ह्‍याप्‍पी ईस्‍टर!

ह्‍याप्‍पी ईस्‍टर!

आज संसारभरिका ईसाइहरूले प्रभु येशूको पुनरुत्थानको सम्झना गर्दैछन्। यो चलन पहिलो शताब्दीबाट शुरु भएको हो, र आजको दिनसम्म चल्दै आएको छ। प्रभु येशूको पुनरुत्थानको साँचो घटनाले ख्रीष्ट विश्वासीहरूलाई ठूलो आनन्द दिइरहेको छ; यसैले हामी प्रभुका जनहरू येशू ख्रीष्टचाहिँ मरेको तेस्रो दिन फेरि जीवित हुनुभएको र मरेकाहरूबाट बौरेर उठ्नुभएको सम्झनामा खुबै रमाउँछन्। के तपाईं पनि हाम्रै रमाहवटमा सहभागी हुन चाहनुहुन्छ? तब तपाईंले हाम्रै आनन्दको कारण जान्नुपर्दछ। यसमा तपाईंलाई सहायता पुरयाउने विचारले यसको विवरण दिँदछौं। 

पवित्र शास्त्रमा प्रभुको पुनरुत्थानको विवरण यस्तो लेखिएको पाइन्छः 

“अनि विश्राम दिनको अन्तमा, हप्ताको पहिलो दिनमा, मिरमिरे उज्यालो हुँदै गर्दा, मरियम मग्दलिनी र अर्की मरियम येशूको चिहान हेर्न आए। अनि हेर, ठूलो भुइँचालो गयो; किनभने स्वर्गबाट परमप्रभुका दूत ओर्लेर आए, र तिनले चिहानको ढोकाबाट ढुङ्गा गुड़ाएर हटाए, त्यसपछि तिनी त्यस ढुङ्गामाथि बसे। तिनको चेहरा बिजुलीजस्तै थियो, र तिनको वस्त्र हिउँजस्तै सेतो थियो। तब येशूको चिहानको रखवाली गर्ने पहरेदारहरू तिनको डरले लगलग कामे, र मुर्दासरह भए। तब स्वर्गदूतले ती स्त्रीहरूलाई जवाफ दिएर भनेः 'नडराओ; किनकि म जान्दछु, तिमीहरू क्रूसमा टाँगिनुभएको येशूलाई खोज्दैछौ। उहाँ यहाँ हुनुहुन्न; किनभने उहाँले भन्नुभएअनुसार उहाँ बौरेर उठ्नुभएको छ। आओ, प्रभुलाई राखिएको ठाउँ हेर! अनि छिट्टै गएर उहाँका चेलाहरूलाई “उहाँ मरेकोहरूबाट बौरेर उठ्नुभयो” भनी भनिदेओ! अनि हेर, उहाँ तिमीहरूभन्दा पहिले गालील जानुहुन्छ; त्यहाँ तिमीहरूले उहाँलाई देख्नेछौ। हेर, मैले तिमीहरूलाई भनेको छु।' अनि उनीहरू डर र ठूलो आनन्दको साथ छिटो-छिटो यस चिहानबाट निस्के; अनि दगुरीकन उनीहरू उहाँका चेलाहरूलाई खबर पुरयाउन गए। अनि उनीहरू उहाँका चेलाहरूलाई खबर दिन जाँदै गर्दा हेर, येशूले उनीहरूलाई भेट्नुभयो, र यसो भन्नुभयोः 'सलाम!' तब नजिक आएर ती स्त्रीहरूले उहाँका पाउ पक्रे, र उहाँलाई दण्डवत् गरे। तब येशूले उनीहरूलाई भन्नभयोः 'नडराओ! जाओ, मेरा भाइहरूलाई गालील जानू भनिदेओ, र त्यहाँ तिनीहरूले मलाई देख्नेछन्।” (मत्ती २८:१ - १०) 

प्रभु येशू हप्ताको पहिलो दिन अर्थात् आइतवारको दिन फेरि जीवित हुनुभयो र मरेकाहरूबाट बौरेर उठ्नुभयो। यहूदीहरूले छ दिन काम गर्छन्, र सातौं दिन अर्थात् शनिवारमा विश्राम गर्छन् भने हामी ईसाइहरूले यसो गर्दैनौं, तर आइतवारको दिन, त्यसलाई प्रभुको दिन सम्झेर, भेला भएर सेवासङ्गति गर्छौं। हामी त्यस दिनमा कामबाट विश्राम लिँदैनौं, तर हाम्रा जीवित प्रभुको मण्डली भएर हामी एक ठाउँमा भेला भई उहाँको सेवा आराधना गर्दछौं। 

