के तपाईं बिरामी हुनुहुन्‍छ?

के तपाईं  बिरामी हुनुहुन्‍छ?

के तपाईं बिरामी हुनुहुन्छ? अथवा के तपाईंको कुनै आफ्नो मानिस अस्वस्थ हुनुभएको छ? मलाई थाहा छः यस्तो बेलामा तपाईंका अनेकौं दुःखकष्ट छन्। तपाईंलाई के गरेर सान्त्वना दिऔं? आफ्नो जीवनको अनुभव बाँडेर भनौंः जब तपाईं ओछ्यानमा पर्नुभएको छ, वा बिमारीलाई रुङ्नुहुन्छ, तब आफ्नो जीवनको बारेमा सोच्ने र गम्भीर हुने समय आएको छ। यो घड़ी अनमोल छ, मौका नचुकाउनुहोस्! यस्तो बेला तपाईंले ईश्वरको दया पाउन सक्नुहुनेछ, र उहाँको स्पर्शमा तपाईंको जीवन बदलेर तपाईं सदाका निम्ति परिवर्तन हुन सक्नुहुनेछ। 

राजा धारामा ९-१० वर्ष बसेको अवधिभित्र मैले वरिपरि प्रायः प्रत्येक घरमा कुनै न कुनै मानिस बिरामी भएको देखें। मैले टाउको दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने वा झाड़ावान्ताजस्तै साधारण सानातिना रोगको कुरा गरेको छैनँ, तर त्यति बेला मेरा छिमेकीहरूले सिकिस्त, डरलाग्दा, घातक रोगहरूको सामना गर्नुपस्यो, र कतिले हार्नु पनि पस्यो। अँ, म आफै पनि कतिपल्ट बिमारी भएँ। तिनीहरूमध्ये हाई ब्लड प्रेसर, चिनी रोग, लिवर जौन्डिस, किड्ने फेलर, ब्रेन स्ट्रोक, सेप्टिसिमीया, कमल पित्त, गल-स्टोन आदि रोगले ग्रस्त भएका मानिसहरू हुन्थे। तब सम्झौंः आफैलाई मात्र बिमार लागेको छैन। होइन, हाम्रो समाजलाई के भयो? कसैलाई क्यान्सर, कसैलाई एड्स, कसैलाई हार्ट एटेक! चाहे धनी, चाहे गरिब, मानिसको शरीरका अङ्गहरूमा कुनै पनि अङ्गै छैन, जसलाई रोग लाग्दैन। यो किन यस्तो होला? हामी किन यति छिटो, किन यति धेरै बिरामी हुन्छौं? 

यस सम्बन्धमा म तपाईंलाई ज्ञान र सल्लाहको रूपमा आफैले बुझेका र जानेका एक-दुई कुरा बताउन चाहन्छु। पहिला हामीले के जान्नपर्छः यो संसार पापमा गिरेको जागा हो। हाम्रा आदिम पुर्खाहरूले पाप गरे। पुस्तौंदेखि मानिसहरू पाप गर्दै आएका हुन्। तब के यसको प्रभाव हाम्रो शरीरमा लाग्दैन र? हामी उनीहरूका सन्तान हौं। हाम्रै पापले गर्दा संसारको अवस्था बिग्रेको छ, र त्यसको हालत साह्रै नाजुक भएको छ। यस्तो ठाउँमा हामीले के आशा राख्न सक्छौं त? यो धरती हाम्रो रहिरहने घर पनि होइन। एक दिन हामी मर्नुपर्छ। तब अन्तिम घड़ी आइरहेछ है भन्ने कुरा जनाउने लक्षणहरू हाम्रो शरीरमा किन देखा नपर्ने? हाम्रो शरीर फलामको पनि होइन, तर मासु र हाड़ले बनेको हो। यसैले ईश्वरको ज्ञान प्राप्त भएका मानिसको वचन सुन्नुहोस्ः सारा सृष्टि विनाशको बन्धनमा परेको छ; यस बन्धनबाट त्यसलाई छुटकारा पाउनु छ। हालैमा सारा सृष्टि बेकामको, व्यर्थको भएछ; त्यसको निम्ति एउटा मात्र उपाय र आशा छः परमेश्वरको राज्य आउनैपर्छ। तब उहाँको शासनमा यस संसारले आफ्नो सुदिन देख्न पाउनेछ, र सबै कुराहरू ठीक-ठीक मिल्नेछन्। उहाँको राज्यमा कुनै रोग, अँ, मृत्युको लागि पनि ठावै हुनेछैन। देशव्यापी, विश्वव्यापी रोग र महामारीहरूको विषयमा विचार गर्नुहोस्ः घरी-घरी बर्ड फ्लू, स्वाइन्स् फ्लूको खबर सुन्दैछौं। यो के हो त? परमेश्वरको राज्य नजिकै छ भन्ने चिन्हबाहेक अरू के होला? तर तपाईंले मलाई भन्नुहोलाः यसको मलाई के परवाह? तब यसमा ध्यान दिनुहोलाः संसार सानो ठाउँ भएको छ, र जुनै पनि रोगले हामीलाई जहाँ भए पनि र जुनै बेला भेट्टाउन सक्छ। 'किन?' नभन्नुहोला; किनभने हामी सबै एउटै जहाजमा बसेका छौं। हाम्रो सबैको एकै हालत छ। कुनै न कुनै रोगले हामीलाई भेट्छ, भेट्छ। तब के गरौं? यस दुर्दिन सामना गर्नको निम्ति तयार हुनुहोस्! 

