शिखर आरोहण

शिखर आरोहण

सन् १९५३ सालको मे २९ तारिखको दिन श्री एड्मुन्ड हिल्लरी र श्री नोर्गे तेन्सिङ्गले सगरमाथा चढेर संसारको सर्वोच्च शिखर आरोहण गरे, र सुनाम कमाए। तिनीहरूचाहिँ यी प्रथम मानिसहरू हुन्, जो आफ्नो प्रयासमा सफल भए। तिनीहरूभन्दा अघि अरू धेरैले सगरमाथा चढ्ने कोशिश गरे, तर तिनीहरू सबै असफल रहे। तर यी दुईजनाले आफ्नो जीवन खतरामा हाले, आफ्नो वीरता देखाए र सफलता प्राप्त गरे। तिनीहरूको यो आरोहण स्मरणीय हो। दार्जीलिङ्गमा श्री नोर्गे तेन्सिङ्गको निम्ति स्मारक बनाइएको छ। 

सन् १९६९ सालको जुलाइ २० तारिखको दिन श्री नील्स् आमस्ट्रोङ्ग र उनको टोली एपोल्लो ११ नामक अन्तरिक्ष यान लिएर चन्द्रमामा उत्रे। उनी चन्द्रमामा आफ्ना खुट्टा टेकेका प्रथम मानिस हुन्। यस महान् 'आरोहण' रूपी सफलताले गर्दा उनले आफ्नो पुस्तामा ठूलो मान इज्जत पाए। 

श्री अल्फ्रेड बी० नोबलको नाममा स्थापित भएको संस्थाले सन् १९०१ सालदेखि हरेक वर्ष भौतिक विज्ञान (Physics), रसायन विज्ञान (Chemistry), चिकित्सा विज्ञान (Medicine), साहित्य (Literature), र संसारको शान्तिको निम्ति गरेको कुनै स्मरणीय महान् कार्यको निम्ति एक-एक पुरस्कार गरी पाँचओटा नोबल प्राइज नामक पुरस्कार दिने गर्छ। नोबल प्राइज प्राप्त गरेका यी प्रतिष्ठित व्यक्तिहरूमध्ये श्री अल्बर्थ आइन्स्टाइन्, श्री शाँ हेनरी दुनाँ, मोडर थेरेसा र श्री नेल्सन मान्देला आदि हुन्। यसरी नै मानिसहरूको हितका निम्ति 'आरोहण' रूपी अपूर्वीय सफलताहरूचाहिँ एक शिखरदेखि अर्को शिखरसम्म पुगेका छन्। 

तर यी सबै स्मरणीय अपूर्व सफलता पाएका मानिसहरूभन्दा अति उच्च सफलता प्राप्त गर्नुभएको एकजना व्यक्ति हुनुहुन्छ, जसको विषयमा जानकारी दिन म तपाईंका निम्ति यो सानो पर्चा लेख्न लागिरहेको छु किनकि उहाँको सम्झना अमर रहनेछ, अँ, पुस्तौंसम्म रहिरहनेछ। 

ओलिम्पियन खेलको सम्झना गर्नुहोस्! आफ्ना आफ्ना क्षेत्रमा विजय प्राप्त गर्ने विजेताहरूले गोल्ड मेडल लिएर लाखौंलाख दर्शकहरूको सामु कत्रो मान पाउँदछन्। तर यो ता केही पनि होइन। यो ता रोमी साम्राज्यमा गरिएको शानदार, महिमित विजय-यात्राको नकल मात्र हो। किनभने इतिहासले बताउँछ, कि जब रोमी सेनाहरू आफूले जितेका देशहरूबाट फर्केर आए, तब रोमको विशाल रङ्ग भूमिमा साम्राट, उनको राज्यसभाका सदस्यहरू, सबै कुलीन व्यक्तिहरू र हजारौँहजार जनताको सामु आई तिनीहरूले लुटको मालको रूपमा ल्याएका सबै थोकहरूको अति नै भव्य प्रदर्शन गर्थे। त्यत्ति बेला साम्राटले सबै दर्शकगणको सामु लड़ाइँमा अधिक वीरता देखाएका सिपाहीहरूलाई सम्मान दिन्थे र विशेष गरी तिनीहरूको अघि-अघि हिँड्ने सेनापतिलाई एउटा जय-मुकुट लगाइदिन्थे। कत्रो मान! कस्तो इज्जत! कति प्रशंसा! विचार गर्नुहोस्! कल्पना गर्नुहोस्! 