माथिको विवरण पढ्दा शायद तपाईंलाई याद भएन, तर प्रभु येशू बौरिउठ्नुभएको दिनमा ठूलो भुइँचालो गयो, मानों परमेश्वरले हामीलाई ब्यूँझाउन खोज्नुभएको हो। भुइँचालो गएको साल मानिसहरूले प्रायः लामो समयसम्म भुल्दैनन्। जब हामीले कुनै घटना नबिर्सेको परमेश्वर चाहनुहुन्छ, तब जमिन हल्लाएर उहाँले त्यस कुरामाथि आफ्नो छाप लगाउनुहुन्छ र यसको महत्त्व बुझाउनुहुन्छ। यसकारण सहजसित बुझिन्छ, त्यस हप्ताको पहिलो दिनमा प्रभु येशू बौरिँदाखेरि कुनै मामुली कुरा घटेको थिएन, तर सारा संसारलाई हल्लाउन सक्ने ऐतिहासिक, वास्तविक घटना घटेको हो। इतिहासकारहरूलाई यो घटना घटेको वर्ष थाहा हुन्छ; तर हामीचाहिँ यस घटनाको अध्यात्मिक कुरामा ध्यान दिन्छौं। आउनुहोस्, हामी यसको महत्त्व बुझौं! 

जमिन मात्र हल्लिएन, तर स्वर्गबाट परमेश्वरका दूत ओर्लेर आए, र येशूको चिहानबाट ढुङ्गा हटाए। तिनी परमेश्वरका शत्रुहरूसित बोलेनन्, तर प्रभु येशूलाई मान्ने उहाँका चेलाहरूमध्ये दुईजनासँग कुरा गरे। आउनुहोस्, हामी यस घटनाको मतलब तिनको मुखबाट सुनौं! 

'नडराओ!' यहाँ डराउनुपर्ने, हामीभित्र भय पैदा गर्ने कुनै पनि कुरा छैन I तर यी स्त्रीहरूलाई किन दोष्याओं; हामीसँग कहिले स्वर्गदूत बोलेका छन्? त्यति बेला हामी पनि डराउँथ्यौं होला। तिनले भनेः 'नडराओ! किनकि म जान्दछु, तिमीहरू क्रूसमा टाँगिनुभएको येशूलाई खोज्दैछौ।' बिचरा! यी दिदीबहिनीहरूले चिहानमा क्रसमा टाँगिनु भएको येशूलाई खोज्दथे। तिनीहरू चिहानमा आए, तिनीहरू शोक गर्न आए, तिनीहरूले मुर्दा लास भेट्टाउने आशा गरे। हुन पनि हो, तीन दिनअगाडिको कुरा हो : तिनीहरूका प्रभु र स्वामी अपराधीझैं क्रूसमा टाँगिनुभएको थियो। रोमी सरकारका सिपाहीहरूले उहाँलाई क्रूसमा झुन्ड्याएर उहाँलाई अति कष्टदायक मृत्युदण्ड दिएका थिए। तर प्रभु येशूलाई ठूलो अन्याय भएको थियो। उहाँको फैसला हुँदा बड़ाहाकिमले गरीगरी स्वीकार गरे: “म उनमा कुनै दोष पाउँदिनँ।” तब उहाँ किन मर्नुपस्यो? पवित्र शास्त्रले हामीलाई यसको जवाफ दिन्छ: 'हाम्रै शान्तिका निम्ति दण्ड उहाँमाथि पस्यो' (यशैया ५३:५)। पापी, अधर्मी, अपराधी हामी नै हौं। तर हामीजस्तै पापीहरूलाई पवित्र परमेश्वरसित मेलमिलापमा ल्याउन र हामीलाई शान्ति दिन उहाँ हाम्रो सट्टामा मर्नुभयो। यसमा परमेश्वरको महान् मुक्ति दिने योजना बुझ्नुहोस्! 'हाम्रै अपराधका निम्ति उहाँ घायल हुनुभयो; हाम्रा अधर्महरूका निम्ति उहाँले चोट पाउनुभयो' (यशैया ५३:५)। 'परमप्रभुले उहाँमाथि हाम्रा सबै अधर्महरू हालिदिनुभयो' (यशैया ५३:६)। 