जब तपाईं बिरामी हुनुहुन्छ, तब मलाई अहिले लागेको रोगबाट निको हुनु छ, बस् भनेर मात्र विचार नगर्नुहोला, तर किन बिमारी हुनुभएको, सो बुझ्ने कोशिश गर्नुहोस्! किनकि कति रोगहरू वंशागत प्रकारले हामीमाथि आइपर्दछन् भने कति रोगहरू हामी आफैले निम्त्याएका हुन्छौं। जब हामी बढ़ता नुन खान्छौं, बेसमयमा, चाहिएको भन्दा बढ़ी खाना खान्छौं, छिटो राँकिएर चर्को रिस गर्छौं, अरूको गल्ती क्षमा गर्दैनौं वा बढ़ी फिक्रीचिन्ता गर्छौ, तब हाम्रा यी बानीअनुसार शरीरमा यसको असर लाग्छ नै। तब प्रेसर बढ्छ, ग्यास्ट्रिक हुन्छ, अल्सर बन्छ; पछि ब्रेन-स्ट्रोक, हार्ट एटेक आदि यसको नमीठो फल हुन्छ। यसैले समय हुँदा नै आफ्नो जीवन, आफ्नो व्यवहार र आफ्नो खाने आदत बदली गर्नुहोला, नत्र ढिलो हुन जान्छ। 

कतिले जवानीको अवस्थामा फलामको चिउरा पच्ने कुरा गर्छन्, र पिरो, अमिलो, चिल्लो, जे पनि र जति पनि खान्छन्, तर यस्तो लापरवाहीले गर्दा चालीस वर्षको उमेरदेखि उता तिनीहरूको शरीरले तिनीहरूलाई दु:ख दिन थाल्छ। के तपाईं दिव्य ज्ञान ग्रहण गर्न तयार हुनुहुन्छ? तपाईंको शरीर परमेश्वरको मन्दिर हुनुपर्छ। त्यसको खास उद्देश्य यही हो। तपाईंको शरीर यसैको निम्ति बनेको हो। यसैले आफ्नो कर्तव्य बुझ्नुहोस्ः आफ्नो शरीरको वास्ता गर्ने जिम्मेवारी हाम्रै हो। चुरोट, बिँड़ी पिएर धूम्रपान गर्नेहरूको फोक्सोमा, अनि खैनी खानेहरूका जिब्रो र गिजामा रोग लाग्छ नै। अरूले ड्रग्स खाएर आफ्नो जीवन बर्बाद पार्दारहेछन्, र हाम्रै सामु कतिले अर्धवयस्क भएको अवस्थामा हामीलाई छोड़ेका छन्। अरूले शरीरलाई बढ़ी ऐस आराम, अरूले बढ़ी कष्ट दिँदैछन्। तब के 'खैसर कि लैसर, मरेपछि लम्पसार' भनेर आफ्नो शरीरलाई नाश गर्ने बानीहरूमा लगिपरौं त? परमेश्वरको मन्दिररूपी शरीरलाई नष्ट गर्ने हाम्रो के अधिकार? परमेश्वरले पक्का पनि हामीबाट यसको हिसाब लिनुहुनेछ। हामीले एक दिन उहाँको सामु आफ्नो जीवनको लेखा दिनुपर्छ, र हामीले शरीरमा जेजस्तो कामकुरा गरयौं, त्यसको फल सदा-सर्वदा भोग्नुपर्नेछ। यसैले हाम्रो सल्लाह ग्रहण गर्नुहोला, र समयमै आफ्ना पाप मानिलिनुहोस्, पश्चात्ताप गर्नुहोस् र आफ्नो सृष्टिकर्तालाई भेट्न तयार बन्नुहोस्! 

