पेन्‍टेकोष्‍ट

पेन्‍टेकोष्‍ट

पेन्तिकोस अथवा पेन्टेकोष्ट तपाईंका निम्ति नौलो शब्द हुन्छ होला। यो एक यूनानी शब्द हो, जसको अर्थ 'पचासौं दिन' हुन्छ। पेन्टेकोष्ट यहूदीहरूको एक पर्व हो, जो हरेक वर्ष निस्तार चाड़को पचास दिनपछि मानिछ। तर इसाईहरूका निम्ति ख्रिष्टमास्, गूड़ फ्राइडे र ईस्टरको साथ पेन्टेकोष्ट पनि एक ठूलो महत्त्वपूर्ण स्मरणीय दिन हो। ख्रिष्टमास् प्रभु येशूको जन्मको सम्झनामा गूड़ फ्राइडे उहाँको मरणको स्मरणमा र ईष्टरचाहिँ उहाँको शारीरिक पुनरुत्थानको उपलक्ष्यमा मानिन्छ भन्ने कुरा प्रायः सबै मानिसहरूलाई थाहै हुन्छ। तर पेन्टेकोष्टमा के-के भयो, त्यो किन मानिन्छ, सो ज्ञान सबैसँग नहुँदा यस ठाउँमा त्यसको जानकारी दिन चाहन्छौं; किनकि प्रभु येशूको मृत्यु र पुनरुत्थानको वर्षमा त्यस सालकै प्रन्टेकोष्टको दिनमा पवित्र आत्मा यस संसारमा पठाइनुभएको र प्रभु येशूको मण्डली स्थापित भएको हो। 

आउनुहोस्, अब यस सम्बन्धमा पवित्र शास्त्रले के-के भन्दछ, सो कुरामा ध्यान दिएर हामी आफ्नो ज्ञान बढ़ाऔं! 

'अनि येशूका चेलाहरूले आपसमा यसरी कुरा गर्दै गर्दा येशू आफै तिनीहरूको बीचमा उभिनुभयो, र तिनीहरूलाई भन्नभयोः “तिमीहरूलाई शान्ति!” तर तिनीहरूचाहिँ आतङ्कित भए, डराए, र भूत देखेछौं भन्ठाने। तर उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरू किन आत्तिरहेका छौ, र तिमीहरूका हृदयमा किन यस्ता विचारहरू उठिरहेका छन्? मेरा हात र मेरा पाउ हेर! मै हुँ; मलाई समाओ, र हेर! किनकि भूतका मासु र हड्डीहरू हुँदैनन्, जस्तो तिमीहरू मलाई भएको देख्दछौ।” अनि यति भनिसक्नुभएपछि उहाँले तिनीहरूलाई आफ्ना हात र पाउहरू देखाइदिनुभयो। अनि जब आनन्दको कारणले तिनीहरूले अझै विश्वास गरेनन्, तर छक्क परिरहे, तब उहाँले तिनीहरूलाई भन्नुभयो: “के यहाँ, तिमीहरूसँग केही खानेकुरा छ?” तब तिनीहरूले उहाँलाई सेकाइएको माछाको एक टुक्रा र मौरीको चाकाबाट केही दिए। अनि उहाँले त्यो लिनुभयो र तिनीहरूकै सामु त्यो खानुभयो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “मोशाको व्यवस्थामा, भविष्यवक्ताहरू र भजनका पुस्तकहरूमा मेरो विषयमा जे जे लेखिएका थिए, ती सबै कुराहरू पूरा हुनुपर्छ भनेर म तिमीहरूसँग हुँदाखेरि मैले तिमीहरूलाई भनेका वचनहरू यी नै हुन्।” अनि तिनीहरूले पवित्र शास्त्रहरू बुझून् भनेर उहाँले तिनीहरूको समझ खोलिदिनुभयो, अनि तिनीहरूलाई भन्नुभयो: “यसरी लेखिएको छ, र यसरी नै ख्रीष्टले दुःख भोग्नुपर्छ, र तेस्रो दिन मरेकाहरूबाट बौरिउठ्नुपर्छ; साधै यरूशलेमदेखि शुरु गरेर सबै जातिका मानिसहरूको बीचमा उनैको नाममा पश्चात्तापको र पापहरूको क्षमाको प्रचार गरिनुपर्छ। अनि यी कुराहरूका साक्षी तिमीहरू हौ। अनि हेर, म मेरा पिताको प्रतिज्ञा तिमीहरूमाथि पठाउँछु, तर माथिबाट शक्ति नपाउन्जेल तिमीहरू यरूशलेम शहरमा पर्खिरहो!” तब उहाँले तिनीहरूलाई बाहिर बेथानीसम्म लैजानुभयो; अनि आफ्ना हात उठाएर उहाँले तिनीहरूलाई आशिष दिनुभयो; अनि त्यतिखेर यस्तो भयो - उहाँले तिनीहरूलाई आशिष दिनुहुँदा उहाँ तिनीहरूबाट अलग पारिनुभयो, र स्वर्गमा उठाइनुभयो। अनि तिनीहरूले उहाँलाई दण्डवत् गरे, र ठूलो आनन्दको साथ यरूशलेम फर्के। अनि परमेश्वरको प्रशंसा गर्दै र धन्यवाद चढ़ाउँदै तिनीहरू लगातार परमप्रभुको मन्दिरमा रहिरहे। आमेन!” लूका २४:३६-५३ 

