हाम्रो मुक्तिको सत्आधार के हो?

हाम्रो मुक्तिको सत्आधार के हो?

श्री सी. एच. म्याकिन्तोश 

‘अनि जब म त्यो रगत देख्छु, तब म तिमीहरूलाई नछोई छोड़ेर जानेछु।' प्रस्थान १२:१३ 

मसँग आउनुहोस्, हामी प्रस्थान बाह्र अध्यायको भूमिका एकक्षण विचार गरौं! इस्राएलीहरू बसेका घरहरूको ढोकाको दुवैपट्टिका खाँबाहरूमाथि लगाइएको रगतमा तिनीहरूको सुरक्षा सुनिश्चित थियो। तिनीहरूले परमेश्वरको आज्ञाअनुसार त्यो रगत आ-आफ्नो घरको ढोकामा छर्कनुपरेको थियो; त्योबाहेक तिनीहरूलाई अरू कुनै काम गर्न दरकार परेन। किनकि जब न्यायका दूत त्यहाँबाट भएर जानेथिए, तब तिनीहरू त्यस छर्किएको रगतले गर्दा पूरा सुरक्षित रहनेथिए। अनि परमेश्वरले त्यस रगतबाहेक अरू कुनै थोक थप्नुभएन किनभने हामीलाई उहाँको न्यायबाट उम्कन अरू कुनै थोकको खाँचो पर्दैन; किनभने उहाँले यसो भन्नुभएनः ‘जब म त्यो रगत, अनि यी अखमिरे रोटीहरू र त्यो तीतो सातपात देख्छु, तब म तिमीहरूलाई छोडेर जानेछु।' होइन, होइन ! यी थोकहरूको निम्ति आ-आफ्नो भूमिका र आ-आफ्नो महत्त्व त थियो, तर परमेश्वरसित मेलमिलाप राख्न यी थोकहरू अलिकति पनि काम लागेनन्। यी अन्य थोकहरू कहिल्यै मेलमिलापको सत्आधार भएनन्, अँ, कहिल्यै हुनै सक्दैनन्। 

यसकारण हाम्रो मुक्तिको आधार के हो, सो विषयमा हामीले कुरा स्पष्टसँग बुझ्नुपर्छ, र हामी यसमा निश्चित हुनुपर्छ। यो अति आवश्यक र अनिवार्य छ। किनभने ख्रीष्ट येशूको त्राणको काममा विभिन्न कुराहरू थपिने प्रयासहरू जारी नै छन्, अनि यसले गर्दा कति मानिसहरू आफू परमेश्वरको सामु कसरी ग्रहणयोग्य हुने हो, सो सम्बन्धमा अनिश्चित छन्, दोधारमा परिरहेका छन्। यस्ताहरूलाई थाहै छ, कि ख्रीष्ट येशूको त्राणको काम मुक्तिको एकमात्र उपाय हो। तर यस ज्ञानबाट तिनीहरूलाई कुनै लाभ भएको छैन। तब हाम्रो विषयमा कसो हो? के तपाईं मुक्ति पाउनुभएको कुरामा निश्चित हुनुहुन्छ? किनकि हामीले मुक्ति पाएको कुरामा पूरा निश्चित हुनुपर्छ। हाम्रो मुक्तिको निम्ति सबै पूरा भएको छ; हाम्रो मुक्ति सम्पूर्ण छ, अँ, हाम्रो मुक्ति अनन्तसम्म रहिरहन्छ। आधा मुक्ति पाएको र अझै पापमा हराएको, आधा धर्मी र आधा पापी भएको, आत्मिक हिसाबले आधा जीवित भएको र आधा मरेको, आधा नयाँ जन्म पाएको र आधा नयाँ जन्म नभएको अवस्था असम्भव छ। हामी कि त वर, कि त पर हुन्छौं – यी दुईमा एक हुन्छौं। 

