विवेक भनेको के हो?

विवेक भनेको के हो?

'हे मेरो छोरा तिमोथी, विश्वास र सुविवेक समातिराख, जुनचाहिँ कतिले आफूबाट पर सारेका हुनाले विश्वासको जहाज डुबाइहाले।' (१ तिमोथी १:१९) 

प्रेरित पावलले प्रेमसाथ तिमोथी आफ्नो आत्मिक छोरालाई उक्त आज्ञा दिए। अनि यस कुरामाथि हाम्रो ध्यान लगाउन लायक छ। किनभने सुविवेक कायम राख्न नजानेर हाम्रो बीचमा धेरैजना विश्वासबाट पतित भए। यसकारण बुबा छोराको दृष्टिकोण र मनको भावना लिएर म यस विषयमा तपाईंसँग कुरा गर्न चाहन्छु; किनभने हाम्रो बीचमा विवेकको विषयमा धेरैजना अनजान छन् र हाम्रो ज्ञान अधूरो छ। 

मेरो जीवनमा यस सम्बन्धमा मेरो सम्झनामा रहेको सबैभन्दा पहिलो घटना म यहाँ पेश गर्छु, जुन बेलामा मेरो विवेकले मलाई प्रथम पल्ट दोषी ठहस्याएको थियो; हुन सक्छ, त्यस बेलामा म पाँच-छ वर्षको केटा थिएँ होला। म एउटा पसलमा एउटा मिठाइ किन्छु भन्ने निहुँमा पसेको थिएँ, र मैले त्यहाँ एउटा दस बाह्र रुपियाँको आइसक्रीम चोरी गरें। मैले त्यो आइस्क्रीम लुकी लुकी खाएर त्यसको मज्जा लिने इच्छा त गरें, तर मैले त्यसको सेवनबाट अलिकति पनि आनन्द उपभोग गर्न सकिनँ; किनभने मेरो विवेकले मेरो मनमा मलाई नमीठो गरी दोष लगाइरहेको थियो। 

मेरो विवेक फेरि सफा भएको पहिलो अनुभव पनि त्यही समयमा परेको थियो। किनकि जब मैले परमेश्वरको उपस्थितिमा मेरा भूलचूकहरू र बालककालमा गरेका मेरा ठूलासाना पापहरू र अपराधहरू मानिलिएँ र येशूको नाममा पापको क्षमा पाएँ, तब मेरो विवेकले मलाई रमाउन लगायो। 

विवेक के हो त? 
रोमी २:१५ पदमा यस्तो लेखिएको छः 'तिनीहरूले आफ्नो हृदयहरूमा व्यवस्थाको काम लेखिएको देखाउँछन्; अनि तिनीहरूको विवेकले गवाही दिन्छ, साथै तिनीहरूका विचारहरूले आपसमा दोषी वा निर्दोष ठहरयाउँछन्।' मानिसको मनमा एउटा नैतिक यन्त्र वा ज्ञानेन्द्रिय छ, जसलाई विवेक भनिन्छ, जुन विवेकले उसलाई उसले कुनै गल्ती गर्न लागेको बेलामा खतराको घण्टीले झैं अघिबाट चेताउनी दिन्छ अथवा उसले कुनै गल्ती गरिसकेपछि उसलाई दोष लगाउँछ।

यूहन्ना ८ अध्यायमा यो कुरा स्पष्ट देखिन्छ। शास्त्रीहरू र फरिसीहरू एउटी व्यभिचारमा पक्राउ परेकी स्त्रीलाई लिएर प्रभु येशूकहाँ आए। त्यस स्त्रीलाई बीचमा खड़ा गरेर तिनीहरूले उहाँलाई भने : 'हे गुरुज्यू, यो स्त्री व्यभिचार गर्दा-गर्दै पक्राउ परेकी छे। अनि मोशाले व्यवस्थामा “यस्ताहरूलाई ढुङ्गाले हानेर मृत्युदण्ड दिनुपर्छ” भन्ने आज्ञा दिए। तर तपाईं नि के भन्दै हुनुहुन्छ?' तर तिनीहरूले उहाँलाई परीक्षा गर्दै उहाँलाई दोष लगाउने निहुँले यसो भनेका थिए। तब प्रभु येशूले मानो तिनीहरूको कुरा सुन्नुभएकै छैन जस्तो गरी निहुरेर आफ्नो औंलाले भुइँमा लेख्नुभयो। तर तिनीहरूले उहाँलाई सोधेका - सोधेकै गरे; तब उहाँले आफूलाई सीधा पारेर तिनीहरूलाई भन्नभयोः 'तिमीहरूमध्ये जो पापरहित छ, त्यसैले पहिले त्यसलाई ढुङ्गाले हानोस् !' त्यसपछि फेरि निहुरेर उहाँले भुइँमा लेख्नुभयो। अनि जस-जसले यो कुरा सुने, तिनीहरू आफ्नो विवेकद्वारा दोषी ठहरिएर ठूलोबाट शुरु गरेर सानैसम्म एक-एक गरी बाहिर निस्के (यूहन्ना ८:१-९)। के तपाईंले देख्नुभयो? विवेकको खास काम दोषी व्यक्तिलाई दोषी ठहराउनु हो। जुन मानिसको विवेक सठीक काम गर्छ, त्यो मानिस ठूलो अपराधबाट जोगिन्छ; किनकि उसको विवेकले उसले गर्न लागेको गल्तीको विरोधमा उसको मनमा अघिबाट गवाही दिन्छ। 