यसैकारणले येशूको नाममा मुक्ति छ, उहाँको नाममा सित्तैंमा परमेश्वरको निगाहमा पापको क्षमा छ। उहाँको प्रेम बुझ्नुहोस्! 'उहाँले पाउनुभएको कोर्राको चोटले हामी निको भयौं' (यशैया ५३:६)। के तपाईं आत्मिक रूपले निको हुन चाहनुहुन्छ? यसका निम्ति यहाँ दवाई छ। यति भन्दै हामी प्रभुको पुनरुत्थानमा घटेको घटना फर्कनुपर्छ। 

स्वर्गदूत भन्दै गए: 'उहाँ यहाँ हुनुहुन्न, किनभने उहाँले भन्नुभएअनुसार उहाँ बौरेर उठ्नुभएको छ।' यो कति अचम्मको कुरा हो। प्रभु येशू चिहानमा रहनुभएन; उहाँको चिहान खालि छ। उहाँ चिहानमा हुनुहुन्न उहाँलाई मरेकाहरूको बीचमा खोज्नुपर्दैन; उहाँ जीवित हुनुहुन्छ। यसैले उहाँले हाम्रो पुकार सुन्नुहुन्छ। यसैले उहाँले हामीलाई बचाउन सक्नुहुन्छ। यसैले उहाँले हामीलाई अनन्त जीवन दिन सक्नुहुन्छ। हाम्रा प्रभु येशू जीवित हुनुहुन्छ। तर यहाँ याद गर्ने अझै एउटा कुरा छ। उहाँले पहिले जसरी भन्नुभएको थियो, त्यसरी उहाँको मृत्यु भयो, त्यसरी नै उहाँ फेरि जीवित हुनुभयो। कसले यो पूरा गर्न सक्छ? कसले आफ्नो मृत्युको विषयमा यसो भन्न सक्छ? कसको हातमा मृत्युलाई जित्ने यति ठूलो शक्ति छ? सुन्नुहोस्, प्रभु येशूले अघि आफ्नो मृत्यु र पुनरुत्थानको बारेमा के भन्नुभएको थियो: 'म यरूशलेम जानुपर्छ, बूढ़ा प्रधान, मुख्य पूजाहारी र शास्त्रीहरूको हातबाट धेरै दुःख भोग्नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा बिउँताउनुपर्छ' (मत्ती १६:२१)। उहाँले जस्तो भन्नुभएको थियो, ठीक त्यस्तै हुन आयो। प्रभु येशूले आफ्नो मृत्यु र पुनरुत्थानमा हाम्रो मुक्तिका निम्ति परमेश्वरको पूर्वयोजना पूरा गर्नुभयो। के यो एक अद्भुत कुरा होइन र?! 

स्वर्गदूतको कुरा अझ सकिएको छैन: 'आओ, प्रभुलाई राखिएको ठाउँ हेर!' अरूले बताएको कुरा सुन्नु एउटा कुरा हो, तर आफ्ना आँखाले देख्नु कति फरक छ! यी स्त्रीहरूले येशको रित्तो चिहान आफ्नै आँखाहरूले देखे। तिनीहरू हाम्रा गवाही हुन्। अनि पछिबाट प्रभु येशूलाई बौरिउठ्नुभएको अवस्थामा देख्ने पाँच सय जनाको कुरा किन नपत्याऔं? यो हाम्रो अपराध गनिन्छ। यो केवल हाम्रो कठोर हृदयको अविश्वासको फल हुनुपर्छ। 

अन्तमा परमेश्वरका दूतबाट यी स्त्रीहरूले एउटा आदेश पाए: 'झट्टै गएर उहाँका चेलाहरूलाई “उहाँ मरेकोहरूबाट बौरेर उठ्नुभयो” भनी भनिदेओ!” यस घटनाको ज्ञान आफूसँग राख्नुहुँदैन रहेछ। प्रभु येशू बौरिउठ्नुभएको कुरा उहाँका चेलाहरूलाई मात्र होइन, तर सारा संसारका मानिसहरूलाई प्रचार गर्नुपर्छ। तर यो कुरा हामी पछि हेरौं। हामी यस घटनाको विवरणमा अघि बढ़ौं। 

