एकै कदम मात्र बाँकी हुँदा

एकै कदम मात्र बाँकी हुँदा

कति मानिसहरूमाथि मृत्यु अचानक आइपर्छ। यस्ताहरूका निम्ति शोक गर्नु बाहेक हामी केही पनि गर्न सक्दैनौं; किनभने बाँचुन्जेल मानिसहरूका निम्ति आशा छ। तर अब तिनीहरू हाम्रै अगाड़ि परलोकमा पुगिहालेका छन्। तिनीहरूको मृत्युजस्तो दुःखको कुरा याद हुँदा आज तपाईं मेरो सम्झनामा आउनुभएको छ; मलाई तपाईंको छेउमा बसेर तपाईंसित यो गम्भीर विषय लिएर मित्रसँग झैं कुरा गर्ने मन छ, तपाईंलाई मेरा आफन्त सम्झेर म तपाईंलाई एक-दुई कुरा भन्न चाहन्छु। किनकि ईश्वरले जानून् - शायद मृत्युको मुखमा पुग्न एकै कदम मात्र बाँकी रहेको होला। यसैले मेरो प्रश्न छः के हजुर मर्न तयार हुनुहुन्छ? हजुर मर्न तयार हुनुभएन भने कृपा गरी मेरो मनको सल्लाह ग्रहण गर्नुहोला, र अब आफ्ना सृष्टिकर्ता परमेश्वरलाई भेट्न तयार हुनुहोस्! 

तपाईंलाई सम्झाउने मेरो धेरै समय छैन; यसैले म तपाईंलाई भन्नपर्ने कुरा भनिहाल्छु; किनकि तपाईंसँग बोल्ने यो मेरो अन्तिम मौका हुन सक्छ। यसमा तपाईं मसँग नरिसाउनुहोला, तर तपाईंको हितैषी साथी सम्झेर मलाई सहनुहोला। धन्यवाद! 

हामी बाँच्नका निम्ति मात्र तयार हुनुहुँदैन, तर मर्न पनि तयार हुनैपर्छ; किनभने पवित्र शास्त्रमा हामीले यस सम्बन्धमा यस्तो लेखिएको पाउँछौं: “मानिसहरूका निम्ति एकपल्ट मर्नु छ, त्यसपछि न्याय नियुक्त गरिएको हो" (हिब्रू ९:१७)। तपाईं र म हामी एकपल्ट मात्र जिउँछौं, र एकैपल्ट मात्र मछौं; मरेपछि हामी यस धरतीमा कहिल्यै फर्केर आउनेछैनौं। यस संसारमा फेरि जिउन भनी हामीलाई दोस्रो मौका मिल्नेछैन। हामीलाई एउटै जीवन मात्र दिइएको हो; अनि यसको अन्त छिट्टै आइरहेको छ। काल कसैलाई पखिँदैन, तर निश्चय आइरहेको छ। अनि त्यसपछि? त्यसपछि न्याय नियुक्त गरिएको हो”; मरेपछि न्याय नियुक्त गरिएको छ। यो परमेश्वरको बन्दोबस्त हो। यसको विरोधमा हामी केही भन्न सक्दैनौं। यो सत्यता नम्र भएर हामीले स्वीकार गर्नुपर्छ। परमेश्वर हाम्रो जीवन दिने दाता हुनुभएको हुनाले उहाँले हाम्रो जीवनको लेखा लिनुहुनेछ र हामीलाई हामीले जीवनभरि गरेका कामहरूको प्रतिफल दिनुहुनेछ। उहाँले मुख हेरेर हाम्रो न्याय गर्नुहुनेछैन, तर उहाँको न्याय धर्ममय हुनेछ। त्यति बेला हामी आफूले गरेका असल असल कामको विषयमा चिन्ता गर्नुपर्दैन; तर हामीले गरेका पाप र अधर्महरू हाम्रो चिन्ताको विषय हुनेछन्। 