बिरामी पर्दा कहिल्यै, कुनै हालतमा पनि धामीझाँक्री आदिकहाँ नजानुहोला, अँ, तन्त्रमन्त्र र झारफुकजस्तै अन्धकारको काम र शक्तिमा भर नपर्नुहोला; किनकि तपाईं आफै भन्नुहोस्ः के शैतानले शैतानलाई निकाल्न सक्छ र? जसले टुनामुनाको सहायता लिन्छ, त्यो मानिस बुद्धिमान् होइन, तर आत्मिक प्रकाश नपाएको व्यक्ति हुनुपर्छ। यस्तो मानिसले आफ्नै जीवनमा कष्ट ल्याउँछ र आफ्नै विरोधमा पाप गर्छ; किनकि यस्ता काम गर्नेहरूको अवस्था झन्-झन् खराब हुन जान्छ। परमेश्वर यस्तो काम मन पराउनुहुन्न। के आफ्नो गाड़ी बिग्रियो भने त्यो मैकेनिकलाई देखाउनुपर्दैन। तब के बिरामीले डाक्टरलाई भेट्नुपर्दैन र? डाक्टरलाई भेटेर दवाईपानी सेवन गर्नुहुने सल्लाह दिन्छौं, तर याद रहोस्ः डाक्टर पनि मानिस मात्र हुन्, र भूल गर्न सक्छन्। यसैले दवाई र डाक्टरमाथि मात्र होइन, तर आफ्ना सृष्टिकर्ता परमेश्वरमाथि भरोसा राख्न सिक्नुहोस्! दुःखको घड़ीमा उहाँलाई पुकार्नुहोस्, र उहाँबाट कृपा, सहायता र चङ्गाइ पाउने आशा गर्नुहोस्! म लगायत अरू धेरै रोगीहरूले प्रभु येशूको नाममा चङ्गाइ पाए। उहाँको अपार कृपामा तपाईंले पनि पाउनुहुन्छ, उहाँको नाममा विश्वास र भरोसा राखेर। 

तपाईं बिरामी हुनुहुन्छ, र हामी ईश्वरको दयामा तपाईं निको हुनुभएको चाहन्छौं। यसो भए पनि हामीले तपाईंलाई अझ एउटा कुरा भन्नुपर्छ। तपाईं बिरामी हुनुभएको कुरामा अझ ठूलो उद्देश्य छ। एलिहू नामक व्यक्तिसित यस सम्बन्धमा ज्ञान छ, र उनले यो कुरा हामीबाट लुकाएका छैनन्। उनको अमर दिव्य वाणी सुन्न मन लगाउनुहोस्ः 