पवित्र शास्त्रको यस खण्डको विवरणचाहिँ प्रभु येशू मरेको तेस्रो दिनबाट, उहाँको शारीरिक पुनरुत्थानको बयान गर्दै शुरु भएको हो। प्रभु येशू आफ्ना चेलाहरूकहाँ कसरी प्रकट हुनुभयो, सो कुरा तपाईंले यहाँ उनीहरूका शब्दमा पढ्नुभयो। उनीहरूचाहिँ प्रभु येशूको क्रूसको मृत्यु, उहाँको दफन र उहाँको बौरिउठाइका प्रत्यक्ष गवाही हुन्। प्रभु येशूले उनीहरूलाई पवित्र शास्त्रमा आफ्नो विषयमा पाइने भविष्यवाणीहरू पूरा भएको बोध दिनुभयो। हो खीष्टले दुःख भोग्नुपर्छ र मरेको तेस्रो दिनमा बौरिउठ्नुपर्छ भन्ने वचनहरू प्रभु येशूमा सम्पूर्ण रूपले पूरा भए। उहाँ संसारको मुक्तिदाता हुनुहुन्छ। अबदेखि उसो यरूशलेमदेखि लिएर सबै जातिका मानिसहरूलाई येशूको नाममा पश्चात्ताप गर्ने आदेश दिइनेछ र मुक्तिको सुसमाचार प्रचार गरिनेछ। पश्चात्ताप गर्नु भनेको आफैले गरेका पापहरूको बारेमा दुखित हुनु र परमेश्वरको सामु झुकेर मानिलिनु हो। मुक्ति भनेको प्रभु येशूको नाममा परमेश्वरको निगाहमा सित्तैंमा पापहरूको क्षमा पाउनु हो। प्रभु येशूले त्यो मुक्ति दिने अधिकार आफ्नो क्रूसको मृत्युले कमाउनुभएको हो; किनभने उहाँ निर्दोष भएर हामी सबैका पापहरू काट्न क्रूसमा परमेश्वरका निम्ति ग्रहणयोग्य पापबलि हुनुभयो। अब यहूदी जातिबाट शुरु भएर यस सुसन्देशको प्रचार संसारभरि नै फैलिनेछ, र सबै मानिसहरूलाई परमेश्वरसित मेलमिलाप राख्ने अवसर दिइनेछ। तर यसो हुन अघि अझ एउटा कुरा हुन बाँकी थियो, जसमाथि हामी आफ्नो ध्यान एकक्षण लगाऔं! 

प्रभु येशूले उनीहरूलाई यसो भन्नुभयोः 'अनि हेर, म मेरा पिताको प्रतिज्ञा तिमीहरूमाथि पठाउँछु; तर माथिबाट शक्ति नपाउन्जेल तिमीहरू यरूशलेम शहरमा पर्खिरहो!” उहाँले उनीहरूलाई 'यरूशलेमबाट कतै नजानू, तर पिताको प्रतिज्ञालाई पर्खनू' भन्ने आज्ञा दिनुभयो; किनकि स्वर्गबाट उनीहरूमाथि ईश्वरी शक्ति आउनु बाँकी नै थियो। यही पवित्र आत्माको शक्ति पाईकन उनीहरूले संसारका अन्तसम्म प्रभु येशूको सुसमाचार प्रचार गर्ने कार्य अगाडि बढाउनु थियो। यसैले उनीहरू पर्खे। उनीहरूले कति दिन पर्खनुपर्‍यो? 