अब म तपाईंलाई स्वर्गमा लान्छु, र त्यहाँको भव्य दृश्य देखाउन चाहन्छु। त्यहाँ रोमी साम्राटले जस्तै सर्वोत्तम ईश्वर स्वर्गीय महिमाले भरपूर भएको सिंहासनमाथि बस्दै हुनुहुन्छ। उहाँको वरिपरि उहाँको सेवा गर्ने र उहाँको हुकुम मान्ने अनगिन्ती स्वर्गदूतहरू छन्। अनि उनीहरूको सामु मारिएको साँढ़ भेड़ा एकजना व्यक्ति उभिनुभएको छ। सबैका आँखाहरू उहाँमा लगाइएका छन्। अब यी अनगिन्ती स्वर्गीय सेनाहरूको उपस्थितिमा एकमात्र सत्य जीवित परमेश्वरले उहाँलाई, जसले क्रसमा शैतानलाई जित्नुभयो, विजयको मुकुट लगाई उहाँलाई ख्रीष्ट र प्रभु भन्ने उपाधि दिनुहुन्छ। तब सारा स्वर्गीय सेनाले उहाँको सामु घुँडा टेकेर सबका सबले एउटा सोरले उहाँलाई 'प्रभु! प्रभु!' भनी पुकारा गर्छन्। 

यो स्वर्गको दर्शन मैले कल्पना गरेको होइनँ। अब पवित्र पुस्तक बाइबलका शब्दहरूलाई हामीसित बोल्न दिऔंः 

'यसैकारण परमेश्वरले चाहिँ उहाँलाई अति उच्च पार्नुभयो र उहाँलाई त्यो नाम दिनुभयो, जो हरेक नामभन्दा उच्च छ, कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमनि हुनेहरूको हरेक घुड़ा येशूको नाममा टेकिनुपर्छ, र पिता परमेश्वरको महिमाका निम्ति हरेक जिब्रोले येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गर्नुपर्छ।' फिलिप्पी २:९-११ 

अब तपाईंले बुझिहाल्नुभयो, मैले कसको कुरा गरिरहेको छुः प्रभु येशू ख्रीष्टको विषयमा। एड्मुन्ड हिल्लरी र नोर्गे तेन्सिङ्गले वीरता देखाए, र मान पाए। नील्स् आमस्ट्रोङ्ग पहिलो मानिसको रूपमा चन्द्रमामाथि आफ्नो खुट्टा टेके, र यसले गर्दा मानिसको बीचमा उनको स्मरण रह्यो। अल्बर्थ आइन्स्टाइन् र मोडर थेरेसाले मानव जातिका निम्ति केही न केही सफलता प्राप्त गरेको हुनुपर्छ, नत्र तिनीहरूलाई नोबल प्राइज किन दिइयो? तब प्रभु येशूले पनि स्वर्गको सर्वोच्च महिमा प्राप्त गर्नलाई केही महान् काम गरेको हुनुपर्छ, होइन र? उहाँले कुन कुरामा यी सबै प्रतिष्ठित व्यक्तिहरूलाई जित्नुभयो, र के गरेर उहाँ तिनीहरूले प्राप्त गरेको मान इज्जत नाघेर जानुभयो, सो बुझ्ने कोशिश गरौं- पवित्र वचनले भन्छः 

'परमेश्वरको स्वरूप भई येशू ख्रीष्टले परमेश्वरसँग बराबरी हुने कुरालाई लुटको माल सम्झनुभएन, तर यस ईश्वरीय मान इज्जतबाट आफूलाई रित्त्याएर उहाँले दासको रूप लिनुभयो, र पूर्णतया मानिस हुनुभयो। अनि मानिसको रूपमा प्रकट भई उहाँले आफूलाई नम्र तुल्याउनुभयो, र मृत्युसम्म, अँ, क्रूसको मृत्युसम्म आज्ञाकारी हुनुभयो।' फिलिप्पी २:६-८ 