एउटा असल विवेक अर्थात् एउटा सुविवेक भनेको के हो त? 

जब हाम्रो विवेकले हामीलाई कुनै कुराको विषयमा दोषी ठहस्याउँदैन, तब यो अवस्था सुविवेक भनिन्छ। एउटा असल र शुद्ध विवेक त्यो हो। प्रेरित पावलले यसो भन्न सकेः 'म ख्रीष्टमा साँचो बोल्छु, झूट बोल्दिनँ; मेरो विवेकले पनि पवित्र आत्मामा मसित गवाही दिन्छ, कि मेरो हृदयमा मेरा भाइहरूको निम्ति भारी शोक र नटुङ्गिने पीड़ा छ।' अनि प्रेरित २४ : १६ पदमा उनले यस प्रकारले भन्न सकेः 'यसकारण मैले परमेश्वर र मानिसहरूप्रति सधैंभरि एउटा निर्दोष विवेक कायम राख्न प्रयास गरेको छु।' यसर्थ विवेक सफा र शुद्ध छ भने, त्यसले हामीलाई गवाही दिन्छ। अनि परमेश्वरप्रति र मानिसहरूप्रति निर्दोष हुन एउटा सुविवेक चाहिन्छ। 

अनि खराब विवेक भनेको के हो? 
१ शमूएल २४:५ पदमा र २ शमूएल २४:१० पदमा हामी के पढ्छौं भने, राजा दाऊदको हृदयले उनलाई प्रहार गरेको थियो; किनभने उनले एउटा गलत काम गरेका थिए। यसकारण एउटा खराब विवेक दोषी व्यक्तिलाई दोष लगाउने विवेक हो। अनि एउटा खराब विवेकले हामीलाई तबसम्म सताउँछ, जबसम्म हामीले आफ्नो पाप स्वीकार गरेर पापको क्षमा पाउँदैनौं। निम्न पद यसको निम्ति साक्षी छः 

'ख्रीष्ट येशूले आफैलाई अनन्त आत्माद्वारा यस हेतुले परमेश्वरको सामु निष्कलङ्क बलिको रूपमा चढ़ाउनुभयो कि उहाँको रगतले जीवित परमेश्वरको सेवा गर्न तिमीहरूको विवेक मरेका कामहरूबाट झन् कति बढ्ता गरी शुद्ध पारोस्।' हिब्र ९:१४ 

यसको विषयमा हामीले एकदम होशियार बस्नुपर्छ, र १ तिमोथी १:१९ पदमा हामीलाई दिइएको आदेश फेरि एक पल्ट सुन्नुपर्छ र याद गर्नुपर्छः 'हे मेरो छोरा, विश्वास र एउटा सुविवेक कायम राख !' तपाईंको विवेकले तपाईंलाई दोष लगाउँछ भने, आफ्नो पाप परमेश्वरको सामु मानिलिनुहोस् र पापको क्षमा पाई एउटा शुद्ध हृदय प्राप्त गर्नुहोस् ! यसो गर्नु अनिवार्य हो; नत्र ता तपाईं परमेश्वरको सेवा गर्न सक्नुहुन्न। एउटा कलङ्गित विवेक हुनु खतरा कुरा हो। 

