के ख्रीष्‍टियन धर्म विदेशी धर्म, गाई खाने धर्म हो?

के ख्रीष्टियन धर्म  विदेशी धर्म, गाई खाने धर्म  हो?

धेरै मानिसहरूको बीचमा परमेश्वरको वचन पवित्र बाइबल र प्रभु येशू ख्रीष्टको विषयमा 'यो त विदेशी धर्म, गाई खाने धर्म हो' भन्ने कुरा हामी घरिघरि सुन्छौं। कुनै धर्मले गाईको मासु खाने त होइन होला; तर भन्न खोजेको कुरा यो हो कि बाइबल मान्नेहरूले गाईको मासु खान्छन्; किनभने धर्मग्रन्थमा उनीहरूलाई यसो गर्न सिकाइएको छ। के यो लगाइएको दोष सत्य हो? के बाइबलका परमेश्वरले उहाँलाई मान्नेहरूलाई 'तिमीहरूले गाईको मासु खानुपर्छ' भन्ने आज्ञा गर्नुहुन्छ? शुरुदेखि लिएर अन्तसम्म तपाईं पवित्र बाइबल पढ्नुहोस्, तर तपाईंले ख्रीष्टका अनुयायीका निम्ति कहीं पनि यसो गर्ने आज्ञा पाउनुहुनेछैन। 

पवित्र बाइबलमा के पाइन्छ त? त्यो कुरा म आज तपाईंको सामु स्पष्ट पार्न चाहन्छु; किनभने यी कुराहरू जान्न हरेक मानिसको निम्ति लाभदायक छन्। पवित्र बाइबलले हामीलाई आकाश र पृथ्वीलाई सृष्टि गर्ने एकमात्र सत्य, जीवित सृष्टिकर्ता परम ईश्वरको विषयमा बताउँदछ। सारा संसार उहाँको सृष्टि हो। उहाँले हामी सबै मानिसहरूलाई सृजना गर्नुभयो। यसैकारण यस संसारमा उहाँको हक नलाग्ने कुनै ठाउँ नै छैन। सबै मानिसहरू उहाँकै हुन्। यसैले उहाँले सबै जातिका मानिसहरूसँग बोल्न र तिनीहरूलाई आज्ञा गर्न पाउनुहुन्छ; होइन र? यसो भए तपाईंको देश, तपाईंको गाउँ, तपाईंको परिवार, अँ तपाईंको व्यक्तिगत जीवन पनि उहाँको अधिकार-क्षेत्र हो। यसैले संसारका सबै मानिसहरूले आफ्ना सृष्टिकर्तालाई चिन्नुपर्छ अनि आदर र भक्तिसाथ सत्यतामा पुज्नुपर्छ। 

घाम एउटा मात्र छ। कसैले यो मेरो हो भन्न सक्दैन। घाम पूर्वबाट उदय हुन्छ; यसैले पूर्वका मानिसहरूले घाम हाम्रै हो भनी दाबी गर्न सक्दैनन्; किनभने घाम साझा हो। आकाशमा देखिने घामको उज्यालो र न्यानोपन सबै मानिसहरूको निम्ति हो। त्यो घाम मबाट जति टाढामा छ, तपाईंबाट पनि उति नै टाढामा हुन्छ। ठीक त्यस्तै सारा पृथ्वी सृष्टि गर्नुहुने परमेश्वर पनि एकजना मात्र हुनुहुन्छ। कसैले परमेश्वर मेरो हो, तेरो होइन भन्न सक्दैन किनकि परमेश्वर सबका परमेश्वर हुनुहुन्छ। मानिसलाई सृष्टि गर्नुहुँदा उहाँले जाति-जाति छुट्ट्याउनुभएको छैन। उहाँले एउटा जातिलाई एउटा धर्म र अर्को जातिलाई अर्को धर्म दिनुभएको पनि छैन। उहाँको सामु न विदेशी न स्वदेशी हुन्छन्। पापले गर्दा हामी सबैजना परमेश्वरदेखि टाढा भएका छौं, तर परमेश्वरको वचन बाइबलद्वारा अँ प्रभु येशूको सुसमाचारद्वारा उहाँले हामी सबैलाई सत्यता जान्ने ज्ञान दिएर उहाँको नजिकै जाने बाटो देखाउन चाहनुहुन्छ। बाइबलकै कुरा लिएर यो कुनै विदेशी धर्म वा गाई खाने धर्म होइन भन्ने कुरा म आज तपाईंको सामु प्रमाणित गर्न चाहन्छु। जुन कुरा म तपाईंलाई यहाँ लेख्दछु, त्यो इस्वी संवत् ४५ सालतिर अर्थात् आजभन्दा लगभग १९६० बर्षअघि युरोपमा पर्ने तुर्किस्तान देशको लुकाओनिया जिल्लाको लुस्त्रा नामक शहरमा घटेको घटना हो; त्यहाँ परमेश्वरका वक्ताहरू पावल र बर्नबास भर्खरै प्रभु येशूको सुसमाचार प्रचार गर्न पुगेका थिए। 

