसको एउटा आँखा बन्द हुन लागिरहेको छ, त्यसले ऊ ख्रीष्टियन जीवनमा सेलाउँदै गइरहेको कुरा दर्शाउँछ। उसको अर्को आँखा निर्लज्जाका साथ चारैतिर हेरिरहेर संसारलाई प्रेम गर्नमा भुलिरहेको छ। उसको हृदयको प्रकाश अँध्यारो भएको छ, र ऊ ख्रीष्टसँग सँगै दुःख भोग्न तयार छैन र अब उसो ख्रीष्टसँग हिँड्न तयार पनि छैन। ऊ परीक्षाहरूले घेरिएको छ तिनका विरोध गर्नको सट्टा ऊ विस्तारै-विस्तारै परीक्षाहरूद्वारा नै पराजय हुँदै गइरहेको छ। परमेश्वरको वाणी सुन्नको सट्टा ऊ अब शैतानको धुर्तताका कुराहरूपट्टि ध्यान दिन लाग्दछः यद्यपि ऊ अझै धार्मिकताको भेष लिन्छ र आफ्ना सांसारीक कुराहरूप्रतिको माया लुकाएर गिर्जामा जान्छ। 

६. परीक्षा र दोधारमा परेको हृदय

६. परीक्षा र दोधारमा परेको हृदय

उसको हृदयमा परमेश्वरप्रतिको प्रेम सेलाइसकेको छ। ऊ दोधारमा परेको दुईचित्ते भएको छ। परमेश्वरलाई प्रेम गर्छु भन्ने वहाना लिएर ऊ संसारसँग प्रेम-आलाप गर्न थाल्छ। उसको हृदयको तारा अर्थात् विवेक अँध्यारो भएको छ। उसले अब त्यो क्रूस खुशीसाथ उठाउँदैन, तर त्यो उसको जीवनमा एउटा वाक्कलाग्दो गरुङ्गो भारी मात्र भएको छ। उसको विश्वास डगमगाउन लागेको छ। प्रार्थना परमेश्वरसँग संगति र वातचीत गर्न उसले बन्द गरेको छ। आफ्नो हृदयको अवस्थाको बारेमा बेहोशी र लापरर्वाही भएर उसले विस्तारै शैतानलाई आफ्नो हृदयमा स्थान दिँदैछ। ऊ सच्चा विश्वासीहरूसँगको सँगतिमा भन्दा सांसारीक सँगतिमा ज्यादा आनन्द लिन्छ। 

मयूरको आत्मा, जो घमण्डको प्रतीक हो, भित्र पस्न खोज्दछ। उसले परमेश्वरको अनुग्रहले मात्र मुक्ति पाएको हुँ भन्ने कुरालाई भुलेर ऊ अब एउटा घमण्डी ख्रीष्टियन बन्न थाल्दछ। शारीरिक विचार र वासनाहरू फेरि उसको मनमा आउन लाग्दछन्। उसले फेरि बारम्बार अनैतिक ठट्टा गर्न, फोहोर चित्रहरू हेर्न, खराब सँगति गर्न र यस्तै रङ्ग नाच, मनोरञ्जन आदिमा आनन्द र चाख मानेर शैतानका खराब सुझाउहरू निल्न शुरु गर्दछ, जसले यसो भन्छ - यो त स्वभाविकै कुरा हो र यति गर्नु त पाप नै होइन। 

यो कुरा सत्य होः शैतानिक र अशुद्ध विचार हाम्रो टाउको माथि उठ्नदेखि रोक्न सक्दैनौं। तर यदि हामीले त्यस दुष्ट चरालाई हाम्रो हृदयमा गुँड बनाएर बस्न दियौं र दुष्ट कामको चल्लाहरू काड्न दियौ भने हामी यसमा दोषी ठहरिनेछौं। यदि हामीले शैतानलाई कान्छी औँलो मात्र दियौं भने यो निश्चय छ - उसले हाम्रो पुरै हात पक्रेर हाम्रो आत्मालाई अनन्त नरकमा डुबाउनेछ। यसकारण हामीहरूलाई परमेश्वरको गम्भीर चेतावनी छः हामी जवानीका अभिलाषादेखि भागौं, र यसले जुनसुकै रूपमा हामीलाई लोभ्याए पनि हामी त्यसमा नफसौं। हामी येशूकहाँ दौडौं, जो हाम्रो उद्धारक र विजय हुनुहुन्छ। चित्रमा देखाइएको त्यो व्यक्ति जसले छुरीले हृदयलाई खोपिरहेको छ, ख्रीष्ट येशूमाथिको विश्वासलाई ठट्टामा उडाउने र विरोध गर्ने मानिसलाई संकेत गर्दछ। दोष लगाउने जिब्रो र खिसीपूर्ण ओठले दुष्टहरूले त्यो ख्रीष्टियनको दोधारमा परेको हृदयलाई हमला गर्दछन्, र असहय भएर उसले हार खानुपर्दछ। उसले परमेश्वरको भन्दा मानिसको डर बढी मान्न थाल्दछ। मानिसहरूले के गर्लान्, के भन्लान् भन्ने डरको कारणले ऊ मानिसहरूको दास हुन्छ र परमेश्वर देखि टाढा हुँदै जान्छ। आपत्ति र निराशको समयमा क्रोध र रिस भित्र पस्न जोड गर्छन्। अरु मानिसहरू आफूभन्दा सफल र उन्नत भएका देखेर ईर्ष्याको त्यो दुष्ट साँप एक्कासि हृदयभित्र पस्दछ। यदि कसैले त्यसलाई अलिकता मात्र मौका दियो भने त्यसले घृणा र घमण्डलाई ढोका खोलिदिन्छ। 