यहाँ तपाईंसित पापको कुरा गर्न हामीलाई मन लाग्दैन; अनि अरू मानिसहरूलाई पापी भन्न एकदम अप्ठ्यारो कुरा हो। तर तपाईंसित पापको कुरा नगरी हुँदैन; किनकि हाम्रो मूल समस्या यही हो; किनभने पाप नै हाम्रो मृत्युको खास कारण हो। “एकैजना मानिसद्वारा संसारमा पाप पस्यो, र पापद्वारा मृत्यु आयो; अनि त्यस्तै गरी मृत्यु सबै मानिसहरूमा फैलेर गयो; किनकि सबै मानिसहरूले पाप गरेका छन्” (रोमी ५:१२)। याद रहोस्: पाप नगर्ने एउटै मानिस पनि छैन। आदमका सन्तानहरू सबै पापी छन्। म एउटा पापी मानिस हुँ। तपाईंले पनि ईश्वरको विरुद्ध पाप गर्नुभएको हो, नत्र तपाईं मर्नुपर्दैन, अँ, तपाईं कहिल्यै मर्नुहुन्न। तर तपाईं अरू मानिसहरू मर्नुभयो भने अनि यस कुरामा शङ्का छैन यसको कारण हुनुपर्छ। मर्ने कारण उमेर ढल्केको वा रोग लागेको मात्र नठान्नुहोस्! किनकि हाम्रो शरीरको मृत्यु र हाम्रो आत्मिक मृत्यु हाम्रा पापको फल हो। 

“पापको ज्याला मृत्यु हो” (रोमी ६:२३)। शरीरले पाप गर्छ भने शरीर मर्नुपर्छ; तर आत्माले पाप गर्छ, के हाम्रो आत्मा मर्न सक्छ? आत्माको मृत्युचाहिँ त्यस नरकको आगो हो, जो कहिल्यै निभ्दैन। त्यो नरक शैतान र त्यस परमेश्वरको शत्रुको कुरा मान्नेहरूका निम्ति तयार गरिएको हो। “मानिसको डर मान्नेहरू, प्रभु येशूमाथि विश्वास नगर्नेहरू, घिनलाग्दा काम गर्नेहरू, हत्या गर्नेहरू, व्यभिचार गर्नेहरू, टुनामुना / जादु गर्नेहरू, मूर्तिपूजा गर्नेहरू र सबै झूट बोल्नेहरूको भाग आगो र गन्धकले जलिरहेको कुण्डभित्र हुनेछ, योचाहिँ दोस्रो मृत्यु हो” (प्रकाश २१:८)। पापीहरूको दशा विचार गर्नुहोस्, त्यो कति डरलाग्दो हुनेछ। तब पवित्र वचनको यस प्रकाशमा हामी गम्भीर नबनौं, र आफ्ना पाप मानि नलिऔं? 

पाप किसिम-किसमका हुन्छन्, जस्तै “सबै प्रकारका अधर्महरू, व्यभिचार, दुष्टता, लोभ र वैरभावले भरिएका, अँ, डाहा, हत्या, झगड़ा, छलकपट र दुष्ट विचारले भरपूर भएका मानिसहरू छन्। कानेखुशी गर्ने, अरूको निन्दा गर्ने, परमेश्वरलाई घृणा गर्ने, अनादर गर्ने, घमण्ड गर्ने, सेखी गर्ने, खराब - खराब कुरा रच्ने, बुवाआमाका आज्ञा नमान्ने, समझ / विवेक नहुने, करार/ वचन भङ्ग गर्ने, स्वभाविक माया नहुने, मेलमिलाप गर्न नचाहने, दया नहुने मानिसहरू छन्; यस्ता यस्ता काम गर्नेहरू मृत्युदण्ड पाउन योग्य हुन्छन्” (रोमी १:२९-३२)। यी पापहरूको जानकारी पढ्दा 'मैले पाप गरेको छैनँ' नभन्नहोला, तर आफ्नो जीवन नियालेर जाँच्नुहोला! पश्चात्ताप गर्ने मौका नचुकाउनुहोस्! मर्ने घड़ीमा आफूलाई छल गर्नु के फाइदा? आफूलाई धोका नदिनुहोस्! तपाईंका पाप र अधर्महरूको बारेमा अरू कसैलाई थाहा नहोला, तर सारा सृष्टिको मालिकको सामु ती सबै छरलङ्गै छन्। तब के आफ्नो हृदय कठोर पारेर 'मैले पाप गरेको छैन' भन्न? होइन, आज मृत्युको मुखमा पुगेको घड़ी हो; यो सम्झेर आफ्ना पापको विषयमा पछुताउने बेला आएको छ। आफूलाई नम्र पारेर परमेश्वरको सामु आफ्ना पापहरू मानिलिनुहोस्! उहाँले तपाईंलाई पापको क्षमा दिनुहुनेछ। 