यसमा याद गर्नुहोस्ः उहिलेका इस्राएलीहरू त्यस रगतद्वारा यी न्यायको दूतबाट केवल आधा मात्रामा सुरक्षित रहेनन्। होइन, तिनीहरू पूरा सुरक्षित थिए। तिनीहरू सुरक्षा पाउलान् भन्ने अपेक्षामा थिएनन्, तिनीहरूले सुरक्षा पाऔं भन्ने विन्ती चढ़ाएनन्; किनभने तिनीहरू बिलकुल सुरक्षित थिए। किन होला? किनभने परमेश्वरले यसो भन्नभयोः 'जब म त्यो रगत देख्छु, तब म तिमीहरूलाई नछोई छोडेर जानेछु।' तिनीहरूले त्यस रगतको विषयमा परमेश्वरले दिनुभएको यस प्रतिज्ञामाथि आड़भरोसा लिए। यसरी तिनीहरूले परमेश्वरको प्रतिज्ञामाथि आफ्नो अनुमोदनको छाप लगाए र उहाँलाई सत्य साबित गरे। तिनीहरू विश्वास गरेर ढुक्कै र निर्धक्क भएः हो, परमेश्वरले जस्तो भन्नभयो, उहाँले त्यस्तै गर्नुहुनेथियो। अनि यही कुराले तिनीहरूलाई शान्ति दिलायो। यसकारण तिनीहरूले ढुक्कै भई शान्तिसित र पूरा निश्चयताको साथ निस्तारको भोजमा भाग लिन र त्यो भोज उपभोग गर्न सके; किनकि तिनीहरूले जान्दथिएः तिनीहरूको निम्ति निस्तारको निष्कलङ्क पाठो बलि भएपछि यी न्यायका दूतले तिनीहरूलाई हुँदैनथिए, छुन पाउँदैनथिए। 

यदि कुनै मानिसले यी इस्राएलीहरूमध्ये कसैलाई उसको शान्तिको कारण सोधेको भए, उसले केकस्तो उत्तर दिनेथियो होला? तब के, के उसले निम्न उत्तर दिनेथियो र? 'मलाई थाहा छ, मेरो छुटकाराको निम्ति यस पाठोको रगतबाहेक अरू कुनै उपाय छैन। म जान्दछु, मेरो निम्ति परमेश्वरको सिद्ध उपाय यही हो। किनकि त्यो निस्तारको पाठो मारिएको छ र त्यसको रगत मेरो घरको ढोकाका खाँबाहरूमा लगाइएको छ। तर कतै मेरो मनमा अशान्ति आउन खोजेको जस्तै मेरो भान छ, किनकि मेरो सुरक्षाको विषयमा मलाई शङ्का भइरहेको छ; किनभने सायद मैले त्यस रगतको मूल्य जति मूल्यवान् ठान्नुपर्छ, त्यति मूल्याङ्कन् गरेको छैनँ होला; अँ, मैले मेरा पितापुर्खाहरूका परमेश्वरलाई जति प्रेम गर्नुपर्छ, त्यति प्रेम मैले गरेको छैनँ।' के उसको जवाफ यस प्रकारको हुनेथियो? होइन नि। तर सयौँ इसाईहरू छन्, जसको उत्तर ठीक त्यस्तै हुन्छ, जब हामी तिनीहरूलाई तिनीहरूको मुक्ति भएको कारण सोध्छौं। किनभने तिनीहरूले त्यस प्रायश्चित्तको रगतमाथि होइन, तर यसको सट्टामा त्यस रगतको विषयमा गरेको आफ्नो मूल्याङ्कनमाथि आड़ लिएका छन्। अनि यसो गर्दा तिनीहरू आफ्नो मुक्ति आफ्नो जीवनमाथि निर्भर गर्छन्। अनि यो त धर्मकर्म गरेर मुक्ति पाउन खोज्ने तिनीहरूको प्रयास पो ठहरिएको छ। 