यदि हामी प्रभु येशूको चेतावनीमा ध्यान दिँदैनौ भने, रुपियाँ - पैसाको लोभ सजिलैसँग हृदयमा पस्न सक्छ। प्रभु भन्नुहुन्छः “जागा रहो, प्रार्थना गर, कि तिमीहरू परीक्षामा नपर” (मत्ती २६:४१)। “यसकारण म खडा छु भन्ने जसले विचार गर्दछ, त्यो होशियार रहोस्, नत्रता त्यो लड्नेछ” (१ कोरन्थी १०:१२)। हामी परमेश्वरका सबै हतियारहरू धारण गरौं जसद्वारा हामी शैतानको विरुद्धमा खडा हुन सक्दछौं (एफिसी ६:११-१८)। 

सातौ चित्र 

यो चित्रले विश्वासबाट पूरा पछि हटिसकेको मानिसको हृदयको अवस्था देखाउँछ। एक समय ख्रीष्ट येशूमा भएको मुक्तिको ज्ञान प्राप्त गरेर उसले स्वर्गीय आशिषहरूको स्वाद चाखिसकेको थियो र पवित्र आत्मको सहभागी भएको थियो, तर अब ऊ पतित भइसकेको छ। यो चित्रले त्यस मानिसको अवस्था पनि दर्शाउँछ, जसले कहिल्यै पश्चात्ताप गरेको छैन वा परमेश्वरकहाँ आफैलाई अर्पण गरेको छैन। यद्यपि सुसमाचारको सत्यता, जसलाई “खुशीको खबर” भनिन्छ, उसको सामुन्ने प्रकट गरिएको थियो। त्यस्तो मानिसलाई परमेश्वरले सल्लाह दिनुहुँदा त्यसले हृदय कडा बनाउँदछ। त्यसको सुधारको लागि जतिसुकै प्रयत्न गरे पनि त्यो झन् झन खराब हुँदै जान्छ। 

विश्‍वासबाट पछि हटिसकेको वा कडा पारिएको हृदय

७. विश्वासबाट पछि हटिसकेको वा कड़ा बनाएको हृदय 

विश्वासबाट पछि हट्नेहरूको सम्बन्धमा प्रभु येशू आफैले तिनीहरूको अवस्थाको बारेमा यसो भन्दै वर्णन गर्नुहुन्छः “अशुद्ध आत्मा मान्छेबाट निस्केपछि, त्यो ओबानो ठाउँ हुँदो विश्राम खोज्न जान्छ, र कहीं नपाउँदा त्यसले भन्छः 'म निस्केर आएको मेरो घरमा फर्केर जान्छु' अनि आएर त्यसले त्यो बढारेर सजाएको भेट्टाउँछ। तब त्यो जान्छ र आफूभन्दा ज्यादै दुष्ट अरु सातओटा आत्माहरूलाई साथमा ल्याउँछ, र ती भित्र पसेर त्यहाँ वास गर्छन्; अनि त्यस मान्छेको पछिल्लो दशाचाहिँ अघिल्लोभन्दा खराब हुन्छ” (लूका ११:२४-२६)। “यस सत्य उखानअनुसार तिनीहरूलाई भएको छ - कुकुर फेरि आफ्नै छादपट्टि फक्यों, र नुहाइएको सुङ्गुरनी फेरि आहाल खेल्न फक्यौं” (२ पत्रुस २:२२)। 

पवित्रशास्त्र बाइबलको यो अंशले विश्वासबाट पछि हटेको वा अपश्चात्तापी पापपूर्ण हृदयको अवस्था स्पष्टसँग बताउँछ। पाप आफ्नो सब प्रकारको धोकाबाजीको साथ हृदयमा बस्न र उसलाई नियन्त्रण गर्न आएको छ, यहाँसम्म कि उसको चेहराले पनि उसको हृदयको अवस्था प्रकट गर्दछ। हाम्रो हृदयमा एकै समयमा परमेश्वरको मन्दिर र शैतानको ओडार दुबै हुन सक्दैन। यहाँ स्वर्गदूतले परमेश्वरको वचन ल्याएका थिए, त्यस ठाउँलाई छोड्न परेको छ; तैपनि त्यस मानिसले कतै पश्चात्ताप गर्छ कि भन्ने आशामा पछिल्तिर फर्केर हेरिरहेका छन्। उडाउ पुत्रले सही गयो उसले भन्योः “ म उठेर आफ्ना बुबाकहाँ जानेछु र उहाँलाई भन्नेछु, हे पिताजी, मैले स्वर्गको विरुद्धमा र तपाईंको दृष्टिमा पाप गरेको छु, अब उसो म तपाईंको छोरो भनिन योग्यको छैन, मलाई तपाईंका ज्यालादार नोकरहरूमध्ये एउटा सरह तुल्याउनुहोस्” (लूका १५:१८-१९)। यी बुबाले आफ्नो छोरालाई पश्चात्तापी देखेर क्षमा गरिदिए र खुशीसाथ ग्रहण गरे। 