“पापको ज्याला मृत्यु हो; तर परमेश्वरको अनुग्रहको वरदानचाहिँ हाम्रा प्रभु येशूमा अनन्त जीवन हो” (रोमी ६:२३ )। हो, पापको फल नमिठो, डरलाग्दो हुन्छ। तर परमेश्वरको निगाह महान्, हाम्रा पापहरूभन्दा ठूलो छ। प्रभु येशूको नाममा उहाँले तपाईंलाई सबै पापहरू क्षमा गर्नुहुनेछ; किनभने प्रभु येशू हाम्रा पापहरूका निम्ति, अँ, सारा संसारका मानिसहरूका पापका निम्ति पाप-बलि हुनुभयो। उहाँको क्रूसको मृत्यु सम्झनुहोस्! यो उहाँले तपाईंका निम्ति सहनुभयो। येशूको नाममा पापको क्षमा पाउनुहोस्! 

“अन्धकारमा बस्ने मानिसहरूले एउटा ठूलो ज्योति देख्दछन्; अनि मृत्युको देश र कालको छायामा बस्नेहरूका निम्ति ज्योति उदय भएको छ”( मत्ती ४:१६)। प्रभु येशू संसारको ज्योति हुनुहुन्छ। उहाँ यस धरतीमा आउनुभयो र हामी अन्धकारमा बस्नेहरू सबैका निम्ति जीवन दिने ज्योति हुनुभयो। के तपाईं मृत्युको देशको बासिन्दा हुनुहुन्न? के तपाईं मृत्युको छाया देख्नुहुन्न, जब तपाईं मृत्युको मुखमा पुग्नुभएको, वा कालले अरू मानिसहरूलाई तपाईंको सामु लगेको तपाईंले देख्नुभएको छ? तपाईंलाई मृत्युपारिको जीवन दिएर तपाईंलाई जीवित आशा दिलाउने प्रभु उहाँ नै हुनुहुन्छ; किनभने येशू प्रभु मरेको तेस्रो दिन फेरि जिउँदो हुनुभएको हो। जबसम्म प्रभु येशू जीवित रहनुहुन्छ, तबसम्म उहाँलाई मान्नेहरू पनि जिउँदा रहनेछन्। उहाँको नाममा अनन्त जीवन छ। परमेश्वरको निगाह तपाईंका निम्ति ठूलो छ। विश्वास गरेर उहाँबाट पापको क्षमा दान ग्रहण गर्नुहोस्! 

प्रभु येशू किन मानिस हुनुभयो? यसको उत्तर दिएर पवित्र वचनले यसो भन्दछः “छोराछोरीहरू मासु र रगतका भागीदार भएका हुनाले प्रभु येशू पनि त्यसरी नै ती कुराकै भागी हुनुभयो; एक त आफ्नो मृत्युद्वारा मृत्युको शक्ति भएको शैतानलाई नाश गर्न भनी; अनि दुई, मृत्युको डरले सारा जीवनभरि नै दासत्वमा परेका सबै मानिसहरूलाई छुटकारा दिन भनी " (हिब्रू २:१४-१५)। परमेश्वरले हाम्रो पापको बन्धनमा परेको आशाहीन अवस्था देख्नुभयो, र मृत्युको शक्ति चलाउने शैतानका सबै युक्तिहरू जान्नभयो। प्रभु येशूको क्रसको मृत्युचाहिँ हाम्रो शत्र शैतानको सारा शक्तिमाथि, अँ, मृत्युमाथि हाम्रो विजय हो। हल्लेलूयाह! प्रभु येशूको विजयमा मृत्यु निलियो! अब प्रभु येशूमा शरण लिनेहरूले मृत्युदेखि डराउनुपर्दैन; किनकि प्रभु येशूमा मृत्युदेखि र मृत्युको डरदेखि पूरा छुटकारा छ। अब येशूलाई मान्नेहरूका निम्ति मृत्युचाहिँ परलोक पुग्ने दौलो भएको छ। मृत्युपार पुगेपछि हामी उहाँलाई देख्नेछौं, जसले भन्नभयो: “बौरिउठाइ र जीवन म नै हुँ; जसले ममाथि विश्वास गर्छ, ऊ मरे पनि जिउनेछ। अनि जो जिउँछ र ममाथि विश्वास गर्छ, त्यो कहिल्यै मर्नेछैन” (यूहन्ना ११:२५ )। 