होइन, त्यो इस्राएली मानिस केवल निस्तारको पाठोको रगतद्वारा बचाइएको थियो। उसले त्यस रगतको विषयमा लिएको सोच गहन वा फिका जेसुकै होस्, उसको सुरक्षा यसमाथि निर्भर गर्दैनथियो। किनकि उसको छुटकारा उसको सोचविचार र उसको भावनामाथि निर्भर थिएन। किनभने परमेश्वरले यसो भन्न भएनः 'जब तिमीले त्यो रगत हेरौला, तब म तिमीलाई छोडेर जानेछु।' होइन, तर उहाँले यसो भन्नुभएको हो: 'जब म त्यो रगत देख्छु, तब म तिमीहरूलाई नछोई छोड़ेर जानेछु।' इस्राएलीहरूलाई शान्ति दिलाउने एकमात्र तथ्य यही थियोः परमप्रभुको दृष्टि यस प्रायश्चित्तको रगतमाथि लगाइएको थियो। अनि यही कुराले तिनीहरूको मनमा शान्ति दिलायो। त्यो रगत बाहिर इस्राएलीहरू बसेका घरको ढोकामाथि लगाइएको थियो, तर तिनीहरू घरभित्र बसेका थिए, जहाँ तिनीहरूले त्यो रगत देख्न सक्दैनथिए। तर परमेश्वरले त्यो रगत देख्नुभयो। अनि यो कुरा काफी थियो। 

परमेश्वरसित मेलमिलाप राख्न खोज्ने मानिसको सम्बन्धमा यसको अर्थ के हो त? यसको अर्थ अति सरल हो। किनभने ख्रीष्ट येशूले हाम्रा पापहरूको निम्ति आफ्नो रगत बगाएर हाम्रा पापहरूको निम्ति पूरा मूल्य चुकाउनुभयो, त्यसपछि उहाँले त्यो प्रायश्चित्तको रगत लिएर परमेश्वरको सामु छर्कनुभयो। यसकारण परमेश्वरले प्रभु येशूमाथि विश्वास गर्ने हरेकलाई गवाही दिनुहुन्छः 'तिम्रो विषयमा सबै कुरा ठीक भएको छ।' किनकि येशूको बहुमूल्य रगतद्वारा उहाँको धार्मिकताका सबै मागहरू पूरा भए र हाम्रा पापहरू पूरा हटाइए, सधैंको निम्ति हटाइए। ख्रीष्ट येशूको बलिदानद्वारा परमेश्वरको मुक्ति दिलाउने अपार अनुग्रहको निम्ति ढोका खोलियो र त्यस समयदेखि उहाँको हृदयबाट हामीकहाँ उहाँको प्रेमको धारा बग्न थाल्यो। 

अनि पवित्र आत्मा यस तथ्यको विषयमा साक्षी दिनुहुन्छ; किनभने उहाँ सधैं परमेश्वरको पक्षबाट ख्रीष्टको रगतको मूल्य प्रस्तुत गर्नुहुन्छ। उहाँ हाम्रा आँखाहरू ख्रीष्ट येशूको क्रसमाथि लगाउनुहुन्छ, जहाँ त्यो त्राणको काम पूरा भयो। अनि उहाँले हामीलाई पूरा निश्चयताको साथ भन्नुहुन्छः हाम्रो त्राणको काम पूरा भयो। हाम्रा पापहरूको निम्ति पूरा प्रायश्चित्त गरियो; हाम्रो पाप हटाइयो र प्रभु येशूमाथि विश्वास गर्ने सबैको निम्ति धार्मिकता प्राप्त भयो र सित्तैंमा प्रदान गरिन्छ। हामीले विश्वास गरेर यो कुरा ग्रहण गर्नुपर्छ। परमेश्वरले भन्नुभएको कुरा हामीले विश्वास गर्नुपर्छ। उहाँले भन्नभयो, बस, यो काफी छ, हाम्रो भावना जेसुकै होस्। 