तर यस चित्रमा हेर्दा हामीले थाहा गर्छौं - यस हृदयमा कुनै सच्चा पश्चात्ताप छैन; परमेश्वरतर्फ फर्केको पनि छैन, र पापको क्षमा पाउनलाई येशूको चरणमा परेको पनि छैन। उसको विवेक मानौ तातो फलामले डामेर चुपचाप पारिएको छ। उसका कानले येशूको नम्र विनयलाई सुन्न सक्दैनन्। उसका आँखाले नरकको त्यो अथाह कुण्डलाई देख्न सक्दैन, जसले उसलाई निल्नको लागि उसकै खुट्टानेर मुख आँ गरिरहेको छ। पाप गरिरहनमा अब उसलाई केही शर्म लाग्दैन। शैतान उसको हृदयमा शासन गर्न आएको छ र आफ्नो सिंहासनमा राजा विराजमान छ। यो पनि सम्भव छः अझै ऊ बाहिरी धार्मिक देखावटमा एक भलो र आदरणीय पुरुष भएको देखा पर्छ, तर ऊ चुनाले पोतेको चिहानजस्तो एक कपटी मात्र हो, “जो बाहिरपट्टि साँच्चै सुन्दर देखा पर्दछ, तर भित्रपट्टि भने मुर्दाहरूका हड्डीहरू र सबै अशुदताले भरिएको हुन्छ ” मत्ती २३:२७)। 

झूटको बुबा शैतानले सत्यको आत्माको ठाउँ ओगटिराखेको छ। अब हरेक जनावर अर्थात् हरेक पापसँग राक्षस वा अशुद्ध आत्मा आउँदैछ र उसको हृदयमा अधिकार जमाउँदैछ। यद्यपि ऊ आफै यी दुष्ट अत्याचारीहरूबाट स्वतन्त्र हुन चाहन्छ, तर तिनीहरूले उसलाई बाँधि नै राख्दछन्। “जसरी मोशाको व्यवस्थालाई तुच्छ ठान्थ्यो, त्यो दुई वा तीनजना साक्षीहरूका वचनको आधारमा दयाविना मारिन्थ्यो भने तिमीहरू विचार गर; परमेश्वरका पुत्रलाई खुट्टामुनि कुल्चने, आफूलाई पवित्र पारेको करारको रगतलाई अपवित्र गन्ने र अनुग्रहको आत्मालाई अपमान गर्ने झन् कति कडा दण्डको योग्य ठहरिनेछ।” (हिब्रू १०:२८-२९; २ पत्रुस १:१४) 

यदि यो चित्र तपाईंको हृदयको अवस्थासँग मिल्दछ भने; प्रिय मित्र, नढिलाईकन सम्पूर्ण हृदयले परमेश्वरलाई पुकार्नुहोस्। “उहाँले तपाईंलाई पूर्ण रूपले मुक्त गर्न सक्नुहुन्छ” (हिब्रू ७:२५ )। यदि तपाईं सच्चा पश्चात्तापी हृदय लिएर परमेश्वर कहाँ आउनुभयो भने र आफ्नो भूल स्वीकार गर्नुभयो भने उहाँ तपाईंको सबै पाप क्षमा गर्न सामर्थी र इच्छुक हुनुहुन्छ। यदि तपाईं उहाँलाई यो काम गर्न दिनुभयो भने उहाँ शैतान र उसका सबै दुष्टआत्माहरूको फौजलाई बाँध्नुहुन्छ र तिनीहरूलाई तपाईंको हृदयबाट बाहिर निकाल्नुहुन्छ। तपाईं पनि त्यही कोरीझैं आउनुहोस्, जो येशूकहाँ आएर भन्यो, “तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।” येशूले उत्तर दिएर भन्नुभयोः “म इच्छा गर्छु, तिमी शुद्ध भइजाऊ” (मर्कूस १:४०-४१)। तर यदि तपाईंले आफ्नो हृदयलाई कठोर पार्नुभयो र ज्योतिलाई भन्दा अन्धकारलाई बढी रुचाउनुभयो भने तपाईंको लागि कुनै आशा र सहारा हुनेछैन। किनभने तपाईंले जीवनको सट्टामा मृत्युलाई छन्नुभयो। “किनकि पापको ज्याला मृत्यु हो” (रोमी ६:२३)। 