प्रभु येशूलाई विचार गर्नुहोस्! झुक्नमा उहाँले संसारका सबै महान् व्यक्तिहरूलाई जित्नुभयो। उहाँ परमेश्वर हुनुहुन्छ। उहाँ सृष्टिकर्ता हुनुहुन्छ। उहाँ सृष्टिको मालिक हुनुहुन्छ। तब उहाँ झुकेर कसरी हामीजस्तै सानो मानिस हुनुभयो त? स्वर्गमा अनगिन्ती स्वर्गदूतहरूले उहाँलाई सधैंभरि पुज्थे। तब त्यस स्वर्गको गौरवलाई छोड़ेर उहाँ किन यस धरतीमा आउनुभयो? उहाँ किन मानिस बन्नुभयो? यो रहस्य बुझ्ने कोशिश गर्नुहोस्! उहाँ होचिनुभयो, अति सानो हुनुभयो, किन? किन होला? उहाँ क्रसको मृत्युसम्म आज्ञाकारी हुनुभयो; किनकि संसारको उत्पत्तिभन्दा अघिदेखि नै उहाँको निम्ति यो परमेश्वरको इच्छा थियो। 

सारा संसारका मानिसहरूका पापहरू उठाएर लैजाने परमेश्वरको पापबलि हुनुभएको येशूलाई ध्यानसित हेर्नुहोस्! हेर्नुहोस्, त्यो नाजुक क्रूसको दृश्य! प्रभु येशू तपाईंको निम्ति त्यहाँ मर्नुभयो। प्रभु येशूले तपाईंका सबै पापहरूको निम्ति पाप-क्षमा पाउने दाम, अँ, पापदेखि छुटकारा पाउने दाम तिरिदिनुभयो। प्रभु येशूमा परमेश्वरको महान् प्रेम तपाईंको निम्ति बुझ्नुहोस् ! उहाँमा एउटै पनि पाप थिएन, तर परमेश्वरको इच्छा र योजनाअनुसार उहाँ क्रसमा मरेर सारा संसारका मानिसहरूका पापहरू काट्ने प्रायश्चित्तको बलि हुनुभयो। यसैमा उहाँको अपूर्व सफलता छ; यसैमा उहाँको महानता छ। यसरी नै उहाँ संसारका सबै मानिसहरूको मुक्तिदाता हुनुभएको छ। अब सुन्नुहोस्! परमेश्वरले अरू के के गर्नुभयो? प्रभु येशूमा उहाँले आफ्नो महाँशक्ति काममा लगाउनुभयो। परमेश्वरले उहाँलाई मरेको तेस्रो दिन मरेकाहरूबाट बौराएर उठाउनुभयो, र स्वर्गीय स्थानमा उहाँलाई आफ्नै दाहिने हातपट्टि सबै प्रधानहरू, सबै अधिकारीहरू, सबै शक्तिमान्हरू, सबै शासकहरूभन्दा अति उच्च ठाउँमा बसाल्नुभयो: यस संसारमा पाइने सबै व्यक्तिका नामहरूभन्दा उच्च मात्र होइन, तर आउने युगको हरेक नामभन्दा उच्च नाम र स्थान दिएर। परमेश्वरले सबै कुराहरू प्रभु येशू ख्रीष्टको अधिनमा पारिदिनुभयो। उहाँ परमेश्वरको सर्व अधिकारी हुनुहुन्छ। 'ख्रीष्ट' को अर्थ यही हो। उहाँ परमेश्वरले छान्नुभएको प्रभु र मालिक हुनुहुन्छ। प्रभु येशू अहिले यस सर्वोच्च स्थानमा बस्दै हुनुहुन्छ। यसैले एक दिन उहाँको नाममा सबै प्राणीहरूले घुँडा टेक्नुपर्छ, र पिता परमेश्वरको महिमाका निम्ति सबैजनाले उहाँलाई दण्डवत गरेर मुखले उहाँलाई 'प्रभु' भनी स्विकार्नेछन्। 