‘तपाईं किन परमेश्वरको विरोधमा उठ्नुहुन्छ? किनकि उहाँले आफ्नो कुनै पनि कुराको लेखा दिनुहुत्र नै। किनभने परमेश्वर एक-दुईपल्ट बोल्नुहुन्छ, तर मानिसले यसको चालै पाउँदैन। सपनामा, रातको दर्शनमा, मानिसहरू मस्त निद्रामा परेको बेलामा, ओछ्यानमाथि उङ लागेका क्षणहरूमा, अँ, त्यत्ति बेला नै उहाँले मानिसहरूका कानहरू खोल्नुहुन्छ, र तिनीहरूलाई दिन खोजेको शिक्षामा आफ्नो मोहरछाप लगाउनुहुन्छ: मानिसलाई त्यसको कामबाट हटाउन र मानिसबाट घमण्ड निकाल्नका निम्ति। उहाँले त्यसको प्राणलाई खाड़ल जानुदेखि र त्यसको जीवन हातहतियारले नष्ट हुनुदेखि रोकिराख्नुहुन्छ। पीड़ाले मानिसलाई त्यसको पलङमाथि ताड़ना दिन्छ, र निरन्तर भइरहेका दुःखकष्टले त्यसका हड्डीहरूलाई तह लगाउँछन्, यहाँसम्म कि त्यसलाई खानेकुराको अमन हुन्छ, अनि त्यसको प्राणले स्वादिष्ट भोजनलाई घिन मान्छ। त्यसको मासु सुकिजान्छ, र नलायक देखिन्छ। अनि त्यसका अरू बेलामा नदेखिने हड्डीहरू अहिले बाहिर निस्किरहेका हुन्छन्। अँ, त्यसको प्राण मृत्युको मुखनिर पुगिसकेको छ, र त्यसको जीवन नष्ट पार्नेहरूको हातमा पर्ने लागेको छ।' 

त्यत्ति बेला त्यससँग कुनै सन्देशवाहक भएदेखि, जो त्यसका मध्यस्थ हुन्, अँ, हजारमा त्यसका एकजना भएदेखि, जसले मानिसलाई त्यसले गर्नुपर्ने कर्तव्य प्रकट गर्छन्! तब परमेश्वर त्यसप्रति दयालु हुनुहुनेथियो, र भन्नुहुनेथियोः “त्यसलाई तल खाड़लमा जानुदेखि छुट्याऊ! मैले त्यसको छुटकाराको दाम पाएको छु।” तब त्यसको मासु बालकको भन्दा पनि ताजा हुनेछ। त्यो फेरि आफ्नो जवानीको अवस्थामा फर्किनेछ। त्यसले परमेश्वरलाई प्रार्थना चढ़ाउँछ, र उहाँले त्यसप्रति कृपादृष्टि देखाउनुहुनेछ। अब त्यसले खुशीसाथ आफ्नो शिर उठाएर उहाँको चेहरा हेर्न सक्छ; किनकि उहाँले मानिसलाई आफ्नो धार्मिकता फर्काउनुहुनेछ। त्यसले अरू मानिसहरूलाई हेरेर भन्नेछ: “मैले पाप गरें, र जे ठीक छ, सो टेढ़ा पारिदिएँ, तर मबाट त्यस कामअनुसारको बदला लिइएन।” 

परमेश्वरले त्यसको प्राण खाडलमा जानुदेखि छुटाउनुभएको छ, अनि त्यसको जीवनले ज्योति देख्नेछ। हेर्नुहोस्, यस्ता यस्ता व्यवहार परमेश्वरले मानिससित त्यसको प्राण खाडलबाट फर्काएर ल्याउन भनी दुई-तीनपल्ट गर्नुहुन्छ। यसको उद्देश्य त्यसलाई जीवितहरूको ज्योति दिनु हो।' अय्यूब ३३:१३-३०  

यस ईश्वरवाणीबाट केही कुरा सिक्ने प्रयास गरौंः 
क) तपाईं परमेश्वरको सृष्टिको थोक हुनुहुन्छ; तपाईंको जीवनमाथि उहाँको सर्वअधिकार छ। उहाँको यो अधिकार स्वीकार गर्नुहोस्! 