ती स्वर्गदूतको अन्तिम शब्द यी हुन्ः 'अनि हेर, उहाँ तिमीहरूभन्दा पहिले गालील जानुहुन्छ; त्यहाँ तिमीहरूले उहाँलाई देख्नेछौ। हेर, मैले तिमीहरूलाई भनेको छु।' स्वर्गदूतले जसरी बताए, त्यसरी उहाँका चेलाहरूले प्रभु येशूलाई गालीलमा देखे। यसको विवरण यस प्रकारको छः “तब एघारजना चेलाहरू गालीलमा, येशूले तिनीहरूलाई खटाउनुभएको पहाड़मा गए; अनि जब तिनीहरूले उहाँलाई देखे, तब तिनीहरूले उहाँलाई दण्डवत् गरे; तर कतिले शङ्का गरे' (मत्ती २८:१६-१७)। 

विश्वास गर्नुहोस् वा विश्वास नगर्नुहोस्! तर यहाँ जे हामी लेख्छौं, यो सत्य इतिहासको विवरण हो, एघार मानिसहरूले देखेको कुरा हो। उहाँलाई देखेर उनीहरूले प्रभु येशूलाई दण्डवत् गरे, उहाँलाई चिनेर उहाँलाई दिनुपर्ने मान र इज्जत दिए। अनि हाम्रो विषयमा केकसो? के तपाईंले प्रभु येशूको नाममा घुड़ा टेक्नु र उहाँलाई 'हे प्रभु येशू, तपाईं मेरा प्रभु हुनुहोस्' भनेर स्वीकार गर्न तयार हुनुहुन्छ, कि के तपाईं अझ शङ्का गर्दै हुनुहुन्छ? 

तब यी स्त्रीहरूको कुरा फेरि एकपल्ट उठाऔं, जसको बारेमा हामीले शुरूमा बयान दिएका थियौं। किनकि उनीहरूले स्वर्गदूतको कुरा मात्र सुनेनन्, प्रभुको त्यो रित्तो चिहान मात्र देखेनन्, तर बौरिउठ्नुभएको प्रभु येशूसित भेट पनि भए। 

पवित्र शास्त्रको विवरण यस प्रकारको छः “यी स्त्रीहरू डर र ठूलो आनन्दको साथ छिटो-छिटो यस चिहानबाट निस्के; अनि दगुरीकन उनीहरू येशूका चेलाहरूलाई खबर पुरयाउन गए। अनि उनीहरू उहाँका चेलाहरूलाई खबर दिन जाँदै गर्दा हेर, येशूले उनीहरूलाई भेट्नुभयो, र यसो भन्नुभयोः 'सलाम!' तब नजिक आएर ती स्त्रीहरूले उहाँका पाउ पक्रे, र उहाँलाई दण्डवत् गरे।” 

प्रभु येशूको पुनरुत्थानको विषयमा पवित्र शास्त्रको विवरणको यस अन्तिम खण्ड पढ़ौं, जहाँ यस्तो लेखिएको छः 

'अनि तिनीहरूकहाँ आएर येशू तिनीहरूसँग यसो भन्दै बोल्नुभयोः “स्वर्ग र पृथ्वीको सारा अधिकार मलाई दिइएको छ। यसकारण जाओ, र सबै जातिका मानिसहरूलाई चेला बनाओ; तिनीहरूलाई पिता, पुत्र र पवित्र आत्माको नाममा बप्तिस्मा देओ, र मैले तिमीहरूलाई जे-जे आज्ञा गरे, ती सबै कुराहरू तिनीहरूलाई पालन गर्न सिकाओ! अनि हेर, म सधैंभरि, अँ, संसारको अन्तसम्म नै तिमीहरूको साथमा छँदैछु।” आमेन!" (मत्ती २८:१८-२०) 