तर हाम्रो कमजोरी के हो भने, हामी सधैं आफूभित्र मुक्तिको निम्ति कुनै न कुनै आधार खोज्दैछौं। किनकि हामी ख्रीष्ट येशूले पूरा गर्नुभएको त्राणको काममा होइन, तर आफूभित्र पवित्र आत्माको काम भएको नभएको केही प्रमाणहरू खोज्दैछौं; अनि यो हाम्रो भूल हो। हो, हाम्रो इसाई जीवनमा परमेश्वरको आत्माका कार्यहरू महत्त्वपूर्ण हुन्छन्। यो हामी मान्दछौं र खुशीसँग स्वीकार गर्छौं। तर पवित्र बाइबलमा पवित्र आत्माको यो कार्य हाम्रो मुक्तिको सत्आधारको रूपमा कहिल्यै प्रस्तुत गरिएको छैन, तर त्यसको फल पो हो। पवित्र आत्माले हाम्रो मेलमिलाप गर्नुभएन, तर ख्रीष्ट येशूले मेलमिलापको काम पूरा गर्नुभयो। पवित्र आत्मा होइन, तर ख्रीष्ट येशू हाम्रो शान्ति, हाम्रो मेलमिलाप हुनुहुन्छ। परमेश्वरले शान्तिको प्रचार गर्नुभयो, ख्रीष्ट येशूको नाममा, पवित्र आत्माको नाममा होइन। 
'परमेश्वरले त्यो वचन ख्रीष्टद्वारा शान्तिको प्रचार गर्दै इस्राएलका सन्तानहरूकहाँ पठाउनुभयो।' प्रेरित १०:३६ 

'किनकि उहाँ हाम्रो मेलमिलाप हुनुहुन्छ; ...अनि उहाँले तिमीहरूलाई मेलमिलापको सुसमाचार सुनाउनुभयो।' एफेसी २:१४ २१७ 

'उहाँको क्रूसको रगतद्वारा मेलमिलाप गरेर' कलसी १:२० 

पवित्र आत्माले ख्रीष्ट येशूलाई हामीकहाँ प्रकट गर्नुहुन्छ। उहाँले हामीलाई ख्रीष्ट येशू चिनाउनुहुन्छ। हामी ख्रीष्ट येशूमा आनन्द लिन सक्नुचाहिँ पवित्र आत्माको काम हो। ख्रीष्ट येशूबाट पोषण दिलाउनु पनि उहाँको काम हो। उहाँ येशूको विषयमा गवाही दिनुहुन्छ; किनभने जे प्रभु येशूको छ, त्यहाँबाट उहाँ लिनुहुन्छ र हामीलाई बताइदिनुहुन्छ। पवित्र आत्मा हाम्रो सङ्गतिको शक्ति हुनुहुन्छ; उहाँ त्यो छाप, त्यो साक्षी, त्यो बैना र त्यो अभिषेक हुनुहुन्छ। उहाँको भूमिका ठूलो र उहाँका सबै कार्यहरू महत्त्वपूर्ण हुन्छन्। किनकि उहाँविना हामी न देख्न सक्छौं, न सुन्न सक्छौं, न जान सक्छौं, न ता अनुभव गर्न सक्छौं, न आनन्द लिन सक्छौं, न ख्रीष्ट येशूको महिमा गर्न सक्छौं। यो सुस्पष्ट छ, र यो कुरा खाँटी शिक्षाप्राप्त हरेक इसाईले जान्दछ र मान्दछ। यसो भए पनि पवित्र आत्मा र उहाँको काम कहिल्यै मेलमिलापको सत्आधार हुनुभएन। किनकि उहाँले हामीलाई ख्रीष्ट येशूको मेलमिलापको कामबाट आनन्द लिने पो तुल्याउनुहुन्छ। हामी इसाई हौं, र येशूको नाम बोकिरहेका छौं, पवित्र आत्माको नाम होइन। हो, पवित्र आत्माले हामीलाई ख्रीष्ट येशू प्रकट गर्नुहुन्छ र यस ज्ञानबाट हामीलाई आनन्द उपभोग गर्न लगाउनुहुन्छ। हो, पवित्र आत्मा ख्रीष्ट-विश्वासीहरूको जीवनमा आफ्नो काम पूरा गर्दै जानुहुन्छ; अनि उहाँ बयान गर्न नसकिने व्यथा पोख्दै हाम्रो निम्ति अन्तर्विन्ती गर्नुहुन्छ। हो, उहाँ हामीलाई परिवर्तन गर्दै लानुहुन्छ र हामीलाई हाम्रा प्रभु येशूको रूपमा ढाल्ने काम गर्दै हुनुहुन्छ। हामीलाई ख्रीष्ट येशूमा सिद्ध भएको अवस्थामा प्रस्तुत गर्नु नै उहाँको परम उद्देश्य हो। उहाँ हरेक असल अभिप्राय, हरेक पवित्र, स्वर्गीय प्रयास, हरेक शुद्ध भावना, हरेक दिव्य अनुभवको स्रोत हुनुहुन्छ। तर हामीमा र हामीसित उहाँको काम तबसम्म पूरा हुँदैन, जबसम्म हामी यस धरतीबाट उठाइनेछैनौं; तब हामी ख्रीष्ट येशूसित स्वर्गीय महिमामा प्रवेश गर्नेछौं। अनि जसरी अब्राहामको दासले रेबिकालाई इसहाककहाँ नल्याएसम्म उसको काम पूरा भएन, ठीक त्यसरी नै पवित्र आत्माको काम तब मात्र पूरा हुनेछ, जब ख्रीष्ट येशूकी दुलही उहाँकहाँ पुग्नेछिन्। 