ख्रीष्ट विश्वासी मन्फ्रेड सीबाल्डले मृत्युको विषय लिएर हामीलाई सान्त्वना दिन चाहेका छन् र आफ्नो विश्वास यसरी प्रकट गरेका छन्ः 'म अघि बढिरहेको छु, अलि परसम्म मात्र पुगेको छु। मृत्युरूपी दौलोबाट भएर मैले स्वर्गीय आनन्दभित्र प्रवेश पाएको छु म परमेश्वरको अनन्त घरमा पुगेको छु। केही वर्ष म तपाईंको साथमा थिएँ; तर अब आशा लिएर म अघि बढ़ेको छु - सदा-सर्वदा मेरा प्रभु येशूको साथमा रहनलाई।' 

तपाईंसँग कुरा गर्ने मेरो समय बितिसक्यो : अब तपाईंबाट बिदा लिने बेला भएको छ। अब एकलै भएर तपाईंले त्यो अन्तिम कदम उठाउनुपरेको छ। तपाईंले मृत्युलाई सामना गर्नुपर्छ। तब स्वर्गको एक झलक दिएर म तपाईंबाट बिदा पाऊँ: “हेर, मानिसहरूसित परमेश्वरको वासस्थान! उहाँ तिनीहरूसँग वास गर्नुहुनेछ, र तिनीहरू उहाँका मानिसहरू हुनेछन्। परमेश्वर आफै तिनीहरूसित हुनुहुनेछ र तिनीहरूको परमेश्वर हुनुहुनेछ। परमेश्वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ; अब मृत्यु कहिल्यै हुनेछैन, न शोक न रुवाइ न पिड़ा कहिल्यै हुनेछ; किनकि पहिलेका कुराहरू बितिसकेका छन्" (प्रकाश २१:४ )। 

के हजुर मर्न तयार हुनुहुन्छ? समय छँदा अहिले नै आफ्ना सृष्टिकर्ता परमेश्वरलाई भेट्न तयार हुनुहोस्! अन्तमा तपाईंलाई एउटा गीत, त्यसका शब्द सुनाउँदछु; यी शब्दहरूले मैले तपाईंलाई भन्न चाहेको कुरा तपाईंलाई फेरि एकपल्ट सम्झाइदिन्छन्ः 

प्यारा मित्र, समय छँदै यो दिव्य वाणी ध्यानसित सुन्नुहोस्! दुई दिनको यो जीवन पलकमा बित्छ; तब पाउनु के छ र? 
'यो गर्छु' भन्दै, 'त्यो गर्छु' भन्दै जीवन बित्दैछ, छोटो यो जीवन बितेर जान्छ; लानु के छ र? 
मरेपछि कसैलाई आगोमा, कसैलाई मट्टीमा, मुक्ति नपाए आत्मा त पर्छ नरकको भट्टीमा। 
ज्ञानी र मुर्ख, गरिब र धनी - नमर्ने को होला? 
प्राण निस्केपछि हाम्रो न्याय हुनेछ; त्यस न्यायबाट को उम्केला? 
'म शान्ति, मुक्ति, अनन्त जीवन दिन्छु' प्रभु येशूको कबुल छ; हाम्रा निम्ति आफ्नो जीवन दिएर यो वचन दृढ़ पार्ने प्रभु येशूमाथि विश्वास गरेर मुक्ति पाउनुहोस्! 

Your encouragement is valuable to us

Your stories help make websites like this possible.