आठौ चित्र 

यहाँ हामीले अल्याङटल्याङ गर्ने पापी र विश्वासबाट पछि हटेको व्यक्तिलाई मर्ने अवस्थामा देख्दछौं। अहिले उसको मन मृत्युको डर र पीडाले भरिएको छ। काल अचानक, नसोचेको समयमा आइपुगेको छ। अब पापको धोकापूर्ण आनन्द उसबाट हटिसकेको छ। त्यसको भयानक मजदुरी उसले पाउनुपरेको छ। नरकको पीडाले आफ्नो शिकारलाई समातिरहेको छ। अहिले उसले परमेश्वरसँग बिन्ती गर्ने चाहना गर्छ, तर यतिका समयसम्म परमेश्वरको प्रेमलाई लत्याएको हुनाले उसले परमेश्वरसँग मेलमिलाप राख्न पाउँदैन। उसका पहिलेका साथीहरू अब उसको छेउमा उभिन पनि डराउँछन्। र तिनीहरूका रित्ता वचनले उसलाई केही सान्त्वना पनि मिल्दैन। उसले जीवनभरि मरी मरी कमाएको सम्पत्तिले नता उसको आयु बढाउन, न उसको प्राण बचाउन सक्छ, नता यस पीडित आत्मालाई केही आराम दिँदछ। उसलाई अब परमेश्वरतिर ध्यान ल्याउन असम्भव छ, किनकि उसलाई यसो गर्ने अवसर मिल्दैन। 

पापी मानिसको मृत्‍यु र दण्‍ड

८. पापी मानिसको मृत्यु र दण्ड 

जुन चीज उसले प्रेम गर्थ्यो र जसको लागि ऊ जिउँथ्यो, ती सबै कुरा आज उसको लागि श्राप बन्दछन्; यहाँसम्म कि आफन्तहरू र पुरोहितले पनि उसलाई मद्दत गर्न सक्दैनन्। उसलाई अब यो अनुभव हुन लाग्दछः "जीवित परमेश्वरको हातमा पर्नु डरलाग्दो कुरा हो " (हिब्रू १०:३१)। उसले आशा गरेको थियोः कुनै दिन, कुनै सुविधाजनक समयमा अथवा मर्ने बेलामा म परमेश्वरसँग हिसाब मिलाउँला, तर अब उसलाई थाहा हुन्छ, बिल्कुलै ढिलो भइसकेको छ र अब केही पनि गर्न सक्दैन। हजारौं मानिसहरू अचानक मर्दछन् र परमेश्वरलाई खोज्ने कति पनि मौका उनीहरूलाई मिल्दैन। यसकारण यो जरूर छः परमेश्वरलाई पाउने बेलामा उहाँलाई खोजिहाल्नुहोस्। परमेश्वरको मुक्तिको शान्तिपूर्ण वचन सुने पनि उसले आफ्नो जीवनकालमा परमेश्वरको निगाह र प्रेमलाई अस्वीकार गर्यो। अब यसको सट्टामा यो मर्न लागेको पापी न्यायकर्ताको आवाज सुनिरहेको हुन्छ। उहाँले यसो भन्नुहुन्छः "हे श्रापित हो, शैतान र त्यसका दूतहरूका लागि तयार गरिएको अनन्त आगोमा मबाट हटिजाओ” (मत्ती २५:४१)। “मानिसको निम्ति एकचोटी मरण र त्यसपछि इन्साफ नियुक्त गरिएको छ”(हिब्रू ९:२७)। 

नबौ चित्र 

यहाँ चित्रले ख्रीष्ट येशूमाथि विश्वास गर्ने व्यक्तिको जीवनमा परीक्षा र जाँचहरू आइपर्दा उसले सहेको र विजय पाएको देखाउँछ। जब चारैतिरबाट परीक्षाहरू आउँछन् तब ऊ विचलित हुँदैन, तर स्थिर रहन्छ र अनन्तसम्म सहेर प्रेम गर्ने ख्रीष्ट येशूद्वारा विजेताहरू भन्दा पनि जयवन्त हुँदै जान्छ। उसले दौड शुरु गरेको मात्र होइन, तर ऊ यसमा लगातार अघि बढ्छ र धैर्यसाथ दौडि नै रहन्छ। नता ऊ दायाँ फर्किन्छ न बायाँ तर “विश्वासका कर्ता र सिद्ध तुल्याउनुहुने येशूलाई मात्र हेर्दछ।” (हिब्रू १२:१-२) 