'लुस्त्रामा आमाको गर्भैदेखि लङ्गड़ा भएकोले खुट्टामा बल नभएको एउटा मानिस बसिरहेको थियो, जो कहिल्यै हिँडेको थिएन। त्यसले पावललाई बोलिरहेका सुन्यो। उनले त्यसलाई डिठ लाएर हेरे, र त्यसमा निको हुने विश्वास रहेछ भनी थाह पाए। तब उनले ठूलो सोरले भनेः 'आफ्ना खुट्टामा सीधा उभ!' अनि त्यो जुरुक्क उफ्रयो, र हिँड्यो। जब मानिसहरूले पावलले गरेको यो काम देखे, तब तिनीहरूले लुकाओनिया भाषामा यसो भन्दै ठूलो सोरले चिच्च्याए: 'देवताहरू मानिसको रूपमा हामीकहाँ ओर्ली आएछन्।' अनि तिनीहरूले बर्नबासलाई 'जेऊस' र पावललाई 'हेर्मेस' भने; किनभने उनीचाहिँ मुख्य वक्ता थिए। तब जेऊसका पूजारीहरूले, जसको मन्दिर तिनीहरूको शहरको अघिल्तिर थियो, मूल ढोकाहरूमा बहरहरू, साथै मालाहरू ल्याए र भीड़सित बलि चढ़ाउने इच्छा गरे। तर जब प्रभुका वक्ता बर्नबास र पावलले यो कुरा सुने, तब उनीहरूले आफ्ना लुगा च्याते, र चिच्च्याउँदै र यसो भन्दै दगुरेर भीड़भित्र पसे: 'हजुरहरूहो, तपाईंहरू किन यी कुराहरू गर्नुहुन्छ? हामी पनि त तपाईंहरूजस्तै दुःख-सुख भोग्ने मानिस हौं। अनि यी व्यर्थका कुराहरूबाट जीवित परमेश्वरतिर फर्कनुहोस् भनी हामी तपाईंहरूलाई सुसमाचार प्रचार गर्छौं, जुन परमेश्वरले आकाश, पृथ्वी, समुद्र र तिनमा भएका यावत् थोक बनाउनुभएको छ। ...' यी कुराहरू भनेर उनीहरूले मुस्किलले ती मानिसहरूलाई उनीहरूको सामु बलि चढ़ाउनदेखि रोके। " प्रेरित १४:८ - १५, १८ 

पवित्र बाइबलको यस खण्डबाट म तपाईंलाई एक-दुई कुरा देखाउन चाहन्छु। पहिलो यो कुरा बुझ्नुहोस् कि त्यस बेला तुर्कीका मानिसहरू आ-आफ्ना धर्मअनुसार अनेकौं देवीदेउताको पूजा गर्दथे। तीमध्ये जेऊस र हेर्मेस मुख्य देउताहरू थिए। 