तर हाम्रो निम्ति पूरा गरिएको ख्रीष्ट येशूको त्राणको काम यस्तो हुँदैन; किनकि त्यो काम सिद्ध थियो र एकैपल्ट सधैंको निम्ति पूरा भयो। किनभने प्रभु येशूले आफ्नो पितालाई यसो भन्न सक्नुभयोः ‘मैले पृथ्वीमा तपाईंको महिमा गरेको छु, जुन काम तपाईंले मलाई पूरा गर्न दिनुभयो, त्यो काम मैले पूरा गरेको छु' (यूहन्ना १७:४)। अनि उहाँले भन्नभयोः 'पूरा भयो !' (यूहन्ना १९:३० )। तर पवित्र आत्माले यसो भन्न सक्नुहुन्न ; किनकि उहाँको काम अझै पनि सकिएको छैन। बितेका बीस शताब्दीहरूमा उहाँले ख्रीष्टको ईश्वरीय, सच्चा प्रतिनिधिको रूपमा यस पृथ्वीमा काम गर्दै हुनुहुन्थ्यो। उहाँ अझै पनि काम गर्दै हुनुहुन्छ; अनि उहाँको विरुद्धमा विरोधी तत्त्व र शत्रका हमलाहरू धेरै छन्। अनि उहाँ शत्रुका परमेश्वरका जनहरूका हृदयमा अझै पनि काम गर्दै हुनुहुन्छ; किनकि उहाँले तिनीहरूलाई व्यावहारिक रूपले परमेश्वरका निर्धारित आत्मिक अवस्था र स्तरमा ल्याइपुरयाउन चाहनुहुन्छ। तर उहाँले कसैलाई परमेश्वरसँग मेलमिलाप गराउन र उहाँको पवित्र उपस्थितिमा निर्दोष ठहराउन सक्नुहुन्न। उहाँले कहिल्यै यसो गर्छु भन्नुभएन। यसकारण पवित्र आत्मा र उहाँको काममाथि यस प्रकारको भरोसा नगरे हुन्छ। किनकि प्रभु येशूको विषयमा कुरा गर्नु नै उहाँको काम हो। पवित्र आत्मा आफ्नो विषयमा कुरा गर्नुहुन्न। किनभने प्रभु येशूले यसो भन्नुभयोः 'जे मेरो हो, त्यहीबाट उहाँ लिनुहुन्छ र तिमीहरूलाई बताइदिनुहुन्छ' (यूहन्ना १६ः१४)। यसकारण पवित्र आत्माले ख्रीष्ट येशूको त्राणको काम र केवल त्यही काम हाम्रो मुक्तिको एकमात्र सत्य, सुदृढ़ जगको रूपमा प्रस्तुत गर्न सक्नुहुन्छ। हाम्रो विश्वास यस काममाथि स्थापित हुनैपर्छ र त्यहाँ बिसाउनुपर्छ। ख्रीष्ट-विश्वासीहरू विश्वासद्वारा ख्रीष्ट येशूको सिद्ध त्राणको कामको सत्आधारमाथि स्थापित भएपछि मात्र पवित्र आत्माले हाम्रो जीवनमा आफ्नो स्थान लिनुहुन्छ र हामीमा आफ्नो काम अगाड़ि बढ़ाउँदै लानुहुन्छ। किनकि यसरी लेखिएको छः 'उहाँमा नै तिमीहरूले सत्यताको वचन अर्थात् तिमीहरूको मुक्तिको सुसमाचार सुनेर भरोसा गरयौ र उहाँमा नै तिमीहरूले विश्वास गरेर प्रतिज्ञाको पवित्र आत्माले तिमीहरू छाप मारियौ' (एफेसी १:१३ )। पवित्र आत्माको कुनै शक्ति र कुनै प्रभावले पनि कुनै पाप हरण गर्न सक्दैन। त्यो कुरा येशूको रगतले गरयो। किनकि 'उहाँको पुत्र येशू ख्रीष्टको रगतले हामीलाई सब पापबाट शुद्ध पार्छौं (१ यूहन्ना १:७)। 

