वास्‍तवमा ख्रीष्‍टमस के हो?

ख्रीष्‍टमस के हो?

ख्रीष्टमस भन्नासाथ प्रायः मानिसहरूले इसाईहरूको महान् चाड़ हो भनी बुझ्ने गर्दछन्। संसारका विभिन्न देशहरूमा हेर्ने हो भने विभिन्न धर्ममा आस्था राख्ने मानिसहरू छन्। हरेक धर्मका आ-आफ्नै चाड पर्वहरू छन्। कुनैपनि चाड-पर्व नभएको धर्म सायदै यस संसारमा छैन होला। त्यसकारण ख्रीष्टमस पनि इसाईहरूको एउटा चाड़ हो भनी आम मानिसहरूले बुझ्ने गर्दछन्। 

मंसिरदेखि नै बजारका पसलहरूमा हरियो रूख र अन्य झिलीमिली बत्तीले सजाईएका पाईन्छन्। रातो पहिरनमा सेतो जुंगा र दाह्री भएका सजीव तथा कृत्तिम दुबै किसिमका स्यान्टा क्लसहरू प्रशस्तै भेटिन्छन्। यसले गर्दा पनि मानिसहरूलाई ख्रीष्टमस नजिकै आईरहेको आभाष हुने गर्दछ। 

येशू ख्रीष्टको बारेमा केही पनि थाहै नभएकाहरूले समेत ख्रीष्टमसलाई आफ्नो घर-घरमा; रेष्टुराँहरूमा, होटलहरूमा र डान्सबारहरूमा मनाउन थालेका छन्। त्यसैले आजको संसारमा ख्रीष्टमस व्यापारीहरूका लागि व्यापार गर्ने; र युवाहरूको लागि मनोरञ्जन तथा मोज मस्तीको बहाना बन्न पुगेको छ। 

कति दुःख लाग्दो कुरा। येशू ख्रीष्टलाई चिनेकाहरूले पनि ख्रीष्टमसलाई एउटा चाड़को रूपमा लिन थालेका छन्। मानिसहरूले हरेक वर्ष ख्रीष्टमसको अवसरमा मनोरञ्जन, उपहारहरूको आदान-प्रदानमा, कन्सर्ट र भोज भत्तेर गरेर फजुल रकम सिध्याउने गरेका छन्। 

बाइबलीय खीष्टमसचाहिँ के हो? 

“हेर, एउटी कन्या गर्भवती हुनेछिन् र तिनले एउटा छोरा जन्माउनेछिन्, र उसको नाम इम्मानुएल राख्नेछिन्” (यशैया ७:१४)। “किनभने हाम्रा निम्ति एउटा बालक जन्मिएको छ, हामीलाई एउटा पुत्र दिईएको छ...” (यशैया ६:६)। 

यी पदहरू पढेपछि पक्कै पनि तपाईंले केहि कुरा बुझ्नुभयो होला। ख्रीष्टमस भनेको येशू ख्रीष्ट यस संसारमा मानिसको रूपमा जन्म लिनुभएको दिन हो। संसारमा भएका हरेक मानिसहरूका निम्ति स्वयम् परमेश्वरले आफ्नो एकमात्र पुत्र येशू ख्रीष्टलाई उपहार दिनुभएको दिन हो। “उहाँमाथि विश्वास गर्ने कोहि पनि आत्मिक रूपमा नष्ट हुँदैन, तर उसले अनन्त जीवन प्राप्त गर्दछ” भनी बाइबलले बताउँछ। 

ख्रीष्टमसको अवसरमा उपहार लेनदेन मात्र गर्ने, कन्सर्टको आयोजना गर्ने; मदिरापान र क्यारोल गाउने कुरालाई मात्र बढी बढावा दिन्नुहुन्न। ख्रीष्टमस वास्तवमा मानिस जातिले उपहार पाएको दिन हो। यस उपहारलाई संसारका प्रत्येक मानिसले ग्रहण गरेको परमेश्वर चाहनुहुन्छ। यो आत्मिक उपहारबिना कुनैपनि मानिस अनन्त स्वर्गीय राज्यको भागिदार हुनेछैन भनी बाइबलले बताउँछ। कोही पनि मानिस नरकको भागीदार भएको परमेश्वर चाहनुहुन्न। बाइबलमा लेखिएको छ, “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्नो एक मात्र जन्माइएको पुत्रलाई दिनुभयो। उहाँमाथि विश्वास गर्ने कोहि पनि नष्ट नहोस्, तर उसले अनन्त जीवन पाओस्” (यूहन्ना ३:१६)। 

प्रिय मित्र, तपाईंलाई पनि परमेश्वरले पर्खि रहनुभएको छ। के तपाईंले त्यो बहुमूल्य उपहारलाई स्वीकार गर्नुभएको छ? यस उपहारलाई स्वीकार गरिसकेपछि तपाईंको आत्मिक जीवन सदाको लागि सुरक्षित रहनेछ। परमेश्वरको प्रेरणाद्वारा लेखिएको बाइबलमा स्पष्टसँग लेखिएको छ सम्पूर्ण मानव जाति पापी छ। रोमी ३:१०-११ ले भन्दछ, “धर्मी कोही छैन, एउटै पनि छैन; बुझ्ने कोहि छैन, परमेश्वरलाई खोज्ने कोहि छैन।” 