जब लुत्रा शहरमा येशूको नाममा परमेश्वरले आफ्ना सेवकहरूद्वारा एउटा जन्मैको लङ्गड़ा मानिसलाई निको पारेर एउटा अचम्मको काम गर्नुभयो, तब तिनीहरू यति छक्क परे कि देउताहरू मानिसको रूप लिएर तिनीहरूकहाँ आएका तिनीहरूले ठाने। तब जेऊसका पूजारीहरूले भीड़सित प्रभु येशूका प्रचारकहरूको सामु बलि चढ़ाउन चाहेको बेलामा तिनीहरूले के ल्याए? के तपाईंले यस कुरामा ध्यान लगाउनुभएको छ? तिनीहरूले फूलका मालाहरूको साथै बहरहरू पनि ल्याए। बहरहरूलाई किन चाहियो त? बलि चढाउनलाई नै। कसले ती बहर ल्याए? परमेश्वरका वक्ताहरूले होइन, तर त्यस शहरमा बस्ने जेऊस देवताका पूजारीहरूले नै ती ल्याए। 

उहिलेदेखि युरोपभरि नै गाई पाल्ने चलन थियो, र आज पनि यस्तै छ। त्यहाँ भैंसी पाइँदैन; भेडाबाख्रा पनि कमी मात्रामा पाइन्छ। प्रायः सबैले गाई पाल्छन्। यसैले तिनीहरू आफ्ना देवीदेउतालाई त्यही नै बलिको रूपमा चढ़ाउँथे। यसको प्रमाण हामीले अहिले भर्खरै पढ्यौं। यसको अर्थ के हो भने बाइबलको प्रचार युरोपमा पुग्नुभन्दा अघि नै त्यहाँका मानिसहरूमा बहरहरू बलि गर्ने चलन रहेछ। उहिलेदेखि नै तिनीहरू गाईको मासु खान्थे। तिनीहरूको रीति त्यस्तै थियो, र आजसम्म पनि त्यस्तै छ। तब यसमा हामी के दोष पाउँछौं त? झन् बाइबललाई किन दोष लगाऔं? बाइबलले गाईको मासु नखानू भनेर मनाही गरेको छैन; कुरा यति मात्र हो - गाईको मासु खानुपर्छ भन्ने कुरा बाइबलले भनेको छैन; साथै गाईको मासु खानुहुँदैन भन्ने कुरा पनि भनेको छैन। किनभने परमेश्वरको सामु खाने र पिउने कुराहरूभन्दा महत्त्वपूर्ण कुराहरू छन्।  

"किनभने परमेश्वरको राज्य खानु पिउनु होइन, तर पवित्र आत्मामा धार्मिकता, मेलमिलाप र आनन्द हो।" रोमी १४:१७ 

हाम्रा सृष्टिकर्ता परमेश्वरले हामी मानिसमा धार्मिकताको गुण खोज्नुहुन्छ, तर दुःखको कुरा के हो भने उहाँले संसारका मानिसहरूमा पापैपाप मात्र भेट्टाउनुभएको छ। उहाँको दृष्टिमा हामी सबै पाप र अधर्महरूले भरिएका मानिसहरू छौं। धर्मी कोही छैन; एउटै पनि छैन। 

यसो भए पनि परमेश्वरले हामी मानिसहरूलाई प्रेम गर्नुहुन्छ र हामीसित नजिकको सम्बन्ध राख्न खोज्नुहुन्छ। यसैको निम्ति उहाँले आफ्नो एकमात्र पुत्र प्रभु येशूलाई यस संसारमा पठाउनुभयो। पवित्र परमेश्वर र पापी मानिसहरूको बीचमा प्रभु येशू एकमात्र मेलमिलाप गराउने व्यक्ति हुनुहुन्छ; किनभने प्रभु येशूले मात्र क्रूसमा आफ्नो प्राण बलिदानको रूपमा दिईकन हाम्रो निम्ति पापबाट छुटकारा पाउने दाम तिर्नुभयो। तर दुःखको कुरा के हो भने हामीले आफ्ना पाप मानिलिन र आफ्ना पापदेखि पश्चात्ताप गर्न चाहँदैनौं। तर यही नै हामी सबैका निम्ति परमेश्वरको इच्छा, र आज्ञा पनि हो। 