अब प्रेरितको पुस्तक १:३ पद पढ़ौं, जहाँ यसरी लेखिएको छ: 'उहाँले दुःख भोगिसक्नुभएपछि उहाँ चालीस दिनसम्म तिनीहरूकहाँ देखा पर्नुभयो, र परमेश्वरको राज्यको विषयमा कुरा गर्नुभयो। अनेकौं अचूक प्रमाणहरू दिईकन उहाँले आफूलाई तिनीहरूकहाँ जीवित देखाइदिनुभयो।' प्रभु येशू चालीस दिनसम्म आफ्ना चेलाहरूकहाँ देखा पर्नुभयो, त्यसपछि उहाँ स्वर्ग चढ़िजानुभयो। त्यो स्वर्गारोहणको दिनचाहिँ येशूका चेलाहरूका निम्ति ठूलो आनन्दको दिन थियो। तर अब उनीहरूले पर्खनुपरयो। परमेश्वरको पशंसा गर्दै र उहाँलाई धन्यवाद चढ़ाउँदै उनीहरू पर्खिरहे। 

प्रेरितको पुस्तक १ः४-५ पद पढ़ौं: 'तिनीहरूसँग भेला भएको समयमा येशूले तिनीहरूलाई यसो भन्ने आज्ञा गर्नुभयो: “यरूशलेम छोडेर नजानू, तर पिताको प्रतिज्ञालाई पर्खनू, जसको विषयमा तिमीहरूले मेरो मुखबाट सुनेका छौ। तर अब केही दिनपछि तिमीहरूको बप्तिस्मा पवित्र आत्माद्वारा हुनेछ।” ”प्रभु येशूले भन्नुभएको केही दिनपछिको कुरा दस दिनभित्र पेन्टेकोष्टको दिनमा पूरा भयो। यही पेन्टेकोष्टको दिनमा परमेश्वर पिताको प्रतिज्ञाअनुसार पवित्र आत्मा प्रभु येशूका चेलाहरूमाथि आउनुभयो। इसाईहरूका निम्ति पेन्टेकोष्टको अर्थ यही हो। 

यस दिनको विवरण पनि हामी पवित्र शास्त्रमा पाउँछौं, जहाँ यस्तो लेखिएको छः 'अनि पेन्टेकोष्टको दिन पूरा हुँदै गर्दा प्रभु येशूका चेलाहरू सबै एकै मनका भई एकै ठाउँमा भेला भएका थिए। तब एक्कासी स्वर्गबाट ठूलो आँधी चले हुरूरूरू आवाज आयो, र त्यसले तिनीहरू बसेको सम्पूर्ण घरलाई भरिदियो। अनि आगोका जस्तै चिरा परेका जिब्राहरू तिनीहरूकहाँ देखा परे, र एक-एक जिब्रो तिनीहरू हरेकमाथि बस्यो। अनि तिनीहरू सबैजना पवित्र आत्माले भरिए, र पवित्र आत्माले तिनीहरूलाई बोली दिनुभएअनुसार तिनीहरू अरू भाषाहरूमा बोल्न लागे।" 

यो एक बिलकुल नयाँ कुरा थियो; एक सय बीसजना मानिसहरू पवित्र आत्माले भरिनु र उनीहरूले कहिल्यै नसिकेका र नजानेका विभिन्न जातिका भाषाभाषामा बोल्नु यस्तो कुरा संसारमा कहिल्यै घटेको थिएन। यस्तो घटना लुक्न सक्दैनथियो: त्यो अनौठो आवाज सुनेर एउटा भीड़ मानिसहरू भेला भए, छक्कै परे; किनकि तिनीहरू सबैले प्रभु येशूका यी चेलाहरूलाई जाति-जातिका भिन्नभिन्न भाषामा बोलिरहेका सुने। तीन छक पर्दै तिनीहरूले भनेः 'हामी तिनीहरूलाई हाम्रै भाषामा परमेश्वरका महान् कामहरूको विषयमा बोलिरहेका सुन्दैछौं। यसको मतलब के होला?” त्यति बेला प्रेरित पत्रुस खड़ा भए, र ठूलो सोरले प्रचार गरेः