शैतान आफ्ना सारा सेनाका साथ विश्वासी हृदयलाई चारैतिरबाट घेर्छ र बहकाउने प्रयत्न गरिरहेको छ। घमण्ड, पैसाको लोभ, व्यभिचार र यस्तै अरु अरु कुराहरू पनि यहाँ दर्शाएका छन्। चितुवाको ठाउँमा हामी अहिले गधालाई देख्दछौं, किनकि कयौंपटक पाप हामीकहाँ विभिन्न रूपमा देखा पर्दछ। तर जागा र सतर्क ख्रीष्टियनले, पाप धार्मिकताको भेष लिएर वा ज्योतिको दूतकै रूप लिए पनि चिन्न सक्दछ। किनकि परमेश्वरको वचन र सत्यको आत्माले उसलाई सब सत्यतामा डोर्‍याएका हुन्छन्। 

ख्रीष्‍टमा विजयी जीवन

९. ख्रीष्टमा विजयी हृदय 

विभिन्न जनावरहरू बाहेक हामी यहाँ चित्रमा रक्सीको ग्लास हातमा लिएर नाचिरहेको एकजना मानिसलाई पनि देख्छौं। त्यसले यस विश्वासीलाई संसारको अभिलाषा र मोजमज्जामा भुलाएर परीक्षामा पार्ने प्रयत्न गरिरहेको छ। तैपनि परमेश्वरमा समर्पित भएको ख्रीष्टियनमाथि त्यसको केही प्रभाव पर्न सकेन, किनकि वास्तवमा उसले आफैलाई खीष्टसँगै क्रूसमा चढाएको ठानेर पाप र संसारसितको सम्बन्ध टुटाएको छ। चित्रमा देखाइएको दोस्रो मानिसले यस विश्वासीमा छुरी रोपिरहेको छ। कयौंपटक कुवाक्य बोल्ने, निन्दा गर्ने ठट्टामा उडाउने परमेश्वरका शत्रुहरूले डर र धम्की देखाउँछन् र सच्चा ख्रीष्टियनको हृदयमा छुरी रोप्नेजस्तै दुःख दिन्छन्। तर ऊ संसारको लेखि मरिसकेको हुनाले मानिसका कुराहरूमा होइन, तर परमेश्वरका कुराहरूप्रति ध्यान दिन्छ। उसले येशूले भन्नुभएको कुराहरू याद गर्छ “तिमीहरू धन्य हौ, जब मानिसहरूले तिमीहरूलाई मेरो कारणले निन्दा गर्नेछन्, सताउनेछन् र हरेक किसिमको खराबी कुरा तिमीहरूको विरुद्धमा झूट बोल्नेछन्, तब रमाओ र अत्यन्तै खुशी होओ, किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो छ।” (मत्ती ५:११-१२)

शरीरमा भएको पापको स्वभाव र शैतानले यस प्रभु येशूमाथि विश्वास गर्नेलाई परमेश्वरको प्रेमबाट अलग गर्न सकभर प्रयत्न गरिरहेकै हुन्छ। तर ऊ ठूलो आनन्द र निश्चयता लिएर साँचो गरी भन्न सक्छ, “कसले हामीलाई ख्रीष्टको प्रेमबाट अलग पार्ला? के सङ्कष्टले, वा क्लेसले, वा सतावटले, वा अनिकालले, वा नाङ्गोपनाले वा खतराले, वा तरवारले?” (रोमी ८:३५)। “अहँ, यी सबै कुराहरूमा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजयीहरूभन्दा पनि बढता छौ” (रोमी ८ः३७)। परमेश्वरका सम्पूर्ण हातहतियारहरू धारण गरेर ऊ विपत्तिका दिनहरूमा खडा हुनेछ र ख्रीष्ट येशूद्वारा सबै परीक्षाहरूमा विजयी हुनेछ। उसले ख्रीष्ट येशूद्वारा सबै परीक्षा र जाँचहरूमा विजय प्राप्त गयो, त्यसैले ऊ महिमाको मुकुट पनि पाउनेछ। 

उसको विवेक - त्यो हृदयको तारा सफा र चम्किलो छ। उसको हृदय विश्वास र पवित्र आत्माले भरिएको छ। परमेश्वरको वचनले उसलाई ती बहुमूल्य प्रतिज्ञाहरूको याद दिलाउँछ, जो जयवन्त हुनेलाई अर्थात् अन्तसम्म स्थिर रहनेलाई आशिषको रूपमा दिइनेछ। “जसले जित्छ, उसलाई परमेश्वरको स्वर्गलोकमा भएको जीवनको रूखको फल म खान दिन्छु।” “जसले जित्छ, उसलाई दोस्रो मृत्युबाट कुनै हानि हुनेछैन।” “जसले जित्छ उसलाई म गुप्तमा राखिएको मन्नबाट खान दिनेछु, उसलाई एउटा सेतो पत्थर र त्यस पत्थरमा लेखिएको एउटा नयाँ नाम दिनेछु, जुन नाम पाउनेले बाहेक अरु कसैले जान्दैन।" "जसले जित्छ, र मेरा कामहरूलाई अन्तसम्म कायम राख्छ, जसलाई म जातिहरूमाथि अधिकार दिनेछु।” “जसले जित्छ, उसलाई सेता लुगा पहिराइनेछ, र उसको नाम म कुनै रीतिले जीवनको पुस्तकबाट मेटिदिनेछैनँ, तर म उसको नाम मेरा पिताको सामु र उहाँका दूतहरूको सामु स्वीकार गर्नेछु।” “जसले जित्छ, उसलाई म मेरा परमेश्वरको मन्दिरमा खाँबा तुल्याउनेछु, र ऊ त्यसबाट कहिल्यै बाहिर निस्कनेछैन।” “जसले जित्छ, उसलाई म मेरो सिंहासनमा मसँग बस्न दिनेछु, जसरी मैले पनि जिते, र मेरा पितासँग उहाँको सिंहासनमा बसें।” (प्रकाश २:७, ११, १७, २६, ३:५, १२, २१)। 