परमेश्वरले हामीलाई पापको क्षमा र पवित्र आत्माको दान दिन चाहनुहुन्छ। हाम्रो हृदय शान्ति र आनन्दले भर्न उहाँ तयार हुनुहुन्छ। यी आशिषहरू प्रभु येशूमाथि विश्वास गर्ने हरेकको निम्ति छन्। यही कारणले हामीले प्रभु येशूको प्रचार गर्दछौं। यो धर्म - प्रचार होइन; यो विदेशी धर्म पनि होइन; तर प्रभु येशू संसारका एकमात्र मुक्तिदाता हुनुहुन्छ, र उहाँमाथि विश्वास गरेमा सित्तैंमा पापको क्षमा पाइन्छ भन्ने सुसमाचार हो। यस सत्य वचनलाई विश्वास गर्ने हरेकले मुक्ति र अनन्त जीवन पाउँछ। 

लुस्त्रामा अरू के भयो? त्यस शहरका मानिसहरूले परमेश्वरका सेवकहरूलाई देउता मानेर बलि चढ़ाउन खोज्दा के ती वक्ताहरूले यसो गर्न दिए? उनीहरूले यसो गर्न दिएनन्, तर यी मानिसहरूलाई रोके। किन होला? जवाफमा उनीहरूले के भने? यो कुरा सुन्नुहोस्! उनीहरू त अरूजस्तै कमजोर मानिस मात्र हुन्। अनि कुनै पनि मानिसको वा मूर्तिहरूको पूजा गर्नुहुँदैन; किनकि सबै मूर्तिहरू व्यर्थका हुन्। हामीले एकमात्र सत्य परमेश्वरलाई पुज्नुपर्छ। यी व्यर्थका कुराहरूलाई त्यागेर जीवित परमेश्वरतिर फर्क भन्ने आज्ञा लुस्त्राका मानिसहरूले मात्र होइन, तर हामी सबैले पनि पाएका छौं। 

जीवित परमेश्वर को हुनुहुन्छ त? उहाँ आकाश र पृथ्वीलाई सृजना गर्ने सृष्टिकर्ता हुनुहुन्छ। उहाँले आफ्नो पुत्र प्रभु येशूलाई मरेको तेस्रो दिनमा फेरि जिउँदो पारेर उहाँलाई मरेकाहरूबाट उठाउनुभएको छ। सत्य परमेश्वर उहाँ नै हुनुहुन्छ। एकदिन हामी सबैजना उहाँको सामु न्यायमा उभिनुपर्छ र आफ्नो जीवनमा गरेका सबै कामहरूको लेखा दिनुपर्छ। त्यस दिन हामीले आफ्नो धर्म कि विदेशी धर्म मान्यौं वा मानेनौं भन्ने विषयमा हाम्रो इन्साफ हुनेछैन। तर आफ्ना पापदेखि हामीले पश्चात्ताप गरयौं र परमेश्वरसित हाम्रो मेलमिलाप भएको छ कि छैन भन्ने प्रश्नको जवाफ हामीले दिनुपर्छ। 

यसकारण आज नै आफ्ना पापदेखि सत्य परमेश्वरतिर फर्कनुहुन तपाईंलाई प्रेमसाथ आग्रह गर्दछौं। तब प्रभु येशूको नाममा परमेश्वरले तपाईंका सबै पापहरू क्षमा गरेर तपाईंलाई ग्रहण गर्नुहुन्छ। 

अन्तमा तपाईंलाई भन्न चाहेको कुराको निचोड़ यही हो: संसारमा कुनै न कुनै मानिसहरूले गाईको मासु खान्छन्। यो कुरा साँचो हो। तर पवित्र बाइबलले तिनीहरूलाई यसो गर्न सिकाएको हुनाले तिनीहरूले खाएका होइनन्। कि त त्यो तिनीहरूका पुर्खाहरूदेखि आएको चलन हो, कि त इच्छा लागेर तिनीहरूले खान्छन्। तर ख्रीष्टको चेला भएको नाताले कसैले गाईको मासु खाएको छैन, र खानेछैन पनि। हामीले पापदेखि मुक्ति पाउनैपर्छ भन्ने कुराचाहिँ मुख्य हो। अनि त्यो मुक्ति प्रभु येशूमा मात्र छ। यसैले तपाईं पनि प्रभु येशूमाथि विश्वास गर्नुहोस्! 

Your encouragement is valuable to us

Your stories help make websites like this possible.