'हे मानिसहरूहो, सुन्नुहोस्! शक्तिका काम, अचम्मका काम र चिन्हहरू देखाउँदै गर्नुभएको नासरतका येशूचाहिँ परमेश्वरको तर्फबाट तपाईंहरूका निम्त प्रमाणित हुनुभएको मानिस हुनुहुन्छ; जसद्वारा तपाईंहरूको बीचमा परमेश्वरले यी काम र चिन्हहरू गर्नुभएको थियो। त्यो तपाईंहरू आफै पनि जान्नुहुन्छ। उहाँ परमेश्वरको इच्छा र पूर्वज्ञानअनुसार तपाईंहरूको हातमा सुम्पिनुभयो; उहाँलाई नै तपाईंहरूले लानुभयो, अधर्मी हातहरूले क्रूसमा टाँग्नुभयो, र मार्नुभयो; यही येशूलाई परमेश्वरले बौराएर उठाउनु भयो; हामी सबै यस कुराका गवाह हौं। यसकारण परमेश्वरको दाहिने हातद्वारा उच्च पारिनुभएपछि र परमेश्वर पिताबाट प्रतिज्ञा स्वरूप पवित्र आत्मा पाउनुभएपछि उहाँले त्यो पवित्र आत्मा हामीमाथि खन्याउनुभयो, जुन कुरा तपाईंहरूले अहिले देख्दै र सुन्दै हुनुहुन्छ।' प्रेरित २:२२-२४२३२-३३ 

अब पवित्र आत्मालाई किन दिइएको? यसको एक-दुई कुरा गर्नु छ। प्रभु येशूले भन्नुभयोः ‘यूहन्नाले पानीले बप्तिस्मा दिए, तर अब केही दिनपछि तिमीहरूको बप्तिस्मा पवित्र आत्माद्वारा हुनेछ' (प्रेरित १:५)। पेन्टेकोष्टको दिनमा येशूका चेलाहरू पवित्र आत्माको बप्तिस्माद्वारा खीष्टको देह बनेका छन्। यो अर्थ प्रेरित पावलले यस घटनामा लगाएका छन्; किनकि १ कोरिन्थी १२:१३ पदमा हामी यसरी पढ्छौंः 'चाहे हामी यहूदी, चाहे हामी ग्रीक हौं- चाहे हामी कमारा, चाहे स्वतन्त्र मानिस किन नहौं हामी सबैजना एउटै आत्माद्वारा एउटै शरीरभित्र, एउटै शरीर बन्नका निम्ति बप्तिस्मा भयौं।' परमश्वरको अद्भुत काम विचार गर्नुहोस्! पेन्टेकोष्टको दिनमा मानिसले कहिल्यै गर्न नसक्ने एउटा अचम्मको काम भएको छः जाति-जातिका मानिसहरू, भिन्नभिन्नै भाषा बोल्ने, निम्न र उच्च स्तरका मानिसहरू ख्रीष्टमा सबै एक भएका छन्। यसको गुँदको काम पवित्र आत्मा गर्नुहुन्छ, जसले हामी सबैलाई ख्रीष्टको शरीरमा अङ्गको रूपमा हाल्नुभएको छ र हामी सबैलाई एक बनाउनुभएको छ। पवित्र आत्माको बप्तिस्माको मूलअर्थ यही हो। पेन्टेकोष्टको दिनमै प्रभु येशूमाथि विश्वास गर्ने सबै अनुयायीहरू एउटै शरीर बनेका छन्। एउटा शरीर र एउटा आत्मा, जसरी एफेसी ४:४ पदमा लेखिएको पाइन्छ। 

के तपाईंले प्रभु येशूमाथि विश्वास गर्नुभएको छ? तब परमेश्वरको महान् कृपामा तपाईंका सबै पापहरू तपाईंलाई क्षमा भएका छन्, साथै तपाईंले प्रभु येशूबाट वरदानस्वरूप पवित्र आत्मा पाउनुभएको छ। पवित्र आत्माद्वारा हामीले ख्रीष्टमा नयाँ जीवन पाएका छौं; हामीलाई परमेश्वरको प्रेम र शान्तिको अनुभव हुन्छ। पवित्र आत्माद्वारा हामीलाई मुक्तिको निश्चयता हुन्छ। पवित्र आत्माले हामीलाई हाम्रो मनमा हामी परमेश्वरका सन्तान हौं भन्ने गवाही दिनुहुन्छ। अनि त्यही पवित्र आत्माद्वारा हामी उहाँको शरीरमा एक-एक अङ्ग बनेका छौं। ख्रीष्टमा हामी सबै एक छौं। ख्रीष्टमा अब जाति, धर्म, भाषा आदिको भेद रहेन; किनकि पवित्र आत्माले हामीमा त्यो ठूलो परिवर्तन ल्याउनुभएको हो। यसको सम्झना हामी पेन्टेकोष्टको दिनमा गर्छौं। 