'शुद्ध मानिसहरूको निम्ति सबै थोकहरू शुद्ध छन्, तर अशुद्ध मानिसहरूको निम्ति र विश्वास नगर्नेहरूको निम्ति कुनै कुरा पनि शुद्ध छैन, तर तिनीहरूका मन र विवेक अशुद्ध छन्। तिनीहरूले “हामी परमेश्वरलाई चिन्छौं” भन्ने दाबी त गर्छन्, तर आफ्ना कामहरूद्वारा चाहिँ उहाँलाई इन्कार गर्छन्; किनकि तिनीहरू घिनलाग्दा, अनाज्ञाकारी र हरेक असल कामको निम्ति निकम्मा हुन्छन्।' तीतस १:१५-१६ 

जुन मानिसको मन र विवेक कलङ्गित छ, अशुद्ध छ, त्यस मानिसका काम र शब्दहरू पनि त्यसको नराम्रो असरमा परिहाल्छन्। घिनलाग्दो काम गर्न र अनाज्ञाकारी हुन तिनीहरूलाई अलिकति पनि गाह्रो लाग्दैन; किनभने तिनीहरूको विवेकले ठीक काम गर्दैन, अँ, त्यसले सठीक काम गर्न छोड़ेको छ। दाऊदले राजा शाऊलको लबेदाको किनाराबाट एक टुक्रा काटेको बेलामा र पछि जनताको गन्ती लिएको बेलामा पनि उनको विवेकले उनलाई सतायो, तर उनले बतशेबासित व्यभिचार गरेको बेलामा र तिनको पति ऊरियाहको हत्या गरेको हुनाले किन दोषी ठहराएन त? किनकि उनले आफ्नो सुविवेक यी दुवै नैतिक क्षेत्रहरूमा कायम राख्दैनथिए। उनले लड़ाइँमा धेरै मानिसहरूको ज्यान लिएको हुनाले उनको विवेक हत्याको सम्बन्धमा सठीक काम गर्दैनथियो। अनि उनले आफ्नो मन र विचार व्यभिचारबाट अलग राख्दैनथिए, नत्र ता उनी यति सजिलोसँग व्यभिचारमा फस्नेथिएनन्। उनको विवेक भुत्ते भएको थियो। यसकारण एउटा भुत्ते विवेकबाट होशियार हुनुहोस्! 

यस्ता मानिसहरू पनि छन्, जसले सजिलोसँग झूट बोल्न सक्छन्, किनकि तिनीहरूको विवेक तातो फलामले डामिएको हुन्छ (१ तिमोथी ४:२ )। तिनीहरूको विवेक धेरै पल्ट चुप पारिएको छ र तिनीहरूले घरिघरि त्यही एउटै पाप दोहोरयाएको हुनाले तिनीहरूलाई हाय, किनकि तिनीहरूको विवेक मारिएको छ। एउटा व्यभिचारी स्त्रीको चाल पनि यस्तै छः त्यसले खान्छे, आफ्नो मुख पुछ्छे र भन्छे : 'मैले कुनै गल्ती गरेकी छैनँ' (हितोपदेश ३०:२० )। यसरी नै हामी आफ्नो सुविवेक थाम्दैनौं र आफ्नो विवेक निर्दोष कायम राख्दैनौं भने हामी ठूलो अपराध गर्न सक्छौं र त्यो घोर अपराध पानी पिएको वा खाना खाएको बराबर एउटा मामुली कुरा सम्झन सक्छौं। तब विश्वासको जहाज डुबाउनु केही बेर लाग्दैन नि। 

होशियार, किनकि कसै-कसैको विवेक कमजोर छ! 
१ कोरिन्थी ८ अध्यायमा मूर्तिहरूलाई चढाइएको प्रसाद खाने नखाने सम्बन्धमा एउटा कमजोर विवेक भएको विश्वासी भाइबहिनीको कुरा गरिएको छ। हामी होशियार हुँदैनौं र प्रेममा चल्दैनौं भने हामी दुःसाहसी भई कसै-कसैको कमजोर विवेक चोट पार्न पुग्छौं; किनभने हामी विश्वासीहरूमध्ये सबैको ज्ञान र आत्मिक स्तर बराबर हुँदैन। कोही नयाँ हुन्छ, कोही कमजोर हुन्छ। यसकारण कतै कुनै भाइबहिनीलाई ठेस खुवाउँछौं कि भन्ने हेतुले हामी होशियार बस्नुपर्छ र कमजोर हुनेहरूको बीचमा आफ्नो आत्मिक स्वतन्त्रतामा लगाम लगाउनुपर्छ। 