पैसाको त्यो खुल्ला थैलीले यो बताउँछ कि उसले आफ्नो हृदय मात्र होइन, तर पूरा धनसम्पत्ति पनि परमेश्वरलाई अर्पेको छ। आफ्नो सांसारिक धनसम्पत्ति उडाउनको सट्टा ऊ गरिबहरूलाई सहायता गर्छ, र आफूसँग जे छ, त्यो सबै परमेश्वरकै महिमाको लागि खर्च गर्छ। 

रोटी र माछाले यो बताउँछ कि उसले एउटा शुद्ध, पवित्र र संयमी जीवन विताउँछ। ऊ आफ्नो शरीरलाई, जो परमेश्वरको मन्दिर हो, रक्सी वा अरु मादक पदार्थ पिएर वा तमाखु खाएर वा लट्ठ पार्ने औषधी प्रयोग गरेर अशुद्ध पार्दैन; तर तागतिला र पोषिलो भोजन गर्दछ। उसको हृदय प्रार्थनाको घर भएको छ। जुनसुकै परिस्थिति र वातावरणमा पनि ऊ अरु साँचो ख्रीष्टियनहरूसँग संगति गर्न खोज्छ र परमेश्वरको भक्ति गर्छ। ऊ प्रार्थना गर्न मन पराउँछ, चाहे घरमा होस्, चाहे परिवारमा, चाहे एक्लै आफ्नै कोठामा, किनाकि उसलाई थाहा छ - एउटा सच्चा ख्रीष्टियन प्रार्थनाद्वारा परमेश्वरसँग सँगति नगरीकन टिक्न सक्दैन। 

त्यस खुला पुस्तकले यो बताउँछ कि पवित्रशास्त्र बाइबल उसको निम्ति सधैँ खुला रहने पुस्तक हो। ऊ यो दिन प्रति दिन पढेर अध्ययन गर्दछ र यसमा उसले बुद्धि र सामर्थ्य, जीवन र प्रकाश, र अवर्णनीय धन प्राप्त गर्दछ। अब परमेश्वरको वचन उसका पाउका लागि बाटो देखाउने बत्ती भएको छ र एक तरवार पनि भएको छ, जसद्वारा उसले आफ्नो शत्रुहरूमाथि विजय पाउँछ। यो उसको आत्माको निम्त दैनिक भोजन हो। यो वचन पानी पनि हो, जसले उसको आत्मिक तृष्णा मेटाउँछ र जलले स्नान गरे झैं उसलाई शुद्ध पार्दछ। परमेश्वरको वचन एउटा ऐनाजस्तै हो, जसमा उसले आफैलाई देख्दछ। ऊ आफ्नो क्रूस खुशीसाथ उठाउँछ, किनकि उसलाई थाहा छ क्रूस नबोकीकन अथवा कष्ट नभोगिकन इनाम पाइँदैन। उसलाई थाहा छ मरेकाहरूबाट बौरी उठ्ने ख्रीष्टसँग विश्वासमा एक भएर र शक्ति पाएर एक नयाँ चालमा चल्नुपर्छ। अब ऊ स्वर्गका कुराहरूको खोजी गर्दछ, संसारका नाश हुने कुराहरूको होइन। ऊ परमेश्वरलाई भेट्न सधैं तयार छ। ऊ पानीको नजिकै रोपिएको रुखजस्तो छ, जसले ठीक समयमा फल फलाउँछ। ऊ अङ्गुरको हाँगा छ, जसले प्रशस्त फल दिन्छ। उसको हृदय पवित्र आत्मा, परमेश्वरको सिद्ध प्रेमले भरपूर भएको हुनाले उसलाई मृत्युको कुनै डर छैन। 

दसौ चित्र 

प्रभु येशूले भन्नुभयो: “बौरिउठाइ र जीवन मै हुँ, जसले ममाथि विश्वास गर्दछ, ऊ मरे तापनि बाँच्नेछ; अनि जो बाँच्छ र ममाथि विश्वास गर्दछ, त्यो कहिल्यै मर्नेछैन” (यूहन्ना ११:२५ - २६)। “जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुने माथि विश्वास गर्छ, उससँग अनन्त जीवन छ, र ऊ इन्साफमा पर्नेछैन, तर मृत्यृदेखि जीवनमा सरिसकेको हुन्छ” (यूहन्ना ५:२४)। खीष्टियनमा मृत्युको केही डर छैन। "हे मृत्यु, तेरो खील कहाँ? ... तर परमेश्वरलाई धन्यवाद होस्, जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनुहुन्छ।” (१ कोरन्थी १५:५४-५७)