यसकारण हामीले प्रभु येशूको काम र पवित्र आत्माको सेवकाईको बीचमा छुट्ट्याउन सक्नुपर्छ। यो अति महत्त्वपूर्ण हो। प्रभु येशूको त्राणको काम हाम्रो निम्ति पूरा भयो भने, पवित्र आत्माको सेवकाई हामीमा अझै पनि जारी रहिरहन्छ। यी दुईवटा कुराको बीचमा गड़बड़ गर्नुहुँदैन, खिचड़ी गर्नुहुँदैन, नत्र हामीले हाम्रो पापको विषयमा स्थाही शान्ति पाउँदैनौं। अनि उक्त निस्तार चाड़मा यी दुईवटा सेवकाईहरूको बीचमा भएको भिन्नता सुस्पष्ट पारिएको छ। किनभने इस्राएलीहरूको शान्ति र सुरक्षा अखमिरे रोटीहरूमाथि होइन, तीतो सातपातमाथि पनि होइन, तर निस्तारको पाठोको रगतमाथि स्थापित भएको थियो। अनि यस सम्बन्धमा तिनीहरूको राय र विचार र भावना मुख्य थिएन, तर परमेश्वरले यस रगतको विषयमा अपनाउनुभएको विचार मुख्य कुरा थियो। जसले यो कुरा बुझ्छ, उसको मनमा अवर्णनीय सान्त्वना र शान्ति आउँछ। किनकि परमेश्वरले हाम्रा पापहरूको निम्ति प्रायश्चित्तको दाम पाउनुभयो। अनि उहाँले त्यो प्रायश्चित्तको दाम के थियो, सो कुरा हामीलाई मुक्तिको सुसमाचारद्वारा यस हेतुले प्रकट गर्नुभएको छ, कि हामी ख्रीष्ट येशूको त्राणको काममाथि विश्वास गरेर आफ्नो मन बिसाउन सकौं। यो परमेश्वरको वचनको अधिकारमाथि स्थापित भएको कुरा हो। यो उहाँको अनुग्रहको वरदान हो। अनि पवित्र आत्माले यस कुरामाथि आफ्नो छाप मार्नुहुन्छ। हाम्रो दिमागले यस प्रायश्चित्तको दामको ठूलो, अपार मूल्य सठीक दङ्गले मूल्याङ्कन गर्न नसक्ला र यस कुरामा निक्कै पछाड़ि पर्ला, अनि हाम्रो भावनाले आफ्नो कृतज्ञता यस अति महान् कामको योग्य प्रकारले प्रकट गर्न नसक्ला, तर हामी परमेश्वरको वचनमाथि बिसाउन सक्छौं। उहाँले भन्नुभएअनुसार उहाँले हाम्रा पापहरूको निम्ति प्रायश्चित्तको पूरा दाम पाउनुभएको हो। उहाँ ख्रीष्ट येशूको त्राणको काममा पूरा सन्तुष्ट हुनुभएको छ। यसकारण हाम्रो विवेकले त्यहाँ बिसाउन सक्छ र त्यहाँ बिसाउनुपर्छ, जहाँ परमेश्वरको पवित्रताले विश्राम पायो। 