बौरिउठ्नुभएको प्रभु येशू आफ्ना चेलाहरूसित बोल्नुभएको वचनमा एकक्षण ध्यान दिऔंः 'स्वर्ग र पृथ्वीको सारा अधिकार मलाई दिइएको छ।' प्रभु येशूले आफूलाई यस महान् स्थानमा उठाउनुभएन, तर उहाँलाई स्वर्ग र पृथ्वीको सारा अधिकार परमेश्वर पिताबाट दिइएको हो। उहाँलाई त्यो अधिकार कहिले दिइएको तपाईं सोध्नुहुन्छ होला। तब अझ एउटा पवित्र शास्त्रको खण्ड पढ़ौं, जहाँ प्रेरित पत्रुसले भन्छन्ः 'यही येशूलाई परमेश्वरले बौराएर उठाउनुभयो, जुन कुराका साक्षी हामी सबै हौं; परमेश्वरको दाहिने हातद्वारा उहाँ उच्च पारिनुभयो यसकारण सारा घरानाले यो निश्चय गरी जानोस्, कि जुन येशूलाई तपाईंहरूले क्रसमा टाँग्नुभयो, उहाँलाई नै परमेश्वरले प्रभु र ख्रीष्ट तुल्याउनुभएको छ' (प्रेरित २:३२ र ३६)। परमेश्वरको दाहिने हातमा उच्च पारिनुभएको येशू नै प्रभु र संसारका मुक्तिदाता 'ख्रीष्ट' हुनुहुन्छ। 

येशू प्रभु, स्वर्ग र पृथ्वीका सर्वाधिकारीको नाममा गुक्तिको सुसमाचार आजको दिनसम्म सारा संसारमा प्रचार गरिएको छ। यो सुभ सन्देश सबै जातिका मानिसहरूका निम्ति हो। उहाँको आदेश छः 'जाओ, र सबै जातिका मानिसहरूलाई चेला बनाओ; तिनीहरूलाई पिता, पुत्र र पवित्र आत्माको नाममा बप्तिस्मा देओ, र मैले तिमीहरूलाई जे-जे आज्ञा गरें, ती सबै कुराहरू तिनीहरूलाई पालन गर्न सिकाओ!” 

अनि उहाँको यस आदेशअनुसार आज चारैतिर प्रचार भइरहेको छ। यस सम्बन्धमा आफ्नो जिम्मेवारी बुझिदिनुहोस्! येशूको नाममा तपाईंलाई यो मुक्तिको सुसमाचार सुनाइएको छ; तपाईं पनि प्रभु येशूको चेला हुनु खाँचो छ। उहाँको अधीनमा आउनुहोस् र उहाँसित व्यक्तिगत विश्वासको सम्बन्ध राखेर मुक्ति र अनन्त जीवनको बाटो अप्नाउनुहोस्! जब यसो गर्न तपाईं तयार हुनुभयो भने येशूको नाममा पानीको बप्तिस्मा लिनुहोला; किनभने प्रभु येशूमाथिको विश्वास लुकाउनु असल कुरा होइन, तर खुशीसाथ सबै मानिसहरूको सामु आफ्नो जीवनमाथि उहाँको प्रभुत्व स्वीकार गर्नुपर्छ। 'म ख्रीष्टको चेला हुँ' भनी स्वीकार गर्नुहोस्, र मुखको यस साक्षीअनुसार आफ्नो बाँकी जीवनभरि जिउनुहोस्! सबभन्दा अर्थपूर्ण र आशिषमय जीवन यही हुनेछ। यसका जिउँदा गवाह सबै सच्चा ख्रीष्ट विश्वासीहरूको साथसाथै म पनि एक व्यक्ति हुँ। प्रभु येशूले मलाई आज्ञा गर्नुभएको सबै कुरा पूरा गर्नुबाहेक मेरो अरू कुनै कर्तव्य छैन। यसमा म पूरा सन्तोष छु; किनभने उहाँले यसो गर्नुमा मलाई हर दिन साथ दिँदै हुनुहुन्छ; किनकि प्रभु येशू जीवित हुनुहुन्छ। उहाँ मरेको तेस्रो दिनमा बौरिउठ्नुभयो। उहाँ साँच्ची नै बौरिउठ्नुभएको हो। उहाँ स्वर्ग र पृथ्वीका परम प्रभु हुनुहुन्छ। 
ह्याप्पी ईस्टर! 

Your encouragement is valuable to us

Your stories help make websites like this possible.