महिमायुक्त स्‍वर्ग प्रस्‍थान

१०. महिमायुक्त स्‍वर्ग प्रस्‍थान

परमेश्वरको साथमा हिँड्ने व्यक्तिलाई मृत्युको डर छैन। जब यस संसारलाई छाड्ने समय आउँछ, तब ऊ खुशीसाथ जान्छ। पावल प्रेरित भन्दछन्ः “गइहालेर ख्रीष्टसँग रहने इच्छा त छ, किनभने यो धेरै असल छ।” (फिलीप्पी १:२३) 

यस ख्रीष्टियनले येशूको मुहार हेर्न चाहन्छ, किनभने उहाँ नै उसको निम्ति क्रूसमा मर्नुभयो र उसलाई उद्धार गर्नुभयो। पवित्र आत्माले पनि उसलाई येशूका वचनको याद दिलाउँनुहुन्छ: “तिमीहरूको हृदय दुःखित नहोस्, तिमीहरू परमेश्वरमा विश्वास गर्दछौ, ममा पनि विशवस गर” (यूहन्ना १४:१)। “आँखाले नदेखेका, कानले नसुनेका र मानिसका मनमा नपसेका कुराहरू परमेश्वरले आफूलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ” (१ कोरन्थी २:९ )। पृथ्वीमा कुनै यस्तो भाषा नै छैन, जसले स्वर्गीय स्थानहरूको महिमाको वर्णन गर्न सक्दछ। त्यही स्थान यस संसारमा हाम्रा प्रभु येशू ख्रीष्टसँग हिँड्नेहरूका लागि तयार पारिएको छ। 

एक स्वर्गदूत यस अन्तिम चित्रमा देखाइएको छ। उनी यस धर्मी आत्मालाई परमेश्वरकहाँ लैजान पर्खिरहेका छन्। अब उसको प्राण र आत्मा नाशवान शरीरका वन्धनबाट मुक्त भएर येशूको छेऊमा उचालिएका छन्, जसले उसलाई प्रेम गर्नुभयो; किनकि उसको निम्ति उहाँ यस पृथ्वीमा आउनुभयो र मर्नुभयो। परमेश्वरको उपस्थितिमा आनन्दपूर्ण उसलाई स्वागत गरिन्छ, जहाँ उसलाई प्रभु प्रशंसाको शब्दले अभिवादन गर्नुहुन्छः श्याबास! असल र विश्वासयोग्य दास! तिमी थोरै कुरामा विश्वासयोग्य रहयौ, म तिमीलाई धेरै कुरामाथि नियुक्त गर्नेछु। आफ्ना मालिकको आनन्दभित्र प्रवेश गर” (मत्ती २५:२१)। अब उसो शैतान उसलाई कहिल्यै दुःख दिन सक्दैन; किनकि “परमेश्वरका भक्तहरूको मृत्यु उहाँको दृष्टिमा अनमोल छ।” (भजनसंग्रह ११६:१५ ) 

“अनि मैले स्वर्गबाट मलाई यसो भन्ने एउटा आवाज सुनें, 'यो लेख, अब उसो प्रभुमा मर्नेहरू धन्यका हुन्'; आत्मा भन्नुहुन्छ, 'अँ, तिनीहरूले आफ्ना परिश्रमबाट आराम पाऊन्, अनि तिनीहरूका कामहरू तिनीहरूका पछि लाग्छन्।” (प्रकाश १४:१३) 

  • अन्तिम उपदेश 

प्रिय पाठक, परमेश्वरले तपाईंलाई सहायता गरुन्, कि तपाईंले आफ्नो हृदय उहाँलाई दिन सक्नुभएको होस्। प्रभु येशू तपाईंलाई प्रेम गर्नुहुन्छ, र तपाईंलाई आग्रह गरेर भन्नुहुन्छः “हे मेरो छोरा, हे मेरी छोरी तिम्रा मन मतिर लगाऊ।” आफ्नो हृदय प्रभु येशूलाई दिनुहोस् र उहाँले तपाईंलाई एउटा नयाँ हृदय र एउटा नयाँ आत्मा दिनुहुनेछ। तपाईं आफ्नै हृदयको अभिलाषा र इच्छाअनुसार चलेर आफैलाई धोका नदिनुहोस्, किनकि “जसले आफ्नै मनमा भरोसा राख्दछ, त्यो मूर्ख हो; तर जो बुद्धिसित हिँड्दछ, त्यो बचाइन्छ (हितोपदेश २८ः२६)। आफ्ना पापहरूलाई त्याग्नुहोस् र परमेश्वरको धार्मिकतासँग टाँसिनुहोस् " किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको अनुग्रहको वरदान हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो” (रोमी ६:२३)। 