एकपल्ट बिचार गर्नुहोस् त! कतै तपाईंले साँचो र सत्य ईश्वरलाई स्वीकार गर्नुको साटो कुनै झुटो ईश्वरलाई पो स्वीकार गरिहनुभएको छ कि? रोमी ६:२३ ले भन्दछ, “किनभने पापको ज्याला मृत्यु हो।" मानिस आमाको गर्भदेखि नै पापमा रचिएको हुन्छ (भजनसंग्रह ५१ : ५)। हामीले जस्तोसुकै दान- पूण्य र धर्म-कर्महरू गरे ता पनि हाम्रो पापलाई धुन सक्दैनौं। बाइबलले भन्दछ, “तर परमेश्वरको अनुग्रहको वरदानचाहिँ हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो" (रोमी ६:२३)। यसैले परमेश्वरको अनुग्रहबाट प्राप्त यो वरदान अथवा उपहारलाई स्वीकार गर्नु नै हाम्रो लागि सबैभन्दा असल कुरा हो। 

मित्र, हामी सम्पूर्ण मानव जातिमा भएको यस पापरूपी दागलाई धुन सक्ने एउटै मात्र व्यक्ति केवल येशू ख्रीष्ट हुनुहुन्छ। उहाँमा कुनै पाप थिएन भनेर बाइबलले बताउँछ। उहाँ एउटा यस्तो व्यक्तित्त्व हुनुहुन्छ, जो स्वयम् परमेश्वरको आत्माबाट गर्भधारण हुनुभएको थियो। उहाँले मानिस जातिको पाप धुन क्रुसमा बलि हुनुभई आफ्नो अमूल्य रगत बगाउनुभयो। जसको पवित्र र सिद्ध रगतद्वारा आज तपाईं पनि शुद्ध हुन सक्नुहुनेछ। 

“स्वर्गमा पृथ्वीमाथि र पृथ्वीमुनि हुनेहरूको हरेक घुँडा येशूको नाममा टेकिनुपर्दछ र पिता परमेश्वरको माहिमाको लागि हरेक जिब्रोले येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनि स्वीकार गर्नुपर्दछ” (फिलिप्पी २:१०-११)। 

येशू ख्रीष्टको जन्मबाट संसारमा ख्रीष्टमस आयो। यही ख्रीष्टलाई उपहारको रूपमा सबैले ग्रहण गर्नुपर्दछ र अनन्तको सुरक्षा प्राप्त गर्नुपर्दछ भनि बाइबलले बताउँछ। रोमी नामक पुस्तकमा लेखिएको छ, “यदि तिमीले आफ्नो मुखले प्रभु येशूलाई स्वीकार गज्यौ भने, र परमेश्वरले उहाँलाई मरेकाहरूबाट बौराएर उठाउनुभयो भनी आफ्नो हृदयमा विश्वास गयौ भने तिमीले मुक्ति पाउनेछौ। रोमी १०:६-१० ले भन्दछ, "किनकि धार्मिकताका निम्ति हृदयले विश्वास गरिन्छ, र मुक्तिका निम्ति मुखले स्वीकार गरिन्छ।” 

आज नै आफ्नो जीवनलाई सुरक्षित राख्न क्रुसमा मर्नु हुने प्रभु येशू ख्रीष्टलाई स्वीकार गर्नुहोस्; र अनन्त जीवनको उपहारलाई प्राप्त गर्नुहोस्। 

प्रिय मित्र, ख्रीष्टमस बाइबलले दिएको कुनै चाड़-पर्व होइन; न ता बाइबलले इसाईहरूलाई कुनै चाड़ मनाउन आज्ञा गरेको छ। ख्रीष्टमसलाई त मानिस आफैले सृजना गरेको हो। ख्रीष्टमसको समयमा प्रायः होटल, रेष्टुराँ र सपिङ मलहरू झिलिमिली बत्तिहरूले उज्यालो पारिएका हुन्छन्। आत्मिक जीवनको उज्यालो त येशू प्रभु हुनुहुन्छ। बाइबलले बताउँछ, “संसारको ज्योति म नै हुँ जसले मलाई पछ्याउँछ, ऊ अन्धकारमा हिँड्नेछैन, तर जीवनको ज्योति पाउनेछ” (यूहन्ना ८ : १२)। 

यसरी सम्पूर्ण मानव जातिलाई पापको दासत्त्वबाट छुटकारा दिन परमेश्वर स्वयम् मानव रूपमा जन्मनुभयो। यसरी उहाँको यस महान् उद्देश्यलाई ओझेलमा राखेर; मोजमज्जा र शारीरिक अभिलाषालाई प्राथमिकता दिने कार्य ख्रीष्टमसमा कदापी गर्नुहुन्न। परमेश्वरको मुक्तिको योजनालाई अघि सारेर उहाँको मृत्युः गडाई र बौरिउठाईलाई स्वीकार गर्न तपाईंलाई आग्रह छ। येशू ख्रीष्टले तपाईंलाई निम्तो दिईरहनु भएको छ (प्रकाश ३:२० )। आउनुहोस्, यस निमन्त्रणालाई स्वीकार गरी अनन्त जीवनको उपहार प्राप्त गर्नुहोस्! 

आफ्नो हृदयमा येशू ख्रीष्टलाई जन्म हुन दिनुहोस्। साँचो र वास्तविक ख्रीष्टमस यही हो। तपाईंको लागि यस वर्षको ख्रीष्टमस यथार्थ बनोस्! 

यस सम्बन्धमा अझ बुझ्नको निम्ति कृपया सम्पर्क अवश्य गर्नुहोला। 

Your encouragement is valuable to us

Your stories help make websites like this possible.