प्रभु येशूले पवित्र आत्मा किन पठाउनुभयो? आउनुहोस्, हामी यसको दोस्रो कारण पनि हेरौं! पवित्र शास्त्रमा यसो लेखिएको छः 'पवित्र आत्मा तिमीहरूमाथि आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, र यरूशलेम, सारा यहूदिया र सामरियामा, अँ, पृथ्वीका छेउछेउसम्म तिमीहरू मेरा गवाह हुनेछौ' (प्रेरित १:८)। पवित्र आत्माको शक्तिमा संसारको अन्तसम्म प्रभु येशूको सुसमाचार प्रचार गरिंदैछ। पवित्र आत्मा सत्यको आत्मा हुनुहुन्छ, र सधैं सत्य बोल्नुहुन्छ। उहाँ प्रभु येशूको कुरा गर्नुहुन्छ। उहाँ पापको कुरा पनि गर्नुहुन्छ। उहाँले हामीलाई हाम्रा पापहरूको विषयमा, हाम्रो अविश्वास र हाम्रा अधर्महरूको दोष देखाइदिनुहुन्छ। के हामी साबित हुन माग्छौं? के हामी झुक्न तयार छौं? उहाँले हामीलाई परमेश्वरको धार्मिक न्याय प्रकट गर्नुहुन्छ, जसमा हामीले अब चाँडै आफ्नो जीवनको लेखा दिनुपर्छ; उहाँ हामीलाई नरकको आगो देखाउनुहुन्छ, जसमा सबै अधर्मी र पापीहरू पर्नेछन्। के हामी यस भयानक दिनदेखि डराउन मान्दैनौं? के हामी आफ्ना पाप मानिलिँदैनौं? होइन, परमेश्वरको निगाहको दिन छँदै आफ्नो हृदय कठोर नपारौं, तर पेन्टेकोष्टको दिनमा पत्रुसको मुखबाट परमेश्वरको सुसन्देश सुन्ने मानिसहरूजस्ता बनौं, जसको मुटु छेड़ियो, र जसले प्रभुका प्रेरितहरूलाई सोधेः 'भाइहरूहो, हामीले के गर्नुपर्छ?” 

पत्रुसले तिनीहरूलाई भने: 'पश्चात्ताप गर्नुहोस्! तपाईं सबैले प्रभु येशूको नाममा बप्तिस्मा लिनुहोस्! र तपाईंहरूले पापहरूको क्षमाको साथै पवित्र आत्माको दान पाउनुहुनेछ; किनकि परमेश्वरको यो प्रतिज्ञा र परमप्रभुको यो बोलावट तपाईंहरू र तपाईंहरूका सन्तानहरूको हो' (प्रेरित २:३८)। तब जतिले प्रेरित पत्रुसको वचन खुशीसाथ ग्रहण गरे, तिनीहरूले प्रभु येशूको नाममा बप्तिस्मा लिए; अनि त्यही दिनमा तीन हजार व्यक्तिहरू तिनीहरूमा थपिए (प्रेरित २:४१)। 

प्रभु येशूको नाममा मुक्ति पाउनुहोस्! किनकि उहाँको यो कबुल तपाईंको निम्ति हो। प्रभु येशूमाथि विश्वास गर्नुहोस्! किनकि तपाईंका निम्ति यो परमेश्वरको बोलावट हो। येशूको नाममा पापहरूको क्षमा पाउनुको साथसाथै पवित्र आत्मा पनि पाउनुहोस्! तब पेन्टेकोष्टको आशिष तपाईंको हुनेछ, र पेन्टेकोष्टको अर्थ तपाईंले अनुभवले पूरै बुझ्नुहुनेछ। 

Your encouragement is valuable to us

Your stories help make websites like this possible.