यसमा मेरो अनुभव निम्न घटनाबाट स्पष्ट बुझिन्छः मेरो शहरमा इच्छुक व्यक्तिहरूलाई सुसमाचार सुनाउने उद्देश्यले खोलिएको 'टीरूम'मा, सित्तैंमा चियाविस्कूट वितरण गर्ने र आत्मिक सरसल्लाह दिने ठाउँमा एक दिनमा यस्तो भयोः एक शनिबारमा एकजना छाती फुलेका दाजु सिक्रेट पिउँदै र त्यसको धूवाँ उड़ाउँदै त्यहाँ आइपुगे। यस कुराले मलाई साह्रै चोट पुस्यायो; किनभने मेरो विचारमा यस प्रकारको व्यवहार पाप थियो र एक इसाईको लागि अलिकति पनि योग्य थिएन। 

म नयाँ विश्वासी थिएँ, जब सुसमाचार प्रचार गर्ने उद्देश्यले मेरो कलेजमा अरू विश्वासी सँगी - विद्यार्थीहरूसँग मिलेर हामीले एउटा सुसमाचारीय साँझ आयोजना गरौं। यस सिलसिलामा एउटा सिपालु प्रचारक र एउटा इसाई सङ्गीत झुण्ड बोलाईकन यस कलेचमा यसको निम्ति सबै तयार भयो। तर जब त्यो साँझ आयो, र मैले यस सङ्गीत झुण्डले रोकम्यूसिक बजाइरहेको सुनें, तब म अति निराश भएँ; किनभने मेरो कमजोर विवेकले यो स्वीकार गरेन र मान्न सकेन। यस कुराले मलाई गहिरो चोट पुरयायो र मलाई लामो समयसम्म मेरो आत्मिक जीवनमा ठूलो बाधा दियो। 

यस इसाई 'टीरूम'मा अर्को घटना पनि घट्यो। एकजना विश्वासी भाइले पूरा जोशमा आफ्नो प्रचारमा रोमन क्याथोलिक चर्चको विरोधमा बोले; अनि यस कुराले पनि मलाई चोट पुरयायो; किनभने म भर्खरै रोमन क्याथोलिक चर्चबाट आएको नयाँ विश्वासी थिएँ। 

हाम्रो विवेकको काम अधूरो र सीमित छ 
'किनकि हाम्रो हृदयले हामीलाई दोष दिन्छ भने परमेश्वरचाहिँ हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ र सबै कुराहरू जान्नुहुन्छ। प्रियहरूहो, हाम्रो हृदयले हामीलाई दोष दिँदैन भने परमेश्वरप्रति हामीलाई साहस हुन्छ र हामी जे माग्छौं, सो उहाँबाट पाउँछौं।' (१ यूहन्ना ३:२०-२१) 

हो, हाम्रो विवेक सिद्ध छैन; हामी विश्वासमा कमजोर हुँदा त्यसले गल्ती गर्न सक्ला, अँ, कतै गल्ती गर्ला। तर हामीमध्ये कोही पनि आफ्नो विवेक नाघेर जानुहुँदैन। यो उसको पाप ठहरिन्छ। तर यस विषयमा बुझ्नुहोस्ः हाम्रो अन्तिम फैसला गर्ने व्यक्तिचाहिँ हाम्रा परमेश्वर गर्नुहुन्छ, जसले सबै कुराहरू जान्नुहुन्छ र हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ। उहाँ हाम्रो जीवन र हाम्रा कामहरू जाँच्नुहुन्छ। तर परमेश्वरप्रति साहसी हुनको निम्ति हामीलाई एउटा सुविवेक चाहिन्छ चाहिन्छ। किनकि परमेश्वरको इच्छा जान्न र पालन गर्नमा हामी जति अघि बढ्छौं, त्यति नै हाम्रो विवेक भन् बलियो हुन्छ र त्यसले झन् सिपालु भएर काम गर्छ। यसकारण परमेश्वरको वचन निरन्तर पढ्दै गर्नुहोस् र परमेश्वरको इच्छाको ज्ञानमा निरन्तर बढ्दै जानुहोस्! आत्माको भरमा हिँड्न सिक्नुहोस् र परिपक्व विश्वासी बन्नुहोस्! 