अनि तपाईं, जसले आफ्नो जीवन परमेश्वरको हातमा सुम्पनुभएको छ। येशू खीष्टमा भएको विश्वास र प्रेममा रहेर तपाईंले सुन्नुभएको वचन पक्रिराख्नुहोस् र आफ्ना आदर्श बनाउनुहोस्, किनकि पावल प्रेरितले २ तिमोथी १:१२ मा यसरी भनेका छन्ः मैले कसमाथि विश्वास राखेको छु सो म जान्दछु, र म निश्चय छु, जुन कुरा मैले त्यस दिनको निम्ति उहाँलाई सुम्पेको छु, त्यसको रखवाली गर्न उहाँ सामर्थी हुनुहुन्छ।” यस अति पवित्र विश्वासमा उन्नती गर्दै पवित्र आत्मामा प्रार्थना गर्नुहोस्। आफूलाई परमेश्वरको प्रेममा लगाई राख्नुहोस्। ख्रीष्ट येशूतिर ध्यानसित हेर्नुहोस्। उहाँ बाटो, सत्य र जीवन हुनुहुन्छ। हाम्रा प्रभु चाँडै आफ्नाहरूलाई लिन आउनुहुनेछ। “उहाँ राजाहरूका राजा र प्रभुहरूका प्रभु हुनुहुन्छ।” (१ तिमोथी ६:१५) 

"अब उहाँलाई नै, जसले तिमीहरूलाई ठेस खानबाट बचाउन र उहाँको महिमाको सामु तिमीहरूलाई अति आनन्दसाथ निष्कलङ्क खडा गराउन सक्नुहुन्छ अर्थात् एक मात्र बुद्धिमान परमेश्वर हाम्रा मुक्तिदातालाई नै महिमा, पराक्रम, शक्ति र अधिकार अहिले र सदा सर्वदा भइरहुन्, आमेन। (यहूदा २४-२५) 

के तपाईंले प्रभु येशूलाई ग्रहण गर्न चाहनुहुन्छ? यदि तपाईं यसो गर्न तयार हुनुहुन्छ भने तल दिइएको प्रार्थनाअनुसार एक मात्र सत्य परमेश्वरलाई पुकार्नुहोस्। 

प्रभु येशूलाई ग्रहण गर्नको निम्ति मेरो प्रार्थना र समर्पणः 

“हे मेरा सृष्टिकर्ता परमेश्वर, म एउटा पापी मानिस हुँ। दिन प्रतिदिन मैले तपाईंको विरोधमा पाप गरेको छु। यसकारण म तपाईंलाई पुकार्छु र मेरा सबै पापहरू तपाईंको सामु मानिलिन्छु। मेरा सबै पापहरू क्षमा गरिदिनुहोस्। प्रभु येशूमाथि विश्वास गरेर र उहाँको ठूलो प्रेम बुझेर मैले तपाईंकहाँ आउने साहस पाएको छु। किनभने प्रभु येशू म एउटा पापीको निम्ति क्रूसको ठूलो दुःख सहेर मर्नुभयो र मेरा सबै पापको सजाय भोग्नुभयो। उहाँ मरेकाहरूबाट फेरि जिउँदो हुनुभयो र मृत्युमाथि विजय हुनुभयो। प्रभु येशू सबैका प्रभु भइकन स्वर्गमा राज्य गर्नुहुन्छ। यसैले म उहाँलाई प्रभु र मुक्तिदाताको रूपमा मान्दछु र यही कारणले मेरो जीवन उहाँको हातमा सुम्पन्छु। अब उसो म प्रभु येशूको साँचो चेला हुन चाहन्छु। हे प्रभु येशू, तपाईंले मेरो हृदयको सबै विचार गर्नुहोस्। मलाई तपाईंको महिमा गर्ने मानिस बनाउनुहोस्। धन्यवाद! आमेन।” 

प्रिय मित्र, यदि तपाईंले माथि उल्लेख गरिएको प्रार्थनाद्वारा प्रभु येशूलाई आफ्नो प्रभु र मुक्तिदाताको रूपमा ग्रहण गर्ने निर्णय गर्नुभयो भने हामीलाई पत्र लेखेर यसको जानकारी दिनुहोस् भनी तपाईंलाई विन्ती गर्छौं। हामी तपाईंसँग रमाउन र परमेश्वरलाई धन्यवाद चढाउन चाहन्छौं, साथै तपाईंको लागि प्रार्थना गर्न इच्छुक छौं। तपाईंको आत्मिक उन्नतिको लागि तपाईंलाई सहायता गर्न हामी तयार छौं। हामीसँग अवश्‍य सम्‍पर्क गर्नुहोस्‌। धन्यवाद। 

Your encouragement is valuable to us

Your stories help make websites like this possible.