अरूले उच्च पर्वतका शिखर आरोहण गरे। फेरि अरूले आफ्नो सफलताको निम्ति मानिसहरूको सामु सम्मान पाए। तर यहाँ एकजना हुनुहुन्छ, जसले स्वर्ग आरोहण गर्नुभयो, जो स्वर्गको सर्वोच्च स्थानमा बस्दै हुनुहुन्छ, जसको सम्मान मानिसहरूले होइन, तर परमेश्वर स्वयम्ले गर्नुभएको छ। तब तपाईं प्रभु येशूको सामु घुँड़ा कसरी टेक्नुहुन्न? के तपाईं आफ्नो मुखले उहाँलाई प्रभु भनी स्वीकार गर्नुहुन्न, जब परमेश्वर स्वयम्ले उहाँलाई त्यस महिमित स्थानमा राख्नुभयो? उहाँको महान् कार्यमा आफ्नो विचार र ध्यान लगाउनुहोस्! कुनै मानिसले कहिल्यै नगरेको महान् काम प्रभु येशूले पूरा गर्नुभयो। उहाँको क्रूसको मृत्यु विचार गर्नुहोस्! प्रभु येशूमा बाहेक अरू कसको नाममा मुक्ति छ? अरू कसले तपाईंलाई पापको क्षमा दिन्छ? अरू कसले तपाईंलाई स्वर्गमा पुरयाउन सक्छ? जीवित प्रभु येशूले बाहेक अरू कसले तपाईंलाई अनन्त जीवन दिन्छ? 

अन्तमा प्रभु येशूले स्वर्गारोहण गर्नुभएको कुरा देख्ने साक्षीहरूको वचन सुन्नुहोस्! 'प्रभु येशूले यी कुराहरू भनिसक्नुभएपछि उहाँका चेलाहरूले हेर्दा हेर्दै उहाँ माथि उठाइनुभयो, अनि एउटा बादलले उहाँलाई तिनीहरूको दृष्टिबाट ढाकिदियो। अनि उहाँ माथि जाँदै गर्नुहुँदा जब तिनीहरू आकाशतिर एक डिठ लगाएर हेरिरहेका थिए, तब हेर, दुईजना सेतो वस्त्र लगाइएका मानिसहरू तिनीहरूको बगलमा खड़ा भए। उनीहरूले भने: "हे गालीलका मानिसहरूहो, तिमीहरू किन आकाशतिर हेर्दै उभिन्छौ? तिमीहरूको बीचबाट स्वर्गमा उठाइनुभएको यही येशू नै यस प्रकारले आउनुहुनेछ, जसरी तिमीहरूले उहाँलाई स्वर्गतिर जाँदै गर्नुभएको देख्यौ।” प्रेरित १:९ - ११ 

यो कुनै दन्त्य कथा होइन, तर प्रत्यक्ष गवाहहरूको अकाट्य साक्षी हो। उहाँको फर्कने दिन नजिकै छ, जब प्रभु येशू ठूलो शक्ति र महिमाको साथ बादलहरूको सवारीमा फेरि आउनुहुनेछ, र हरेक आँखाले उहाँलाई देख्नेछ। उहाँको खातिर पृथ्वीका सबै जातिका मानिसहरूले विलाप गर्नेछन्। यसैले ढिलो नगर्नुहोला, तर उहाँलाई समयमा आफ्ना प्रभु र मुक्तिदाताको रूपमा स्वीकार गर्नुहोस्, नत्र तपाईंको निम्ति त्यो दिन आनन्दको होइन, तर विलापको हुनेछ। 

स्वर्गमा चढ़िजानुभन्दा अघि प्रभु येशूले भन्नुभयोः 'स्वर्ग र पृथ्वीको सर्व अधिकार मलाई दिइएको छ; यसकारण जाओ, सबै जातिका मानिसहरूलाई चेला बनाओ!' यही अधिकारमा हामी तपाईंलाई आह्वान गर्छौंः आफ्ना पापहरू मानिलिनुहोस्, र प्रभु येशूमाथि विश्वास गरेर उहाँलाई आफ्नो प्रभु र मुक्तिदाता बनाउनुहोस्! क्रूसमा त्यो महान् त्राणको काम पूरा गर्नुभएको, अनि मरेकाहरूबाट बैरिउठ्नुभएको र स्वर्ग आरोहण गर्नुभएको प्रभु येशूको चेला हुनुहोस्, र तयार भई उहाँको दोस्रो आगमनको बाटो हेर्नुहोस्! उहाँ अवश्य ढिलो गर्नुहुनेछैन नै। 

Your encouragement is valuable to us

Your stories help make websites like this possible.