यस विषयमा १ कोरिन्थी ४:४ पदमा प्रेरित पावलले यसो भनेका छन्: 'कुनै विषयमा आफू दोषी भएको मलाई थाहा छैन, तरै पनि यस कुराले म धर्मी ठहरिँदिनँ; तर मलाई जाँच गर्नुहुनेचाहिँ प्रभु हुनुहुन्छ।' 

सुसमाचार सुनाउने सम्बन्धमा विवेकको भुमिका के हो? 
'किनकि यही नै अर्थात् हाम्रो विवेकको साक्षी नै हाम्रो गर्व गर्ने कुरा हो, कि हामी संसारमा र झन् बढ्ता गरी तिमीहरूप्रति शारीरिक बुद्धिमा होइन, तर परमेश्वरको अनुग्रहमा सच्चाइ र ईश्वरीय निष्कपटतासाथ चल्यौं।' २ कोरिन्थी १:१२ 

'हामीले शर्म लाग्ने गुप्त कुराहरू त्यागिदिएका छौं; हामी धूर्ततासाथ चल्दैनौं, न ता परमेश्वरको वचन छलपूर्वक प्रयोग गर्छौं, तर सत्यता प्रकट गरेर हामी परमेश्वरको सामु आफूलाई हरेक मानिसको विवेककहाँ सिफारिस गर्छौं।' २ कोरिन्थी ४:२ 

जुन सुसमाचार प्रचारकको चरित्र निर्दोष र सच्चा छ र जो निष्कपट छन्, उनको अधिकार बढ्छ। यसकारण हामीले शर्मलाग्दा सबै कुराहरू त्याग्नुपर्छ र पवित्रतामा चल्नुपर्छ। हामी धूर्त हुनुहुँदैन। हामीले परमेश्वरको वचनसित छल गर्नुहुँदैन। होइन, होइन, हामीले सत्य बोल्नुपर्छ र मुक्तिको सुसमाचारद्वारा परमेश्वरको सत्यता प्रकट गर्न सक्नुपर्छ। प्रेरित पावलले आफूलाई सधैं परमेश्वरको उपस्थितिमा रहेका सम्झन्थे र सदैव आफूलाई मानिसहरूको विवेककहाँ सिफारिस गर्ने गर्थे। 

'अनि आरोप यो होः ज्योति संसारमा आएको छ, तर मानिसहरूले चाहिँ ज्योतिभन्दा बरु अन्धकार मन पराए; किनकि तिनीहरूका कामहरू दुष्ट थिए। किनभने दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ र त्यसका कामहरूको दोष प्रकट नहोस् भन्ने मनसायले त्यो ज्योतिकहाँ आउँदैन। तर जसले सत्य काम गर्छ, ऊचाहिँ उसका कामहरू परमेश्वरमा गरिएका देखा परून् भन्ने हेतुले ज्तोतिकहाँ आउँछ।' (यूहन्ना ३:१९-२१) 

सुसमाचार प्रचार गर्ने भाइबहिनीहो, साहस लिनुहोस्, किनकि मानिसहरूको विवेकले सठीक काम गरयो भने त्यसले सधैं परमेश्वरको पक्ष, अँ, सत्यताको पक्ष लिन्छ र सुसमाचारमा पेश गरिएको कुरा सही हो भन्ने गवाही दिन्छ। यसकारण मानिसहरू प्रभुकहाँ आउँदैनन् भने, यसको दोष हामीमा होइन, तर सदैव तिनीहरूमा रहेको होस् ! यसो हो भने, हामी बिलकुल सत्य हुनुपर्छ र हामीले सत्य काम गर्नुपर्छ; हामी सत्य बोल्नुपर्छ। यसमा हाम्रो विवेकले हामीलाई पूरा साथ दिन्छ। तब हामी पवित्र आत्माको साथ काम गर्छौं, जसले मानिसहरूलाई कायल पार्न र सत्यको ज्ञानमा ल्याउन चाहनुहुन्छ, निम्न पदहरूअनुसारः 

'तर जब शान्तिदाता आउनुहुन्छ, तब उहाँले संसारलाई पापको विषयमा, धार्मिकताको विषयमा र न्यायको विषयमा कायल पार्नु- हुनेछ। पापको विषयमा, किनभने मानिसहरूले येशूमाथि विश्वास गर्दैनन्; धार्मिकताको विषयमा, किनभने प्रभु येशू आफ्ना पिताकहाँ जानुभयो र हामी उहाँलाई फेरि देख्दैनौ; अनि न्यायको विषयमा, किनभने यस संसारको शासक शैतानको न्याय भइसकेको छ।' (यूहन्ना १६:८-१०) 

Your encouragement is valuable to us

Your stories help make websites like this possible.