प्रिय पाठक, के तपाईंले ख्रीष्ट येशूमा मुक्ति पाउनुभएको छ? पाउनुभएको छैन भने, आज परमेश्वरसित मेलमिलाप राख्नुहोस् ! किनकि हाम्रो मुक्तिको सत्आधार ख्रीष्ट येशूको क्रसको मृत्यु हो। परमेश्वरले हाम्रा पापहरूको निम्ति ख्रीष्ट येशूको त्राणको काम छुटकाराको दामको रूपमा ग्रहण गर्नुभयो, र उहाँ यसमा पूरा सन्तुष्ट हुनुभयो। उहाँको धार्मिकता र पवित्रताका सबै मागहरू पूरा भए। यसकारण तपाईंले मुक्तिको निम्ति आफ्नो मनको भावनामा अथवा आफ्नो अनुभवमा निर्भर नगर्नुहोला, तर परमेश्वरको पुत्रले बगाउनुभएको बहुमूल्य रगतमा मुक्ति छ। किनभने न्यायमा हामी परमेश्वरको सामु उभिँदाखेरि उहाँको रगतको मूल्य गनिन्छ। ख्रीष्ट येशूको रगतको शक्ति कहिल्यै कम हुँदैन, तर अनन्तसम्म रहिरहन्छ। यसकारण आफ्नो निम्ति यसको मूल्य दाबी गर्नुहोस्! 

अनि हे ख्रीष्ट - विश्वासी भाइबहिनीहो, यसमा तपाईंको कर्तव्य के रह्यो त? तपाईंको बोलावट के हो? तपाईंले आत्मिक रूपले अखमिरे रोटीहरूको चाड़ मनाउनुपर्छ। यसर्थ यस उच्च, पवित्र बोलावटसित मेल नखाने हरेक अशुद्ध कुरा आफ्नो जीवनबाट हटाउनुहोस्! ख्रीष्ट येशूले हाम्रो पापको ऋण चुक्ता गर्नुभएको छ। अब ख्रीष्ट येशूलाई तपाईंको मीठो आत्मिक खुराक बन्न दिनुहोस् ! यो तपाईंको सौभाग्य हो। न्यायको दूतको प्रहारले तपाईंलाई छुन पाउँदैन, यसमा ढुक्कै हुनुहोस्! किनकि न्यायको प्रहार ख्रीष्ट येशूमाथि परेको हो। यसकारण आत्मिक हिसाबले विश्वासद्वारा रगतको छिटकाउ भएको घरभित्र शरण लिनुहोस्, र पवित्र भयको साथ निस्तार-चाड़ मनाउनुहोस्! किनकि सिद्ध ईश्वरीय सुरक्षा तपाईंको भएको छ। किनकि परमेश्वरको प्रेमले तपाईंको निम्ति ख्रीष्टको क्रूसमा प्रायश्चित्तको रगतको प्रबन्ध गरेको छ। 

परमेश्वरले पवित्र आत्माद्वारा मुक्तिको विषयमा शङ्का-उपशङ्काले सताइएको र निराशाले पीड़ित भएको हरेक हृदयलाई निम्न शब्दले शान्ति दिएका होऊन्ः ‘जब म त्यो रगत देख्छु, तब म तिमीलाई नछोई छोड़ेर जान्छु।' किनकि यस सम्बन्धमा पक्का दिव्य साक्षी यही हो। किनभने ख्रीष्टको रगत हाम्रो मुक्तिको सत्आधार हो। 

Your encouragement is valuable to us

Your stories help make websites like this possible.