ख) परमेश्वरले तपाईंलाई नाश हुनुदेखि बचाउन खोज्नुभएको हो; यसैले उहाँ तपाईंसित बोल्नुहुन्छ र तपाईंलाई शिक्षा दिन चाहनुहुन्छ। यस्तो बेलामा आफ्नो हृदय कठोर नपार्नुहोला, तर आफूलाई नम्र पारेर उहाँले तपाईंलाई के भन्नुहुन्छ, ध्यानसित सुन्नुहोला। तपाईंको उद्धार यसैमा भर पर्छ। 

ग) बिरामी अवस्था यस्तो एउटा अवसर हो, जब परमेश्वर तपाईंको नजिक आउनुहुन्छ। तपाईंको कृपा पाउने सुअवसर यही हो; यो नभुल्नुहोला। 

घ) यस्तो समयमा आफ्नो जीवन र आफूले गरेका सबै कामकुराहरू नियालेर हेर्नुहोस्! के यही अवस्थामा तपाईं परमेश्वरलाई भेट्न र आफ्नो जीवनको लेखा दिन तयार हुनुहुन्छ र? के तपाईंलाई कुनै मध्यस्थ चाहिँदैन, जसले पवित्र परमेश्वरको सामु तपाईंको पक्ष लिएर एक-दुई शब्द बोल्नुहुन्छ। 

ङ) ईश्वरीय मध्यस्थको सहायताबिना तपाईंले गर्नुभएका पापहरूको फल आफैले भोग्नुपर्दछ; तपाईं नरकको आगोमा जानुहुनेछ; तपाईं सदा नाश हुनुहुनेछ। तपाईंको बहुमूल्य आत्मालाई यस डरलाग्दो सजायबाट छुट्ट्याउनलाई छुटकाराको दामको खाँचो पर्छ। त्यो छुटकाराको दाम तपाईंसँग छैन, तर प्रभु येशूसँग छ। उहाँ क्रूसमा बलिदान हुनुभयो, र उहाँले तपाईंका पापहरूको मोल तिर्नुभयो। यसैले उहाँले मात्र विनाशको बन्धनबाट छुटकारा दिन सक्नुहुन्छ। यसकारण उहाँको सहारा लिनुहोस्! तब परमेश्वरले तपाईंको विषयमा पनि भन्नुहुन्छः 'उसलाई नरकमा नफाल; किनकि मैले उसको छुटकाराको दाम पाएको छु।' 

च) परमेश्वरको सामु घमण्ड गर्ने कुनै कारण छैन, किनभने हामीले उहाँका आज्ञाहरू पालन गरेकै छैनौं। आफ्ना पाप र अधर्महरू मानिलिनु के गाह्रो! उहाँ हामीप्रति अति नै दयालु हुनुहुन्छ। उहाँलाई पुकार्नुहोस्, र उहाँबाट पापको क्षमा, कृपा पाउनुहोस्! आज उहाँसँग मेलमिलाप राख्ने निम्तो आएको छ। 

छ) हुन सक्छ, तपाईंको मर्ने घड़ी आइरहेको छ, र तपाईं यस ओछ्यानबाट उठ्न पाउनुहुन्न। तब जीवनको यस अन्तिम क्षणमै परमेश्वरसित तपाईंको मेलमिलाप भएको छ कि छैन भन्ने कुरा मात्र गनिन्छ। उहाँसितको सम्बन्ध सठीक पार्नुहोस्! यसो गर्नुभयो भने तपाईं खुशीसित मर्न र परलोकमा आफ्ना आँखा खोलेर उहाँको चेहरा हेर्न पाउनुहुनेछ। उहाँको उपस्थितिमा कुनै पीड़ा हुनेछैन, तर आनन्दको भरपूरी छ। प्रभु येशूसित यो अन्तिम कदम लिनुहोस्, तब तपाईंलाई कुनै डर लाग्नुपर्दैन। 

ज) परमेश्वरको दया भए तपाईं बिरामी अवस्थाबाट उठ्नुहुनेछ र निको हुनुहुनेछ। तब धन्यवादी हुनुहोस्! तपाईंको बाँकी जीवन परमेश्वरको इच्छाअनुसार जिउनुहोस्! उहाँको निगाहले तपाईं निको हुनुभएको छ; उहाँको नामको महिमा गर्नुहोस्! 
तपाईंको जीवनभरि नै उहाँको कल्याण भइरहोस्! 

Your encouragement is valuable to us

Your stories help make websites like this possible.